पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व
- भाद्र १४, २०८३
‘चैत आयो चेत आयो’ भन्ने उखान जुम्ली किसानहरूको जनजिब्रोमा लोकप्रिय छ । चैतको महिना लागेपछि खेतीपातीको समय सुरु हुन्छ । वसन्त पञ्चमीको दिन बल्दहरू (गोरुहरू) को काँधमा तेल लगाउने, मिठो ख्वाउने, अब हलचक्र, हलसिया सुरुको समय हुन लागेकोले गोरुलाई तयारी बनाइन्छ । जोत्नको लागि हावापानीको दृष्टिले हिउँदको चार महिना सकिएर तातो हुने समय चैत महिनालाई उपयुक्त मानिन्छ । चैत महिनादेखि तापक्रम बढ्ने हुनाले माटोको उर्वर क्षमता अनुकूल हुने हुँदा खेतीपानी सुरु हुन्छ । कार्तिकमा छरेको जौ बाली यही महिनादेखि बढ्न थाल्छ, सागपात पनि खानको लागि तयार हुन्छ । रुखबिरुवाका पालुवा पलाउने, साग–तरकारी लगाउने समय भएकोले कृषि कार्य आरम्भ हुन्छ । मुख्य खेती र खानाको रूपमा लिइने मार्सी धानको रोपाइँ जेठ महिनाभरिमा जुम्लाका खेतमा गरिन्छ । ढिलो भएमा धान बाली पाक्दैन । पछिल्ला दिनहरूमा काठमाडौँलगायत देश र विदेशका विभिन्न सहरहरूमा मार्सी धानको चामलको माग बढिरहेकोले झनै महत्व बढ्दै छ । धान खेतीमा चैतबाट सुरु गरी कार्तिकसम्म लामो समय श्रम गर्नुपर्ने भएकोले लागत (खर्च) धेरै पुग्छ । विश्वकै उच्च बस्तीमा मार्सी धानको खेती हुने भएकोले पनि प्रसिद्धी बढेको हो । राणा प्रधानमन्त्रीहरूको पालामा जुम्लाबाट प्रतिदिन हुलाक सेवामार्फत पुलिन्दा गरी चामल काठमाडौँ पठाइन्थ्यो भन्ने बुढापाकाबाट सुन्न पाइन्छ ।
धानको बीउ चैत १२ गते बताइन्छ (केलाइन्छ) । यो दिनबाट बाली भित्याउने समयसम्म यहाँका बस्तीहरूमा पटकपटक रमाइलो गर्ने, उत्सव र खुसीयाली मनाउने भएकोले धानखेतीलाई चाडपर्वको रूपमा लिइन्छ । बीउ बताउने दिनमा शुभकामना आदानप्रदान गर्ने, मिठामिठा परिकार खाने, बाँडचुँड गर्ने, मागल भन्ने (गीत गाउने) गरिन्छ । परापूर्वकालदेखि मार्सी धानलाई अन्न बालीहरूको राजा मानिन्छ । मार्सी चामलको भात दुई छाक खाइन्थ्यो, गौरव गरिन्थ्यो र मानसम्मान हुन्थ्यो । चैत १२ गते जुम्लाको कुनै पनि मानिस हाट–परदेशबाट घर पुगेन भने काजक्रिया गरिन्थ्यो रे ¤ यसको अर्थ धानखेतीको महत्व उच्चतम थियो ।
धानको बीउ राख्ने समयमा घरपरिवार जम्मा हुनैपर्ने मान्यता थियो । चैतबाट मङ्सिरसम्म खेतीपाती र घरधन्दा सकेर कमाइ गर्न लोग्नेमान्छे परदेश जाने चलन थियो र चैत १२ गते घर पुग्नैपथ्र्याे । यो प्रचलन आजकल बदलिँदै गएको छ । १२ गते बीउ बताई गरी पानीमा भिजाई राख्ने, १६ गते भिजेको बीउलाई सफा गरी ओटालाको भिट्टामा पिरलमाथि लिउ, फेरुवामा प¥याउन (ताप दिने) गरिन्छ । तातेको धानलाई घरको आगो बाल्नेको महिरो पिरलले पोली, सरसफाइ गरी, सबै परिवार जम्मा भई दहीचामल (टीका) लगाउने, सुरुको पाथी धान देउतालाई चिउरा कुट्न छुट्याउने, त्यसपछि बीउ उमार्नको लागि सल्ली धुप, पाती राखी, भुजपातले ढाकी धेरै लुगा ओढाई ढाकिन्छ । बाँकी भिजेका धानको चिउरा कुटिन्छ । कुलदेवता, कनकासुन्दरी देवी, चन्दननाथ र भैरवनाथलाई छुट्याएर बाँकी चिउरा घरपरिवार र नातागोताहरूबिच बाँडेर खाने चलन छ । घरबाहिर बसेको र विवाहित छोरी÷बहिनीहरूलाई चिउरा नासो पठाइन्छ । चैतका चिउराको महत्व बृहत् छ । बीउ छर्नको लागि बेर्ना छानिएको हुन्छ । चैत लागेदेखि बेर्ना (खेत जग्गा) सरसफाइ गर्ने, झारपात नष्ट गर्न, किटाणु नष्ट गर्न पिरलले पोल्ने गरिन्छ । धेरैपटक खनजोत गरिन्छ, बीउ प¥याउने दिनमा खेतको अन्तिम तयारी गर्न पानी हाली बुदार्ने (सतह मिलाउने) काम गरिन्छ । बीउ उमार्न खुबै ध्यान दिनुपर्छ नत्र बीउ बेर्ना बिग्रने सम्भावना हुन्छ र बीउ अङ्कुराउन कठिन हुन्छ । चैत २० गते बिघछती पर्व मनाइन्छ । बीउ बेर्नामा छर्ने पूजाआजा गर्ने, विवाहित छोरीचेलीलाई माइती बोलाइन्छ । त्यस दिन खुसीयाली मनाउने, देउडा खेल्नेजस्ता रमाइला कार्यक्रम गरिन्छ । चैत दसैँमा कनकासुन्दरी मन्दिरमा मेला लाग्छ । त्यसै दिन त्यस भेगका भक्तजनले चैतका चिउरा चढाउने चलन आजभोलि पनि छ । बेर्नामा उम्रेका बीउ छरी बचेका बीउ भुटेर सिरौला कुट्ने गरिन्छ । उक्त सिरौला मेलापात तथा खेती कार्य गर्दा फाको हाली खाने गरिन्छ ।
बीउ छरी बचेका धान, सिरौला कुटिन्छ ।
सबजना एकैसाथ हुँदा सौरणी मेटिन्छ ।।
जेठमा रोप्याका धान, कार्तिका काटिन्छ ।
एकैसाथ बसेका जहान मङ्सिर फाटिन्छ ।।
तागा सङ्क्रान्ति
नव वर्ष वैशाख १ गते तागा सङ्क्रान्ति मनाइन्छ । बेर्नामा उम्रेको बीउलाई पूजा गरिन्छ । त्यसदिन विशेष गरेर चामलकै पुवा, सेलरोटी, भाँड्याको सागपात भुटेर बेर्नामा ढुङ्गाको देवता बनाई पूजा गरिन्छ । तिनै खानेकुरा चढाइन्छ । टीका लगाउने, शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विशेषगरी तागा सङ्क्रान्तिमा नवविवाहित दुलहीलाई माइतीबाट घर ल्याउने, नयाँ दुलही माग्ने र सबै विवाहित महिलाहरू एक ठाउँमा बसेर तागा (धागाले बनाइएको कलात्मक डोरी) पूजा गरेर लगाउँछन् । एकआपसमा रमाउँछन् र शुभकामना बाँड्छन् । त्यसदिन गायन टोली घरघरमा गएर मागल चुड्किला गाउने गर्छन् । त्यस समूहलाई स्वागतस्वरूप टीका लगाइदिने, उपहारस्वरूप पुवा दिने चलन क्रमशः लोप हुँदै छ । त्यस दिन महिलाहरू बडो उत्साहका साथ आ–आफ्नो गाउँ–टोलको समूहमा सजिएर भेला भएर देउडा खेल खेल्ने गर्छन् । सुख–दुःखका गीत गाएर सवालजवाफ गर्छन् ।
धान रोपाइँ
जेठ महिना सुरु भएपछि कार्तिक बोएका जौ बाली भित्याइसकेपछि महिनाभरि नै रोपाइँ हुन्छ । एक आपसमा पर्म–परिमो, सहयोग आदानप्रदान गर्ने प्रचलनलाई पठ्ठा भन्ने गरिन्छ । बडो उत्साहका साथ रोपाहारहरू मौलिक भेषभूषामा सजिएर रोपाइँ गर्छन् । गोरु जोत्ने, खेत मिलाउने, पानी हाल्ने काम पुरुषले गर्छन् । रोप्ने क्रममै रोपाइँ गीतहरू समूहमा गाउँछन् । रोपाइँ नाच हातमा बीउका आँठा (मुठा) लिएर नाच्छन् । कसैको घरमा शुभकार्य (जस्तै विवाह गरेको, छोरा जन्मेको र स्थायी जागीर भएको) भएको छ भने विशेष रोपाइँ ‘चोपाइ’ (बाजागाजाका साथ हर्षबढाइँ) गरिन्छ ।
बाजा समूह आफ्नो पोशाकमा सजिएर नाचगान गर्ने रोप्नेरी (धान रोप्ने महिलाहरू) नाच्ने–गाउने गर्छन् । रोपाइँको समाप्ति सँगसँगै आफ्नो पितलमाटी (पुख्र्यौली खेत) मा खेतको बिच भागमा पुल्ती (पताका) हालिन्छ । धानको बीउबाट पुतलीको आकारमा चित्र बनाइन्छ । पुतलीको वरिपरि शुभकार्यका पात्रहरू (बेहुला–बेहुली, छोरा–छोरी) लाई परिक्रमा गराइन्छ । छोरो भएमा छोराले सरकारी जागिर खाएको पहिलो वर्षमा खुसीयाली मनाउन रोपाइँका खेतालाहरूले रोप्ने खतमा चोपाइ गर्छन् । घरका मानिसलाई रोपाहारहरूबाट धानको बीउको दुबो (जमारा) लगाउने, हिलो घस्ने र दही चामल (टीका) लगाइन्छ ।
खेतालाहरू र रोपाइँ गर्ने घरका छिमेकी, नजिकका नातेदारहरू रोपेको खेतमा चोपाइ खेल्छन् (नाच्छन्) । कुस्ती खेलेर बलियो र निर्बलियो मापन हुन्छ । चोपाइ गर्न सयौँको सङ्ख्यामा दर्शकलाई निमन्त्रणा गरिएको हुन्छ । चोपाइ सकिएपछि सबैलाई सगुन (मिष्ठान्न खानेकुराको परिकार) ख्वाइन्छ । बाजा समूहलाई फुर्काे (फेटा) दिई बिदाइ गरेसँगै त्यो दिनको रोपाइँ समापन हुन्छ । सबैभन्दा अन्तिमको रोपाइँलाई मइजारो भनी रोपाइँ गर्दा रोप्नेरीहरूले थुप्रै गीत गाउँछन् । त्यसको केही अंश यसप्रकार छ :
‘कुन दिन कुन बार जिउली स¥यो बालो बीउ ?
भला दिन भला बार जिउली स¥यो बालो बीउ ।
कुन ज्यूले सायाभाया ? कुन ज्यूले इलछी लाया ?
बोबज्यूले सायाभाया, कृष्णज्यूले इलछी लाया ।
बिहानाका झूल्क्या घाम जिउली स¥यो बालो बीउ ।
सारसार बोटी सार जिउली स¥यो बालो बीउ ।।
पश्चिम छुचो पूर्व चाक्लो पुल्ती डाबय ।
डिल झुल्याइ, भिट्टा लस्क्याइ मार्सी धानय ।
बोबका जिउनार लाग्याइ, बज्यूका भान्सामा पाक्याइ ।
मार्सी धानय ¤ बुबा जिया, काकाकाकी, दाजुभाउजू सबै ।।
यस्तै तरहले धानसम्बन्धी रोपाइँ गीतहरू थुप्रै गाइन्छन् । असारे पोको पोइल बसेकी (घरजम गरेकी) विवाहित छोरीहरूलाई पठाइने अर्नी (खाजा) हो । असारको महिना प्रत्येक धानको बोट गिन्ती गरेर गोडिन्छ । धान गोडमेल निकै कठिन काम हो, (सिँचाइ नपुगी) खेत कक्रक्क भएमा गोडमेल गर्न गाह्रो हुन्छ । हरेक माइती पक्षबाट धान गोड्ने बेलामा पोइल बसेकी छोरीहरूको भोक, प्यास, पीडा, थकाइ मेटाउन पौष्टिक खानाका परिकार (असारे अन्न) पु¥याउने चलन व्यापक छ । माइतबाट आएको अन्न समुदायकी साथी सङ्गिनीसँग बाँडिन्छ । माया आपसी सद्भाव बढेको हुन्छ । गोडमेल सकेका र छिमेकीहरूले गोड्न बाँकी रहेका खेतमा सघाउने गर्छन् । खेत गोडिसकेको अन्तिम दिनलाई नङ्ग्रे काटो भनिन्छ । धान गोडाइ सकेको उपलक्ष्यमा खुसी मनाउन रातिको खाना विशेष परिकारको हुन्छ । सपरिवार एकै ठाउँमा बसेर आनन्दले खान्छन् ।
चैत बीउ राख्ने धानको, रोपाइँ हुँदो जेठ ।
धेरै भई छुटेका प्रीति, बल्ल भयो भेट ।।
असार खेत गोड्न्या भइयो, साउन धान पसाउन्या ।
लहलह धानका फाँट, किसानलाई हँसाउन्या ।।
साउन महिना सुरु भएपछि दोस्रो धान गोडाइ हुन्छ । यसपटकको गोडाइ सरल हुन्छ, साउँ उखेल्ने, झारपात फ्याँक्ने गरिन्छ । खेतमा लगातार सिँचाइ गर्नुपर्छ अनि साउने बाली पसाउँछ । धान पसाएपछि ज्यादै रमणीय वातावरण र सुन्दर दृश्यले धानका जिउली फाँटहरूले मन लोभ्याउने गर्छन् ।
‘साउने बाला निस्कियो, धान पसाउने बेला ।
हरियो भरियो जोवन अति राम्रो होला ।।’
भदौ महिनासम्म नपसाएको धानको बोट पाक्न सक्दैन किनकि तापक्रम र आद्रता घट्दै आएको हुन्छ । असोज लाग्यो धानको जोवन भरिन थाल्छ । पहेलपुर जिउली फाँट, जताततै हरिलो भरिलो बाली, लहलह धानका बालाले बयाली खेल्दा बहुतै आनन्दको अनुभूति हुन्छ । बिचमा हिमा–तिला नदीको सुस्त बगाइ, पाखाबारीहरूमा स्याउलगायत विभिन्न फलफुल पाकेको मनोरम दृश्यले साँच्चिकै सिँजा र जुम्ला सिँगारिएकी बेहुलीजस्तै सुन्दर देखिन्छ ।
दसैँको आगमनसँगै घर लिपपोत, रङ्गरोगन, श्रृङ्गारपटार गरिन्छ । बालीनाली भित्याउने बेला घाँस काटेर सञ्चित गरिँदै हुन्छ । घरघरमा घटस्थापना गरेको भोलिपल्ट द्वितीया तिथिका दिन घरका झ्यालढोकाहरूमा टोकारे (सयपत्री) फूलले सजिसजाउ गरिन्छ । धानका बाला बिचबिचमा राखिन्छ । यो दृश्य वर्षभरि हेर्न सकिन्छ । त्यही दिन खेतबाट एकमुठो धान निको दिन (घटस्थापनापछिको नयाँ दिन) काटेर घर ल्याइन्छ । नयाँ धानको चिउरा कुटिन्छ, चामल कुटिन्छ र साँझ परिवारसँगै बसेर नयाँ बालीको खीर पकाइन्छ । दूधको मात्रा कम भएमा चिउरा दूध या दहीमा भिजाएर मह मिसाई नयाँ बाली एकआपसमा खुवाउने, बाँडेर खाने–चाख्ने पर्व भएकोले ‘नुवा’ भनिन्छ । घर परिवारले खानुपूर्व दसैँको पूजाको लागि मन्दिरमा चढाइन्छ । कुल देवताका लागि छुट्याएर राखिन्छ । साथै, घरपरिवारभन्दा बाहिर बसेका सदस्यहरूलाई पनि छुट्याइन्छ ।
दसैँपछि बाली भित्याउने कार्य सकिन्छ । दाइँ हाल्दा पराल माड्दै र गोरु घुमाउँदै गीत गाइन्छ । गीतमा तराईका धान बढी उत्पादन हुने जिल्लाबाट सह (शौभाग्य) माग्ने चलन छ । राति खलामा (धान जम्मा गरेको स्थान) कुरिन्छ वा पहरा दिइन्छ । बोटबाट झारेको धानलाई उब्जार र दाइँबाट निकालेको धानलाई रासमा वर्गीकरण गरिन्छ । उब्जार धानको महत्व बढी हुन्छ ।
धान भित्याउँदा थैला (बोरा) मा सुपाले उमानेर (सुपा भरेर) राख्ने गरिन्छ । बडो सम्मानका साथ दियो बाल्ने, धुप बाल्ने, धुपौरो वा डाडुमा आगोको गोल राखी फूल–अक्षता धुपीको धुप राखेर सुगन्धित पारी थैला भरिन्छ । त्यसबेला, कसैले पनि बोल्न पाइँदैन । सबै चुपचाप रहनुपर्छ । धान उमानिसकेपछि (थैला भरेपछि) खाट भकारी (काठको फल्याकबाट बनाइएको भकारी) मा धान भण्डार गरिन्छ । तिहारमा लक्ष्मीपूजाको बेला जौको पिठोको दियो बनाई अन्न राखेका खाट भकारीमा उज्यालो दियो बाली पूजा गरिन्छ ।
यहाँका प्रायः चाडपर्वहरू मार्सी धान खेतीसँग सम्बन्धित हुन्छन् । प्रत्येक चाडपर्वमा प्रयोग हुने खानाका परिकार (चामल, चिउरा, लड्डु, अर्सा, फिनी आदि) मिष्ठान्न भोजन, अक्षता, दहीचामल (टीका), प्रसाद, इष्टमित्र वा टाढाटाढा रहेका घरपरिवारका सदस्यलाई पठाउने नासो, उपहार, देवीदेवतालाई चढाउने वस्तु सबै मार्सी धानबाट बनाइन्छ । यसको महत्व बयान गरेभन्दा पनि बढी छ । बडो मिहिनेतका साथ उत्पादित मार्सी धानले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजार पाएको छ । यो गौरवको कुरा हो । आजभोलि युवाहरू विदेश जाने क्रम बढेकोले धान खेती गर्ने कामदारको अभावमा मार्सी धान लोपउन्मुख अवस्थामा पुगेको छ । आयातीत चामल सस्तोमा उपलब्ध हुनाले पनि रैथाने बाली सङ्कटमा पर्दै छ ।
मार्सी धानको उपभोग असाध्यै उमङ्ग र महत्वका साथ गरिन्छ । यसले सबै समुदायबिच सु–सम्बन्ध र सद्भाव बढ्छ । पाटाभात (भोज), भैलेभात (भैलो खेलेपछिको भोज), चेले तिहारमा पनि मार्सीधानको उपयोग गरिने हुँदा मौलिक चाडपर्व, रीतिरिवाज पनि बढी लाभान्वित भएको पाइन्छ । सामाजिक दृष्टिले समूहमा खेतीपाती कार्य गर्दा समुदायले दैनिक कार्यतालिका बनाएर सबैको रोपाइँ सम्पन्न गरिन्छ । समुदायका मानिसहरूबिच सहयोग आदानप्रदान तथा आवश्यक खर्च व्यवस्थापनमा पनि सहयोग गर्ने चलनले समुदायबिचको सम्बन्ध झनै प्रगाढ र बलियो हुँदै जान्छ । मार्सी धान खेतीको बहुमुखी फाइदा हुने र महँगो बाली भएकोले राज्यले सहयोग गरी यहाँका किसानलाई व्यवसायिक खेतीमा संलग्न गराई आर्थिक आम्दानीको मुख्य स्रोत बनाउन सकेको खण्डमा बढीभन्दा बढी लाभ लिनसक्ने सम्भावना छ ।
Leave a Reply