पुँजीवादले कसरी प्राकृतिक विपत्ति निम्त्याउँछ ? माक्र्सको यस्तो छ विश्लेषण !
- आश्विन ३, २०८३
भौतिक द्वन्द्ववादका तीन नियममा विरोधीहरूबिच एकता र सङ्घर्ष, मात्राको गुणमा परिवर्तन र निषेधको निषेध हो । यसअघि दुइटा नियमबारे चर्चा गरिसकेको छ । अहिले यहाँ निषेधको निषेधबारे चर्चा गरिनेछ । कुनै वस्तुलाई हटाई त्यसको ठाउँमा अर्काे वस्तुले हटाई नयाँ वस्तु उत्पादन हुन्छ या बन्छ भने त्यो निषेधको निषेध नियमभित्र पर्छ । पहिलेको वस्तुको सट्टा अर्काे नयाँ वस्तु तयार हुन्छ । यस प्रक्रियालाई निषेधको निषेध भनिन्छ । मानौँ, मकैको गेडा रोपेपछि केही समयपछि बिरुवा उम्रिन्छ । त्यो बिरुवाले मकैको बीउ निषेध गर्छ । समयको गतिसँगै बिरुवा बढ्दै जान्छ र पछि घोगा लाग्छ । त्यो पाकेपछि बोटको निषेध हुन्छ । यही हो निषेधको नियम । यो विज्ञानसम्मत छ । यसैले द्वन्द्वात्मक भौतिकवाद कसैको कल्पना होइन† यो व्यवहारसिद्ध हुन्छ । यो वैज्ञानिक सिद्धान्तमा आधारित छ ।
यो नियम प्रकृति र सामाजिक जीवनको क्षेत्रमा पनि लागू हुन्छ । एउटा ऋतुले अर्काे ऋतुको निषेध गर्छ । पुँजीवादलाई समाजवादले निषेध गर्छ । समाजवादलाई साम्यवादले निषेध गर्छ । सृष्टिको हरेक प्रक्रिया निषेधको निषेधमा आधारित हुन्छ । हेर्दा यो दोहोरिएको जस्तो हुन्छ । तर, त्यो होइन । पहिलेको वस्तुभन्दा पछि उत्पादित या तय भएको समाज गुणात्मक रूपले जन्म या तयार भएको हुन्छ ।
प्रश्न उठ्छ, हरेक वस्तुमा निषेधको निषेध नियम लागू हुने भएकोले साम्यवादी समाजको पनि निषेध हुन्छ । यो नियम लागू हुन परस्परविरोधी पक्षबिच सङ्घर्ष हुनु आवश्यक छ । तर, साम्यवादी समाजमा परस्परविरोधी वर्गबिच सङ्घर्ष हुँदैन । त्यसैले, त्यो समाजको निषेध हुँदैन । साम्यवादी समाज वर्गविहीन समाज हुन्छ । त्यहाँ कुनै भेदभाव हुँदैन । सबैको खानपिनको व्यवस्था हुन्छ । कसैले कसैलाई शोषण गर्दैन । हुन त यो संसारमा सृष्टि भएका वस्तु कुनै दिन क्षय या नास हुन्छ । कुन दिन पृथ्वीमा के उथलपुथल हुने हो भन्न सकिँदैन ।
आमूल परिवर्तनका विरोधीहरू अहिले पनि द्वन्द्वात्मक भौतिकवाद विज्ञानसम्मत छैन† माक्र्सवाद पतन हुँदै छ भनी ध्वाङ फुक्दै छन् । तर, यो विज्ञानसम्मत दर्शनलाई कसैले गाली गरेर, झूटा फलाकेर अन्त्य हुने होइन । यो कुनै काल्पनिक दर्शन होइन । भौतिकवाद वस्तु, प्रकृति र इतिहासको तथ्यमा आधारित छ । यो दर्शन द्वन्द्ववादी छ । द्वन्द्ववादको प्रमाण प्रकृति हो । विज्ञानले द्वन्द्ववादको पुष्टि गरेको छ । द्वन्द्ववादका नियम वैज्ञानिक छन् । माक्र्सको समाजवाद कल्पनावादविरोधी छ । उत्पादनको विकासको बाधक साम्राज्यवादी एवम् युद्धपिपासु पुँजीपतिवर्ग नै हो । समाजवादको वकालत गर्दै कथित लोकतन्त्रको नाउँमा बहुसङ्ख्यक जनतामाथि लाद्ने, शोषण, दमन गर्ने, दबाउन चाहनेहरू कहिले पनि सच्चा कम्युनिस्ट हुँदैनन् । आज जुन सिद्धान्त र विचारको पतनको वकालत गरिएको छ, त्यो माक्र्सवाद होइन । यो पुँजीवादी विचारधाराकै एउटा अर्काे रूप संशोधनवाद हो । अतः द्वन्द्वात्मक भौतिकवाद विज्ञानसम्मत दर्शन हो† यो अन्त्य हुँदैन । हो, द्वन्द्वात्मक भौतिकवादको दर्शन छाँटेर त्यसअनुसार मार्ग तयार नगरी अर्कै बाटोमा लाग्ने कम्युनिस्टहरू नक्कली हुन्छन् । सिद्धान्त र दर्शन छाँटेर त्यही सिद्धान्त र दर्शनको विरोध गर्ने, दर्शनविपरीत अघि बढ्ने राजनीतिक दलहरू नेपालमा नदेखिएको होइन । विज्ञान, प्रविधि र विचारको युगमा शत्रु र मित्रबिचमात्र होइन मित्र र मित्र शक्तिबिच पनि बडो चनाखो भएर अघि बढ्नुपर्ने स्थिति छ । एकातिर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई जनताको घर आँगन र बस्ती–बस्तीमा पु¥याएर बुझाउनु तड्कारो आवश्यकता छ भने अर्काेतिर कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचारको खोल ओढेर झूटको राजनीति गर्ने या गलत बाटोमा लाग्ने दलहरूदेखि सतर्क हुनुपर्ने स्थिति छ ।
वर्गीय शत्रुको विरोधमा प्रचारप्रसार गर्ने, कुनै दलले गर्ने षड्यन्त्र, चलखेलबारे जनतालाई बुझाउनुपर्ने अर्काे दायित्व कम्युनिस्ट पार्टीको रहेको छ । कम्युनिस्ट पार्टीले दलको सिद्धान्त र विचारबारे जनतालाई सुसूचित पार्ने, नक्कली कम्युनिस्ट पार्टीले गर्ने झूटा प्रचारबारे सचेत पार्ने र वर्गशत्रुविरुद्ध लड्नेमात्र होइन उनीहरूको कमी कमजोरी औँल्याउने, सामन्त, पुँजीपतिवर्गको शासन पल्टाएर समाजवादी स्थापना गर्न वर्गसङ्घर्ष गर्नुपर्ने आवश्यकताबारे पनि काम गर्नुपर्ने हुन्छ । हो, कम्युनिस्टहरू वर्गसङ्घर्षलाई विश्वास गर्छन् । वर्गसङ्घर्षबिना देशमा आमूल परिवर्तन सम्भव छैन ।
Leave a Reply