भर्खरै :

ख्वप अस्पतालमा पाँच दिन उपचार गराउँदा…

ख्वप अस्पतालमा पाँच दिन उपचार गराउँदा…

पाँच दिनको ख्वप अस्पतालको बसाइँमा मैले अनुभव गरेको, देखेको, सुनेको, पढेको आधारमा यो अस्पतालले मेरो मन, मस्तिष्क र हृदय छुन सफल भएकोले ख्वप अस्पतालको बारेमा पाएका जानकारी अगाडि बढाउने प्रयास गरेको छु ।
ख्वप अस्पताल
२०३० सालदेखि भक्तपुरले च्याम्हासिंहमा जनस्वास्थ्य सेवा केन्द्रको रूपमा गरिब तथा कामदार जनताको कम शुल्कमा र सर्वसुलभ तरिकाले जनभावनाअनुसार स्वास्थ्य सेवा दिँदै आइरहेको छ । धेरै दशकदेखि जनताको मन, मस्तिष्क र हृदयमा बस्न सफल भएको जनस्वास्थ्य सेवा केन्द्रलाई भक्तपुर नगरपालिकाले प्रत्येक वडा, टोलटोलमा विस्तार गर्दै २०७३ सालमा जिल्ला जनस्वास्थ्यबाट २५ शøयाको अस्पतालको अनुमति प्राप्त गरेको थियो । नगरपालिकाको अथक प्रयासबाट २०७८ साल वैशाख १८ गतेबाट ख्वप अस्पतालको रूपमा सञ्चालन भएको छ भने २०७९ जेठ २३ गतेदेखि वाग्मती प्रदेश सरकारबाट सय शøयाको अस्पतालको अनुमति प्राप्त गर्न सफल भएको छ । ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्न र स्तर वृद्धि गर्न सरकारले चासो नदिएपछि यहाँका जनतासँग नगरपालिकाले सहयोगको आह्वान गर्दा छोटो समयमै ६ करोड २६ लाखभन्दा बढी आर्थिक सङ्कलन गरेर अनुकरणीय सफल अभ्यास गरिएको देखियो । यसरी जनस्वास्थ्य सेवा केन्द्रबाट सुरु भएर अहिले १०० शøयामा विस्तार भएर देशकै नमुना अस्पतालको रूपमा अगाडि बढिरहेको देखिन्छ । जनताको लागि जनताकै स्वामित्वमा सञ्चालित यो अस्पतालमा दैनिक ७५० भन्दा बढी बिरामीको उपचार हुने गरेको छ । अस्पतालको सूचनाअनुसार २०७९/०८० मा ७० जिल्लाका दुई लाख बीस हजार चार सय सैँतीस जनाको उपचार भएको देखिन्छ ।
यो अस्पतालले २०७४ सालदेखि नै घरदैलोमा नर्सिङ सेवा सुरु गरेको देखिन्छ । घरघरमा नर्सिङ सेवाअन्तर्गत स्वास्थ्यको तथ्याङ्क सङ्कलन, सुगर, श्वासप्रश्वास, उच्च रक्तचाप, क्यान्सर, थाइराइड, मुटु रोग, मृगौला रोग र अन्य नसर्ने रोगको तथ्याङ्क सङ्कलन घरमै पुगेर हुने गरेको छ । ड्रेसिङ गर्ने, औषधि सेवन, रोग र स्वास्थ्यबारे परामर्श, प्रेसर जाँच विभिन्न रोगहरूबारे अभिमुखीकरणलगायत धेरै सेवा घरघरमा पु¥याउने देशको पहिलो नगरपालिका भक्तपुर बनेको छ ।
विद्यालयमा नर्सिङ सेवा
भक्तपुर नगरपालिकाले विद्यालयमा नर्सिङ सेवा पनि अगाडि बढाएको देखिन्छ । विद्यार्थीहरूमा भएका वा अकस्मात् हुनसक्ने अनेकौँ प्रकारका स्वास्थ्य समस्याहरूको रोकथाम गर्ने, प्राथमिक उपचार, परामर्श सेवा, अभिमुखीकरण, स्वास्थ्य शिक्षा, स्वास्थ्य चेक जाँच गर्ने, आहार विहार मिलाउने, शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको ज्ञान दिनेदेखि अन्य धेरै कामको लागि विद्यालयमा नर्सिङ सेवा प्रभावकारीरूपमा अगाडि बढिरहेको देखिन्छ । पहिलो चरणमा विद्यालयमा नर्सिङ सेवा सुरु गरेका विद्यालयहरूमा ख्वप मावि, बासु मावि, वागीश्वरी मावि, आदर्श आजाद मावि, मेधा मावि रहेका छन् ।
अस्पतालका नियमित सेवाहरू
