भर्खरै :

आचारसंहिताको उल्लंघन गरिँदै

गौशाला, ५ मंसिर (रासस) ः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा महोत्तरी जिल्लामा चुनाव जित्ने दाउपेचमा लागेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुबाट आचारसंहिता उल्लंघन भइरहेको छ ।
यस्ता उल्लंघन ठूला दलबाट मात्र हैन स्वतन्त्र उम्मेदवारहरुबाट पनि भइरहेका छन् । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) यस्ता गतिविधिमा अगाडि देखिन्छ ।
त्यस्तै, विभिन्न पार्टीबाट बागी बनेका र अन्य स्वतन्त्र उम्मेदवारसमेतले यहाँ आचारसंहिताको व्यापक उल्लंघन गरेको देखिएको छ । महोत्तरीमा प्रतिनिधिसभाको ४ र आठ प्रदेशसभाका ८ स्थानका लागि २१३ जना उम्मेदवार मैदानमा छन् ।
आ–आफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका उम्मेदवारहरुले सार्वजनिकस्थल पोस्टर, पम्पलेट टाँस्नुका साथै ठूल्ठूलो आवाजमा घण्टौंघण्टा लाउडस्पिकर बजाएर प्रचारप्रसार गरिरहेका छन् ।
जिल्लाको प्रत्येक गाउँठाउँको बिजुलीको खम्बा, टेलिकमको खम्बा र रुख बिरुवामा अहिले विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारको छाप अंकित झण्डा टाँगिएको हेर्न सकिन्छ । त्यस्तै, ठूला आकारका पोस्टर पनि ठाउँठाउँमा टाँगिएको भेटिन्छ ।
यहाँका उम्मेदवार आचारसंहिता विपरीत एक दर्जन भन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचारप्रसारमा उत्रेका छन् । त्यस्तै यहाँका प्रत्येक पार्टी र स्वतन्त्र उम्मेदवारले आफ्नो छाप अंकित गन्जी, टोपी लगाउन दिएर सयौँ कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, चुनावी ¥यालीमा बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ ।
यसका साथै उम्मेदवारले मतदातालाई रिझाउन झुठो वाचा, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । यता निर्वाचन आचारसंहिता उल्लंघनको अनुगमन र नियन्त्रणको जिम्मेवारी बोकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको कुनै पनि स्थानबाट निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै उजुरी नआएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा विशेष अनुगमन टोलीले नियन्त्रण र नियमनको कार्य अगाडि बढाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *