नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
मध्यम आय भएको अर्थतन्त्र निर्माण गर्ने कुरा बकम्फुसे होइन, गम्भीर हो । मध्यम आय भएको अर्थतन्त्र सजिलैसँग निर्माण हुने भए यो संसार आज किन यसरी अल्मलिन्थ्यो र ? मध्यम आय भएको अर्थतन्त्र निर्माण भन्न त सजिलो छ तर गर्न निकै कठिन छ । त्यसमाथि पनि हाम्रो जस्तो अविकसित, चेतना कम भएको समाजमा मध्यम आय अर्थतन्त्र निर्माण गर्नु त्यति सजिलो विषय छैन । यसका लागि त समाजले नै आफूलाई समर्थन गर्न सक्नुपर्छ । तर, हाम्रो समाजको विश्लेषणात्मक व्याख्या गर्ने हो भने आजको नेपाली समाज पूर्ण समर्थनको लागि तयार छ ? भन्ने प्रश्न सहजै जसको मनमा पनि उब्जन सक्छ । यसको निम्ति कुनै पनि कुरा प्वाक्क बोल्नुहुँदैन । नत्र जनतामा अविश्वास बढ्छ । जनतामा विश्वास भएन भने मध्यम आय भएको अर्थतन्त्र निर्माण त कति उकालो कति ¤ कुनै पनि साधारण कुरा पनि सम्पादन गर्न सकिँदैन । आज मुलुक हिङ, गुन्द्रुक, मस्यौरा, ज्वानो, मेथीसमेत अर्को मुलुकबाट आयात गर्छ । कम्तीमा अदुवा, बेसार, गुन्द्रुक त अब आफै उत्पादन गर्न सक्नुपर्ने हो आफूलाई चाहिने जति, तर त्यतातिर गर्ने भन्नेहरूको पटक्कै ध्यान छैन । गर्ने भन्नेहरू नै अरूको हाहामा लाग्छन् । आफू निर्णय गर्न सक्दैनन् । यस्तो समाज कसरी अबको ६ वर्षमा मध्यम आय भएको अर्थतन्त्रमा उक्लन सक्ला ? यो मेरो गम्भीर प्रश्न हो, पार्टीका उच्च नेतृत्वमा आसिन उच्च नेताहरूलाई । भुइँबाट जे आयो त्यसैको पछि लाग्ने, त्यसैलाई हो हो भन्ने, सजिलो तरिकाले मुलुकको नेतृत्व गर्न सकिँदैन । यो कुरातिर नेतृत्वको गम्भीर ध्यान जानुपर्छ ।
सजिलोसँग उत्पादन बढ्दैन
देशमा अहिले पनि विदेश (भारत) बाट चामल आएन, मकै आएन, गहुँ आएन, कोदो आएन, भटमास आएन भने मान्छेको चुलोमा आगो मात्र नबल्ने होइन, कुखुराले दाना खान पाउँदैनन्, माछा भोकै मर्छन्, गाईभैँसीले कुँडो खान पाउँदैनन् । हाम्रो आफ्नो उत्पादनले हामी ३ करोड नेपाली लगभगको पेट भरिँदैन । यो भनेको असफलताको, निरीहताको असजिलो अवस्था हो । यस्ता असजिलो अवस्थामा कुन मुलुकले पो आर्थिक समुन्नति गरेको छ र ? यो वस्तुतथ्य हाम्रो राजनीति उच्च नेतृत्वले नबुझिएको हो वा बेवास्ता गरेको हो ? म भन्न सक्दिनँ । ६ वर्षमा मध्यम आय भएको अर्थतन्त्र निर्माणको कुरा सजिलो छैन । अर्थतन्त्र भनेको निश्चय नै सजिलो विषय होइन । अर्थतन्त्रका अनेक जलिटताहरू एउटा अर्कोसँग अल्झिएका हुन्छन् । अर्थतन्त्रका यी गाँठा सजिलोसँग सबैले बुझ्न सक्दैनन् । यहाँ त अरूले बुझेन बुझेन, स्वयं नेताहरूले पनि बुझ्न खोजेनन् । यस्ता संवेदनशील कुरा आत्मसात गर्ने नेतृत्वले गरेको कुरा हामी सर्वसाधारण जनताले कसरी पत्याउने ? ठुला कुरा गरेर धान फल्दैन, कोदो फल्दैन, मकै, भटमास फल्दैन । अन्न फल्नको लागि त समयमा पानी, मल, रेखदेख, किरा फट्याङ्ग्रा मार्ने, नयाँ बिउ र नयाँ साचेको थालनी हुनुपर्छ । हामीकहाँ दुई–तीन दसक अघिसम्म पनि समयमा मल पाइन्थ्यो, बिउ पाइन्थ्यो र काम गर्ने मानिस पनि पाइन्थे तर आज समयमा सजिलैसँग यी कुनै वस्तु पाइँदैनन् । तब कसरी उत्पादन बढ्छ ?
नेपाली फूल बिकेन !
म ६ वर्षभित्र मध्यम आय भएको अर्थतन्त्र निर्माण कसरी होला ? भनी परिस्थितिको छेउभित्तो हेर्छु तर कतै यो कुरा सम्भव देखिँदैन । राजनीतिक नेतृत्वले सम्भव नहुने बकम्फुसे कुरा गरेर, आफू पनि बकम्फुसे नै हुँ भन्ने चिनारी दिनमात्र हुन्छ । यस्ता हलुका एवं सारहीन कुरातिर हाम्रो मध्यम र तल्लो वर्गको नेतृत्व होइन, केन्द्रीय नेतृत्व पनि होसियार हुनुपर्छ । कुरा मात्र गर्न त सजिलो छ । कुराले त नेपाल उहिल्यै समृद्ध, सम्पन्न र सक्षम भइसक्नुपथ्र्यो तर यसो हुन सकेन । केही वर्षदेखि नेपाल निर्यात कम गर्छ । निर्यातभन्दा आयात एकदमै धेरै छ । स्वदेशी रकम यही आयातमा बाहिरिएको छ । यो कुरा नेतृत्वलाई पक्कै थाहा होला । थाहा छैन भने नेतृत्व विफल छ । देश आत्मनिर्भर होइन, परनिर्भर हुँदै छ । स्वदेशी रकम बाहिरिएको पनि हाम्रो नेतृत्वलाई थाहा हुनुपर्ने हो । कि थाहा छैन ? थाहा भए त्यो रोक्नेतिर किन ध्यान जाँदैन ? गएको तिहारमा विदेशी फूल यति धेरै भित्रिए नेपालको फूलले बिक्नै पाएन । भारतका फूलका थुङ्गाहरूले नेपालको फूल फस्टाउन पाएन । फूल पैसा दिने ठाउँमा त्यसै सुकेर खेर गयो । त्यस्तै, भारतको सस्तो आयातले सङ्कुचन हुनपुग्यो । यहाँ उत्पादित गोलभेडा सडकमा फाल्नुपर्छ । बन्दाकोपी बिक्री नभएर वा सस्तो भएर बन्दाकोपीमाथि ट्याक्टर लगाइन्न । वैदेशिक सहयोग हटाउने कुरा त कहाँ हो कहाँ ? जुटाउने दायित्व छ सरकारको । निर्यात नगरेर वा कम निर्यात गरेर कुन देश धनी भएको छ र ?
गम्भीर हुनुहोस्, हलुका होइन
बालुवाको देश इजरायल सम्पूर्ण युरोपमा गुलाबको फूल र दूध तथा दूधजन्य वस्तु बेचेर सम्पन्नता हासिल गरेको छ । इजरायलीहरू तातो पाएकोमा गर्व गर्छन् र प्रकृतिले हामीलाई माया गरेको छ । त्यसैले तातो दिएको हो भन्छन् । प्रकृतिले दिएको तातो वा चिसोलाई अधिकतमरूपमा मान्छेको लाभको लागि प्रयोग गर्ने सिप र कौशल टिप्न सिपालु हुनुपर्छ । सत्तासीन दलका नेताहरू सन् २०३० सम्म दिगो विकास हासिल गरी सम्मानजनक मध्यम आय भएको नेपाल बनाउन चाहन्छन् तर चाहनाले मात्र देश बन्दैन । बन्ने भए उहिल्यै बनिसक्थ्यो । संसारका थोरै मुलुकमात्र हाम्रो जस्तो अविकसित एवं पिछडिएका छन् । यो साङ्लो चुँडाल्नु छ ।
उत्पादन हुन पनि निर्यात गर्न सकिँदैन । निर्यात नगरी अर्थतन्त्र विकास हुन सक्दैन । यी कुरा भन्न र लेख्न सरल छ र तर गर्न गा¥हो छ । नेपालको अर्थतन्त्र ऋणमा डुबेको छ । खबौँखर्ब वैदेशिक ऋणको सावाब्याज वार्षिक नै चुक्त गर्नुपर्छ । अन्यथा, विदेशबाट पैसा आउँदैन । विदेशी पैसा नभए मुलुक थला बस्छ । यसर्थ, नेताहरू हो, अबको ६ वर्षमा मध्यम आय भएको अर्थतन्त्र निर्माण सम्भव छ, छैन, गम्भीर भएर पुनरावलोकन गर्नुहोस् र समयोचित कदम उठाउनुहोस् । नयाँ कुरा गरेर मात्र संसारमा ठुलो हुने भए, सम्पन्न हुने भए, सबै त्यसै गर्दथे । को पो पसिना चुहाउँथ्यो र ? यसर्थ, बकम्फुसे कुरामा नलागी यथार्थ एवं वस्तुगत कुरातिर लाग्नु नेतृत्वको दायित्व हो ।
Leave a Reply