भर्खरै :

एमसीसी सम्झौता राष्ट्रघाती हो

एमसीसी सम्झौता राष्ट्रघाती हो

लघुकथा

‘एमसीसी सम्झौता राष्ट्रघाती हो । अमेरिकी साम्राज्यवाद मुर्दावाद । देशघातीहरू मुर्दावाद ।’ यो नारा आकास थर्किने गरी सहर बजार हुँदै बानेश्वर आइपुग्यो । आन्दोलनकारीहरू पुलिसको घेरा तोड्दै अगाडि बढ्न चाहन्थे । तर, प्रहरीहरूले रोके । पुलिसहरू र आन्दोलनकारीहरूबिच घम्साघम्सी भयो । प्रहरीहरूले बल प्रयोग गरे र लाठीचार्जबाट थुप्रै आन्दोलनकारीहरू घाइते भए । आक्रोशित आन्दोलनकारीहरू देशको निमित्त भिडन्तमा उत्रे । पुलिसहरूले कहिले लाठीचार्ज गरी धपाउँथे त कहिले अश्रुग्यास फाल्थे । तर, आन्दोलनकारीहरू पनि अमेरिकाको दबाबमा आज पास गर्ने भनेको एमसीसी समझौता खारेज गराउन ज्यानै फालेर विरोध गरिरहे । आन्दोलन गर्नेहरूमा सत्तापक्षका भ्रातृ सङ्गठन पनि थिए । उनीहरू पनि त्यस सम्झौताको चर्को विरोधमा थिए ।
संसद् बाहिर भएको आन्दोलनबारे जनतालाई जानकारी दिन विभिन्न सञ्चार माध्यमहरू पनि प्रत्यक्ष प्रशारणमा लाग्दै थिए । एउटा टीभी च्यानलले आन्दोलनकारीहरूसँग अन्तर्वार्ता लिने क्रममा एकजना आक्रोशित आन्दोलनकारीसँग सोधे, “तपाईँहरू ज्यानै फालेर विरोधमा लाग्नुभएको छ  । एमसीसीमा त्यस्तो के देख्नुभयो ?”
आन्दोलनकारीको आक्रोश सेलाएको छैन । जोसिलो पाराले भन्यो, “एमसीसी सम्झौता नेपाललाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको बन्धक बनाउन खोजिएको सम्झौता हो । नेपालमा उत्पाडित विद्युत् भारतमा बेच्न ट्रान्समिसन लाइन बनाइदिने लोभ देखाई आफ्नो स्वार्थअनुरूप भारतलाई रिझाई चीनविरुद्ध उक्साउने षड्यन्त्र लुकेको सम्झौता हो । यो सम्झौतालाई नेपालको कानुनले छुन नसक्ने गरी संसद्बाट पारित गर्न खोजिएको छ । संसद्बाट पारित भयो भने नेपालको संविधानभन्दा माथिको सम्झौता हुनेछ भने दोस्रो यस सम्झौता यसअन्तर्गत पर्ने नेपालको बौद्धिक सम्पत्ति अमेरिकाको अधिकार हुनेछ  । नेपाल सरकारबाट कुनै किसिमको हस्तक्षेप गर्न नपाइने उनीहरूको अधीन रहने भएकोले यो सम्झौता राष्ट्रघाती सम्झौता नै हो ।”
त्यस टिभी च्यानलका समाचारदाताले एकजना विद्यार्थी नेतालाई पनि सोधे, “तपार्इँहरू आन्दोलन गर्दै हुनुहुन्छ । तर, तपार्इँहरूको पार्टी नेताहरू र सांसदहरू एमसीसी सम्झौता पास गर्ने पक्षमा हुनुहुन्छ । यो कस्तो राजनीति हो ?”
हाम्रा नेताहरू सुविधाभोगी तथा पद र पैसा पावर पाउने भए देश नै बेच्न तयार हुने खालका हुन् । आफ्नै अगाडि भारतले भूमि सीमा मिच्दा पनि नदेखेझैँ गर्ने, सत्ताको लागि भारतको खुट्टा मोल्न जाने प्रवृत्तिका भनेर कसलाई थाहा नभएको हो र ? पैसामा बिक्ने नेताहरू भएर नै यो सम्झौता नेपाल आएको हो । त्यस्ता नेताहरू भएर नै यो सम्झौता पास गर्ला भनेर हामी विरोधमा उत्रेका हौँ । यदि तिनीहरूले जनताको त्यस्तो विरोध हुँदाहुँदै पास गर्यो भने भोलिदेखि वारपार आन्दोलन चलाउँछौँ र ६३ सालको जनआन्दोलनले जसरी राजालाई फालेको थियो त्यसरी नै ती ढुलमुले नेताहरूलाई छाड्ने छैनौँ । फाल्छाँै फाल्छौँ ।”
सडकमा चर्को विरोध भए पनि राति बहुमतबाट एमसीसी पास गरियो । “यदि एमसीसी पास भयो भने भोलिदेखि वारपारको आन्दोलन हुन्छ,” भन्दै ती सडकमा टायर बाल्ने, ढुङ्गा मुढा गर्ने नेताहरू आज कहाँ गए कता लुके खोज्नुपर्ने भयो । कुनै आन्दोलनको सङ्केत नदेखेपछि जनताले भन्न थाले, “कतै उनीहरूको मुखमा पनि बुजो लगाइदिएको त छैन ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *