‘शैक्षिक अनुभव’ का पछिल्ला दुई अङ्क र केही कुरा
- असार १, २०८३
भक्तपुर, २ असार । बाल विकास सहजकर्ता (ई.सी.डी. शिक्षक) सङ्घर्ष समिति भक्तपुरले मङ्गलबार आफ्नो नबढेको तलब सुविधालगायत विभिन्न मागहरूबारे ध्यानाकर्षण गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसमक्ष एक ध्यानाकर्षण पत्र बुझायो ।
ज्ञापनपत्रमा भनिएको छ – विद्यालय शिक्षाको मुख्य आधार पूर्व प्रावि तह हो । जुन तहमा २ वर्षदेखि ४ वर्षसम्मका कलिला बालबालिकाहरूको चौतर्फी विकास गर्न खटिएका हामी पूर्व प्रावि तहका शिक्षकका समस्या धेरै छन् । हालसम्म हामीलाई सरकारले शिक्षकको मान्यता नदिई बाल विकास सहजकर्ताको पद (नाम) ले सम्बोधन गरेको छ । हामी शिक्षकहरूलाई श्रम ऐनले तोकेको न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक दिइरहेको छ । मासिक रु. १२,०००।– मात्र पारिश्रमिक सङ्घीय सरकारले दिइरहेको छ । ईसीडी शिक्षकहरूलाई महँगी भत्ता, प्रोत्साहन भत्तालगायत कुनै किसिमको भत्ताको व्यवस्था छैन । विद्यालयमा कम्तीमा पनि ९ः३० –४ः३० बजेसम्म काम गर्नुपर्ने बाध्यता छ । यसले श्रम शोषण भइरहेको स्पष्ट छ ।
नेपाल सरकारले आ.व. २०८३/०८४ को बजेटमा ईसीडी शिक्षकहरूको पारिश्रमिक बारेमा कुनै सम्बोधन गरेको छैन । तर, अन्य राष्ट्रसेवक कर्मचारीहरूको पारिश्रमिक २१ प्रतिशतले वृद्धि भएको देखियो । यसको लागि प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय एकाइमार्फत शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छौँ ।
सङ्घर्ष समितिका अध्यक्ष सीतालक्ष्मी छुस्याकीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लेखिएको छ – नेपालको संविधान २०७२ अनुसार विद्यालय तहको शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो । भक्तपुर नगरपालिकाले विगत वर्षहरूमा ईसीडी शिक्षकहरूको पारिश्रमिकको लागि थप आर्थिक अनुदान प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दछौँ । साथै आभारी पनि छौँ । यस आर्थिक वर्षमा पनि विगतको अनुदानलाई निरन्तरता दिई नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम कम्तीमा २१ प्रतिशतले हुन आउने रकम वृद्धि गरी हामी ईसीडी शिक्षकहरूको जीवनयापन सहज बनाइदिनुहुन सविनय निवेदन गर्दछौँ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले ईसीडी शिक्षकहरूको मागबारे कार्यपालिकाको बैठकमा प्रस्ताव लाने र शिक्षकहरूले भक्तपुरको शैक्षिक उन्नयनमा निरन्तर योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ध्यानाकर्षण पत्र बुझाउने टोलीमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष चक्रबहादुर चाकतु, जिल्ला समितिका अध्यक्ष गणेशराम थुसा, भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुलगायतको उपस्थिति थियो ।
Leave a Reply