भर्खरै :

कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन्

कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन्

काठमाडौँ, १३ फागुन । हरेक सच्चा कम्युनिस्टहरू देशभक्त मात्र होइन अन्तराष्ट्रवादी पनि हुन्छन् । कम्युनिस्टहरू आफ्नो मातृभूमिको रक्षा गर्न लड्छन् । कुनै पनि ठुला या विदेशी शक्ति राष्ट्रले गर्ने आक्रमणको कम्युनिस्ट पार्टीले विरोध र भत्र्सना गर्छ । साम्राज्यवाद र विस्तारवादको कम्युनिस्ट पार्टीले विरोध गर्नैपर्छ । संसारमा साम्राज्यवादी देश र विस्तारवादी देश भएसम्म कुनै पनि देशका जनताले शान्ति र सुरक्षाको अनुभूति गर्न पाउने छैनन् । उनीहरूले स–साना स्वाधीन तथा सार्वभौम देशहरूमा आक्रमण, अतिक्रमण, थिचोमिचो गरिरहेका हुन्छन्, दबाब दिइरहेका हुन्छन् ।
साना देशलाई कहिले आर्थिक सहयोग तथा कहिले विकासको योजना देखाएर असमान सन्धि सम्झौता गरिएको हुन्छ भने कहिले देशको स्रोत र साधन आफ्नो नियन्त्रणमा राखिएको हुन्छ । यसकारण, कम्युनिस्टहरूले यस्ता आक्रमण, अतिक्रमण र थिचोमिचोको बहादुरी र दृढताका साथ विरोध गर्नुपर्छ । त्यसको प्रतिकार गरिएन भने कुनै पनि बेला नेपालजस्ता स्वाधीन र सार्वभौम देशहरूमा साम्राज्यवादी र विस्तारवादी देशहरूले आफ्नो नियन्त्रणमा लिन सक्छन् ।
हो, कम्युनिस्टहरू सच्चा माक्र्सवादी–लेनिनवादी हुनुपर्छ । खु्रश्चेभको जस्तो माक्र्सवादी–लेनिनवादीको जामा पहिरिएर सच्चा कम्युनिस्ट पार्टी हुँदैन । आफूलाई ठुला र शासक दल भनिने कम्युनिस्टहरू दलको सिद्धान्त र विचार व्यवहारमा ल्याउँदैनन् । माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक मान्ने ती दलका नेताहरू कहिले पनि आमूल परिवर्तनको कुरा गर्दैनन्; वर्गसङ्घर्षको आवश्यकता ठान्दैनन् । ती दलका नेताहरू बहुमत जनताको पक्षमा बोल्दैनन्; बहुमत जनताको पक्षमा ऐन–कानुन बनाउँदैनन् । ती दलहरू कहिले सत्ताको नेतृत्व गर्छन् त कहिले प्रमुख प्रतिपक्षमा बस्छन् । उनीहरूको उद्देश्य नै कम्युनिस्टको भजन गाएर सत्तामा जान मरिहत्ते गर्ने, सत्तामा बस्ने र प्रतिपक्षमा बस्दा सरकार ढाल्नु रहेको हुन्छ ।
चर्काे चर्काे कुरा गरेर र सत्ताको निम्ति चलखेल गरेर देशको मुहार फेरिँदैन । यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बहुमत जनताको सेवा नगरेको समयले देखाइसकेको छ । किनभने, यो पुँजीवादी व्यवस्था हो । यो व्यवस्थामा पुँजीपतिवर्गको हालीमुहाली हुनु स्वाभाविक हो । यसकारण, बहुमत जनताको सेवा नगर्ने यो पुँजीवादी व्यवस्था बदल्न कम्युनिस्ट पार्टीले पूर्वाधार तयार गर्दै जानुपर्ने हो । माक्र्सवाद र लेनिनवादबारे या कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारको उद्देश्यबारे जनतालाई सुसूचित पार्नुपर्ने हो; सङ्गठित गर्नुपर्ने हो । के ठुला र शासक भनिने कम्युनिस्ट पार्टीले त्यो जिम्मेवारी पूरा गरिरहेको छ ? पूरा गरिरहेको छैन भने देशमा कसरी कम्युनिस्ट शासन चल्छ ? कुनै कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दैमा कम्युनिस्ट शासन हुँदैन । अतः सबै कम्युनिस्ट पार्टी समाजवादी गणतन्त्र स्थापना गर्न अघि बढ्नुपर्छ । समाजवादी व्यवस्थाको निम्ति राजनीति गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *