भर्खरै :

खेतीयोग्य जमिनमा अव्यवस्थित भौतिक संरचना निर्माण हुँदै

खेतीयोग्य जमिनमा अव्यवस्थित भौतिक संरचना निर्माण हुँदै

राजनीतिक अस्थिरताका कारण नेपाली जनता विरक्त छन् । अनेक पीडा र समस्याका कारण सर्वसाधारण नेपाली जनतामा निराशा छाएको छ । मुलुकका अधिकांश पालिका सरकारले जनताको इच्छा, चाहना, समस्या, आवश्यकता र तिनीहरूका लागि आवश्यकीय सम्पूर्ण जनजीविकाका सवालमा कुनै चिन्ता, चासो र जिम्मेवार भएर काम गरेको देखिँदैन । उनीहरू विकास निर्माणको नाउँमा मनोमानी आफू हितानुकूलका काममा तल्लीन छन् । जनताका नगरी नहुने र नभई नहुने अत्यावश्यक काममा पनि गम्भीर छैनन् । कहीँकतै अपवादको रूपमा चुनावताका जनतासामु व्यक्त गरिएका आफ्ना प्रतिबद्धता कार्यान्वयन भए पनि धेरै ठाउँमा सार्वजनिक काम पूरा गर्न ध्यान दिएको देखिँदैन ।
दैलेख पनि ऐतिहासिक विशेषताले भरिपूर्ण जिल्ला हो । स्थानीय पालिकाका जनता जनप्रतिनिधिको कामप्रति सन्तुष्ट छैनन् । जनताका दैनिक जनजीविका काममात्र होइन, हरेक हिसाबले राजनीतिक स्वार्थ र पूर्वाग्रहीका कारण जनताका काममा बाधा र समस्या उत्पन्न भइराखेको छ ।
आ–आफ्नो स्वार्थपूर्तिका लागि विशेष गरेर सत्तासीन र एउटै पार्टीभित्र पनि गुट उपगुट बनाउँदै पालिका सदरमुकाम, वडा कार्यालय, बाटाघाटा, विभिन्न विकास योजनाहरूमा विवाद गर्ने र सामाजिक हितका लागि भन्दा पनि आफ्नो व्यक्तिगत हितका लागि काम गर्न खोज्दा बजेट र अर्थतन्त्र जथाभावी ब्रह्मलुट हुने र विकासको गतिमा अवरोध सृजना पैदा भई कुनै काम अगाडि बढेको देखिँदैन ।
११ वटा पालिकामध्येको आठबिस नगरपालिका प्राकृतिक सौन्दर्य बोकेको कर्णाली नदी किनारले धेरै भूमि ओगटेको छ । मापदण्डबिनाको नगरपालिका घोषणा हुनु कुनै विकासको लागि थिएन । नगरपालिका प्रमुख भएर नगरपालिकामा आवश्यक कर्मचारी कोटा लुकाएर करारमा नियुक्त गरी आफू पक्षीय काम गर्ने र आगामी दिनको चुनावमा मत सुरक्षित राखी जनताका काममा रजाइँ गर्ने काम भइरहेको छ । पालिकामा अवस्थित राकम कर्णाली एक सुन्दर र रमणीय ठाउँ हो । यस पालिकाको बजारको व्यवस्था भएको एकमात्र ठाउँ हो राकम कर्णाली । यो ठाउँलाई एक पर्यटकीय स्थल बनाई आयआम्दानीको स्रोत केन्द्र बनाउनुपर्ने थियो । तर, अगुवाहरूको घैँटोमा घाम लागेन । भविष्य र दीर्घकालीन सोच नबनाएर केबल चुनावी भोट बचावटको स्वार्थ लागि काङ्ग्रेस, एमाले र माओवादीलगायतका सत्ताका भागीदारहरूले आफ्नो तल्लो स्तरका कार्यकर्तालाई जानकारी नदिई पालिकाको सदरमुकाम राकम कर्णाली बनाउने गोप्य र आन्तरिक सहमति भएको बुझिएको छ । विभिन्न स्वार्थ र राजनीति दाउपेचका कारण पालिकाका जनवासीलाई पालिका सदरमुकाम पायक र उपयुक्त नहुँदा नहुँदै पालिका सदरमुकाम राकम कार्णालीमा बनाउने पक्का भएको छ ।
राकम अन्न र तरकारी खेतीको लागि उपयुक्त ठाउँ हो । साथै सुन्दर नदी त्यही बाटो भएर बग्ने भएकोले त्यस ठाउँलाई अझ सुन्दर, पर्यटकीय स्थल र माछा पालनको लागि बिनालगानी एक व्यवसायिक क्षेत्र तयार गर्न सकिने ठाउँमा केही मुट्ठीभर मान्छेको फाइदा र निर्णयको हाबीले गर्दा सबै कुरा अस्तव्यस्त देखिन्छ । यहाँ अन्न र अन्य उत्पादनका उपयुक्त ठाउँ नभएको तर भौतिक संरचना र घर टहराका लागि राकमबाहेकका ठाउँहरू अन्यत्र पनि थुप्रै भएका र पालिकाका सबै जनताका लागि पायक र सजिलो हुने ठाउँहरू पनि धेरै छन् । तर, पालिका सदरमुकाम पनि त्यही बनाउने निर्णयले मानिसहरू घर घडेरी किन्दै अव्यवस्थित तरिकाले र बिनामापदण्डको भौतिक संरचना बनाउँदै छन् । अब अन्न उत्पादनमा न्यूनता आउने करिब निश्चित छ । विकासको दृष्टिकोणले दैलेखको राकम कर्णाली मध्यपहाडी लोक मार्गको दसवटा सहरमध्यको एक मेघा सिटीभित्र पर्छ । त्यसैले पनि विकास नभएको ठाउँमा विकास गर्ने र खेतीयोग्य जमिनलाई व्यवस्थित तवरबाट उत्पादन क्षेत्र र पर्यटकीय विकासको क्षेत्र बनाउँदा सबैको हितमा हुने थियो । आखिरी निर्माण गरिने भौतिक संरचनालाई ध्यान दिँदै उत्पादित क्षेत्र कायमै राखी दीघकालीन सोचका साथ काम गरिनुपर्ने कुरामा बहुमत नगरवासीको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *