भर्खरै :

प्रम दाहाल ‘उथलपुथल’ का ठेकेदार !

प्रम दाहाल ‘उथलपुथल’ का ठेकेदार !

तेस्रो गठबन्धन सरकार गठन गरेर क्रमभङ्ग गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि उथलपुथलको कुरा फुकेर हाँसोको पात्र बनेका छन् । गत फागुन २१ गते ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीतिक’ विषयक एक कार्यक्रममा ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’ भनी सन्देश बाँडे । छिनछिनमा बोलीबचन फेर्ने या बोलीको ठेगान नभएका पात्रको रूपमा परिचित दाहालले नमर्दासम्म उथलपुथल हुने बखान गरेर देशको राजनीतिलाई सधैँ अस्थिर, अन्योल र अनिर्णयको देश बनाइरहने मन्त्र फुके । सशस्त्र युद्ध गरेर उथलपुथल गर्न नसक्ने माओवादी अध्यक्ष दाहालले सत्ता समीकरणलाई उथलपुथलको संज्ञा दिएर निरर्थक कुरा गर्न भ्याए । व्यर्थको कुरा गर्ने, नचाहिँदो कुरा धेरै गर्ने मानिसलाई नेपाली समाजमा बकम्फुसे भन्ने गरिन्छ । उथलपुथलको सामान्य अर्थ ठुलो परिवर्तन हो; ठुलो हलचल हो । एउटा ठुलो दल छोडेर अर्काे ठुलो दलसँग मिलेर सरकार गठन गर्नु उथलपुथल होइन । उथलपुथल कसैले चाहेर पनि छिनछिनमा हुँदैन । झूट बक्ने, गलत कुरा फलाक्ने व्यक्तिलाई नेवारी समुदायमा ‘ध्वाँस’ भन्ने चलन छ । समाजमा देखिने यस्ता ‘ध्वाँस’हरू राजनीतिक दलमा पनि देखिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले कतै ‘ध्वाँस’ को उपाधी पाउन कसरत गरिरहेका त होइनन् ? विचारणीय छ ।
उथलपुथल गर्ने कामको ठेक्का के नेता दाहालले लिएका हुन् ? आफू बाचुञ्जेल उथलपुथल गरिरहने जिम्मा लिएका दाहाललाई सर्वसाधारणले प्रश्न गर्न थालेका छन्, के उथलपुथल दाहाल बाँचुञ्जेल मात्र हुन्छ ? के दाहालले जीवन छोडेपछि उथलपुथल आवश्यक हुँदैन ? उथलपुथल हुँदैन ? नयाँ सत्ता समीकरणको कामलाई उथलपुथल ठान्ने दाहालले साँच्चै देशमा आमूल परिवर्तन (उथलपुथल) भयो भने के भन्ने होलान् ? आफ्नो सरकारको आयु लम्ब्याउन एउटा दललाई खुसी पार्न अर्काे दललाई विश्वासघात गर्नु उथलपुथल होइन । पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था स्थापना भएको भए त्यसलाई उथलपुथल मान्न सकिन्छ । नेका छोडेर एमालेलाई सत्तामा सामेल गराउनु या सामेल हुनु कसरी उथलपुथल हुन्छ ?
‘आत्मघाती’ निर्णय गर्ने, देशघाती एमसीसी सम्झौता गर्ने प्रम दाहाललाई पार्टीभित्र अरु सच्चा कम्युनिस्ट नेताहरूले आलोचना गर्नुपर्दैन ? गल्ती सच्याउन दिनुपर्दैन ? भनिन्छ, अध्यक्ष दाहाललाई आलोचना गर्ने आँट दलका अरु नेताहरूमा छैन । भए पनि त्यस्ता नेताहरूलाई तुरुन्तै पाखामा लगाइन्छ । प्रम दाहालको जिद्दीको कारण दलभित्र असन्तुष्टि बढिरहेको खबर छापामा आइरहेको छ । गलत कार्यको आलोचना गर्दा विरोध गरेको भनी पाखा लगाउने प्रम दाहालको नेतृत्वप्रति गम्भीर आरोप लगाइएको छ । प्रम दाहाल कहिले अलि बढी काम गर्न उथलपुथल गरेको बताउँछन् भने कहिले काम गर्न दिइएन भने फेरि उथलपुथल गर्ने भनी नयाँ समीकरण सामेल दलका नेताहरूलाई तर्साउँदै छन् ।
कहिले नेकासँग, कहिले एमालेसँग गठबन्धन गरेर तेस्रो दल बनेको माओवादी केन्द्रको हैसियत के कति छ भन्ने थाहा पाउन एक्लै निर्वाचनमा लड्नुपर्छ; एक्लै निर्वाचनमा लडेर आफ्नो हैसियत देखाउनुपर्छ । नेमकिपाले झैँ देशभर एक्लै निर्वाचनमा लड्ने आँट माओवादीमा छ ? पैसा नबाँडिकन, लोभलालच, डर धम्की नदेखाइकन सिद्धान्त र विचार प्रचार गरेर निर्वाचनमा लड्ने आँट छ ? ‘जनयुद्ध’ को ब्याज खाइरहेका माओवादी केन्द्र पुँजीवादी राजनीतिमा नफसेर साँच्चै समाजवादी क्रान्तिको निम्ति लाग्ला ? लागेर देशमा साँच्चैको उथलपुथल ल्याउला ? ‘उथलपुथल’ शब्द खोकेर देशमा उथलपुथल हुँदैन । नयाँ सत्ता समीकरण या सरकारको हेरफेरलाई उथलपुथल मान्न सकिँदैन । देश र दलको नेतृत्व गर्ने जिम्मेवार नेताहरूले यस्ता झूटा, भ्रमात्मक तथा झुक्याउने काम गर्नु बुद्धिमानी होइन । आफ्नो राजनीतिक उचाइ घटाउने काम प्रम दाहाललाई सुहाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *