भर्खरै :

आचारसंहिताको व्यापक उल्लङ्घन गरिंदै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिंदै जाँदा महोत्तरी जिल्लामा चुनाव जित्ने दाउपेचमा लागेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबाट आचारसंहिता उल्लङ्घन भइरहेको छ । यस्ता उल्लङ्घन ठूला दलबाट मात्र हैन स्वतन्त्र उम्मेदवारहरूबाट पनि भइरहेका छन् । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस, राजपा नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले यस्ता गतिविधिमा अगाडि देखिन्छ ।  त्यस्तै, विभिन्न पार्टीबाट बागी बनेका र अन्य स्वतन्त्र उम्मेदवारसमेतले यहाँ आचारसंहिताको व्यापक उल्लङ्घन गरेको देखिएको छ । महोत्तरीमा प्रतिनिधिसभाको ४ र आठ प्रदेशसभाका ८ स्थानका लागि २१३ जना उम्मेदवार मैदानमा छन् । आ–आफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका उम्मेदवारहरूले सार्वजनिकस्थल पोस्टर, पम्पलेट टाँस्नुका साथै ठूल्ठूलो आवाजमा घण्टौंघण्टा लाउडस्पिकर बजाएर प्रचारप्रसार गरिरहेका छन् ।  जिल्लाको प्रत्येक गाउँठाउँको बिजुलीको खम्बा, टेलिकमको खम्बा र रुखबिरुवामा अहिले विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारको छाप अङ्कित झण्डा टाँगिएको हेर्न सकिन्छ । त्यस्तै, ठूला आकारका पोस्टर पनि ठाउँठाउँमा टाँगिएको भेटिन्छ । यहाँका उम्मेदवार आचारसंहिताविपरीत एक दर्जनभन्दा बढी गाडी, सयौं मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचारप्रसारमा उत्रेका छन् । त्यस्तै यहाँका प्रत्येक पार्टी र स्वतन्त्र उम्मेदवारले आफ्नो छाप अङ्कित गन्जी, टोपी लगाउन दिएर सयौं कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, चुनावी ¥यालीमा बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ ।  यसका साथै उम्मेदवारले मतदातालाई रिझाउन झूठा वाचा, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । तर यता निर्वाचन आचारसंहिता उल्लङ्घनको अनुगमन र नियन्त्रणको जिम्मेवारी बोकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको कुनै पनि स्थानबाट निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी कुनै उजुरी नआएको जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी आएमा विशेष अनुगमन टोलीले नियन्त्रण र नियमनको कार्य अगाडि बढाउने बताउनुभयो ।
–(रासस) महोत्तरी संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *