भर्खरै :

संरा अमेरिका र चीनबिचको व्यापार युद्ध र व्यापार युद्धको विगत–२

संरा अमेरिका र चीनबिचको व्यापार युद्ध र व्यापार युद्धको विगत–२

७) केरा युद्ध (Battle of Banana)
सन् १९९३ तिर युरोपले आफ्नो अधीनमा रहेका अफ्रिकी एवं क्यारेबियाली देशहरूमा फलफुलको आयात नियन्त्रण गर्न ल्याटिन अमेरिकाबाट भित्रिने केरामा भन्सारको दर उच्च बनायो । ल्याटिन अमेरिकाका अधिकांश केरा खेतीमा संरा अमेरिकाको लगानी थियो । त्यसकारण, संरा अमेरिकाले विश्व व्यापार सङ्गठनमा युरोपको पहलविरुद्ध आठ वटा मुद्दा दर्ता गर्यो । पछि सन् २००९ बाट युरोपियन युनियन पनि ल्याटिन अमेरिकाबाट भित्रिने केराको भन्सार कर घटाउन सहमत भयो । अन्त्यमा, सन् २०१२ मा युरोपियन युनियन र दस ल्याटिन अमेरिकी देशहरूले विश्व व्यापार सङ्गठनमा दर्ता भएका आठ मुद्दाहरूको अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरे र २० वर्ष लामो चलेको केरा युद्धको अन्त्य भयो ।
८) स्टिल युद्ध (Steel Salvoes)
सन् २००२ मा बुश प्रशासनले स्टिल निर्यातकर्ताहरूमा ८ देखि ३० प्रतिशतको हाराहारीमा भन्सार कर लगायो । जुन पहिलेको शून्य प्रतिशतदेखि १ प्रतिशतको वृद्धिदरभन्दा निकै उच्च थियो । संरा अमेरिकामा अवस्थित स्टिल उद्योग र व्यवसायलाई बलियो बनाउने उद्देश्यले सो कदम चालिएको थियो । NAFTA अन्तर्गत काम गर्ने हुँदा क्यानाडा र मेक्सिको करको दायराभन्दा पर थियो । स्वयम् संरा अमेरिकामा उक्त कदमले तात्कालीन प्रभाव थोरै पारे पनि खासै महत्वपूर्ण उपलब्धि हासिल भएन । यस कदमका विरुद्ध युरोपियन युनियनले संरा अमेरिकाको फ्लोरिडाबाट निर्यात गरिने सुन्तलामा कर लगाई कडा प्रतिकार गरेको थियो ।
९) संरा अमेरिका–चीन व्यापार युद्ध
अहिले अन्तर्राष्ट्रिय जगतमा संरा अमेरिका र चीनबिचको व्यापार युद्धको चर्चा शिखरमा छ । सम्भवतः आजसम्मको आर्थिक इतिहासमा सबभन्दा ठुलो व्यापार युद्ध यही हो ।
२०१८ जुलाई ६ का दिन करिब ३४ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनमा सुरुमा १० प्रतिशत र पछि बढाएर २५ प्रतिशत कर लादेर संरा अमेरिकाले व्यापार युद्धको सुरुआत गर्यो । हालै मात्र २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर वृद्धि गरेको तथ्याङ्क छ । अझै ५ खर्ब अमेरिकी डलर बराबरको सामानमा कर लगाउने अभिव्यक्ति ट्रम्प दिँदै छन् । यसले अन्तर्राष्ट्रिय जगतमा डोनाल्ड ट्रम्पमात्र बदनाम हुँदैन, सँगै संरा अमेरिकाको छविसमेत खराब बन्ने निश्चित छ ।
व्यापार युद्ध लड्नुका पनि स्वाभाविक कारण हुन्छन् । तर, यसपटक संरा अमेरिकाले विश्व व्यापार सङ्गठनको नियम नै उल्लङ्घन गरेको छ । संरा अमेरिकाको संरक्षणवादी नीतिले नकारात्मक असर पार्नेछ । यो एक किसिमको अराजकता र अनुशासनहीनता हो । विश्व अर्थतन्त्रमा यसले असामान्य असर पार्ने निश्चित छ । संरा अमेरिकाले व्यापार युद्धमार्फत स्वतन्त्र व्यापारको सिद्धान्तलाई उल्लङ्घन गरी आफ्नो प्रभुत्वलाई फेरि पनि कायम गर्न खोजिरहेको स्पष्ट हुन्छ ।
संरा अमेरिकाले करिब १३ सय किसिमका चिनियाँ उत्पादनहरूमा २५ प्रतिशतका दरले कर लगाउँदा चीनले पनि प्रतिकारस्वरूप सोही मूल्य बराबरका १ सय ६ अमेरिकी उत्पादनहरूमा २५ प्रतिशतले आयात कर वृद्धि गर्यो । भटमास, कार, रक्सी, फलफुल, सुँगुरको मासु, हवाईजहाजलगायतका वस्तुहरूमा कर लगाएर चीनले अमेरिकाको कदमलाई जवाफ दियो । यसरी चीनले बुद्धिमत्तापूर्वक तथा धैर्यपूर्वक व्यापार युद्धको सामना गर्दै छ । आफ्नो देशका जनताको जीवनस्तरमा पटक्कै आँच नपु¥याउन चीन सावधानीपूर्वक प्रतिकारमा उत्रेको देखिन्छ ।
शक्ति सन्तुलनको व्यवस्थाविरुद्ध डोनाल्ड ट्रम्पले पाइला चालेको ठहर यस व्यापार युद्धले गर्छ । ट्रम्पले व्यापार युद्धलाई उछाल्न संरा अमेरिकाको ‘राष्ट्रिय सुरक्षा’, ‘अमेरिका पहिलो’, घरेलु उद्योगको सशक्तीकरण र रोजगारीको सृजनाको मुद्दालाई अघि सार्नु एक किसिमको पाखण्ड नै हो ।
संरा अमेरिकाले व्यापार युद्धको प्रमुख कारण व्यापार घाटा न्यूनीकरण बताए पनि वास्तविकता अकाट्य छ । संरा अमेरिकाले व्यापार नाफातिर जाने उद्देश्य नै राखेको हो भने हातहतियार र सैनिक क्षेत्रमा जुन ठुलो धनराशी खर्चिरहेको छ त्यो न्यूनीकरण गरी घरेलु समस्याहरू सल्टाइ अघि बढ्नु उत्तम हुनेछ । व्यापार घाटासँगै सैन्य क्षेत्रमा संरा अमेरिकाको खर्च गहिरोसँग जोडिएको हुँदा व्यापार घाटा समाप्त गर्ने बाटो व्यापार युद्ध हुन नसक्ने विश्लेषण पनि छ । त्यसैगरी, अमेरिकाले चीनमा गरेको लगानीबाट नाफामात्र वार्षिकरूपमा ७०० विलियन डलर उठाइएको तथ्याङ्क छ । त्यसकारण, चीनसँगको व्यापारका कारण व्यापार घाटा बेहोर्नु परिरहेको भन्ने संरा अमेरिकाको अभिव्यक्ति गलत प्रमाणित हुन्छ ।
आफूसँग व्यापारिक सम्बन्ध भएका देशहरूलाई आफूतर्फ झुकाव राख्न बाध्य बनाउने नीतिहरू ल्याइए पनि व्यापार साझेदार देशहरू ट्रम्पको ब्वाँसो नीतिको चक्रब्युहमा फस्न अस्वीकार गर्दै छन् ।
ब्राजिल, क्यानाडा, युरोपियन युनियन, जापान, बेलायतलगायतका देशहरूले यस युद्धको तुरुन्तै समाधान खोज्नुपर्ने तर्क राख्दै आइरहेका छन् । संरा अमेरिकी सांसद र धनाढ्यहरूसमेतले ट्रम्पको यो नीतिविरुद्ध आवाज दिँदै छन् ।
चीनले भद्र ढङ्गले व्यापार युद्धको प्रतिकार गरिरहेको जगजाहेर छ । चिनियाँ विशेषज्ञहरू त ढुक्क छन्, ‘यस व्यापार युद्धले चीनको आर्थिक विकास रोक्ने सामर्थ्यथ्र्यत गर्छ । उत्पादकत्व उच्च भएको देश चीनले यो क्षति पनि बेहोर्ने क्षमता राख्छ । संरा अमेरिकामा चिनियाँ सामानको बढ्दो मागका कारण पनि क्षति न्यूनीकरण हुने विश्लेषण छ । यसरी चीनको अर्थतन्त्रमा यस व्यापार युद्धले गर्ने नगन्य असर नियन्त्रण गर्न सकिने खालको देखिन्छ । चिनियाँ अर्थतन्त्रको बहुपक्षीय हितको उद्देश्य, वस्तुहरूको आन्तरिक माग, बजार प्रतिस्पर्धामा राम्रो स्थान र विश्व बजारको असल र उत्कृष्ट निर्यातकर्ता हुनु नै व्यापार युद्धको असर नियन्त्रणका केही आधारहरू हुन् ।
अमेरिकी बजारमा करिब ५० प्रतिशत सामग्री चीनकै हुने गरेको कारण पनि संरा अमेरिकी बजारमा मुद्रास्फीतिको दर सन्तुलनमा रहने गरेको हो । अहिले संरा अमेरिकी बजार मूल्यवृद्धिले आतङ्कित छ । साथै संरा अमेरिकाले चीनमा जति पनि लगानी गरेको छ त्यो उत्पादनमुखी र सेवामुखी भएको हुँदा नाफा–घाटाको बढी प्रभाव संरा अमेरिकालाई नै पर्छ ।
चीनमा संरा अमेरिकी कम्पनीहरूको बिक्री अर्थात् व्यापार चीनले संरा अमेरिकामा गर्ने व्यापारको तुलनामा उल्लेख्यरूपमै उच्च छ । त्यसकारण, व्यापार युद्धको ठुलो मार संरा अमेरिका स्वय्मले बेहोर्नुपर्ने निश्चित छ भन्ने अभिव्यक्तिहरू आइरहेका छन् । इतिहासमा झँै ट्रम्पको व्यापार युद्धको निहित स्वार्थ अरु नै हुनसक्ने अनुमान पनि छ । चीनको आर्थिक विकास र वृद्धि, राजनीतिक व्यवस्था र नेतृत्व, चीन नम्बर १ निर्यातकर्ता र दोस्रो ठुलो अर्थतन्त्र हुनु, विश्वमा फैलिँदो चीनको बजार, आफूसँगै एसिया, अफ्रिका, ल्याटिन अमेरिका, पाकिस्तान, श्रीलङ्कालगायतका विकासोन्मुख राष्ट्रहरूलाई माथि उकास्ने एजेन्डा बनाउनु, बीआरआई जस्तो बृहत्तर परियोजना अघि सारिनु, विश्वमा चीनको बढ्दो लोकप्रियता, बलियो उपस्थिति आदि नै व्यापार युद्धका निहित कारणहरू हुनसक्ने विश्लेषण गरिँदै छ । संरा अमेरिकाले चीनको शान्त उदयलाई सहनै नसकेको अर्को प्रमाण ट्रम्पको ‘हिन्द प्रशान्त रणनीति’ हो । यो रणनीति सी चिङफिङको ‘एक क्षेत्र एक मार्ग अगुवाइ’ को अवधारणाविरुद्ध ट्रम्पले खडा गरेको रणनीति हो । यसले ट्रम्प र सिङ्गो संरा अमेरिका चीनको द्रुतत्तर विकासबाट अत्तालिएको पुष्टि गर्छ । हिन्द–प्रशान्त सैन्य गठबन्धन त्यसको उपज हो । वर्तमान परिवेशमा हेर्दा संरा अमेरिका सम्पूर्णरूपले आफ्नो सर्वोच्चता र आर्थिक साम्राज्य गुम्ने डरले जे पनि गर्ने, जे पनि बोल्ने अवस्थामा छ भन्दा अति हुन्न । ट्रम्पको यो अदूरदर्शी कदमबाट विश्व अर्थतन्त्रले नै आर्थिक सङ्कटको सामना पो गर्नुपर्ने हो कि भन्ने सन्देह पनि फैलाएको छ ।
हालैमात्र संरा अमेरिकी वित्तमन्त्री स्टेभेन मुन्युचनले चिनियाँ अधिकारीलाई नयाँ वार्ताका लागि आग्रह गरे । सँगै ट्रम्प भने २ खर्ब ६७ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्रीमा कर वृद्धिको तयारीमा छन् । संरा अमेरिकाले यस्तो पूर्णतः विरोधाभासपूर्ण कदम चालेको अवस्था छ । गएको मे महिनामा दुई पक्षबिच भएको वार्ताको सम्झौतालाई पनि संरा अमेरिकाले कार्यान्वयन नगरेपछि चीनले व्यवस्थित ढङ्गबाट व्यापार युद्धमा प्रतिकार गरिरहेको छ । चिनियाँ उच्च पदाधिकारीले पेइचिङद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा संरा अमेरिकाको स्वार्थपूर्ण पहलहरूको निन्दासमेत गरेको छ ।
यस व्यापार युद्धबाट संसारभरिका उपभोक्तासँगै संरा अमेरिकी उपभोक्ता, किसान र मजदुरहरू सबैभन्दा बढी मारमा पर्ने देखिन्छ । पछिल्लो तथ्याङ्कअनुसार संरा अमेरिकाले करिब ६०३१ किसिमका चिनियाँ सामानहरूमा कर वृद्धि गर्ने तयारी गरेको छ । त्यसमध्ये ६७ किसिमका चिनियाँ वस्तुहरूमा संरा अमेरिकाको पूर्ण निर्भरता रहेको अन्तर्राष्ट्रिय व्यापार अनुसन्धान केन्द्रले जनाएको छ । करिब १२७ किसिमका चिनियाँ वस्तुहरूमा संरा अमेरिकाको निर्भरता ९० देखि १०० प्रतिशत छ । करिब १९३ किसिमका चिनियाँ वस्तुमा ८० देखि ९० प्रतिशत, २०७ किसिमका चिनियाँ वस्तुहरूमा ७० देखि ८० प्रतिशत र ११५० किसिमका वस्तुहरूमा ५० प्रतिशत वा सोभन्दा माथिको अमेरिकी निर्भरता रहेको तथ्याङ्क छ । युरोपेली युनियनले समेत यो व्यापार युद्ध स्वयम् संरा अमेरिकाले हार्ने दाबी गरेको छ । यसरी आर्थिकरूपमा संरा अमेरिकाले नजित्ने यो व्यापार युद्धलाई राजनीतिक व्यवस्थामाथिको हमलाका रूपमा केही चिनियाँ विज्ञहरू व्याख्या गर्छन् ।
यसरी सन् १८३८ देखि २०१८ सम्मको १८० वर्षको लामो समयावधिमा जति पनि व्यापार युद्ध भएका छन्, ती सबैको साझा सन्देश भनेको व्यापार युद्ध सामान्यतः हितकर हुने गर्दैन । साथै व्यापार युद्ध शक्तिशाली देशद्वारा आर्थिकरूपमा उदीयमान देशको उदयमाथिको प्रहार हो र व्यापारिक मुद्दा भए पनि निहित स्वार्थ राजनीतिक सर्वोच्चताको प्रश्न हुने गर्दछ । व्यापार युद्धले बहुमत देशको हित गर्दैन । अझ विकासोन्मुख देशहरूको प्रगतिलाई वषौँवर्ष पछाडि ढकेल्छ । व्यापार युद्धले कसैको पूर्णतः जीत हुनसक्दैन, यो इतिहासले सिकाएको पाठ हो । संरा अमेरिका र चीनको वर्तमान व्यापार युद्ध पनि फरक ढङ्गले इतिहास दोहोरिएको मात्र हो ।
– ‘चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध’ पुस्तकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *