यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
शुक्रबारको बिहानी घरमै विश्राममा बित्यो । हिजो दिनभर अलि थकाइ लागेको थियो । अघिल्लो दिन बिहान ९/१० बजेदेखि राति ११ बजे आवासमा नपुग्ने बेलासम्म दौडधुप धेरै भएको थियो । आफूलाई चार्ज गर्न, रिफ्रेस बनाउन केही बेर ध्यानमा बसेँ । बिहानको भोजनपछि भक्तपुर नगरपालिकाको विशेष कार्यक्रम हेर्न हिँडियो । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने मुख्य उद्देश्यमा भक्तपुर नगरपालिका वडा नं. १ मा भाजु पुखूू र जलेश्वर मन्दिरको उद्घाटन तथा ‘भाजु पुखूू र जलेश्वर मन्दिर पुनर्निर्माण’ पुस्तक विमोचन कार्यक्रम थियो । भक्तपुर नगरपालिकाको ब्रह्मायणीबाट छिटोछिटो गर्दै म पाँचतले मन्दिरबाट सांस्कृतिक झाँकीसहितको जुलुसलाई भेटेँ । भक्तपुरको पाँचतले मन्दिरबाट विभिन्न बाजा गाजाहरू, साङ्गीतिक झाँकीहरूसहितको विशाल ¥याली अगाडि बढ्दै थियो । विभिन्न स्कूलका विद्यार्थीहरू आ–आफ्नो विद्यालयको व्यानर लिएर परम्परागत पोशाक, विद्यालय पिच्छे फरकफरक पोषाक, अझै सांस्कृतिक झाँकीमा अनेकौँ सङ्गीत तथा नृत्य देखाउँदै, वाद्यवादनका साधनको भरपुर उपयोग गर्दै ¥यालीको शोभा बढाएका थिए । सुरुमा नेवारी बाजाको टीम, क्रमशः नेपाली पोशाकमा सजिएका महिलाहरूका बाजागाजासहितको लावालस्कर अझै, स्काउटको युनिफर्ममा सजिएका साना केटाकेटीहरूको भूमिका अनुकरणीय थियो । साना केटाकेटीको लट्ठी नाच (माक प्याखँ, तलेजु सांस्कृतिक समूहको प्रस्तुति अझै रोचक थियो । बाटोबाटोमा बुढीआमाहरू खुसी हुँदै हँसिलो अनुहारमा ¥यालीमा सहभागीलाई पानी खुवाउने काममा व्यस्त भएको देखियो । बुढी महिलाले बाटोमा बसेर सबैलाई पानी दिएको दृश्य मार्मिक, आत्मीय र अति धेरै प्यारमय थियो । उक्त दृश्यलाई विभिन्न देशका पर्यटकहरूले भिडियो रेकर्ड गर्ने, फोटो खिच्दै गरेका दृश्य बाटोभरि देखिन्थे । नयाँ पुस्ताहरू परम्परा, संस्कृतिप्रति नेपाल र नेपालीपनप्रति भन्दा विदेशी संस्कृतितर्फ लागेको अहिलेको परिवेशमा पनि त्यो देखिएन । सबै पुस्ताको उत्तिकै सहभागिता, चासो, चिन्ता र लगाव देखियो । भक्तपुरका साना केटाकेटी, युवा तथा बुढाबुढी सबै पुस्ताका व्यक्तिहरू एकमतले परम्परा, संस्कृति र सम्पदाको खुला सांस्कृतिक सम्पदा भएको यो नगरीमा आउने पर्यटकहरूको आजको सबैभन्दा महत्वपूर्ण दृश्य नै सांस्कृतिक झाँकी थियो । भक्तपुर नगरपालिकाको व्यानरमा राजनीतिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित), नगर प्रमुख सुनिल प्रजापति, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजीवीलगायत महिला जनप्रतिनिधिहरू गुन्यु चोलीमा सजिएर जुलुसमा सहभागी हुँदा सम्पूर्ण सहभागीको हृदय गौरवान्वित भएको भान हुन्थ्यो । यसरी बिस्तारै जुलुस भाजु पोखरीको मूलगेटबाट भित्र पस्यो ।
भाजु पुखूू र जलेश्वर मन्दिरको प्रवेशद्वार आसपासका दृश्यहरू, स्वागतमा बसेका नेवारी पोशाकका दिदीबहिनीहरूको लाइन मनोरम थियो । खेलकुद क्षेत्रका प्रदर्शन, विभिन्न विद्यालयका झाँक्री, बिचबिचमा बुढी आमाहरूले जुलुसमा पानी छम्किएको दृश्य, विदेशी रमाउँदै भिडियो, फोटा लिएका दृश्यहरू, महत्वपूर्ण र अविस्मरणीय रहे ।
आजभन्दा करिब आठसय वर्ष पहिले राजा जितेन्द्र मल्लको पालामा उनका प्रिय पात्र भागिराम प्रधानाङ्ग अर्थात् भाजु कसजुले निर्माण गराएको कुरा इतिहासकार प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठबाट अवगत भयो । तीन दशकअगाडि पानी सुकेर पूरै उजाड गौचनजस्तो रहेको र गत २०७२ सालको भूकम्पको बेला सयौँ भूकम्प पीडितहरूको बासस्थान बनेको यो पोखरी ३२ रोपनी ११ आना जग्गामा फैलिएको सिद्धपोखरीबाट करिब ५० मिटरको दुरीमा भक्तपुर क्याम्पसको काखैमा अर्थात् भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित छ । काठमाडौँको रानीपोखरीभन्दा पुरानो प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटनको हिसाबले अति महत्वपूर्ण यो पोखरीको बिचमा परम्परागत शैलीमा निर्माण भएको सुन्दर जलेश्वर मन्दिर रहेछ । इतिहासकारको भनाइमा यहीँ पोखरीको नक्कल गरेर काठमाडौँमा रानीपोखरी निर्माण गरिएको थियो । काठमाडौँको रानीपोखरीकै स्वरूपमा पुनर्निर्माण गरेको अति सुन्दर पोखरी तथा जलेश्वर मन्दिरको उद्घाटन वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) बाट गरिनु अझै महत्वपूर्ण पक्ष थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाई, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, इतिहासकार प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, प्रजिअ रोसनी श्रेष्ठ, उपप्रमुख रजनी जोशी, अरुणा नकर्मि, भक्तपुर क्याम्पस प्रमुख डा. सविता लुइटेललगायतका बौद्धिक व्यक्तिहरूको सारगर्भित मन्तव्य एवम् गरिमामय उपस्थितिले हजारौँ सहभागीलाई सचेत, सङ्गठित र सुसूचित गरिरहेको खुला कक्षा बनेको थियो । फरकफरक पुस्ताका सहभागीहरूले एकैपटक, एउटै स्थानमा विगतदेखि वर्तमानसम्ममा, धेरै क्षेत्रका विज्ञहरूबाट ज्ञान प्राप्त गरिरहेको सम्भावित ख्वप विश्वविद्यालयको बृहत् खुला प्राकृतिक कक्षाकोठाजस्तो महसुस भएको थियो ।
अहिले श्रमको सम्मान गर्ने, जनताका छोराछोरीलाई उचित शिक्षा, स्वास्थ्य, रोजगार दिने, कामदार तथा गरिखाने वर्गको हितमा प्रायःजसो काम नेपाल सरकारको प्राथमिकतामा देखिँदैन । कुनै पनि काम अप्रत्यक्षरूपमा नेताहरूको खल्तीमा पैसा पर्ने गरी ठेक्का दिने, यदाकदा उपभोक्ता समिति बनाए पनि आफ्नै आसेपासे, झोलेहरूलाई मात्रै राखेर काम अधुरै छोड्ने, कमसल सामग्रीको प्रयोग गर्नेजस्ता गलत हर्कतले जनश्रमदान हुँदैन भन्ने उल्टै निर्दाेष जनतालाई दोष दिएर गलत काम गर्नेहरू उम्कने अहिलेको यथार्थमा भक्तपुर नगरपालिका अछुतो देखियो । सबै प्रकारका अनियमितता, जनतालाई अहित हुने, दुःख पीडा हुने, असर र हानि हुने काम नगरेर सम्पूर्ण जनताको पूर्ण विश्वास जित्न सफल भएको देखियो । नेपालका प्रायः हरेक योजनामा रकम थप्ने, काम अधुरो, अपुरो र अपारदर्शी हुने गरेकोमा यहाँ सबै काम उपभोक्ता समितिबाट कुशलतापूर्वक सम्पन्न गरेको देखियो । कुल लागत दुई करोड एकाउन्न लाखमा एक करोड सतासी लाखमात्रै खर्च भएको अझै पोखरीलाई सुन्दर पार्ने काम बाँकी रहेको कुरा स्पष्टरूपमा सबैलाई जानकारी गराउने काम भयो । यहाँ कुनै पनि कामको जिम्मेवारी दिँदा वा उपभोक्ता समिति गठन गर्दा नातागोता, भोट दिए नदिएको, आफ्नो अर्काको, राजनीति आस्था मिले नमिलेको आधारमा भन्दा काम गर्ने सिप, क्षमता र दक्षतालाई मात्रै आधार मान्ने गरेकोले नै प्रायः उपभोक्ता समितिले तोकिएको रकमभन्दा कम रकममा काम सम्पन्न गर्ने गरेको, अझै बढी भएको रकम नगरपालिकामा फिर्ता गर्ने गरेको अथवा तोकिएको भन्दा थप काम गरेको भेटियो । कुनै पनि कार्यक्रममा कामदारवर्गलाई अतिथि बनाउने, दोसल्ला ओढाउने, प्रशंसा पत्र, पुरस्कार दिने कामलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइयो । भाजु पुखू अर्थात् भाजु पोखरी र जलेश्वर मन्दिरको उद्घाटन समारोहमा श्रमिकलाई अतिथि बनाएको र विशेष सम्मानित गरिएको थियो । सुरुदेखि काम गरेका महिला तथा पुरुष कामदारहरूलाई प्रमुख अतिथिबाट सम्मान गरेको, अझै उपभोक्ता समितिका पदाधिकारीहरूलाई, सिकर्मी, डकर्मीहरूलाई उच्च सम्मान र प्रशंसा गरेको दृश्यले वास्तवमा कामदारवर्गको स्वर्ग निर्माणमा नेपाल मजदुर किसान पार्टीको नेतृत्वले भक्तपुरबाट सुरु गरेको अनुभूति भयो । अझै भाजु पोखरीका बारेमा खोज अनुसन्धान गरेका विज्ञहरूका लेख रचनाहरू, कामको पारदर्शितासम्बन्धीका विवरणहरू भएको पुस्तक पनि प्रमुख अतिथिबाट विमोचन भयो ।
Leave a Reply