भर्खरै :

समानता, न्याय र स्वतन्त्रताको निम्ति श्रमिक महिला आन्दोलन

समानता, न्याय र स्वतन्त्रताको निम्ति श्रमिक महिला आन्दोलन

बाँके, २६ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ बाँकेको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रबार भयो ।
कोहलपुरमा भएको सो कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको पृष्ठभूमिबारे जानकारी दिँदै समानता, न्याय र स्वतन्त्रताको निम्ति त्यस्तो आन्दोलन अहिले पनि आवश्यक छ भन्नुभयो ।
उहाँले अरु स्वाधीन देशमाथि थिचोमिचो गर्ने संयुक्त राज्य अमेरिका संसारकै सबभन्दा बढी कैदी बन्दी भएको र हरेक दिन बलात्कार र हत्या भएको देश हो भन्नुभयो ।
रुस–युक्रेन युद्ध अमेरिकाकै कारण भएको प्रस्ट पार्दै उहाँले देश–देशबिच युद्ध गराएर हतियार बिक्री गर्ने र अरु देशलाई कमजोर पार्ने अमेरिकाको लक्ष्य रहेको बताउनुभयो ।
उहाँले संयुक्त राज्य अमेरिकाकै इसारा र सहयोगमा इजरायलले प्यालेस्टिनीमाथि आक्रमण गरेर प्यालेस्टिनमा ठुलो धनजनको क्षति पु¥याइरहेको उल्लेख गर्दै अमेरिका प्यालेस्टिन देश नै लोप गराउन चाहन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्यालेस्टिनी जनताको जीवन भयावह छ । ३० हजारभन्दा बढी प्यालेस्टिनी मरिसकेका छन् । अमेरिकाले संसारका स्वाधीन देशलाई आतङ्कित पार्दै छ ।”
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले सन् १९१० मा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनले १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाइरहेको बताउनुभयो ।
श्रमिक महिलाको मुक्ति समाजवादमा मात्र हुने विचार व्यक्त गर्दै उहाँले जनताको राजनीतिक चेतना नहुँदा जनताले दुःख पाइरहेको बताउनुभयो ।
नेक्रामसङ्घ बाँकेका अध्यक्ष कोपिला शाहीको सभापतित्वमा भएको सो कार्यक्रममा नेमकिपा बर्दिया अध्यक्ष हरिलाल न्यौपाने, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, ख्वप पोलिटेक्निकका रविना सुवाल, भावना थापा, सुर्जा थापा, नारायणी चौधरी र लक्ष्मी शाहीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बिचबिचमा नृत्य र गीत प्रस्तुत गरिएको थियो ।
भेलाले सूर्जा थापाको अध्यक्षतामा ९ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ र भावना थापाको अध्यक्षतामा १० सदस्यीय नेक्राविसङ्घ जिल्ला समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *