भर्खरै :

भक्तपुरका सम्पदाहरुको संरक्षणमा डा. श्रेष्ठको महत्वपूर्ण योगदान छ

भक्तपुरका सम्पदाहरुको संरक्षणमा डा. श्रेष्ठको महत्वपूर्ण योगदान छ

डा. पुरूषोत्तमलोचन श्रेष्ठद्वारा लिखित इतिहास, संस्कृति र पुरातत्वसम्बन्धी अनुसन्धानमूलक लेखहरूको सङ्ग्रह ‘अन्तरङ्गका तरङ्गहरू’ भक्तपुरका सम्पदाबारे अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि अत्यन्त महत्वपूर्ण हुने हाम्रो विश्वास छ ।
डा. श्रेष्ठले भक्तपुरका धेरै सम्पदाहरूको अध्ययन अनुसन्धान गर्नुभयो । कतिपय किंवदन्तीको रूपमा सुनिरहेका सम्पदाहरूका बारेमा प्राप्त प्रमाणहरूको अध्ययन अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुभयो । जीवनका महत्वपूर्ण समय उहाँले अध्ययन अनुसन्धानमा खर्च गर्नुभयो । ‘अन्तरङ्गका तरङ्गहरू’ उहाँको पसिनाको सङ्ग्रह हो । पसिनाको मूल्य हुँदैन । यो अमूल्य ग्रन्थ हो ।
हामी सिन्धुघाटी र हडप्पा सभ्यताबारे अध्ययन गर्छौँ । आजभन्दा ४ हजार वर्ष पहिलेका बासिन्दाहरूले उपभोग गरेका वस्तुहरू, निर्माण गरेका संरचनाहरूबारे बुझ्छौँ । मोहन्जोदारोमा उत्खनन् गरेर प्राप्त गरेका धातु र प्रस्तर मूर्तिहरूको अध्ययनले तत्कालीन मानिसहरूको उत्कृष्ट कलाकारिताबारे जानकारी दिन्छ । यसले नगर सभ्यताको विकास, अग्ला अग्ला घरहरू, त्यहाँका मानिसहरूको जनजीवन बुझ्न मद्दत गरेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्मित बौद्ध स्तुपाहरूले २६ सय वर्षअघिको गौतम बुद्धकालीन इतिहास बताउँछन् । अहिले लुम्बिनी र तिलौराकोटको उत्खनन भइरहेको छ । अध्ययन अनुसन्धानले नयाँ नयाँ तथ्यहरू पत्ता लाग्छ । विज्ञान र प्रविधिको विकासले हजारौँ वर्ष पहिलेको घटनालाई पनि सहजै बुझ्न सक्ने भएका छौँ ।
भक्तपुरका सम्पदाहरूबारे धेरै अध्ययन भइसकेका छन् भने धेरैको अध्ययन अनुसन्धान गर्न बाँकी नै छ । भक्तपुरको ‘न्हु पुखु’ (रानीपोखरी) भक्तपुरका जनतालाई कममात्र थाहा थियो । नेपाली सेनासँगको समन्वयमा भनपाले पुनः निर्माण सम्पन्न ग¥यो । नेसं ७५० मा जगज्र्योति मल्लको पालामा निर्मित उक्त पोखरीसम्बन्धी अध्ययन कार्यदलका संयोजक डा. श्रेष्ठ नै हुनुहुन्थ्यो । फागुन २५ गते उद्घाटन भएको ८०० वर्ष पुरानो भाजु पुखू अध्ययन कार्यदलको पनि उहाँ नै संयोजक हुनुहुन्थ्यो । लामो समयको अध्ययन अनुसन्धानपछि प्राप्त वस्तु वा प्रमाणहरूको आधारमा मौलिक शैलीमै ती सम्पदाहरूलाई पुनःनिर्माण ग¥यौँ । भक्तपुरको इतिहासलाई भक्तपुर नगरपालिकाले जीवन्तता दिने कोसिस गर्दै छ ।
भक्तपुर नगरपालिकाले थंथु दरबार निर्माण गर्दै छ । त्यसबारे पुरातत्व विभाग, संस्कृति मन्त्रालयसँग पनि समन्वयमा रही काम गर्दै छौँ । केही समयअघि मात्रै पुरातत्व विभागका निर्देशक, युनेस्को प्रतिनिधिहरू आएर अध्ययन गर्नुभयो । उहाँहरूले ठाउँठाउँमा खाल्डो खनेर उत्खनन गरी प्राप्त वस्तुहरू परीक्षणको लागि लिएर जानुभयो । अहिले निर्माणको लागि अघि बढ्न सल्लाह दिनुभयो । अब निर्माणले गति लिन्छ ।
विद्यार्थी निकेतन माविमा पनि ट्याङ्कीको लागि जग खन्ने क्रममा दरबारको किल्ला भेटियो । नगरपालिका र पुरातत्वका प्रतिनिधिहरू गएर त्यसलाई रोक्ने काम ग¥यौँ ।
भनपा वडा नं. ५ कुथु सुब्याको जग खन्ने क्रममा भाष्कर मल्लका पुराना मुद्राहरू भेटिए । त्यसले तत्कालीन इतिहास बुझ्न मद्दत ग¥यो । जगनाथ क्षेत्र, दरबार क्षेत्रको ९९ चोक चोक र साकोठाको उत्खनन् बाँकी नै छ ।
लिच्छविकालीन र मल्लकालीन सम्पदाहरू रहेको भक्तपुर एक सम्पदा नगर हो । यहाँको प्राचीन मौलिकता हराउन नदिने भक्तपुर नगरपालिकाले मिहेनत गरिरहेको छ । परम्परागत घर निर्माण गर्नेलाई अनुदानको व्यवस्था, डकर्मी, सिकर्मीको तालिम, कला–संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रमको व्यवस्था नगरपालिकाले मौलिकता जोगाउने प्रयासका केही उदाहरणहरू हुन् ।
भरत जंगम यहीँ हुनुहुन्छ । उहाँले भनपाको स्वीकृतविना जंगम मठ निर्माण गर्न खोज्नुभयो । हामीले रोक्ने कोसिस ग¥यौँ । पछि उहाँले नक्सा पास गर्नुभयो । उहाँ भन्नुहुन्थ्यो, काठमाडौँ, ललितपुरमा मठको नक्सा पास गर्न नपर्ने भक्तपुरमा मात्रै किन ? पछि छलफल गरेर सहमतिमा प्रक्रिया अघि बढ्यो ।
कलेज र विश्वविद्यालयहरूमा इतिहास पढ्ने विद्यार्थीहरू कम हुँदै गएका छन् । त्यसलाई ध्यानमा राखेर भनपाले विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । भनपाको छात्रवृत्तिका धेरै विद्यार्थीले इतिहास, संस्कृति विषय लिएर अध्ययन गरिरहेका छन् ।
विद्यालय, कलेजहरूमा विद्यार्थीहरूलाई इतिहास, भूगोलको अध्ययनको आवश्यकता महसुस हामीले गर्दै छौँ । इतिहास र संस्कृति पढ्ने विद्यार्थी, प्राध्यापक र त्यसबारे अध्ययन, अनुसन्धान गर्न चाहने सबैको निम्ति डा. श्रेष्ठद्वारा लिखित पुस्तक अत्यन्त उपयोगी हुने विश्वास छ । भक्तपुरको सम्पदा संस्कृतिबारे बुझ्न विदेशीको लेख पढ्नुपर्ने अवस्था छैन ।
मानिसलाई जीवनमा गरेका राम्रो कामले अमर बनाउँछ । डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई यही पुस्तकले देशविदेशमा परिचित गराउनेछ । युगयुगसम्म बचाइराख्ने छ । भक्तपुरका सम्पदाहरू संरक्षणमा डा. श्रेष्ठको महत्वपूर्ण योगदान छ । उहाँजस्ता धेरै इतिहासकार, संस्कृतिविदहरूको आवश्यक छ ।
यस्तो महत्वपूर्ण पुस्तक प्रकाशनमा सहयोग गर्ने सञ्चित बचत तथा ऋण सहकारी संस्थालाई धेरै धेरै धन्यवाद ! सहकारी पैसाको लेनदेनमा मात्रै सीमित हुन नहुने समाजको निम्ति काम गर्नु पर्ने मान्यताअनुसार यो पुस्तक प्रकाशन गरेको भन्ने लागेको छ । आगामी दिनहरूमा यस्तै कामको अपेक्षा गर्दछु ।
लेखक पुरुषोत्तम लोचन श्रेष्ठलाई हार्दिक बधाई तथा यस्तै पुस्तकहरू लेखिरहन सकून् ! शुभकामना !
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डा. पुरुषोतम श्रेष्ठद्वारा लिखित ‘अन्तरङ्गका तरङ्गहरू’ पुस्तक विमोचन कार्यक्रममा फागुन २८ गते व्यक्त गर्नुभएको मन्तव्यको सार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *