भर्खरै :

जर्मनीमा मजदुर आन्दोलन – २

जर्मनीमा मजदुर आन्दोलन – २

प्रसियाली सामन्तवादको विरोधमा ‘नयाँ राइन समाचार’ को नेतृत्वमा कोलोन मजदुर सङ्घ र प्रजातान्त्रिक सङ्गठनहरूसँग मिलेर १३ अगस्ट १८४८ मा फ्रान्केन्प्लोनमा ५–६ हजार जनताको जनसभा भयो । जनता बर्लिन राष्ट्रियसभामा आफ्नो प्रतिनिधि पठाउन चाहन्थे । प्रशिया त्यसलाई मान्दैनथ्यो । त्यसको निम्ति एङ्गेल्सको सल्लाहअनुसार ३० जवान सदस्यहरूको एक सुरक्षा समिति बनाइयो । एङ्गेल्सले एक प्रस्तावको खेस्रा गर्नुभयो । त्यस खेस्राले राष्ट्रिय सभालाई जबरजस्ती भङ्ग गरे पनि प्रतिनिधिहरू आफ्नो ठाउँमा बसिरहन आह्वान गरेको थियो । तर, कोलोनको तल्ला पुँजीपतिवर्गको प्रतिनिधिहरूले त्यो आह्वानलाई मानेनन्; सुरक्षा समितिमा आएर सङ्घर्ष गर्न मानेनन् । तर, माक्र्स र एङ्गेल्सले प्रजातान्त्रिक आन्दोलनको सर्वहारावर्गको पक्षलाई नेतृत्व गर्दै हुनुहुन्थ्यो । कोलोनको पुँजीपतिवर्ग तर्सिन थाल्यो ।
१७ सेप्टेम्बर १८४८ मा कोलोनको नजिकै वारिनजेनमा अर्को जनसभा भयो । त्यसमा ८ हजार मानिसहरूले भाग लिएका थिए । दबुलिमा संयुक्त जर्मनीको राज्यको चिह्न कालो रातो सुनौला रङ्गको झन्डा चारैतिर फहरिरहेको थियो । कोलोनका बाहेक डुसेलडोफ, क्रेफेल्ड र अरू नजिकका सहरका मजदुर–किसान र प्रजातान्त्रिक सङ्गठनहरूका प्रतिनिधिहरू पनि उपस्थित थिए । एङ्गेल्स समितिका सचिव चुनिनुभयो । बहुमतले एक ’प्रजातान्त्रिक समाजवादी रातो गणतन्त्र’ को प्रस्ताव पारित गर्यो । यसले थाहा हुन्थ्यो कि सभामा क्रान्तिकारी र मजदुरहरूको प्रभाव बढी थियो । त्यस सभाले फ्रान्केन फ्लाजको सुरक्षा समिति र एङ्गेल्सले खेस्रा गर्नुभएको फ्रैंकफर्ट राष्ट्रियसभालाई गरेको आह्वानलाई एकमतले स्वीकार गर्यो ।
२० सेप्टेम्बरको दिन सुरक्षा समिति, प्रजातान्त्रिक र मजदुर लिगको तर्फबाट कोलोनको इसर भवनमा एक भेला भयो । भेलाले १६ सेप्टेम्बरमा डेनमार्कसँग गरेको जनविरोधी युद्ध विराम सन्धिलाई अनुमोदन गर्ने फ्रैंकफर्ट संसद्लाई विरोध गर्र्यो† त्यसको विरोधमा सङ्घर्ष गर्ने फ्रैंकफर्टका प्रजातन्त्रवादीहरूसँग एकता जाहेर गर्यो । राष्ट्रियसभाको त्यस कार्यलाई जर्मन जनतालाई दिएको धोखाबाजी भनेर निन्दा गरियो । फ्रैंकफर्टका बहादुर लडाकुहरूको तारिफ गरियो । विद्रोहीहरूको र तिनीहरूका परिवारहरूलाई मद्दत गर्न चन्दा उठाइयो ।
कोलोनमा सरकारविरोधी भावना बढ्दै थियो । २५ सेप्टेम्बर १८४८ मा प्रजातान्त्रिक राइन जिल्ला समिति र मजदुर नेताहरू पक्राउ पर्न थाले । त्यस दिन प्रजातान्त्रिक जिल्लाहरूको दोस्रो महासभा थियो । धेरै नेताहरू पक्राउ परेकाले सभा बस्न सकेन । मजदुर लिगको सभा बस्दै थियो । दिउँसो माक्र्सले बिनातयारी र एक्लै विद्रोह नगर्न मजदुरहरूलाई सतर्क गर्नुभयो । राति पुरानो बजारमा जनताको ठुलो भेला थियो । प्रशियाली सेना पुगेको हल्ला फैलियो । मजदुरहरूले बाटा–घाटामा छेकवार लगाउन थाले । नागरिक सुरक्षा गार्डका केही भागमाथि सरकारको विश्वास थिएन । यसकारण, सैनिक अधिकारीहरू सहरभित्र पस्ने साहस गरिरहेका थिएनन् । सरकारले कोलोनलाई घेर्यो र नागरिक सुरक्षा दललाई निःशस्त्र पार्यो । ’नयाँ राइन समाचार’ लाई बन्द गरिदियो । त्यसबेला ’नयाँ राइन समाचार’ को शब्द र एक एक वाक्य गोली र बमले जस्तै काम गरिरहेको थियो ।
कोलोनमा सरकारी सेनाको घेराले सारा जर्मनीमा असन्तोष फैलियो । वामपन्थी प्रतिनिधिहरूले प्रशियाली राष्ट्रिय सभामा ठुलो विरोध गरे । २ अक्टोबर १८४८ मा जनताको दबाबले कोलोनलाई घेरा दिन छोड्यो । ‘नयाँ राइन समाचार’ लाई फेरि चालु गर्न दियो । एङ्गेल्स पक्राउबाट बच्न बेल्जियम पुग्नुभयो । त्यहाँ उहाँलाई पुलिसले पक्रेर फ्रान्स पु¥याइदियो । फ्रान्सबाट उहाँ हिँडेर स्वीट्जरल्यान्ड पुग्नुभयो ।
प्रशासनका अधिकारीहरू सम्पादक मण्डल फेर्न माक्र्सलाई दबाब दिन थाले । तर, माक्र्स आफ्नो अडानमा रहनुभयो र ‘नयाँ राइन समाचार’ ले क्रान्तिलाई दूधे गाईमा बदल्न नदिन अनेक आर्थिक कठिनाइ र व्यक्तिगत त्याग र खतरालाई स्वीकार गर्नुभयो । एङ्गेल्स विदेशमा थिए । शापर जेलमा थिए । मोल बेलायतमा थिए । कोलोन मजदुर लिगका अरू साथीहरू पनि तितरबितर थिए । त्यस्तै बेलामा अरू गुट मौका छोप्न अगाडि बढ्यो । लिगको समितिका एक प्रतिनिधिमण्डलले माक्र्ससँग नेतृत्व सम्हाल्न अनुरोध गर्यो । त्यसबेला माक्र्सको बढी समय समाचार पत्र चलाउनमा बित्थ्यो । नागरिकता र अधिकारीहरूको कानुनी अड्चनले उहाँलाई अप्ठ्यारो पारिरहन्थ्यो । यसकारण, मजदुरहरूको अनुरोधलाई उहाँले अस्थायीरूपमा मात्रै स्वीकार गर्नुभयो । २२ अक्टोबर १८४८ मा लिगको साधारणसभाले माक्र्सको अध्यक्षतालाई अनुमोदन गर्यो । फेब्रुअरी १८४९ सम्म माक्र्स अध्यक्ष रहनुभयो ।
६ अक्टोबर १८४८ को दिन भियनाका जनताले विद्रोह गरे । अक्टोबरको अन्तिम हप्तामा जर्मन प्रजातान्त्रिक शक्तिको बर्लिनमा महासभा हुँदै थियो । बर्लिन जान लागेका फ्रैंकफर्टका प्रतिनिधिहरू कोलोनमा रोकेका थिए । त्यसबेला माक्र्सले तिनीहरूसँग वामपन्थी प्रतिनिधिहरूलाई मद्दत दिलाउन कुराकानी गर्नुभयो । २६ अक्टोबरदेखि बैठक सुरु भयो । बैठकमा भियनाका जनतालाई समर्थन गर्ने प्रस्ताव स्वीकार गरियो । छलफल बेकारको सङ्गठनात्मक पक्षमा मात्रै भइरहेको थियो । यसकारण, माक्र्सले ‘नयाँ राइन समाचार’ मा लेख्नुभयो ‘भियनाको भाग्यले सारा जर्मनीलाई पनि असर पार्छ ।’ तेस्रो दिनमा मात्रै भियनाको विषयमा छलफल गरियो । वामपन्थीहरूले ठुलो जनसभाको प्रस्ताव राखे । त्यस प्रस्तावको विरोधमा ठुलो सङ्ख्याले बैठकलाई छोडेर गए । बाँकी भएकाहरूले भियनालाई मद्दत गर्न सरकारसँग अनुरोध गर्ने निधो गरे । माक्र्सले नराम्रोसँग आलोचना गर्दै भन्नुभयो, ‘प्रजातन्त्रवादीहरू’ को महासभालाई जर्मन सरकारसँग प्रस्ताव राख्ने के अधिकार ? जनताले मात्रै भियनालाई मद्दत गर्न सक्छ ।
३० अक्टोबरको दिन एक क्रान्तिकारी अडान लिइयो । त्यो अडान जर्मन कम्युनिस्ट पार्टीको मागहरूबाट लिइएको थियो । प्रजातन्त्रवादीहरूको दोस्रो महासभा टुङ्गिँदा नटुङ्गिदै भियनामा विद्रोह दबाइयो ।
रोबर्ट ल्वमलाई भियनाको सैनिक अदालतले गोली हानेर मृत्युदण्ड दिएको समाचार बर्लिन पुग्यो । माक्र्स तुरुन्त बैठक भवनको मञ्चमा जानुभयो । ल्वमबारे भियनाबाट आएको समाचार सुनाउनुभयो । बैठकमा आँधी आएजस्तै भयो ।
‘भियनामा प्रतिक्रान्तिको विजय’ भन्ने लेखमा माक्र्सले भन्नुभयो, ‘जर्मनियाली पुँजीपतिवर्ग जस्तो ठुलो अपराधी इतिहासमा अरू छैन, जूनका दिनहरू भन्ने नाटकको पेरिसमा पहिलो अङ्क देखिनासाथै भियनामा त्यसको दोस्रो अङ्क सुरु भयो । ……. अब हामी बर्लिनमा त्यसको तेस्रो अङ्क छिट्टै देख्नेछौँ । जून र अक्टोबरदेखिको उद्देश्यहीन हत्याका पापहरू, फेब्रुअरी र मार्चदेखिको निरर्थक बलिदानका उपहारहरू र प्रतिक्रान्तिको त्यस राक्षसी हत्याले राष्ट्रहरूलाई प्रस्ट पार्नेछ कि त्यसले पुरानो समाजको ज्यानमारा मृत्युका वेदनाहरू र नयाँ समाजको रगताम्य सुत्केरीको व्यथालाई छोट्याउने छ, सजिलो गरी दिनेछ र केन्द्रित गर्नेछ र त्यो बाटो हो क्रान्तिकारी आन्दोलन ।” माक्र्सले प्रशियाको प्रतिक्रान्तिको निर्मम आक्रमणलाई पहिले नै देख्नुभएको थियो ।
भियनाको असफलताले प्रशियाली प्रतिक्रियावादीहरूलाई बल दियो । २ नोभेम्बर १८४८ को दिन राजा फेडरिक विलहेम चौथोले साह्रो प्रतिक्रियावादी जनरल ब्राडेनवर्ग (General Brandenburg) लाई नयाँ सरकार बनाउन बोलाए । ९ नोभेम्बरको दिन राष्ट्रिय सभालाई राजाको आज्ञाले बर्लिनबाट प्रान्तीय नगर ब्राडेनवर्गमा सार्ने आदेश दियो । यो प्रतिक्रान्तिकारी स्थितिको सङ्केत थियो । त्यसैबेला माक्र्सले राष्ट्रियसभालाई क्रान्तिकारी पाइलो लिन माग गर्नुभयो । राष्ट्रियसभाको आदेश नमान्ने सबै अफिसरहरूलाई निकाल्ने माग गर्नुभयो । तर, राष्ट्रियसभाले त्यसो गर्ने आँट गरेन बरु राष्ट्रियसभा बर्लिनमै बसी नरम विरोधसम्म जनाउने निधो गर्यो । त्यो तिनीहरू आफै बन्दी बन्न राजी हुनु हो । तर, माक्र्सले राष्ट्रिय सभाले जनता र प्रशियाली सेनालाई फ्रान्सेली जाकोविन क्रान्तिकारीहरूले जस्तै जनतालाई व्यापक सङ्घर्ष गर्न आह्वान गर्नुपर्छ भनेर सचेत पार्नुभयो । जनताले सोधे, ‘अब हामीले के गर्नुपर्छ ? माक्र्सले उत्तर दिनुभयो हामीले करहरू तिर्न अस्वीकार गर्नुपर्छ ।”
माक्र्सले प्रतिक्रान्तिकारीहरूको आर्थिक स्थिति चौपट पार्ने र जनतालाई सङ्घर्षमा ल्याउने विचार गर्नुभयो । त्यसले क्रान्तिको निम्ति राजनैतिक सेना बढ्ने थियो ।
११ नोभेम्बर १८४८ मा राष्ट्रियसभा भवनमा प्रतिनिधिहरूलाई जान दिएन । बैठक तारा हान्ने भवनमा गराइयो । बर्लिनको नागरिक सुरक्षा गार्डहरूलाई सशस्त्र गर्ने र बर्लिनलाई सेनाले घेर्ने आदेश दियो । माक्र्सले त्यसलाई अर्को ठुलो जनविरोधी पाइलो हो र गैरसंसदीय सङ्घर्षलाई अगाडि लैजानुपर्छ भन्नुभयो ।
प्रतिक्रान्तिकारीहरूको योजनालाई ध्वस्त पार्न माक्र्सले देशका सबै प्रगतिशील तत्वहरूलाई एक पार्न सर्वहारावर्ग र यसका कम्युनिस्ट अग्रदूतहरूले अगुवाइ गर्नुपर्छ भन्ने निधो गर्नुभयो । प्रजातान्त्रिक समाज र मजदुर लिगको अगुवाइमा कोलोन र त्यसको वरिपरिका इलाकाहरूमा जनताका सभाहरू हुन थाल्यो । ११ नोभेम्बरको दिन इजर भवनमा जनताको एक सभाले राजालाई बिन्तीपत्र नदेऊन् भनेर राष्ट्रियसभालाई आह्वान गर्यो । ११ नोभेम्बर इजर भवनको सभाले सेप्टेम्बर महिनामा लुटेको सबै हातहतियार फर्काऊ भनेर माग गर्यो । नगरपालिकाका सदस्यहरूले त्यसमा ध्यान नदिएकोले प्रजातान्त्रिक समाजले नागरिक गार्डलाई निःशस्त्र पार्ने निर्णय लियो । कोलोन मजदुर लिगले ‘लडाकु दलहरू’ तयार गर्यो । ‘नयाँ राइन समाचार’ ले हतियार किन्न जनतासँग चन्दा दिन आह्वान गर्यो ।
१२ नोभेम्बरको दिउँसो ७ हजार जनताले त्यसमा हस्ताक्षर गरे । १२ नोभेम्बरकै दिन प्रजातान्त्रिक समाजले कोलोनका छाउनीका सिपाहीहरूलाई अत्याचारीहरूको ज्यावल नहुन इजर भवनमा बसेको सभाले आह्वान गर्यो । सभामा उपस्थित नहुने कडा आदेश हुँदाहुँदै पनि धेरै सिपाहीहरू पनि सभामा हाजिर भए । सङ्घर्षमा किसानहरूलाई पनि सामेल गराउन मजदुर लिग र जनसमितिका प्रतिनिधिहरूलाई गाउँ गाउँमा पठाए । राइन र अरू सहरहरूमा पनि सङ्घर्ष सुरु भयो । माक्र्सले निर्देशन दिनुभयो (क) खास गरेर गाउँ गाउँमा कर तिर्न अस्वीकार गर (ख) बर्लिनमा स्वयंसेवक दलहरू पठाऊ (ग) बर्लिनका प्रजातान्त्रिक केन्द्रीय समितिलाई पैसा पठाऊ । ….. यो कुरो राइन र अरू प्रान्तहरूबाट पनि उठ्न थाल्यो ।
१३ नोभेम्बरको दिन त्यस सभाले २५ जवानको एक स्थायी समिति बनायो । त्यसमा प्रजातन्त्रवादी र कम्युनिस्टहरू थिए । त्यो पहिलेको कोलोनको सुरक्षा समितिको पुनः स्थापना थियो । त्यो समिति जनताले छानेको क्रान्तिकारी सङ्घर्षलाई अगाडि बढाउने केन्द्रीय सङ्गठन थियो ।
१७ नोभेम्बर बर्लिनमा राष्ट्रिय सभाले पनि सरकारलाई कर नतिर्न आह्वान गर्यो । राइन प्रान्तका सहरहरू सेक्सोनी, सिलेसिया र वेष्टफेलियामा पनि स्थानीय ढङ्गले आन्दोलन अगाडि बढ्यो । माक्र्सले वामपन्थी प्रतिनिधिहरूलाई कोलोनमा लगातार सम्बन्ध राख्न जोड दिनुभयो । माक्र्सले भन्नुभयो– ‘कर नतिर्नु ठुलो राजद्रोह हो । कर तिर्न अस्वीकार गर्नु नागरिकहरूको पहिलो कर्तव्य हो ।’
१८ नोभेम्बरको दिन माक्र्सले समितिका अरू साथीहरूसँग मिलेर तीन वटा नाराहरू दिए (१) जबरजस्ती कर उठाउँदा देशभरि सम्भव भएका साधनहरूबाट भिडन्त गर्ने (२) शत्रुलाई धपाउन जनताका स्वयम्सेवक दलहरू बनाउने (३) राष्ट्रियसभाको निर्णयलाई नमान्ने अधिकारीहरूसँग लड्न सुरक्षा समितिहरू बनाउने । यी नारा र गतिविधिहरू सशस्त्र विद्रोह र क्रान्तिका बीउ हुन् ।
माक्र्सले ‘नयाँ राइन समाचार’ मा ‘कर नतिर्न’ जनतालाई आह्वान गर्नुभयो । त्यसको भोलि १४ नोभेम्बरको दिन माक्र्सलाई अदालतले बोलायो । माक्र्सलाई गिरफ्तार गरिने भयो । न्यायालयको अगाडि जनताको भिड थियो । कोलोनका सरकारी वकिल डराएर न्याय मन्त्रालयलाई के सूचना दिए भने माक्र्सलाई समातेमा जनताले जबरजस्ती छुटाउने छन् । माक्र्स न्यायालयबाट बाहिर आउनुभयो । उत्साहित भएका सारा जनताले उहाँको स्वागत गरे । इजर भवनमा एक सभा भयो । माक्र्सले आफ्नो समर्थन गरेकोमा जनतालाई धन्यवाद दिनुभयो ।
१८ नोभेम्बरको दिन, माक्र्स र उहाँका साथीहरूलाई कारबाही गरेमा समस्या सुल्झन्छ भन्ने राय दियो । त्यसअनुसार २१ नोभेम्बरको दिन माक्र्स र साथीहरूलाई फेरि न्यायालयले बोलायो । माक्र्सले त्यसबेला सबै प्रजातन्त्रवादीहरूलाई सतर्क गराउनुभयो । त्यो उत्तेजना फैलाउने र सहरलाई घेर्ने नयाँ षड्यन्त्र हो । यसकारण, आफूमाथि जे परे पनि केही नगर्नु भन्नुभयो । तर खुकुरीको शासनको अगाडि नझुक्न र जनताको सङ्घर्ष चलाउन भने तयारी गर्दै थिए । जनताका प्रतिनिधिहरूले सरकारी वकिललाई भेटे । माक्र्स कुनै पनि बेला गिरफ्तार हुने सम्भावनालाई तिनीहरूले बुझे ।
२२ नोभेम्वरदेखि माक्र्स झन् दृढ हुनुभयो । नयाँ राइन समाचारले ‘कर नतिर्नु’ भन्ने पर्चा र कपडाहरूमा लेख्ने विचारहरू दिए ।
२३ नोभेम्बरको दिन सङ्घर्षलाई अगाडि बढाउन कोलोनमा दोस्रो प्रजातान्त्रिक जिल्ला महासभा बस्यो । बैठकले माक्र्सको निर्देशनहरूलाई स्वीकार गर्यो । राइन प्रदेशमा प्रतिक्रान्तिको विरोधमा निर्णायक सङ्घर्ष गर्ने तयारी हुँदै थियो । माक्र्सले जनताको सङ्घर्षलाई बगरेले मार्न लागेको बोकासँग तुलना गर्नुभयो ।
५ डिसेम्बरको दिन प्रतिक्रान्तिकारी शाही गुटले दुईवटा घोषणा गर्यो । (१) राष्ट्रिय सभा भङ्ग गर्यो, (२) १८४९ फेब्रअरी महिनामा दोस्रो च्याम्बर नयाँ सभा बोलाइनेछ । त्यस प्रसियाली संविधानलाई कुनै सभाले स्वीकृति दिनुपर्नेछैन ।
त्यो प्रशियाको राजद्रोहको अन्तिम दृश्य थियो । माक्र्सले सोचे, ‘राष्ट्रियसभाले अब आफ्नो स्थानीय कमजोरी र कट्टरताको फल भोग्छ । यसले महिनौँसम्म विनाबाधाले जनताको विरोधमा षड्यन्त्र गर्न दियो, त्यसलाई बलियो र शक्तिशाली हुन दियो, यसकारण अब आफू नै पहिलो सिकार भयो ।’
सबै प्रजातान्त्रिक तत्व र मजदुरवर्ग फेब्रअरीको चुनावको तयारीमा लागे । एङ्गेल्स पनि १९४९ जनवरीको मध्यमा कोलोन फर्कनुभयो । माक्र्स र एङ्गेल्सले चुनावको राजनैतिक महत्वलाई ध्यान दिनुभयो र सबै प्रजातान्त्रिक शक्तिलाई एकगठ गर्न लाग्नुभयो । त्यसबेला उदारवादी मुखपत्र ‘कोलोनिज जाइटुङ’ ले त्यस संविधानबाट वर्तमान समाज व्यवस्थालाई त्यसै राखेर पनि राजनैतिक र सामाजिक परिवर्तन हुनसक्छ भन्ने भ्रम जनतालाई दिन खोज्यो । तर माक्र्सले त्यस संविधानबाट राजा, दोस्रो चेम्बरका अधिकारीहरू, धनी, ठुला–बडा र कर्मचारीहरूलाई मात्रै ठीक हुन्छ भनेर खण्डन गर्नुभयो ।
बर्लिनको पुरानो वामपन्थीहरूको मुखपत्र ‘राष्ट्रिय समाचार’ ले सच्चा प्रजातान्त्रिक संवैधानिक व्यवस्थाको निम्ति शान्ति सुव्यवस्थाको माग गर्यो । माक्र्सले भन्नुभयो, ‘यी भलाद्मीहरूले चाहेको कुरो अर्को क्रान्तिले बाहेक पाउन सक्दैनन् र तिनीहरू क्रान्ति चाहँदैनन् ।” सबै प्रजातान्त्रिक तत्वको एकतामा माक्र्स जोड दिनुहुन्थ्यो । त्यस्तो एकता नचाहने केही स–साना पुँजीवादी विचारलाई माक्र्सले आलोचना गर्नुभयो ।
१५ जनवरीको दिन ५ फेब्रअरी १९४९ मा दोस्रो च्याम्बरको निम्ति हुने चुनावबारे छलफल गर्न कोलोन मजदुर लिगको एक बैठक बस्यो । चुनावमा प्रजातन्त्रवादीहरू एक हुनुपर्छ भन्ने बारे माक्र्सले एक लामो भाषण दिनुभयो ।
चुनावमा माक्र्सको तरिका ठीक साबित भयो । तीन भागमध्ये २ भाग प्रजातान्त्रिक प्रतिनिधिहरू चुनावमा जिते । त्यसको ३ दिनभित्रै सेन्डेर द्वितीय, माक्र्स र साथीहरूसँगै अदालतमा हाजिर हुनुपर्ने थियो । चुनावको जीतले न्यायालयमा पनि जीत भयो ।
– ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *