भर्खरै :

सूर्य र चन्द्रको गतिअनुसार निर्धारित हुनुपर्ने पञ्चाङ्गमा भारतीय दबाब

सूर्य र चन्द्रको गतिअनुसार निर्धारित हुनुपर्ने पञ्चाङ्गमा भारतीय दबाब

भक्तपुर, ९ चैत । स्रष्टा समाज, नेपालको आयोजनामा ‘पर्वसमय सुधारबारे प्रवचन तथा अन्तरक्रिया कार्यक्रम’ स्थानीय ख्वप इन्जिनियरिङ कलेजमा शुक्रबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अतिथि सुवालले भन्नुभयो, “पृथ्वी गोलो छ । पृथ्वीले सूर्यलाई घुम्छ । यो यथार्थ जनतालाई बुझ्न समय लागेको थियो । पर्वसमय सुधार विज्ञान र गणित विषयसँग जोडिएको हुँदा जनतालाई बुझाउन समय लाग्नु स्वाभाविक हो । भारतको दबाबमा नेपालमा पर्वसमय सुधार नभएको चिन्ताको विषय हो ।”
हालै संसद्को बहुमतबाट पारित बिम्स्टेक सम्झौतामा आतङ्कवाद र सीमापार अपराध नियन्त्रण, विपद् व्यवस्थापन, ऊर्जाको नेतृत्व भारतलाई दिने उल्लेख भएकोले नेपाल मजदुर किसान पार्टीले यसको विरोध गरेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापना सम्झौता संसद्मा विचाराधीन छ । भारतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अवधारणा र सौर्य ऊर्जा क्षेत्रमा नेतृत्व र नियन्त्रण गर्ने यो सम्झौतामा पनि उल्लेख छ । कर्कट रेखा र मकर रेखाबिचका देशहरूमा बढी सौर्य ऊर्जा हुन्छ । सम्झौतामा गरिब देशहरूले सौर्य ऊर्जा उपयोग र उपभोग गर्न पाउने नपाउने अवस्था छ । यो सम्झौताको नाममा गरिब देशको भूभाग साम्राज्यवादी देशहरूले कब्जा गर्नेछन् ।”
अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी यसरी नै गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “तत्कालीन प्रम शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार ५० अर्ब रूपैयाँ सित्तैमा आउने बताए । हामीले सित्तैमा आएको विष खाए के हुन्छ भनी प्रश्न गरेका थियौँ ।”
सांसद सुवालले भन्नुभयो, “नेकाका सभापति देउवाले देशघाती महाकाली सन्धिलाई देशको निम्ति ठुलो काम गरेको दाबी गरे । माओवादी पनि भारतीय ट्रोजन हर्स हो । शासक दलहरूको काम फरक भएन । ‘सयौँ थुङ्गा फूलका हामी …’ भनिन्छ तर वर्गीय र जातीय दमन यथावत छ । मानव सभ्यता र संस्कृतिविपरीतको ‘समलिङ्गी विवाह’ लाई नेपालको सर्वोच्च अदालत र सरकारले मान्यता दिएको उपयुक्त होइन ।”
विद्यालय र विश्वविद्यालयको शिक्षा, सभ्यता र संस्कृतिलाई उँचो पार्नु जरूरी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “देशको इज्जत र प्रतिष्ठाभन्दा पनि कालो धन थुपार्ने, वन जङ्गल, खानी, जलविद्युत् भारतलाई बेच्ने शिक्षामा परिवर्तन गर्नु आवश्यक छ । युवा र विद्यार्थीलाई विदेश पठाउने शिक्षा गलत छ ।”
सांसद सुवालले भन्नुभयो, “जनप्रतिनिधिको हैसियतमा हामीले विद्यालयमा शिक्षा अनिवार्य, निःशुल्क र विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार निःशुल्कलगायत देश र जनताको हितका विषयहरू उठाएका छौँ । निर्वाचनमा शासक दलहरूकै मत धेरै आएको हुँदा उनीहरूमा दम्भ छ । पढेलेखेकाहरू नै शासक दलहरूको पछि लागेको हुँदा देशमा अराजकता बढेको हो ।”
पर्वसमाज सुधार राष्ट्रिय समाज नेपालका संस्थापक अध्यक्ष महेश्वर जुजु राजोपाध्यायले पानीबिना माछा नबाँचेझैँ सूर्यबिना चाडबाड नहुने र अहिले सूर्य एकातिर र ‘विज्ञ’ ले बनाएको पात्रो अर्कोतिर रहेको बताउनुभयो ।
रात र दिन बराबर भएको दिन विषुवतकालमा मनाइने बिस्का जात्रालाई अर्थको अनर्थ बनाइएको उहाँले जिकिर गर्नुभयो ।
४ सय वर्षअघि नै हाम्रा पुर्खाले पर्वसमय सुधार गर्न खोज्दा भारतबाट आएका राजपुरोहितहरूले भाँजो हालेजस्तै आज पनि भारतीय धार्मिक पर्यटकहरूलाई पर्न जाने असुविधा हेरेर पर्वसमयको समयानुकूल सुधार नगर्नु सांस्कृतिक हमला स्वीकार्नु हुने उहाँले तर्क राख्नुभयो ।
नेपाली संस्कृति चन्द्रमासमा आधारित रहेको, उपत्यकामा शुद्र ठानिने द्योला जातिको हातबाट प्रसाद ग्रहण गरिने चलन रहेको तर हिन्दू धर्मग्रन्थ वेदबाट जातीय विभेद पसेको तथा चन्द्रमास मान्नेहरूलाई पिशाच भनिएको उहाँले चर्चा गर्नुभयो ।
वरिष्ठ भाषाविद् एवम् संस्कृतिविद् सुुन्दरकृष्ण जोशीले पर्वसुधारको तिथिमितिको कुरा प्राविधिक विषय हुनाले कार्यशालाकै आयोजना गरेर समाजलाई बुझाउनुपर्नेमा जोड दिँदै नेवार समुदायमा गाइने बा¥हमासे गीतअनुसार प्रकृतिमा फूलहरू फुलिरहेका छन्–छैनन् हेर्नुपर्ने बताउनुभयो ।
पर्वसमय सुधार राष्ट्रिय समाजका अध्यक्ष प्रा.डा. जयन्त आचार्यले हाम्रा चाडबाड अन्धविश्वासमा आधारित नभई वैज्ञानिक कारणले सुरू भएको बताउनुभयो । मौसमअनुसारका विभिन्न चाडबाड, वास्तुकला र भोजन आदिबारे चर्चा गर्दै उहाँले पर्वसमयलाई सुधार गरी विज्ञानसम्मत बनाउनुपर्नेमा जोड दिनुभयो ।
पर्वसमय सुधार राष्ट्रिय समाजका सचिव बलराम श्रेष्ठले सुरूमा पात्रोमा एकचोटिलाई चैत महिना हटाउनुपर्ने कुरा सुन्दा आफू विरोधी रहेको तर बुझेपछि यसलाई धर्म, संस्कृति र कलाको पुनरोत्थान गर्ने कार्य मानेको अनुभव सुनाउनुभयो ।
नेपाली पात्रोमा परिमार्जन गरेपछि यसले विश्वभरि नै तरङ्ग जाने उहाँको विचार थियो ।
सभाध्यक्ष एवं स्रष्टा समाज, नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले नेपालमा एउटै चाड पनि ठाउँअनुसार अघिपछि मनाइएको स्मरण गर्नुभयो । सूर्य र चन्द्रको गतिअनुसार निर्धारित हुनुपर्ने पञ्चाङ्गसमेत भारतीय दबाबमा पर्नु बाह्य सांस्कृतिक हमला भएको उहाँले बताउनुभयो । कुनै देशलाई भौगोलिकरूपमा कब्जा गर्नुअघि सांस्कृतिक हमला गरिएको इतिहास रहेको हुनाले नेपाली जनता सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोजक समाजका सिर्जना सैँजुले समाजमा स्थापित सांस्कृतिक पर्वहरू समाजको शक्ति हो भन्दै त्यही शक्तिमाथि विदेशी हमला हुनु भनेको समाज कमजोर पार्नु हो, यसतर्फ नेपाली समाज सचेत हुनुपर्छ भन्नुभयो । कार्यक्रम स्रष्टा समाजका मिनबहादुर बाटाले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *