भर्खरै :

मान्छेले रक्सी खान्छ वा रक्सीले मान्छे खान्छ ?

मान्छेले रक्सी खान्छ वा रक्सीले मान्छे खान्छ ?

केही वर्षपहिले विराटनगरको घटना मलाई एक जना व्यक्तिले सुनाएका थिए । विवरण यस्तो छ– नेपालका एक प्रसिद्ध कवि आफ्नो रक्सी खाने बानीले गर्दा स्रोतालाई कविता सुनाउन मञ्चमा बसेका बेला निदाएका थिए । प्रसिद्ध कविको कविता सुन्न स्रोताहरू लालायित थिए । तर, कवि अघिल्लो राति बेस्सरी रक्सी खाएर मातेर बान्ता गरी ढिलो सुतेका रहेछन् । बिहानपख जबरजस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरू कविले कविता सुनाउँदा सुनाउँदै उनी सोफामा नै लमतन्न सुतेर घुर्न थाले । उनले कसरी कविता भन्नु ? उनलाई उठाएर पुनः होटलमा नै लैजानुपर्यो । उनी सुती नै रहे । ती कवि नेपालमा प्रसिद्ध छन् । मानिस पनि भलाद्मी नै छन् । रक्सी खाएपछि उनको कविपन नै हराउँदो रहेछ ।
भारतका प्रसिद्ध सिने कलाकार गुरुदत्त पनि असाध्य रक्सी पिउँथे । वहिदा रहमानसँग उनको प्रेम प्रसङ्ग गाँसिन नसकेपछि उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौँ । सिने पत्रिकामा पढ्थ्यौँ पछि उनले पनि आत्महत्या गरे । सानो हुँदा त केही लाग्दैनथ्यो तर अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको शिकार थिए कि ? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि ?
फिल्मी प्रेम प्रसङ्गमा सफल नभएपछि रक्सी खाएको देख्दा लाग्छ, मानौँ रक्सी पिउनु खासै नराम्रो कुरा होइन । कतै दुःख परे पनि वा खुसी भए पनि रक्सी पिउने प्रचलन देखाउँदा यस्तो लाग्छ मानौँ रक्सी नभए त जीवन नै चल्दैन ।
नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा ‘लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन्’ भन्ने भान पर्ने अन्तर्वार्ता छापिन्छ । रक्सीलाई मनमस्तिष्क तीव्र पार्ने वस्तु जस्तै देखाइन्छ । यसबाट के भान पर्न जान्छ भने रक्सी खानु खासै नराम्रो होइन रहेछ ।
त्यसमाथि पनि केही चिकित्सकहरूले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यको लागि फाइदै छ भनेपछि धेरै मानिसलाई अरू के चाहियो र ? यस्ता निहुँहरू पाएपछि युवा पिंढीमा हामीले रक्सी खाएर के नै पो नराम्रो हुन्छ र भन्ने मानसिकता निर्माण हुन्छ ।
मानसिक रोग विशेषज्ञ नै रक्सीको बारेमा भन्छन्, “सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन, मात्र हानिकारक छ । कवि, कलाकार, राजनीतिज्ञलगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ ।
कतिलाई त रक्सीले यौनशक्ति बढाउँछ भन्ने भ्रम पनि हुन्छ । रक्सीले शारीरिक र मानसिक क्रियालाई दबाउँछ । संवेदनशील मानसिक क्रिया आत्ममूल्याङ्कन, सक्रियता र संयम पनि दबिन्छ र परिणामस्वरूप विवेकद्वारा नियन्त्रित बानीको सट्टा उत्तेजना, आक्रामक स्वभाव, उत्ताउलोपन माथि आउँछन् र रक्सी खाएर लागेको व्यक्तिले लाज, डर वा खतरा महसुस नगर्ने हुन्छन् ।”
मानसिक रोग विशेषज्ञ भन्छन्, “मानिसहरू डिप्रेसन भएपछि पनि बढी रक्सी खान्छन् र समस्या झन् जेलिंदै जान्छ ।” यदि डिप्रेसन भएर मानिसहरूले त्यसरी धेरै रक्सी खाए भने त्यसको उपचार हुनुपर्छ ।
पुरुष वा महिला रक्सीको कुलतमा फसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने मैले धेरै देखेकी छु । रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिट्टै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको चाहना हुन्छ ।
रक्सीले थाकेको बेला शरीरलाई आराम दिन्छ र थकान मेटाउँछ भन्ने भ्रम धेरैलाई छ । त्यसैले लामो दूरीका बसमा चालकले रक्सी नखाए त जीउ दुखिहाल्छ नि चलाउनै सकिंदैन भनेर रक्सी खाएर बस चलाउँदा दुर्घटना भएका कैयौँ घटना छन् ।
मधुमेहबाट पीडित एक जना सरकारी कर्मचारी धेरै रक्सी खाएर एकचोटि बेहोस नै भएछन् । अस्पतालमा लगेर उनलाई उपचार गराउँदा अति नाजुक अवस्थामा पुगिसकेका थिए । अत्याधुनिक प्रविधि प्रयोग गरेर उनलाई बचाउने र भेन्टिलेटरमा राख्ने कि भनेर डाक्टरहरूले परिवारलाई सोध्दा जवाफ पाइयो, “उनी बाँचेर हामीलाई खासै फाइदा छैन । उनलाई पनि आफ्नो जिन्दगीसँग मोह छैन, त्यसैले भेन्टिलेटरमा राखेर पैसा खर्च गर्नुको कुनै औचित्य छैन ।” भोलिपल्ट उनको मृत्यु भयो ।
रक्सी खाएर अति योग्य कलाकारहरूले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन् । छारेरोग लागेको मानिसले रक्सी खाएर बेहोस भएर जीवन नै सिध्याएका घटना गाउँघरमा प्रशस्तै पाइन्छन् । केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ ।
तैपनि, मानिस रक्सी खान छोड्दैन, किन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *