बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ७ असार । विद्यार्थी निकेतन माध्यमिक विद्यालयको ७९ औँ स्थापना दिवसको अवसरमा ‘शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभयो, “विद्यार्थी निकेतन रहेको स्थानमा एसियाकै ठूलो मध्यकालीन ऐतिहासिक अभिलेखालय थियो । सो स्थानमा मुस्लिम शासकहरू र एकीकरणको क्रममा भएको हमलाले सम्पूर्ण प्रमाण नष्ट भएकोले त्यसलाई नयाँ तरिकाले जीवित राख्न शैक्षिक ल्याव, पुस्तकालय एवं रिडिङ सेन्टरको रूपमा विकास गर्ने योजना थियो, त्यस कुराले सार्थकता पाउन सकेन । यो योजना सफल भएको भए भक्तपुरलाई शैक्षिक केन्द्रको विकासमा थप टेवा पुग्ने थियो ।”
“प्रजातन्त्र पनि कहिलेकाहीँ प्रत्युत्पादक हुनसक्ने, बहुमतले सही र दीर्घकालीन योजनालाई समेत विफल बनाउँदा जनताको सुविधाबाट वञ्चित हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।
कुनै पनि नयाँ काम गर्दा बाधारहित नहुने, नागबेली बाटोबाट अगाडि बढ्ने हुँदा विद्यार्थी शिक्षकहरूले पनि उत्साहित भएर नयाँ तरिका अपनाई शैक्षिक क्रियाकलापमा लाग्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “नयाँ पुस्ताका विद्यार्थीहरू धेरै अद्यावधिक भएको हुनाले प्रयोगात्मक एवं अनुसन्धानमूलक शिक्षण पद्धतिबाट पठनपाठनको कार्य जोडतोडले अगाडि बढाउनुपर्दछ ।”
धनीवर्गका छोराछोरीलाई तालिम दिएर नेपालमा अमेरिका र भारतले आन्दोलन गराएको यथार्थ हामीसामु
रहेकोले गरीबका छोराछोरीहरू पनि राजनैतिक रूपमा शिक्षित भई देश जोगाउनको लागि होमिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गणेश मावि भार्वाचोका प्रअ गणेशराम थुसाले स्थानीय समुदायको योगदानको कारण भक्तपुर नगरमा सामुदायिक भवनको जग बसेको हुनाले त्यस योगदानको मूल्याङ्कन गर्दै कार्यरत शिक्षक कर्मचारीहरूले जागिरे प्रवृत्ति छोडी सेवामूलक भावले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
समाजसेवी हिमालयश्वरलाल मूलले विद्यालयले माध्यमिक कक्षालाई पनि विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
शिक्षासेवी नारायणप्रसाद त्वायनाबासुले विद्यार्थीहरूलाई अनुशासित बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुशल अभ्यासलाई जोड दिनसके उत्कृष्ट नतिजा हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
कानुन अध्येता विजयराम माकले विद्यालयले चौतर्फी विकासको लागि पठन संस्कृतिलाई उच्चतम प्राथमिकतामा राखी पुस्तकालय अभ्यासलाई प्रश्रय दिई मौलिक पहिरनलाई विकास गर्नुपर्ने विचार राख्नुभयो ।
विद्यालयको शैक्षिक प्रगतिको लागि वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, नवीन आविका प्रअ प्रकाश गोसाईँ, शिक्षासेवी धर्मसुन्दर तुलाधर, कृष्णमान दिवाकर, कानुन अध्येता तुलसीनारायण दन्डेख्या, सत्यनारायण कासुलालगायतले आ–आफ्नो सुझाव दिनुभएको थियो ।
सभापतिको आसनबाट बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले काम गर्दा आउने अवरोधलाई उत्प्रेरणा र ऊर्जाको रूपमा लिनुपर्ने कुरामा जोड दिँदै कुनै पनि संस्थाको विकासको लागि नियमितभन्दा थप समय खटेर काम गर्नुपर्ने विचार राख्नुभयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रअ न्हुछेबहादुर खाताखोले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन शिक्षक उद्धव दाहालले गर्नुभएको थियो ।
Leave a Reply