भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजमा कर्मचारी भेला

ख्वप इन्जिनियरिङ कलेजमा कर्मचारी भेला

भक्तपुर, १८ फागुन । नेपाल कर्मचारी समाज ख्वप इन्जिनियरिङ कलेज, एकाइ समितिको आयोजनामा कलेजमा कार्यरत कर्मचारीहरूको भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तक गहिरिएर अध्ययन गरेमा जनताको सेवा गर्ने भावनाको विकास, असल कर्मचारी एवं असल नागरिक बन्न खुराकी पुग्ने स्पष्ट पार्नुभयो । जनताको सेवा गर्ने कर्मचारीले ऐन, नियमलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले पुँजीवादी बन्दोबस्तमा कर्मचारीहरू शिक्षित र सचेत हुनुको विकल्प छैन भन्नुभयो ।
प्रविधिको विकास सँगसँगै कर्मचारीहरू अघि बढ्नुपर्ने आवश्यकता पहिल्याउँदै उहाँले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नु न्यायप्रेमी देशभक्त कर्मचारीको कर्तव्य हो भन्नुभयो । डबिएका र हेपिएका वर्गको उत्थान गर्न कर्मचारी समाजका कर्मचारीहरू लागिपर्नुपर्ने बताउँदै उहाँले नेपाल कर्मचारी समाजको तेस्रो राष्ट्रिय सम्मेलन पूर्ण सफलताको लागि अग्रीम शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले पुँजीवादमा भ्रष्टाचार पनि सँगसँगै आउने भएकोले कर्मचारीहरू शिक्षित र सचेत हुनुपर्छ भन्नुभयो । मन्त्रालयका कर्मचारीहरूमा देशभक्तिको भावना भएको भए महाकाली सन्धिजस्ता देशघाती कुनै पनि सम्झौता हुन नसक्ने बताउँदै उहाँले पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष सिद्धिराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले कर्मचारी सङ्घ संस्थाको मेरुदण्ड भएको र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले कर्मचारी स्थायी सरकार भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *