भर्खरै :

सर्वहारावर्गका नेता लेनिनको जीवनी र व्यक्तित्व

सर्वहारावर्गका नेता लेनिनको जीवनी र व्यक्तित्व

सन्दर्भ : १५४ औँ लेनिन जन्म दिवस

स्टेसनमा एउटा रेलगाडी आएर रोकियो । त्यसबाट १६ अप्रिल १९१७ को बिहान पेट्रोग्राडको फिन्ल्यान्ड जीर्ण शीर्ण लुगा लगाएका एक जना पुड्का मानिस ओर्ले । स्टेसनमा श्रमिकहरूको अपार भिड थियो । उनीहरूले नारा लाउन थाले, ‘हाम्रा नेता जिन्दावाद ! हाम्रा नेता जिन्दावाद ।’ अनि उनीहरूले आफ्ना नेतालाई काँधमा बोके र ‘जिन्दावाद ! जिन्दावाद ।’ भन्दै उनीहरू अघि बढे । यी व्यक्ति थिए ती मजदुरहरूका प्यारा नेता लेनिन ।
रुसको क्रान्तिपछि लेनिनले साम्यवादी राज्यको माक्र्सवादी कल्पनालाई साकार बनाए । बाल्यकालदेखि नै लेनिन गम्भीर र विचारशील थिए । खेलमा उनको रुचि थिएन र उनी अरू बच्चाहरुसँग कमै खेल्ने गर्थे । वयस्क जीवनमा उनको सङ्गीत, कविता या धर्ममा रुचि थिएन । सायद कम रुचिको कारणले लेनिन महान् बने, किनकि उनको ऊर्जाको अपव्यय भएन र उनी आफ्नो लक्ष्यलाई एकाग्र भएर पछ्याइरहे ।
सन् १८८७ मा लेनिनको दाइलाई सम्राटको हत्याको षड्यन्त्र गरेको आरोपमा मृत्युदण्ड दिइयो । त्यसै वर्ष लेनिनलाई एक छात्र आन्दोलनमा सामेल भएको कारण विश्वविद्यालयबाट निकालियो । लेनिनले घरमा वकालतको अध्ययन गरेर कार्ल माक्र्सको दास क्यापिटलको पनि अध्ययन गरे र जसबाट उनी धेरै प्रभावित भए ।
क्रान्तिपछि सन् १९१७ मा लेनिन रुसका शासक बने । शासक बनेपछि पनि उनले सादा जीवन उच्च विचारको सिद्धान्तको अनुकरणीय उदाहरण पेस गरे । त्यो बेला जनताले चिनी पाउँदैनथे । लेनिनले बिनाचिनीको चिया पिउने सङ्कल्प गरे । उनले सेक्रेटरी राख्ने विलासितामा परहेज गरे । उनी आफ्नो चिट्ठी आफै लेख्ये र हरेक दिन १८ देखि २० घण्टासम्म काम गर्थे ।
जब लेनिनलाई प्यारालाइसिस भयो र उनको दायाँ हात चलेन, तब उनले बायाँ हातले लेख्न सिके । दुई वर्षसम्म उनी मृत्युसँग सङ्घर्ष गरिरहे र बारम्बार भनिरहे, “अझै मेरो धेरै काम बाँकी छ ।”
रुसमा क्रान्तिको आगो बलिसकेको थियो । दश वर्षको निर्वासनपछि उनी यही क्रान्तिको आगो दन्काउन रुस आएका थिए । उनले घोषणा गरे, “साथीहरू हो । विश्व समाजवादी क्रान्तिको सूर्य उदाइसकेको छ । विश्व समाजवादी क्रान्ति जिन्दावाद ।” अनि ‘जिन्दावाद’ को ध्वनि सर्वत्र गुञ्जियो ।
उनले रुसलाई वचन दिएका थिए हामी सबै थोक भत्काएर त्यसमाथि हाम्रो मन्दिर बनाउनेछौँ । केही महिनामै उनी रुसका नयाँ शासक बने । केही वर्षमै उनले रुसको अनुहार फेरि दिए ।
उन्नाइसौँ शताब्दीको अन्त्यतिर रुस एउटा विशाल देश थियो । यो झन्डै ६००० माइलसम्म फैलिएको थियो । यो विशाल भूमिमा एउटै व्यक्तिको रामराज्य थियो । ती थिए जार, रुसी सम्राट । सबैतिर उनको ढलीमली थियो । उनले नियुक्त गरेका हाकिमहरू सबै धनी घरानाका थिए, गरीबहरू कसरी बस्छन् उनीहरूलाई थाहै थिएन । अधिकांश मानिस किसान थिए– अनपढ, गरीब, हरिकङ्गाल । दिनभरि तर पेटभरि खान पाउँदैनथे । केटाकेटी भोका नाङ्गा थिए । उनीहरूले स्कूल देख्न पाउँदैन थिए ।


सन् १८८१ मा ९ प्रतिशत केटाकेटी स्कूल जान्थे । उनीहरूका आमाबाबु खेतमा गोरूजस्तै जोतिन्थे तैपनि कष्टमा जीवन गुजार्थे । उनीहरूका काँधमा भारी करहरू लादिएका हुन्थे । कति मानिस सहरमा आएर कलकारखानामा काम गर्न थाले । त्यहाँ पनि त्यतिकै शोषण थियो, भिडभाड भएको फोहोर बस्तीमा बस्थे, पेट नभरिने ज्यालामा घण्टौँ मरून्जेल खट्थे । १९०५ मा रोटी माग्न गएका श्रमिकहरूको जुलुसमाथि जारका सिपाहीहरूले गोली हानेर सयौँलाई मारे । फलस्वरूप १९१७ मा जनताले जारको जरा उखेले ।
लेनिनको जन्म १० अप्रिल १८७० मा भोल्गा नदीको छेउको नगर सिम्बर्कस्मा भएको थियो । उनको खास नाम थियो भ्लादिमिर उल्यानोभ । उनका बाबु स्कूलका इन्स्पेक्टर थिए । उनका दुई छोरा अलेक्जेन्डर र भ्लादिमिर कुशाग्रबुद्धिका थिए । सेन्ट पिटर्सबर्गको विश्वविद्यालयमा पढ्दा अलेक्जेन्डर क्रान्तिकारी साथीहरूसित लागे । पुलिसले उनीहरूलाई समाते । अलेक्जेन्डरले सबै जिम्मेवारी आफ्नो टाउकोमा लिए । उनलाई झुन्ड्याइयो । त्यस दिनदेखि लेनिनले जारशाहीलाई खतम गर्ने प्रण गरे ।
सन् १८८७ मा उनी कजान विश्वविद्यालयमा कानुन पढ्न गए । त्यहाँ उनले कार्ल माक्र्सको जीवनी पढे । पँुजीपतिहरूले श्रमिकहरूलाई कसरी शोषण गर्छन् त्यो कुरा माक्र्सले आफ्ना अनेक पुस्तकमार्फत बताएका छन् । लेनिनलाई माक्र्सका विचार खूवै मन पथ्र्याे । उनले ‘कम्युनिस्ट मेनुफेस्टो’ र ‘दास क्यापिटल’ पढे अनि साह्रै प्रभावित भए । सन् १८९५ मा स्वीट्जरल्यान्डमा उनले माक्र्सवादी विचारकहरूलाई भेटे र उनीहरूका कुरा बुझे । अब उनले रुसमा माक्र्सका विचारहरू फैलाउने विचार गरे ।
सेन्ट पिटर्सबर्गमा उनले वकिल भएर काम गरे । त्यहाँ उनले कलकारखानाका श्रमिकहरूको जीवन अध्ययन गरे । उनीहरूको जीवन कसरी सुधार्न सकिन्छ भनेर लेनिन र उनका साथीहरूले पर्चा लेखे, पुस्तिका लेखे अनि उनीहरूले ती श्रमिकहरूलाई यी पर्चा र पुस्तिकाहरू बाँडे । पुलिसहरूले भ्लादिमिरलाई समाते । उनलाई साइबेरिया पठाइयो । साइबेरियामा कैदीहरू खुलासित घुम्न पाउँथे । भ्लादिमिर स्केट खेल्थे, शिकार खेल्थे, पढ्थे, लेख्थे । त्यहाँ एउटी महिला क्रान्तिकारी क्रुप्स्काया पनि आइन्, उनले भ्लादिमिरलाई भेटिन्, पछि उनैसित बिहे गरिन् । भ्लादिमिर र क्रुप्स्काया सँगै बसेर किताबहरू पढ्थे ।
साइबेरियामा हुँदा भ्लादिमिरले एउटा साप्ताहिक पत्रिका निकाल्ने विचार गरे । साइबेरियाबाट छुटेपछि उनी जर्मनी गए र त्यहाँबाट १ डिसेम्बर १९०० मा इस्क्रा अर्थात् ‘झिल्का’ भन्ने पत्रिका निकाले । यही दिनदेखि उनले लेनिनको नाम ग्रहण गरे । उनले कविता पढ्न, सङ्गीत सुन्न, स्केट खेल्न सब छोडे । अब उनी क्रान्तिको विषयमा सोच्न थाले ।
‘इस्का’ अर्थात् ‘झिल्का ले रुसमा आगो लाउन थाल्यो । ठुला ठुला हडतालहरू हुन थाले । किसानहरूले मोर्चा खडा गरे । छात्रहरू विद्रोही हुन थाले ।१९१७ मा जारको विरुद्ध हडतालहरू भए, प्रदर्शनहरू भए । सिपाहीहरूले पनि यिनलाई सघाउन थाले । मार्चमा जारले गद्दी त्यागे र अन्तरिम सरकार बन्यो ।
लेनिन १६ अप्रिल १९१७ मा रुस आए । उनको नेतृत्वमा बोल्सेभिक पार्टीले श्रमिकहरूको सेनालाई सङ्गठित गर्यो । नयाँ बोल्सेभिक दैनिक अखबार ‘प्राब्दा’ ले लेनिनका विचारहरू फैलाउन थाल्यो । सैनिकहरू सबै बोल्सेभिकपट्टि लागे । ७ नोभेम्बर १९१७ मा बोल्सेभिकहरूले हुलाक घर, बैङ्क, टेलिग्राफ र रेल स्टेसनहरू कब्जा गरे । साँझमा उनीहरूले सेन्ट पिटर्सबर्गको विन्टर प्यालेस घेरे । अन्तमा उनीहरूले त्यो पनि कब्जा गरे । त्यसपछि लेनिनले सरकार गठन गरे ।
लेनिन विश्वको प्रथम सोभियत सरकारका अध्यक्ष भए । रुसका शासक भएर पनि उनी साधारण घरमा बस्थे – साधारण खाना खान्थे । तिनको सरलता देखेर अरू दङ्ग पर्थे । ती दिनमा बीस घण्टा खट्थे ।
उनको अगाडि धेरै समस्याहरू थिए । त्यति समस्या इतिहासमा कुनै नेता, शासक वा तानाशाहले सामना गर्नु परेको थिएन । विशाल भूमिमा उनले आफ्नो शक्ति फिजाउनु परेको थियो । नयाँ कानुन, नयाँ प्रशासनको व्यवस्था गर्नुपरेको थियो, निरक्षरता र अनिकाल हटाउनुपरेको थियो, लडाइँ थाम्नुपरेको थियो अनि माक्र्सवादलाई कार्यरूपमा परिणत गर्नुपरेको थियो । विस्तारै उनले यी समस्याहरू समाधान गर्दै गए । नयाँ आर्थिक नीति सञ्चालन गरेर उनले रुसलाई मजबुत पारे । खेतीपातीमा उन्नति भयो, उद्योगधन्धा बढ्यो । यसरी काम गर्दा गर्दै २१ जनवरी १९२४ मा लेनिनको मृत्यु भयो ।
अथक परिश्रम गरेर उनले देशलाई सपारे, नयाँ आर्थिक नीति सञ्चालन गरेर खेतीपातीमा उन्नति गरे, उद्योगधन्दामा प्रगति गरे, निरक्षरता हटाउने प्रयत्न गरे । यस्ता चमत्कार गर्ने व्यक्ति इतिहासमा थोरै छन । लेनिनजस्तो पश्चिमका पत्रपत्रिकाहरूले लेनिनको अर्को चित्र प्रस्तुत गर्थे । उनीहरू भन्थे, “क्रूर दुनियाँमा अरू छैन । मानव जातिका निम्ति ऊ अभिशाप हो । ऊ निर्मम राक्षस हो । पँुजीपतिहरूको रक्तको पिपासु ¤ तर यो कस्तो जाल थियो ।
त्यो मनगढन्ते कुरा थियो । जसले उनलाई नजिकबाट देखे, चाहे ऊ देशी होस् वा परदेशी, ती उनको सहृदयता, कठोर जीवन र मजदुरप्रति असीम ममता देखेर मन्त्रमुग्ध हुन्थे । एल्बर्ट रीस विलियम्स एकजना अमेरिकी पत्रकार हुन् जो १९१७ मा रुस गएका थिए । क्रान्तिको आँधी चलेको थियो । जनताको क्रान्ति र सोभियत सत्ताको विजय उनले देखेका थिए । उनी लेनिनको धेरै नजिक भएका थिए । घनिष्ठरूपले लेनिनलाई चिनेका थिए । एउटा पुस्तकमा उनले लेखेका छन्, “लेनिनलाई भेट्न उनको स्वागत कक्षमा मानिसको भिड लाग्थ्यो ।”
सधैँ यहाँ विभिन्न प्रकारका विशिष्ट व्यक्तिहरू आउँथे ठुलाठुला अधिकारीहरू, पुराना पँुजीपतिहरू, संवाददाताहरू ¤ उनलाई भेट्न समाजवादका कट्टर शत्रुहरू पनि आउँथे । यो दैनिक कार्यक्रम थियो, सरकारको कर्तव्य । यस्तो भेटघाटमा उनी सबैलाई थोरै समय दिन्थे । पार्टीका सहयोगीहरू, मजदुर र किसानहरूलाई भेट्न उनी बढी रुचाउँथे । उनको स्वागत कक्षमा मानिसहरूको भिड लागेको थियो । यो असामान्य कुरो थियो । भित्र पसेको एउटा मानिस अझ निस्केको छैन । मानिसहरू अधीर हुन लागे । कसैले भने सायद भित्र पस्ने मानिस कोही विशिष्ट व्यक्ति होलान् । मानिसहरू प्रतीक्षा गरिरहेका थिए । भित्रबाट कुरा गरिरहेको आवाज आयो । को होला यो महत्वपूर्ण व्यक्ति जसलाई लेनिनले यति लामो समय दिइरहेछन् । अन्तमा ढोका खोलियो । स्वागत कक्षमा प्रतीक्षा गरिरहेका मानिसहरूलाई यो देखेर आश्चर्य भयो कि त्यो मानिस न त कुनै अधिकारी थियो, न कुनै वरिष्ठ व्यक्ति न त कुनै पँुजीपति । ऊ त भेडाको छाला लाएको एक साधारण किसान थियो ।
उही गरीब किसान जो त्यसबेला सोभियत रुसमा लाखौको सङ्ख्यामा देखिन्थे । उनी आफ्नो देशका लाखाँै किसानहरूसित सहर्ष भेट गर्थे । अझ सम्भव भए विश्वका समस्त मजदुर र किसानहरूलाई आफ्नो घरमा आमन्त्रित गर्थे होलान् । उनका निमित्त साइबेरियाको किसान, दोनको कज्जाक, मास्कोको मजदुर वा भोल्गाको माझीले के सोच्छ त्यो कुनै रहस्य थिएन । लेनिन यिनै सर्वहारावर्गलाई क्रान्तिको सञ्चालक शक्ति मान्थे ।
युग युगसम्म यिनीहरूले अत्याचार र आतङ्कक सहेर बसे, रुसको विशाल भूमिको वारपार, रुसी मैदानहरूमा, युक्रेनका चट्टानहरूमा र साइबेरियाका ठुलाठुला नदीका किनार किनारमा गरीबीको असहनीय पीडा सहेर जीवन बिताएर बसेका थिए । आज तिनै जनताले शताब्दी शताब्दीको दासत्व र दमनको जञ्जीर तोडे, तानाशाहीलाई तहसनहस गरे, इतिहासको मोड मोडे । यस महान् क्रान्तिका आधारस्तम्भ थिए लेनिन ।
स्रोत : विभिन्न पुस्तकहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *