अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मङ्गलबार बिहान दस बजे वागीश्वरी हँुदै दत्तात्रयमा पुग्दा मानिसहरूको चहलपहल धेरै थियो । विभिन्न विद्यालयका विद्यार्थीहरू अनेकौँ पोसाकमा ब्यानर बोकेर आउँदै थिए । खेलकुदमा सहभागी हुन चारैतिरबाट सहभागीहरू आउँदै थिए । हाम्रो नजर दत्तात्रय मन्दिरको वरिपरिका दृश्यतिर घुम्दै थियो । कला, संस्कृति र सम्पदाको धनी भक्तपुरको केन्द्रमा रहेको दत्तात्रय मन्दिर अनेकौँ कला कौशलले सजिसजाउ र भरिभराउ थियो । कलात्मक शैलीमा निर्मित यो मन्दिरको अगाडि दुईवटा अग्ला ढुङ्गाका खम्बाहरू छन् भने खम्बाको शिर वा टुप्पोमा मौलिकता झल्कने मूर्ति राखिएको छ । चारैतिर सुन्दर, रमणीय मानव निर्मित कलाकौशलले सजिएका दृश्यहरूको ठीक अगाडि ठुलो ब्यानर झुन्ड्याइएको थियो । फरकफरक साइजका रङ्गीन अक्षरहरूले उक्त ब्यानरमा लेखिएको थियो, ‘पुर्खाले सिर्जको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने मूल नारासहित भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर महिला कबड्डी खेलकुद प्रतियोगिता २०८० उद्घाटन ¥याली । मन्दिरको फिल्डमा साना ठुला विद्यार्थीहरूका आआफ्नो ब्यानरसहितको लस्करै लाइन लागेका थिए । प्रत्येक लाइनको बिचबिचमा शिक्षक शिक्षिका तथा खेल शिक्षकहरूले अनुशासन, नैतिकता तथा इमानदारीतासम्बन्धी निर्देशन दिँदै गरेको देखिन्थ्यो । विभिन्न देशबाट भ्रमणमा आएका फरकफरक उमेरका पर्यटकहरूले खेलाडीहरूको बिचबिचमा पसेर फोटो खिच्ने, भिडियो बनाउने, सेल्फि लिने, टिकटक बनाउने काममा व्यस्त भएका दृश्य अति आकर्षक थिए । खेलप्रेमीहरूको ठुलो भिड लागिसकेको थियो । यतिखेरसम्म भक्तपुर नगरपालिकाका प्रायः जनप्रतिनिधिहरू उपस्थित भइसक्नुभएको थियो । भेलामा धेरै सम्मानित व्यक्ति जम्मा हुनुभएको थियो । खेलकुदप्रेमी, स्वदेशी तथा विदेशी बटुवाहरू, पर्यटकहरू फोटो लिँदै, रमाइलो महसुस गर्दै थिए । यत्तिकैमा माइकिङ सुरु भयो । सबै सहभागीहरूलाई ¥यालीमा सहभागी हुन, अनुशासनसम्बन्धी, झन्डा, ब्यानर, जुलुसको नियम सुनाएपछि बिस्तारै खेलप्रेमीहरूको जुलुस अगाडि बढ्यो । जुलुसको अग्रस्थानमा सुरक्षा कबजको रूपमा बक्सिङका खेलाडीहरू थिए, त्यसपछि प्रसिद्ध भक्तपुरका धिमे बाजागाजाहरू थिए । बाजागाजापछि नेपालको झन्डा फहराएको थियो । अनुशासितरूपमा निश्चित नियम र पद्धतिको आधारमा जुलुस बनेको थियो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न खेलाडीहरू, खेलकुद कर्मचारीहरू, यसपछि विभिन्न पन्ध्र वटा पालिकाका खेलाडीहरू, विद्यालयबाट सहभागी भएका विद्यार्थीहरू, खेलकुद समितिका पदाधिकारीहरू, खेलप्रति रुचि राख्ने खेलप्रेमीहरू थिए भने सबैभन्दा अन्तिममा भक्तपुर नगरपालिकाका कर्मचारीहरूको टीम थियो । व्यवस्थित, अनुशासित ¥यालीलाई भक्तपुर नगरपालिका ९ नं. वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रममा स्वागत गर्दै जुलुस परिक्रमा गर्ने रुटहरू, अनुशासन आचरणका सम्बन्धमा जानकारी दिनुभएको थियो । खेलकुदप्रेमीहरूको यो ¥याली भक्तपुर नगरका विभिन्न क्षेत्रहरूको परिक्रमा गर्दै अगाडि बढेको थियो । दत्तात्रयबाट सुरु भएको जुलुसले इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, तौमढी, गःहिटी, नासमना, वंशगोपाल, भार्वाचो हुँदै सहिद स्मृति खेलमैदानमा पुगेको थियो ।
सहिद स्मृति खेलमैदान गहिरो भागमा पश्चिमतिरबाट ठुलो जालीले घेरिएको, सानो चिटिक्क परेको रमणीय थियो । दुलहीजस्तै सजिएको चिटिक्क परेको सानो मञ्चको पछाडि ठुलो उद्घाटन ब्यानर टाँगिएको थियो । ब्यानरसँगै बिच भागमा नेपालको झन्डा थियो भने वरिपरि अन्तरमहिला कबड्डी प्रतियोगितामा सहभागी भएका नगरपालिकाहरूका झन्डाहरू थिए । प्रमुख अतिथि, विशेष अतिथि र अतिथिलाई आसन ग्रहण गर्न छुट्टै स्थान बनाइएको थियो भने मन्तव्यको लागि अल्लि टाढा रोस्टम राखिएको थियो । खेलमैदानको उत्तर, पूर्व र दक्षिणतिर खेलप्रेमी तथा दर्शकहरूको लागि बनाइएको व्यवस्थित सिँढीहरू थिए । खेलमैदानको तीनतिर हजारौँ दर्शक अट्ने गरी करिब २२÷२३ वटा लामा लामा लाइनमा आरामसँग बसेर खेल हेर्न मिल्ने व्यवस्था थियो । हामीहरू पनि सयौँ दर्शनहरूसँग घुलमिल गर्दै बिच भागमा बस्यौँ ।
सम्पूर्ण खेलाडी तथा दर्शकलाई शुद्ध पिउने पानीको व्यवस्था थियो । खेलमैदान र दर्शकहरू बस्ने स्थान सफासुग्घर थियो । नजिकै शौचालयको व्यवस्था थियो । विभिन्न विद्यालयबाट खेलकुद हेर्न र सिक्ने सहभागी भएका विद्यार्थीहरूलाई कार्यक्रम स्थलमै विभिन्न प्रकारको खाजा नास्ताको व्यवस्थापन गरिएको देखिन्थ्यो भने अन्य अतिथिहरूको लागि उद्घाटन कार्यक्रम सकिए पछि नेवारी परिकारको खाजाको व्यवस्था मिलाइएको थियो ।
नेपालमा सबैभन्दा पहिले हुन लागेको राष्ट्रियस्तरको ‘अन्तरनगर स्तरीय महिला कबड्डी’ प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका पन्ध्रवटा नगरपालिकाका टीमहरू सहभागी भएका थिए । भक्तपुर नगरपालिकाले हरेक व्यक्तिलाई कुनै न कुनै खेलकुद वा व्यायाममा सहभागी गराउने उद्देश्यले विभिन्न खेलकुद सञ्चालन गर्ने, टोलटोलमा खेलमैदान निर्माण गर्ने, व्यायामशाला निर्माण, हरेक विद्यालयलाई खेलकुदमा विशेष जोड दिन प्रोत्साहन गरेको देखिन्छ । नयाँ पुस्तालाई खेलको माध्यमबाट अनुशासित, इमानदार, निरोगी, जाँगरिलो, फूर्तिलो बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिएको देखिन्छ । खेलकुदको माध्यमबाट विभिन्न पालिकाहरूसँग भेषभूषा, भाषा, संस्कृति, संस्कार, सभ्यताको अनुभव आदानप्रदान गर्ने, सम्बन्ध विस्तार गर्दै भाइचारको भावना बढाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा यो प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमलाई रु. एक लाख पचास हजार, दोस्रोलाई रु. एक लाख र तेस्रो र चौथोलाई पचास÷पचास हजार नगद पुस्कारको व्यवस्था गरेर सञ्चालन भएको यो ‘अन्तरनगर महिला कबड्डी प्रतियोगिता २०८०’ को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबाट गरिएको थियो । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसाई, उपप्रमुख रजनी जोशी, कार्यकारिणी प्रमुख वसन्त भट्टराईलगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य दिनुभएको थियो । अन्य कार्यक्रमहरूमा दर्शक दीर्घामा वृद्धवृद्धा, बुढाबुढी तथा अभिभावकहरूको बाहुल्यता देखिन्थ्यो भने यहाँ युवाहरू, स्कूल, कलेजका विद्यार्थीहरूको बाहुल्यता थियो ।
यो अन्तरनगर महिला कबड्डी प्रतियोगिता २०८० मा देशका विभिन्न नगरपालिका, उपनगरपालिका, महानगरपालिकाका गरेर पन्ध्रवटा टीमको सहभागिता थियो । यो प्रतियोगितामा नेपालको सुदूरपश्चिम प्रदेशका महाकाली नगरपालिका दार्चुला, मेलोनि नगरपालिका बैतडी, भीमदत्त नगरपालिका कञ्चनपुरदेखि काठमाडौँ महानगरपालिका, गोदावरी नगरपालिका, पनौती नगरपालिका, बनेपा नपा, सिद्धिचरण नपा, बुटवल उपनपा, कीर्तिपुर नपा, कलैया नपा, भक्तपुर नपा, मध्यपुर नपालगायतको सहभागिता देखियो । प्रतियोगिताले सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई आनन्द दिलाएको थियो । हरेक खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीलाई भक्तपुर नगरपालिकाले, म्यान अफ द म्याच, घोषणा गर्दै सम्मानित गरेर खेलाडीलाई सम्मान र हौसला प्रदान गरेको थियो ।
शिक्षा, स्वास्थ, संस्कृति, सम्पदा, पर्यटनको हिसाबले परिचित भक्तपुर नगरपालिका खेलकुदको रूपमा पनि सबैभन्दा अगाडि बढेको देखियो । वास्तवमा भक्तपुर एउटा खुला विश्वविद्यालय हो । यहाँका प्राचीन कालदेखि हालसम्मका हरेक पक्षको अध्ययन, अवलोकन गर्न पाइन्छ ।
Leave a Reply