२०८० मङ्सिर महिनाको ‘भक्तपुर’ मासिक पत्रिकामा श्याम श्रेष्ठले ख्वप अस्पतालको सेवाका बारेमा लेख्नुभएको छ, “घरघरमा नर्सहरू गएर नागरिकको हेरचाह गर्नेदेखि वडावडामा स्वास्थ केन्द्र र १०० शøयाको आफ्नै अस्पताल सञ्चालन गरी २० मिनेटमा जनताको स्वास्थ्य केन्द्रसम्म पहुँच पुग्ने ठाउँ पनि भक्तपुर हो ।” ख्वप अस्पतालको बारेमा ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्ल भन्नुहुन्छ, “यो अस्पतालमा दैनिक ७५० देखि ८०० जनाले प्रसूति, हाडजोर्नी, जनरल सर्जरीदेखि अन्य धेरै किसिमका स्वास्थ्य सेवा पनि दैनिक हुने गरेका छन् । सामान्य शल्यक्रियादेखि जटिल शल्यक्रियाको सेवा पनि यसै अस्पतालले दिँदै आएको छ ।” वर्षको ३६५ दिन, दैनिक ११ घण्टा ओपिडी सेवा दिने सम्भवतः देशको एकमात्रै अस्पताल हो । जनताको मन, मुटु र हृदयबास गरेको ख्वप अस्पतालका सेवाहरूमा २४ सै घण्टा इमर्जेन्सी सेवा, निःशुल्क अक्सिजन र रगत जाँच सेवा, हाडजोर्नी मेजर र माइनर अपरेसन सेवा, नागरिक आरोग्य सेवा, ल्याव सेवा, भिडियो ऐक्सरे सेवा, फार्मेसी, अन्तरङ्ग सेवा, प्रसूति सेवा, शल्यक्रिया सेवा, नाक, कान, घाँटी सेवा, जनरल सर्जरी, मुटु रोग सेवा, मानसिक रोग सेवा, आँखा उपचार सेवा, साइक्याट्रिक, रेडियोलोजि, प्याथोलोजि, एनेस्थेसिया, घरदैलो नर्सिङ सेवा, विद्यालयमा नर्सिङ सेवा, एम्बुलेन्स, शवबाहन सेवा आदि रहेका छन् ।
आगामी योजनाहरू
भक्तपुर नगरपालिकाले सस्तो र सरल तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्न, स्वास्थ्य क्षेत्रमा विशेषज्ञ उत्पादन गर्न, गरिबका छोराछोरीहरू पनि कम मूल्यमा डाक्टर पढ्ने अवसर दिन विगत धेरै वर्षदेखि ख्वप विश्वविद्यालय स्थापनाका लागि पूर्वाधार निर्माणका धेरै कामहरू पूरा गरिसकेको छ । भनपाले विश्वविद्यालयको अनुमति प्राप्त गर्न धेरै प्रयास गरेको छ । मेडिकल शिक्षाको पूर्वाधार तयार गर्न तथा अझै उच्च स्तरमा जनतालाई स्वास्थ्य सेवा दिन कटिबद्ध ख्वप अस्पतालमा हाल २४ जना विशेषज्ञ डाक्टर, १५ जना मेडिकल अफिसरसहित १८० जना कार्यरत भएको ख्वप अस्पतालका तात्कालिक आगामी योजनाहरू मुख्यतः निम्नानुसार भएको पाइन्छ –
जस्तै :–

सिटिस्क्यान खरिद तथा सञ्चालन गर्ने,
आईसियू/एनआइसियू सेवा सुरु गर्ने,
शल्यक्रिया कक्षहरू बढाउने,
सामुदायिक फार्मेसी सेवा सञ्चालन गर्ने,
आधुनिक उपकरणहरू थप्ने,
विशेषज्ञ चिकित्सकहरू थप्ने आदि ।
नगरपालिकाले गरेको कानुनी बन्दोबस्त
भक्तपुर नगरपालिकाको स्थानीय सेवा गठन, सञ्चालन, व्यवस्थापन, सेवा सर्त तथा सुविधा सम्बन्धमा बनेको ऐन २०८० को परिच्छेद दुईमा ‘स्थानीय सेवा गठन’ अन्तर्गत नगरपालिकाले आठ वटा स्थानीय सेवा गठन गरेको छ । जस्तै :– स्थानीय इन्जिनियरिङ, कृषि तथा पशु, प्रशासन, पर्यटन, सरसफाइ, स्वास्थ्य, शिक्षा र विविध सेवा । यी सेवाहरूमध्ये स्थानीय स्वास्थ्य सेवा समूहमा ख्वप अस्पताल तथा समग्र नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, पारदर्शी, सरल र सहज बनाउन विभिन्न नीति नियमहरूका साथै आवश्यक जनशक्ति व्यवस्थापनको कानुनी प्रत्याभूति जनाएको छ । कुन कुन सेवाहरू सञ्चालन गर्ने, कुन सेवामा के कति जनशक्ति आवश्यक पर्छ, कसरी, कति र कुन स्तरका जनशक्ति राख्ने भन्ने प्रस्ट खुलाएको छ । स्वास्थ्य सेवाभित्र पनि विभिन्न उपक्षेत्र बाइसवटा कायम गरेर हरेकमा चाहिने अधिकृत र सहायक स्तरका दरबन्दीसमेत तोकेको देखिन्छ । प्राविधिक सेवा र प्रशासन सेवामा गरेर बाइसवटा समूहमा दरबन्दी कायम गरेको छ । ती समूहहरू हुन् – मेडिसियन, सर्जरी, रेडियोलोजि, पेडियास्ट्रिक, एनेस्थेसियोलोजी, फ्यामिलि मेडिसिन एन्ड इमर्जेन्सी, डर्माटोलोजि, प्याथोलोजि, अब्स्ट्रिक्स एन्ड गाइनोलोजि, मेडिकल, अटोरिनोल्याल्यारिङोलोजि, जनरल हेल्थ सर्भिस, साइकियाट्रि, डेन्टिस्ट्रि, फार्मेसी, फिजियोथेरापि, नर्सिङ, ओपिडी, इन्जिनियरिङ एन्ड मेन्टेन्स, मेडिकल रेकर्ड, प्रशासन र सहयोगी आदि रहेको पाइयो ।
पत्रपत्रिकामा ख्वप अस्पताल
शुक्रबार, वैशाख २४, २०७८ मा नेपाल डिजिटल पत्रिका ‘सेतोपाटी’ ले ख्वप अस्पतालको बारेमा लेखेको छ – कोरोना कालमा आइसोलेसनमा भर्ना भएका बिरामीले उपचार सेवामात्रै पाउने होइनन्, हरेकका लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जका लागि छुट्टाछुट्टै एक्स्टेन्सन वायर, म्युजिकल सिस्टम र पत्रपत्रिकाको व्यवस्था छ । दिनमा चारपटकसम्म खाना पाउनुका साथै नियमित विशेषज्ञ परामर्श सेवा छ ।”
स्वास्थ्य पत्रिका आइतबार, ३ पुस, २०७९ ले लेखेको छ, “निकट भविष्यमा नै ख्वप मेडिकल कलेज स्थापना गर्ने उद्देश्यले नगरपालिकाले ख्वप अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पन्ध्र लाखमा मेडिकल कलेज एवं शिक्षण अस्पताल सञ्चालन गर्न लविइङ थालेका छन् ।”
‘ख्वप अस्पताल जनताको अस्पताल हो’, मजदुर दैनिक । (पुस ३, २०७९)
‘नगरवासीहरूको भावनाअनुसार ख्वप अस्पतालले कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ । सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक क्रियाकलापमा सक्रिय बनाउन नगरपालिका लागिपरेको छ ।’ (लोकपथ, ८ वैशाख, २०७९)
‘भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल नमुना बन्दै’ र ‘एक वर्ष नहँुदै दुई लाख बीस हजारभन्दा बढीले पाए सेवा ।’ (एभरेस्ट हेडलाइन, सोमबार, २२ साउन, २०८०)
भक्तपुर, १३ फागुन २०७८ मा ‘मजदुर’ दैनिकमा छ, बिहीबार बिहान ख्वप अस्पतालको अन्तरङ्ग विभाग पुग्दा वार्डका १४ शøयामध्ये ६ शøयामा बिरामी थिए । ६ जनै बिरामी ७० वर्षमाथिका थिए । बिरामी कुरुवाहरू बिरामीलाई सक्दो सजिलो बनाउने प्रयास गरिरहेका थिए । नर्स सविना तजले एक्लै घरी बिरामीको शøयामा आवश्यक हेरचाह गर्दै थिइन् भने घरी बिरामीको आवश्यक तथ्याङ्क लग बुकमा टिप्दै थिइन् ।
वास्तवमा ख्वप अस्पताल मेडिकल कलेजको आधार तथा ख्वप विश्वविद्यालयको पूर्वाधार तथा कामदार जनताको बाच्ने आधार भएको छ । आगामी दिनमा निरन्तर प्रगतिको कामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *