भर्खरै :

मिडिया म्यानिपुलेसनबारे अन्तरक्रिया

मिडिया म्यानिपुलेसनबारे अन्तरक्रिया

काभ्रे, ३ असोज । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा मिडिया म्यानिपुलेसनबारे शुक्रबार बनेपामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले कुनै निश्चित स्वार्थ वा उद्देश्य पूर्तिका लागि समाचार, सूचना वा भिजुअल सामग्रीहरूलाई बङ्ग्याएर, बदलेर वा गलत तरिकाले प्रस्तुत गर्ने प्रक्रिया नै मिडिया म्यानिपुलेसन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मिडिया म्यानिपुलेसनले कुनै राजनीतिक, सामाजिक वा व्यावसायिक फाइदाको लागि नियोजित रूपमा एकपक्षीय वा गलत सूचना प्रवाह गर्ने गर्दछ । सत्यता नभएको, पूर्णरूपमा काल्पनिक वा झूटा समाचारहरूलाई वास्तविक जस्तै बनाएर भ्रमित पार्नु हो ।”
घटनाको आफ्नो फाइदा हुने निश्चित अंश मात्र देखाएर मानिसहरूलाई भ्रममा पार्नु मिडिया म्यानिपुलेसनको उद्देश्य हुने उहाँले बताउनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले पुँजीवादी सञ्चारको लहैलहैमा सर्वसाधारण फस्ने गरेको हुँदा भ्रामक समाचारलाई चिर्नु आवश्यक भएको बताउनुभयो । पुँजीवादले कामदारवर्गको हितमा काम नगर्ने भएकोले ख्वप विश्वविद्यालयलाई वर्तमान दुईतिहाइको सरकारले बेवास्ता गरेको हो, उहाँले भन्नुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छेप्रधानले मिडिया म्यानिपुलेसनबाट सर्वसाधारण सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका सचिव ओमप्रसाद मानन्धरले सामाजिक सञ्जालमा देखिने समाचार, सूचना र भिडियोलाई एकतर्फी ढङ्गले हेर्न नहुने बताउनुभयो ।
कार्यक्रममा सत्यनारायण श्रेष्ठ, राममन्दिल श्रेष्ठ र बालकृष्ण दुवालले मिडिया म्यानिपुलेसनको विविध पक्षमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *