कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
वडा कार्यालयमा सेवाग्राहीहरूको अलि भिड थियो । प्रथम प्रहरको समय भएकोले सेवाग्राहीको भिड हुनु स्वाभाविक हो । म कुराकानीमै व्यस्त थिएँ । कुराकानीकै क्रममा तीन जना तामाङ दाजुभाइहरू पनि आउनुभयो । मैले उहाँहरूलाई वडा कार्यालय आउनुको प्रयोजन सोधेँ । त्यसमध्ये एक जनाले भन्नुभयो, “सबभन्दा पहिले हाम्रो परिचय दिन चाहन्छु । मेरो नाम प्रेम तामाङ (नाम परिवर्तित) हो । उनी मेरी श्रीमती हुन् । उनको नाम डोल्मा तामाङ (नाम परिवर्तित) हो । यो भाइ हाम्रो भान्जा दीक्षान्त सुवाल (नाम परिवर्तित) हो । यो भाइ तपाईँँको वडाको बासिन्दा हो । यो भाइलाई न्याय दिनुप¥यो । यो भाइको बुबाको नाम कृष्ण सुवाल हो । आमाको नाम सुस्मा सुवाल तामाङ हो । हाम्रो पुख्र्योली घर सिन्धुपाल्चोक हो । हाल कमलविनायकमा बस्छौँ । यो भाइको बुबाको घर यही वडा कार्यालयको पछाडिको चोकमा पर्दछ । यो भाइको बुबा कृष्णले मेरो बहिनी सुस्मालाई वि.सं. २०५८/१२/१३ गते भगाएर विवाह गरी ल्याउनुभएको थियो । अनि यो बाबु २०६०/०१/१२ गते पाएको रहेछ । यो कागज हेर्नुस् । भक्तपुर नगरपालिकाले विवाह दर्ता र जन्म दर्ता पनि गरिदिएको छ । अहिले आएर यो बाबुको बुबा केही वर्षअगाडि गाडी चलाउनेक्रममा सडक दुर्घटनामा परेर बितेछ भन्ने आमा सुस्मा अर्कै केटासँग पोइलो गएको सुन्छु । हाम्रो सम्पर्कमा छैन । यो बाबुको बुबाको यहाँ घरमा अर्कै जेठी श्रीमती रहेछ । अनि दुइटा छोरा र एक छोरी पनि रहेछन् । अब यो बाबुलाई जेठी आमाले सम्पत्ति र नागरिकता दिनुपर्ला भनेर चिन्दिन भन्नुहुन्छ । अब यो बाबु अठार वर्ष भइसकेको छ । यो बाबुलाई नागरिकता दिनुप¥यो । घरका मानिसले सनाखत गर्दैन । हजुरले सनाखत गरेर भए पनि नागरिकता दिनुप¥यो ।”
मलाई प्रेम तामाङले दुइटा कागजात दिनुभयो । एउटा विवाह दर्ता रहेछ भन्ने अर्को जन्म दर्ता रहेछ । बाबु हेर्दा तामाङजस्तो देखिन्थ्यो । तर, कागजबाट नेवार प्रमाणित हुन्थ्यो । मैले बाबुलाई आफ्नो बारेमा बोल्न अनुरोध गरेँ । त्यसपछि बाबु दीक्षान्तले भन्नुभयो, “म घरमा गएर जेठी आमालाई नागरिकता लिइदिनुप¥यो भन्दा तँ हाम्रो कुलको छोरा होइनस् । तँलाई किन नागरिकता दिने भन्नुहुन्छ । नागरिकता लिने भए अंश लिएको भर्पाई गर भन्नुहुन्छ सर । के मलाई नागरिकता र सम्पत्ति दुवै दिनुपर्दैन र ? आमाले पनि बच्चैमा छोडेर जानुभयो । मलाई सानैदेखि यिनै मामा माइजूले पाल्नुभएको हो सर । अहिले म विदेश जान चाहन्छु । त्यसैले मलाई नागरिकता दिनुप¥यो । बैङ्कमा एउटा खाता खोल्न पनि पाइएन । मेरो पढाइ पनि बिचैमा छुट्यो । अहिले म मोटरसाइकल वर्कशपमा काम गर्छु । बुबा र आमाको मलाई अनुहार पनि याद छैन । सानैमा मामाघरमा ल्याएर राखेको हुँदा मैले आमाबुबा भनेकै मामा माइजू भनेर मात्र चिन्छु । म अब अठार वर्ष भइसकँे । मलाई नागरिकता दिनुप¥यो । बुबाको माया पनि पाइनँ । बुबा बितेपछि नै आमा अर्कैसित पोइलो गयो भन्छन् । कोही बेपत्ता भन्छन् । त्यसैले, सरले न्याय दिनुप¥यो । तपाईँको हस्ताक्षर गराई नागरिकता दिलाइदिन्छु भनेर दुई ग्रुप दलालहरूले मसँग पचास हजारभन्दा बढी रूपैयाँ खाइसके । तपाईँले नागरिकता लिने फारममा हस्ताक्षर गरेबापत तपाईँलाई पैसा दिनुपर्छ भनेर अहिलेसम्म पचास हजार रूपैयाँ दिइसकेँ । तपाईँले त्यो रूपैयाँ लिनुभएको भए मलाई फिर्ता दिनुप¥यो । तपाईँको हातमा रकम आएको हो कि होइन । हो भने नागरिकताको सिफारिस दिनुप¥यो । रकम हातमा नपरेको भए पनि यो वडाको बासिन्दा भएको नाताले नागरिकतामा सिफारिस दिनुप¥यो ।”
दीक्षान्त भाइको कुरा सुनेर मलाई अचम्म लाग्यो । उसले मलाई सिफारिस दिनको लागि पचास हजार बिचौलियालाई पैसा दिएको कुरा गरिरहेको थियो । जबकि भक्तपुर नगरपालिकामा अहिलेसम्म जनप्रतिनिधिले मात्र होइन, कर्मचारीसमेतले घुस खाएको अहिलेसम्म फेला परेको छैन । दीक्षान्त भाइसँग नागरिकता दिलाइदिन वडाध्यक्षलाई घुस खुवाउन पर्छ भनी पचास हजार रकम लिएको खुलासा गरियो । त्यो भाइको कुरा सुनेपछि केही महिनाअघि वडामा मालपोतमा घरजग्गाको कारोबार गर्ने दलालहरू भएको परिचय दिएर वडामा केही मानिस आएको याद भयो । उनीहरूले पनि यही दीक्षान्तकै नागरिकताको कुरा गरेको मलाई झलक्क सम्झना भयो । त्यसपछि एकपटक दुई जना युवतीहरू पनि यही दीक्षान्त भाइकै नागरिकताको लागि आएको मलाई याद सोधँे । सम्भवतः तिनै दलालहरूले दीक्षान्त भाइसँग पैसा खाएको हुनुपर्दछ भनी मैले अनुमान लगाई उनीहरूलाई भनेँ । उनीहरूले पनि यस कुराको पुष्टि गरे । यसरी मलाई घुस दिनुपर्छ भनी रकम बिचौलियाले लिएको पहिलोपटक थाहा पाएँ । हाम्रो नाममा पनि कसै कसैले पैसा खाने रहेछ ।
त्यसपछि दीक्षान्त र उसको मामालाई भनेँ, “तपाईँहरू नागरिकताजस्तो संवेदनशील विषयको सिफारिस लिन किन बिचौलिया लगाउनुभयो ? यस्तो आवश्यकता नै थिएन । मलाई सिधै आएर भेटे पनि हुने थियो । यसरी पैसा खुवाउने र खाने चलन यहाँ छैन । तपाईँको माग जायज र नैसर्गिक भएमा सरकारी राजस्वमात्र तिरेर यहाँ सिफारिस दिने गरिन्छ । यसरी बिचौलियामार्फत पैसा खाएर सिफारिस दिने भक्तपुर नगरपालिका पर्दैन । अब आइन्दा बिचौलिया नलगाउनू । अब रह्यो नागरिकताको कुरा । मलाई तपाईँको जेठी आमाको नाम र नम्बर दिनुस् । म वडामा बोलाएर कुरा गर्छु । अनि त्यसपछि तपाईँसँग फेरि कुरा गर्छु । अहिलेलाई तपाईँहरू जानुस् ।” त्यसपछि उहाँहरू वडाबाट जानुभयो ।
उहाँहरू गएपछि म एकछिन गहिरो सोचमा परेँ । मेरो नाममा कुनै बिचौलियाले नागरिकताको सिफारिस दिलाइदिन्छु भन्दै पचास हजार खाइसकेछ । यो पुँजीवादी समाजमा पैसाको लागि आफ्नै आमा बुबालाई पनि बेच्छन् भनेको सही रहेछ । विचरा दीक्षान्त भाइलाई पनि गलत कुरा गरेर बिचौलियाले पैसा खाइसकेछ । त्यसपछि मैले जेठी आमाको मोबाइल नम्बरमा कल गरी भोलि प्रथम प्रहरमा वडा कार्यालयमा आउन अनुरोध गरेँ ।
भोलिपल्ट वडामा प्रथम प्रहरमै खचाखच मानिसले भरिएको थियो । म वडा कार्यालयमा पुग्दा सरोकारवाला जेठी आमामात्र होइन कि परिवार र नातेदारहरू पनि सबै आउनुभएको रहेछ । मैले कृष्ण सुवालको जेठी श्रीमती को भनी सोधेँ । त्यसमध्येको एक जना आइमाईले आफू भएको भन्नुभयो । त्यसपछि मैले उहाँलाई आफ्नो धारणा राख्न अनुरोध गर्दैै भनेँ, “एक जना दीक्षान्त सुवाल भन्ने केटा आफ्नो जन्म दर्ता र बुबाआमाको विवाह जन्म दर्ता लिएर आउनुभएको छ । त्यो भाइ तपाईँको श्रीमान्को अर्कै श्रीमतीको छोरा भन्ने कागजबाट प्रमाणित हुन्छ । तपाईँको घरमा आउँदा तपाईँले सम्पत्ति लिएको भर्पाई गरेपछि मात्र नागरिकता दिन सनाखत गर्छु भन्नुभयो रे । त्यसरी तपाईँ आफ्नै छोरालाई होइन भनेर भन्न पाइन्छ र ?” त्यसपछि उहाँले भन्नुभयो, “मेरो स्वर्गीय श्रीमान्को अर्को बाहिर श्रीमती भएको मलाई थाहा छैन । मेरो श्रीमान्को छोरा एउटै मात्र श्रीमती म नै हुँ । यसरी विवाह दर्ता र जन्म दर्ता लिएर आउँदैमा मेरो श्रीमान्को अर्कै श्रीमती छ भनेर तपाईँलाई भन्ने अधिकार कसले दियो वडाध्यक्षज्यू ? अनि त्यो केटा मेरो श्रीमान्को हो भनी कसरी प्रमाणित हुन्छ ? अर्को पनि त्यस्तै कागज लिएर आएमा तपाईँले सबैलाई सम्पत्ति दिने हो ? म त दिन्नँ । तपाईँ दिने भए दिनुस् । हाम्रो भोट लिएर हामीलाई नै गाली गर्ने र अनि सम्पत्ति दिनलाई लविङ गर्न मिल्छ ? हामी पनि तपाईँकै पार्टीको मान्छे हो नि । यसरी एउटै पार्टीको मान्छे भएर बोल्ने तरिका यस्तो हो । तपाईँ टोलवासीको पक्ष कि अपरिचित तामाङको पक्ष लिनुहुन्छ ? यस्तो तालले तपाईँ वडाध्यक्ष बन्न योग्य छैन ।” त्यसपछि उहाँसँगै आउने अरु मानिसहरूले आफ्नै मान्छे भएर तामाङको पक्ष लियो भनी कराउन थाले । मैले एक एक जनालाई बोल्न अनुरोध गरेँ । त्यसमध्ये एक जनाले बोल्नुभयो, “तपाईँलाई हामीले किन भोट दिएको थाहा छ कि छैन ? तपाईँमात्र पार्टीको कार्यकर्ता होइन, हामी पनि हौँ । हामीलाई पनि पार्टीको नीति तथा नियम थाहा छ । पार्टी कार्यालयमा गएर तपाईँको उजुरी गर्न जान लागेका छौँ । त्यत्तिले नपुगे पार्टीको मुख्य मानिसकहाँ नै गएर उजुरी गर्न जान्छौँ हामी । तपाईँसँग मानवता रहेनछ ।”
बुढी आईमाई पनि वडामा आउनुभएको थियो । त्यसपछि मैले भनेँ, “म यहाँ जातभातको नारा लिएर वडाध्यक्ष जितेको होइन । अनि नेवार भएर नेवारको पक्ष लिने होइन । पीडितको पक्ष लिने हो । चाहे त्यो पीडित तामाङ होस् या नेवार । कागजले त्यो दीक्षान्त भाइ तपाईँकै परिवारको सदस्य देखिन्छ । त्यसैले नागरिकताको फारममा सनाखत गरिदिनुस् । नभए कानुनअनुसार जानुपर्ने हुन्छ ।” मेरो कुरा नटुगिँदै सबै कराउन थाले । कार्यालयमा होहल्ला भयो । कर्मचारीहरू पनि आए । वडावासीहरू पनि जम्मा हुन थाले । त्यसपछि मैले फेरि अरु कुनै दिन छलफल गरुँला भनी बिदावारी गरेँ ।
त्यसपछिमा दिनहरूमा दीक्षान्त सुवाल र उनका मामा माइजूहरू पटकपटक वडामा नागरिकताको लागि सिफारिस लिन आउनुभयो । त्यस नागरिकतामा सनाखतको लागि मैले धेरैपटक दीक्षान्तका जेठी आमालाई वडामा धेरैपटक बोलाएँ । तर, उहाँहरूले सनाखत गर्न मान्नुभएन । धेरैपटक अनुरोध गर्दा पनि जेठी आमा र उनका सन्तानहरूले सनाखत गर्न नमानेपछि मैले दीक्षान्तको नागरिकताको फारममा सिफारिस दिई पठाएँ । एक महिनापछि जिल्ला प्रशासन कार्यालयबाट पुनः सरजमिनको लागि डोर आउनुभयो । त्यसमा पनि वडाको तर्फबाट साक्षी बसेर हस्ताक्षर गरिदिएँ । तर, जिल्ला प्रशासन कार्यालयबाट दीक्षान्त सुवाल भाइले नागरिकता पाउन सकेनन् । जिल्ला प्रशासन कार्यालय प्रमुखकहाँ म आफैँ दीक्षान्त सुवाल र उनका मामा माइजूसहित डेलिगेसनको लागि गएँ । जिल्ला प्रशासन प्रमुख दीक्षान्तको सम्पूर्ण पारिवारिक घटनाक्रम मैले सुनाएँ । उहाँले मौखिकरूपमा नागरिकता दिनुपर्छ भनी सदासयता देखाउनुभयो । तर, नागरिकता दिन तत्पर देखिनुभएन । त्यही समस्या लिएर जिल्ला प्रशासन कार्यालयको उपप्रमुखको कार्यकक्षमा पनि हामी गयौँ । उहाँ मौखिकरूपमा नागरिकता दिन तयार देखिए पनि वास्तविकरूपमा नागरिकता दिन तयार देखिनुभएन । यसरी धेरै प्रयास गर्दा पनि हामी नागरिकता लिन असमर्थ भयौँ ।
यसरी डेलिगेसन गएको केही महिनापछि एक दिन दीक्षान्त भाइले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएर आएको जानकारी वडामा दिन आउनुभयो । मैले नागरिकता लिएर हेरेँ र एकप्रति फोटोकपी गरी लिई राखेँ । जेठी आमाले जिल्ला प्रशासन कार्यालयमा आई सनाखत गरिदिएपछि नागरिकता दिएको कुरा दीक्षान्तले बताउनुभयो । सम्भवतः चौतर्फी दबाब र वडाको धेरै दबाब जेठी आमालाई परेपछि जेठी आमाले नै बाध्य भएर नागरिकता आखिरमा दिनुपर्ने वातावरण तयार भयो र दीक्षान्तले नागरिकता पाएको मलाई अनुभव भयो ।
Leave a Reply