भर्खरै :

सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

भक्तपुर, २ वैशाख । मध्यपुर थिमिवासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आतइबार बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।
थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर हातहातमा चिराग बाल्ने चलन छ । खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २६ खटमात्रै जात्रामा सहभागी हुने गरेका छन् ।
यो जात्रामा आइतबार बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुविर र दक्षिण बाराहीको खट मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ ।
थिमिमा ३२ देवीदेवतका खट सहभागी रथ बोकेर टोलटोलमा परिक्रमा गराई परम्परागतरूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एउटा, बोडेमा सात, टिगनीमा एउटा छुट्टाछुट्टै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भन्न थालिएको छ ।
बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछेँ द्यो, हिचो द्योँ, अजिमा द्योँ, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।
खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछेँ द्योँमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।
बिहानै सुरु भएको यो जात्रा मध्यान्हसम्म चल्ने र त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *