भर्खरै :

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

दमौली (तनहुँ), ५ वैशाख । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो ।
अवस्थीले भन्नुभयो, “ढुङ्गामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो । ढुङ्गामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झैँ लाग्ने खालको रहेछ ।”
पहिलोपटक आउँदा नै यस ठाउँले मोहित बनाएको भन्दै उहाँले घर फर्किसकेपछि आफन्त तथा साथीभाइलाई यस ठाउँको बारेमा जानकारी गराउने बताउनुभयो ।
अवस्थीले भन्नुभयो, “राजमार्गमा यात्रा गर्दा थकाइ मार्ने स्थानको रूपमा विकास भइरहेको रहेछ । यस ठाउँको अझ प्रचारप्रसार गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।” प्राकृतिकरूपमा रहेका ढुङ्गालाई कालीगढले मेहनत गरेर आकृति बनाउँदा यस ठाउँको स्वरूप नै बदलिएको उहाँको भनाइ छ ।
ऐनापहरामा स्वदेशीका अतिरिक्त विदेशी पर्यटकको समेत आवागमन हुन थालेको छ । फ्रान्सबाट आएकी एक पर्यटकले ऐनापहरा निकै आकर्षक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकैछिन घुम्दा यहाँको वातावरणले लोभ्यायो । यहाँ बनाइएका संरचना मनमोहक छन् ।”
ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोपेपछि पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको हो । यहाँ दैनिक दुई सय भन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् ।
पृथ्वीराजमार्ग नजिकै पर्ने ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको अध्यक्ष शुक्र चुमानले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार गत माघदेखि यहाँका ढुङ्गामा विभिन्न आकृति खोप्ने काम सुरु भएको थियो ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणलाई अगाडि बढाइएको चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।”
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरू आनन्दित भएर फर्किन्छन् ।
पृथ्वीराजमार्गबाट एक मिनेटको दुरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रूपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका स्थानीय बताउँछन् ।
गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु. दस करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *