भर्खरै :

संरा अमेरिकामा प्रजातन्त्रको अवस्था – ३

संरा अमेरिकामा प्रजातन्त्रको अवस्था – ३

ङ) काम नलाग्ने प्रजातन्त्रले विश्वासको सङ्कट निम्त्याउँछ
अमेरिकी शैलीको प्रजातन्त्र भनेको कुनै हलिउड चलचित्रको निकै सूक्ष्मरूपमा बनाइएको दृश्यजस्तै हो जहाँ केही धनीमानी पात्रहरूले जनतासामु सार्वजनिकरूपमा प्रतिबद्धता व्यक्त गर्छन् । तर, खासमा पर्दापछाडि उनीहरू आफ्नै नाफा नोक्सानको हिसाबकिताबमा लागेका हुन्छन् । राजनीतिक झगडा, पैसाको राजनीतिक र विशेषाधिकारको शासन (भिटोक्रेसी) ले सर्वसाधारण जनताले चाहेको जस्तो गुणस्तरीय सुशासन दिन वस्तुतः असम्भव बनाइदिएको हुन्छ । अमेरिकी जनता संरा अमेरिकी राजनीतिबाट क्रमशः भ्रममुक्त बन्दै छन् । उनीहरू अमेरिकी शैलीको प्रजातन्त्रबाट निराश छन् ।
सन् २०२० को अक्टोबरमा भएको ग्यालोप नामको संस्थाले गरेको सर्वेक्षणअनुसार त्यसमा भाग लिएका १९ प्रतिशत अमेरिकीमात्र राष्ट्रपति निर्वाचनप्रति ‘निकै विश्वस्त’ थिए । सन् २०१४ मा पहिलोचोटि गरिएको त्यस्तै सर्वेक्षणयता सन् २०२० को यो प्रतिशत सबभन्दा न्यून हो ।
सन् २०२० को नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ को एउटा अनलाइन समाचारले सन् २०२० को चुनावी परिणाम बितेका दुई दशकयता क्रमशः घट्दै गएको संरा अमेरिकी प्रजातन्त्रप्रति जनताको विश्वासको एकमुष्ठ अभिव्यक्त भएको तर्क गरेको छ ।
‘द एसोसिएट प्रेस–एनओआरसी सार्वजनिक मामिला अनुसन्धान केन्द्र’ ले गरेको सर्वेक्षणअनुसार १६ प्रतिशत अमेरिकीले मात्र अमेरिकामा प्रजातन्त्रले राम्ररी काम गरिरहेको वा निकै राम्ररी काम गरिरहेको मत व्यक्त गरेका थिए । ४५ प्रतिशत जनताले भने प्रजातन्त्रले सही तरिकाबाट काम नगरेको मत व्यक्त गरेका थिए । ३८ प्रतिशतले केही हदसम्म राम्ररी काम गरिरहेको मत व्यक्त गरेका थिए । ‘पिउ अनुसन्धान केन्द्र’ को सर्वेक्षणबाट २० प्रतिशत अमेरिकी जनताले मात्र अमेरिकाको सङ्घीय सरकारलाई सधैँ वा अधिकांश समय विश्वास गर्ने मत व्यक्त गरेका थिए ।
सन् २०२१ मा ‘ब्रुकलिन्स’ मा प्रकाशित एउटा अनलाइन लेखले सन् २०२० को चुनावको नतिजामाथि अमेरिकाका ५० वटै राज्यले दिएको प्रमाणपत्रमा ७७ प्रतिशत रिपब्लिकन मतदाताहरूले ‘चुनावमा धाँधली भएको आरोप’ सहित दिएको उजुरीले जो बाइडेनको चुनावी विजयमाथि प्रश्न उठेको छ । सन् १९३० को दशकयता यस्तो घटना भएको यो पहिलोपटक हो ।
सीएनएनले सेप्टेम्बर महिनामा गरेको एक मत सर्वेक्षणअनुसार ५६ प्रतिशत अमेरिकीहरू संरा अमेरिकामा प्रजातन्त्रमाथि हमला भइरहेकोमा विश्वास गर्छन् । ५२ प्रतिशतले चुनावले जनताको भावना अभिव्यक्त गर्नेमा आफू कमैमात्र विश्वस्त भएको वा कत्ति पनि विश्वास नगर्ने बताए । ५१ प्रतिशत मानिसले आगामी केही वर्षमा निर्वाचित पदाधिकारीहरूले आफ्नो दलले नजिते चुनावको नतिजा नै उल्टाउने बताए ।
सन् २०२१ मा पिउले १६ वटा धनी देशका १६ हजार वयस्क र संरा अमेरिकाका २५ सय वयस्कहरूबिच गरेको सर्वेक्षणमा ५७ प्रतिशत विदेशका उत्तरदाता र ७२ प्रतिशत अमेरिकी उत्तरदाताले पछिल्ला वर्षहरूमा संरा अमेरिकी प्रजातन्त्र राम्रो उदाहरण नरहेको बताएका थिए ।
२) प्रजातन्त्रको भद्रगोल र अराजक अभ्यास
संरा अमेरिकामा प्रजातन्त्र गलत दिशामा गइरहेको कुरा त्यो प्रणालीको प्रारूप र संरचनामा मात्र अभिव्यक्त भएको छैन । बरु कार्यान्वयनको सिलसिलामा पनि त्यो देखिएको छ । प्रजातन्त्रको कुरा गर्दा संरा अमेरिका अब्बल दर्जाको विद्यार्थी पक्कै होइन । प्रजातन्त्रको लागि आदर्श त झन् हुँदै होइन । क्यापिटल हिलमा भएको गोलीकाण्ड र अराजक अवस्थाले पनि अमेरिकी शैलीको प्रजातन्त्रको भव्य आवरणमुनि के छ भन्ने कुरा प्रस्टै उजागर भइसकेको छ । कालो समुदायको अमेरिकी (ब्ल्याक अमेरिकन) जर्ज फ्लोयडको हत्याले अमेरिकी समाजमा लामो समयदेखि विद्यमान रहेको प्रणालीगत जातिवादको नग्नता प्रदर्शन भइसकेको छ । फ्लोयडको हत्याको विरोधमा संरा अमेरिकामा जताततैबाट र अझ सिङ्गो संसारबाटै पानी उम्लिँदा पानीका भुल्का उठेजस्तै उठे ।
संरा अमेरिकामा कोभिड–१९ महामारी नियन्त्रणबाहिर हुँदा मास्क र खोप लगाउने कुराले थप सामाजिक विभाजन र द्वन्द्व निम्त्यायो । आर्थिक वृद्धिको हिस्सेदारी असमान ढङ्गले वितरण गरिएको छ । लामो समयदेखि धेरैजसो सर्वसाधारण जनताको लागि आम्दानीमा वृद्धि रोकिएको छ । अमेरिकी शैलीको प्रजातन्त्रमा न त सार्वजनिक सुव्यवस्था र नैतिकता राम्ररी कायम हुन सकेको छ न त जनताको भलो नै पूर्णरूपमा हुन सकेको छ ।
क) संसारलाई हल्लाएको क्यापिटलको उपद्रव
सन् २०२१ को जनवरी ६ को अपरान्ह हजारौँ अमेरिकी जनता वासिङ्टन डीसीको क्यापिटल हिलमा भेला भए र नवनिर्वाचित राष्ट्रपतिको प्रमाणीकरणका लागि बसेको व्यवस्थापिकाको संयुक्त बैठक रोक्न क्यापिटलका भवनमा धावा बोले । त्यो घटनाले संरा अमेरिकी राष्ट्रपतिको अधिकार हस्तान्तरणको प्रक्रिया रोकियो । घटनामा परी पाँच जना मानिस मारिए । साथै, १४० भन्दा बढी घाइते भए । सन् १८१४ मा बेलायती सेनाले अमेरिकी राष्ट्रपति भवनमा गोली चलाएको घटनायता क्यापिटल हिलमा भएको त्यो घटना सबभन्दा खराब हिंसात्मक घटना थियो । २ सय वर्षभन्दा लामो समययता क्यापिटलमाथि पहिलो पटक कब्जा जमाइएको थियो । सिनेटका एक जना रिपब्लिकन नेताले त्यो घटनालाई ‘असफल सत्ताकब्जा’ भनेका छन् । वैदेशिक सम्बन्धबारे संरा अमेरिकी परिषद् (सीएफआर) का एक जना विद्वान्ले संरा अमेरिका धेरै अमेरिकीले सोच्ने गरेजस्तो विशिष्ट नभएकोमा आश्चर्य व्यक्त गर्दै क्यापिटलको उपद्रवपछि ‘अमेरिका अपवाद भएको, डाँडामाथिको अजम्बरी चहकिलो देश भएको’ सोचाइ सदाको लागि त्यागिनुपर्ने प्रतिक्रिया दिए ।
क्यापिटल हिलको घटनाले अमेरिकी शैलीको प्रजातन्त्रका तीन प्रमुख जगलाई हल्लाएको छ ।
पहिलो, संरा अमेरिकाको ‘प्रजातन्त्र’ उसले दाबी गरेजस्तो प्रजातान्त्रिक छैन । केही संरा अमेरिकी नेताहरूले मतपरिणाम अस्वीकार गर्नु र उनीहरूका समर्थकहरू त्यसैलाई कारण बनाएर क्यापिटलका भवनहरूमाथि हिंसात्मकरूपमा हुर्रिएर भित्र पस्नु संरा अमेरिकी प्रजातन्त्रको विश्वसनीयतामाथि ठूलो आघात हो ।
दोस्रो, संरा अमेरिकामा ‘स्वतन्त्रता’ उसले भनेजस्तै स्वतन्त्र छैन । ट्वीटर, फेसबुकलगायत अन्य सामाजिक सञ्जालले केही राजनीतिक दलका नेताहरूका व्यक्तिगत खाता नै बन्द ग¥यो । त्यसो गर्नु भनेको सामाजिक सञ्जालमा उनीहरूको ‘हत्या गर्नु’ जस्तै हो । संरा अमेरिकामा ‘अभिव्यक्ति स्वतन्त्रता’ को मिथकलाई यसले छिन्नभिन्न बनाएको छ ।
तेस्रो, संरा अमेरिकामा ‘कानुनी शासन’ उसले दाबी गरेजस्तो कानुनसम्मत छैन । संरा अमेरिकी गृह प्रशासनले ‘ब्ल्याक लात् म्याटर्स (बीएलएम) आन्दोलन’ र क्यापिटल हिलको उपद्रवका घटना सम्बन्धमा लिएको दोहोरो मापदण्डले संरा अमेरिकी ‘कानुनी शासन’ को वास्तविकता उजागर गरेको छ ।
क्यापिटल हिल घटनाले अन्तर्राष्ट्रिय समुदायलाई पनि चकित बनायो । हिंसाको भत्र्सना गर्दैगर्दा धेरै मानिसले संरा अमेरिकाप्रति असन्तोष व्यक्त गरे ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गरेर संरा अमेरिकामा भएको घटनालाई ‘दुःखद दृश्य’ भनी प्रतिक्रिया जनाएका थिए ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ‘संसारकै सबभन्दा पुरानो प्रजातन्त्रमध्ये एउटामा ‘एक व्यक्ति–एक मत’ को विश्वव्यापी मान्यताको अपमान गरियो’ भने ।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरेल रामाफोसाले यो घटनाबाट संरा अमेरिकाको प्रजातन्त्रको जग नै हल्लिएको प्रतिक्रिया दिए ।
इन्डोनेसियाका पूर्वराष्ट्रपति सुसिलो बामबाङ युद्धोयुनोले ट्वीट गरेर भने, “संरा अमेरिकी राजनीतिक झूटले विचार गर्न धेरै सामग्री दिएको छ । जब व्यवहारको कुरा आउँछ, संरा अमेरिका पूर्ण प्रजातान्त्रिक कदापि होइन ।”
ख) अन्तरनिहीत जातिवाद
संरा अमेरिकाको प्रजातन्त्रमा जातिवाद एउटा अमिट कालो धब्बा हो । संरा अमेरिकाका संस्थापक पिताहरूले ‘सबै मानिसको रचना समानरूपमा भएको हो’ भन्दै गर्दा सन् १७८९ को संविधानमा दासतालाई भने जस्ताको तस्तै छोडे । आज संरा अमेरिकाले जातीय विभेदलाई कानुनमा उन्मूलन गरे पनि श्वेत सर्वोच्चता भने अझै देशभर व्यापक र गहिरो बन्दै गएको छ । काला अमेरिकी र अन्य जातीय अल्पसङ्ख्यकहरूविरुद्धको विभेद प्रणालीमा निहित प्रक्रिया बनेको छ ।
अमेरिकी समाजले समय–समयमा जातीय विभेदको घाउको दुःखाइ अनुभव गर्दै आएको छ । सन् २०२० को मे २५ मा काला वर्णका अमेरिकी जर्ज फ्लोयडले मिनियासोटामा ज्यान गुमाए । कानुन पालनाको नाममा प्रहरीले गर्ने हिंसाको उनी सिकार बने । “मलाई श्वास फेर्न गा¥हो भयो”, मर्नुअघि जीवन रक्षाको लागि यसरी फ्लोयडले अनुनय गरेका थिए । उनको त्यो अन्तिम वाक्य जनआक्रोशको झिल्कोको रूप लिँदै डढेलोमा परिणत भयो । त्यसपछि संरा अमेरिकाका पचासवटै राज्त्रि झन्डै एक सय सहरमा विरोध प्रदर्शनहरू भए । प्रदर्शनकारीहरूले फ्लोयडलाई न्याय गर्न माग गरेका थिए, जातीय विभेद अन्त्यको माग गरेका थिए । फ्लोयडको हत्या भएको एक सय दिनसम्म लगातार विरोधका गतिविधि भएका थिए ।
जर्ज फ्लोयडको निर्मम हत्या बितेका शताब्दीमा काला अमेरिकीहरूले अमेरिकामा भोगेको वियोगपूर्ण नियतिको उत्कर्षमात्र थियो । अमेरिकी मनोवैज्ञानिक सङ्गठनका पूर्वसभापति सान्द्रा शुलमनले अमेरिकामा ‘जातिवादको महामारी’ रहेको बताइन् । नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङ जुनियरका सपना पूरा भएनन् । भारतको मूलधारको पत्रिका ‘द इन्डियन एक्सप्रेस’ को प्रकाशित सम्पादकीयअनुसार अमेरिकाका सबभन्दा प्रजातान्त्रिक संस्थाहरूलाई पददलित बनाएर अमेरिकी जातिवाद टिकेको छ ।
स्टानफोर्ड विश्वविद्यालयको वेबसाइट ‘स्टानफोर्ड न्यूज’ मा सन् २०२१ को फेब्रुअरीमा प्रकाशित एउटा लेखमा संरा अमेरिकामा जातिवादको व्यवस्थित चिरफार गरिएको छ । सो लेखमा काला समुदायको शिक्षा र युवाहरूप्रति ध्यान दिनुपर्ने, फौजदारी न्याय प्रणालीमा अल्पसङ्ख्यक जाति विशेषतः काला जातिमाथि अनुपयुक्त ढङ्गले निशाना बनाइएको, अर्थतन्त्रदेखि रोजगारीको क्षेत्रमा काममा लिने प्रक्रियादेखि उद्यमीहरूबाट पाउने ज्यालामा समेत काला र अन्य अल्पसङ्ख्यक समुदायलाई विभेद गरिएको उल्लेख छ । उनीहरूमाथि कार्यस्थलमा विभेद भएको पनि त्यो लेखमा लेखिएको छ । वासिङ्टन विश्वविद्यालयको एक अध्ययनअनुसार सन् १९८० देखि २०१८ को बिचमा संरा अमेरिकामा प्रहरी हिँसाबाट मात्र ३० हजार ८ सय मानिस मारिए । सरकारी आँकडाको तुलनामा यो सङ्ख्या १७ हजार १ सयले बढी हो । त्यसको अर्थ संरा अमेरिकामा गोरा अमेरिकीहरूको तुलनामा अफ्रिकी अमेरिकीहरू प्रहरी हिंसाबाट मारिने सम्भावना ३.५ गुणाले बढी छ ।
अमेरिकामा अहिले उम्लिरहेको आक्रोश काला समुदायको आक्रोशमात्र होइन । बरु सिङ्गो जातीय समुदायको आक्रोश हो । इजरायलको ‘द जेरुसलाम पोस्ट’ को वेबसाइटमा प्रकाशित एउटा लेखमा अमेरिकी यहुदीहरू दक्षिणपन्थी यहुदीविरोधी भावना र गोरा सर्वोच्चतावादी समूहहरूले मच्चाउने हिंसाप्रति बढी चिन्तित भएको लेखिएको छ । अमेरिकी यहुदी समितिले हरेक वर्ष गर्दै आएको सर्वेक्षणअनुसार सन् २०२० मा एक वर्षअघिको समत्न्दा ४३ प्रतिशत संरा अमेरिकी यहुदीहरूले असुरक्षा अनुभव गरेको देखियो । सन् २०१७ मा ४१ प्रतिशत अमेरिकी यहुदीहरूले संरा अमेरिकामा यहुदीवादविरोधी भावना गम्भीर समस्या भएको बताएका थिए । सन् २०१५ र २०१६ मा त्यसो भन्नेहरू २१ प्रतिशत र सन् २०१३ मा १४ प्रतिशत थिए ।
एसियाली मूलका अमेरिकीहरूमा कुटपिट र अभद्र व्यवहारको क्रम पनि बढ्दो छ । कोभिड–१९ फैलिएयता एसियाली – अमेरिकीहरूमाथि सार्वजनिक थलोमा अपमान र हमला गर्ने क्रम बढेको छ । संरा अमेरिकी सङ्घीय अनुसन्धान विभागको तथ्याङ्कअनुसार सन् २०२० मा संरा अमेरिकामा एसियाली मूलका जनताविरुद्ध घृणामा आधारित अपराध ७६ प्रतिशतले बढेको छ । सन् २०२० को मार्चदेखि सन् २०२१ को जूनसम्ममा ‘एसियाली – अमेरिकी र प्रशान्त टापुका अमेरिकीहरूलाई घृणा बन्द गर’ सङ्गठनमा ९ हजारभन्दा बढी त्यस्ता घटना दर्ता भएको थियो । राष्ट्रिय प्रसारण कम्पनी
(एनबीसी) ले युवा एसियाली – अमेरिकीहरूबिच गरेको सर्वेक्षणले गत वर्ष एकचौथाइ युवा एसियाली– अमेरिकीहरूलाई जातीय घृणामा आधारित कुटपिट र अपमानको सिकार बनाइएको देखाएको छ । झन्डै आधाभन्दा बढी उत्तरदाताले आफ्नो अवस्थाप्रति निराशा पोखेका थिए । एकचौथाइ उत्तरदाताले आफ्नो र परिवारको अवस्था देखेर डराएको उत्तर दिए ।
स्रोत : अमेरिकाको प्रजातन्त्र !
नेपाली अनुवाद : हौसला

Leave a Reply

Your email address will not be published. Required fields are marked *