संविधान उल्लङ्घन गर्नेहरूको संविधान दिवस
- आश्विन २, २०८३
संविधान दिवसको दिन असोज ३ गते आम सञ्चारमा प्रकाशित भयो – “राष्ट्रपति पौडेलले बडो जुक्तिले गत वर्ष भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्ति गरेर कार्कीकै सिफारिसमा प्रतिनिधिसभा भङ्ग र ६ महिनापछि २०८२ फागुन २१ गतेका दिन नयाँ निर्वाचन तोकेर संविधानको रक्षा गरे ।” यथार्थ यो होइन । राष्ट्रपति पौडेल सरकारी आवास शीतल निवास छाडेर गत वर्ष भदौ २४ गते सेनाको भैरवनाथ गणमा शरण लिन पुगेको र सरकारी आवास शीतल निवास आगजनी नरोकेकोलाई जिम्मेवारीबाट भागेको भन्न किन नमिल्ने ?
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा भङ्ग गरी आफ्नो पद जोगाएको यतिबेला खुलिरहेको छ । गत वर्ष भदौ १४ गते यता देशभरि आगजनी भएपछि राष्ट्रपति पौडेललाई पनि राजीनामा गराउने प्रजातन्त्रविरोधीहरूको तयारी थियो । त्यसबेला पौडेल रोएर आफ्नो पद जोगाएको सार्वजनिक भयो । तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा नदिएका भए र राष्ट्रपति पौडेलले ओलीको राजीनामालाई तत्कालीन संसद्का राजनीतिक दलहरूसामु राखेका भए देशभरि आगजनी गर्नेहरूमाथि कारबाही हुने थियो ।
कोही कोही रास्वपा सरकार प्रमुखले संविधान दिवसमा शुभकामना दिन र सैनिक मञ्चमा बोल्न नचाहेकोमा गुनासो गर्दै छन् । मुख्य कुरा वर्तमान सरकार आउनुको पृष्ठभूमि केलाउने हो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दबाबबिना गत वर्ष भदौ २४ गते देशभरिझैँ आगजनी भएको राज्यका सुरक्षा निकायले टुलुटुलु हेरेर बस्न सक्ला ? निश्चय नै सक्दैन ।
गत वर्ष भदौ २४ गते बिहान करिब ११ बजेतिर राष्ट्रपति कार्यालय शीतलनिवाससमेतमा आगजनी गर्ने साहस के नेपाली देशभक्त जनताले गर्नसक्थ्यो ? त्यतिबेला राष्ट्रपति कार्यालयमै हुँदा जलाउनेहरू अघि बढेनन् । अपराह्न ३ बजेतिर राष्ट्रपतिलाई शीतल निवास छोडेर बाहिर निस्कने सल्लाह दिने को को हुन् ? के देशमा विदेशीले आक्रमण गरेमा सबभन्दा पहिला राष्ट्रपति र प्रधानमन्त्री नै विदेश भाग्ने नेपाली जनताले अब बुझ्नुपर्ने हो र ? गत वर्ष भदौ २४ गते शीतल निवासबाट निस्कने राष्ट्रपतिलाई मुलुक र संविधानप्रति चिन्तित कसरी भन्न सकिएला ?
तत्कालीन प्रम ओलीले राजीनामा दिएको हुँदा गत वर्ष भदौ २४ गतेकै दिन राष्ट्रपतिले संसद्मा भएका राजनीतिक दलहरूलाई नयाँ प्रम चयन प्रक्रियामा आउन आह्वान गर्नुपर्ने थियो । राष्ट्रपतिले संविधानविपरीत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री र ६ महिनापछिको लागि नयाँ चुनाव घोषणा गरिसकेपछि भोलिपल्ट भदौ २८ गतेमात्र ‘बडो जुक्तिले प्राप्त अवसर’ उल्लेख गरी वक्तव्य दिए । देश साम्राज्यवादी र विस्तारवादीको हातमा दिइसकेपछि ‘बडो जुक्तिले पाएको अवसर’ भन्दैमा नेपाली जनता कसरी पत्याउने ?
त्यसबेला एमालेको ओली सरकारलाई नेकाको समेत झन्डै दुईतिहाइको समर्थन थियो । नेका र एमालेका कुनै पनि सांसदहरूले राष्ट्रपति पौडेलको असंवैधानिक कदमको विरोध गरेनन् । तत्कालीन राजा महेन्द्रले २०१८ पुस १ गते नेकाका बीपी कोइरालाको सरकार अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेको बेला नेकाकै सांसदहरूको समर्थन रहेको सार्वजनिक भएको थियो । ठीक त्यस्तै गत वर्ष भदौ २४ देखि २७ सम्मको घटनालाई नेका, एमाले र माओवादीका सांसदहरूले समर्थन गरेको आशङ्का बढ्यो । नेपाली जनताले यथार्थ खोजी गरौँ ।
Leave a Reply