जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
उद्योगी–व्यापारीको परिचय नेपाल उद्योग वाणिज्य सङ्घको जिल्ला वा महासङ्घको अध्यक्ष हुनु र नेपाल उद्योग परिसङ्घको अध्यक्ष हुनु, चेम्बर अफ कमर्सको अध्यक्ष हुनु होइन । उद्योगी– व्यापारीले लगानी नगरे रोजगारी नबढ्ने भनाइ पनि सत्य होइन । सार्वजनिक संस्थानहरू बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इँटा कारखानालगायत उद्योगहरू सस्तोमा बिक्री गरिएपछि नेपालीको रोजगारीसमेत गुमेको थियो ।
विश्वको खर्बपति सूचीमा नाम दर्ता भएका नेपालका उद्योगी–व्यापारी विनोदकुमार चौधरी परिवारले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा निजी बनायो । नेपाली काङ्ग्रेसको उम्मेदवारी भएर नवलपरासी पश्चिमबाट प्रतिनिधिसभा सदस्य भएका चौधरीले बजेटको सिद्धान्त र प्राथमिकतामा सरकारलाई सुझाव दिए– सार्वजनिक संस्थान निजीकरण गरी सरकारी कर घटाउनुपर्दछ । यो सार्वजनिक सरकारी सम्पत्तिमा मुठिभरका व्यक्तिको हालिमुहाली गर्नु हो । उद्योग र व्यापारको नाममा कर छली, गुणस्तरको सामान उत्पादन, मजदुरमाथि शोषण गर्नु नेपाललाई आर्थिकरूपले सम्पन्न बनाउने काम हुनसक्दैन ।
निर्वाचनमा सामान र पैसा बाँडेर, भोज खुवाएर जितेका उद्योगी–व्यापारीहरू आफ्नो जीतलाई विकासकेन्द्रित अभियानमा लागेको दाबी गर्नु झूटा हो । एमाले निर्वाचन चिह्न लिएर जितेका पद्मरत्न तुलाधर, हृदयेश त्रिपाठी र ब्रजेशकुमार गुप्ताले आफूहरूलाई स्वतन्त्र दाबी गरे । यसपटक नेकाको चुनाव चिह्नबाट जितेका व्यापारीले आफ्नो उद्योग–व्यापारको संलग्नतालाई पार्टीगत विरोधका समर्थनको विषय बनाउन नहुने दाबी गर्दै छन् । पार्टीको चुनाव चिह्नमा उम्मेदवार हुनुको अर्थ पार्टीको घोषणापत्रलाई स्वीकार गरेको हो । २०६४ सालमा एमालेबाट संविधानसभाको समानुपातिक सदस्य भएका चौधरी २०७४ सालमा नेकाको समानुपातिक सदस्य भएका थिए । यस अर्थमा उद्योगी–व्यापारी चौधरी राजनैतिकरूपले ‘तिहुनचखुवा’ जस्तै हुन् ।
शासक दलहरू ‘समाजवाद’ शब्द उच्चारण गर्न मन पराउँछन् तर बजेटको सिद्धान्ततिर प्राथमिकता, नीति तथा कार्यक्रम पूर्णरूपले पुँजीवादी पारित गर्छन् । संविधानमा समाजवादउन्मुख जोडिएको हुँदा शासक दलहरूले ‘समाजवाद’ उच्चारण गर्नु जनतालाई धोका हो । समाजवादको अर्थ कामदारवर्गको सरकार उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, शोषणको अन्त्य हो । ‘समाजवाद’ शब्द उच्चारण गर्ने नेकालाई यसको अर्थ मन नपर्नु स्वाभाविक होला । कम्युनिस्ट दाबी गरेका एमाले, माओवादी, एस, राजमोसमेतलाई ‘समाजवाद’ को यथार्थ मन परेन । एमाले, माओवादी, एस बरोबर नेकासँग सरकार गठबन्धन गर्छन् ।
उपेन्द्र यादवको जसपा, रवि लामिछानेको रास्वपा, सीके राउतको जनमत पनि ‘समाजवाद’ उच्चारण गर्छन् । मौका परे यी सबै सरकारको भागबन्डा खान्छन्, खाइरहेका छन् । युरोपमा ‘समाजवाद’ को टोपीको आधार बिग्रिएको थियो, नेपालमा पनि ‘समाजवाद’ को टोपीलाई बिगारियो ।
नेपालका कामदारवर्गको समाजवादको टोपी बिगार्ने शासक दलहरूको खण्डन गर्नु जरुरी छ ।
Leave a Reply