भर्खरै :

जर्मनीमा मजदुर आन्दोलन – १

जर्मनीमा मजदुर आन्दोलन – १

सन् १८४५–४६ मा जर्मनीमा बाली खराब भयो । आलुमा कीरा लाग्यो । खानेकुरा लगातार महँगो हुँदै गयो । व्यापारीहरू अनिकालबाट फाइदा उठाउँदै थिए । जनता भोकभोकै मर्न लागेका थिए । जनतामा किन्ने शक्ति नै थिएन । सामान त्यस्तै थन्केको थियो । कारखानाले मालसामान तयार गर्ने कुरै रहेन । कारखानाहरू एकपछि अर्को बन्द हुँदै गए । बेकारी मजदुरहरूको सङ्ख्या बढ्दै गयो । जर्मनी एक औद्योगिक सङ्कटको चपेटामा थियो । भोका जनता रिसाउन थाले । हुलका हुल भोका जनता खाने पसल र गोदामहरूमा हुरिन्थे । लुटेर आपसमा बाँडचुँड गरेर खान्थे । राजधानी बर्लिन र अरू मुख्य–मुख्य सहरहरूको हालत पनि त्यस्तै थियो । क्रान्तिका भौतिक परिस्थितिहरू तयार हुँदै थियो । उता माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र तयार पारिसक्नुभएको थियो । जनताको सङ्घर्षमा मजदुरवर्गले अगुवाइ गर्नुपर्छ भन्ने कम्युनिस्ट लीगको निर्णय थियो ।
जनवरी १८४८ मा दक्षिणी इटालीमा विद्रोह भयो ।
२२ फेब्रुअरी १८४८ मा फ्रान्सेली जनताले बैङ्कपतिहरूको राजा लुई फिलिपको विरोधमा विद्रोह गरे । फ्रान्सेली मजदुरवर्ग सङ्घर्षको मोहडामा थियो । बैङ्कपतिहरूको राजा लुइ फिलिपको गद्दीलाई उल्टाइदियो । फ्रान्समा गणतन्त्रको घोषणा गरियो । त्यसको प्रभाव बेल्जियम, अष्ट्रिया र जर्मनीमा पनि पर्नु स्वाभाविक थियो । २७ फेब्रुअरीको दिन ब्रसेल्समा कार्ल माक्र्सले त्यहाँको विभिन्न प्रजातान्त्रिक र मजदुर सङ्गठनहरूको एक बैठक राख्नुभयो र सशस्त्र सङ्घर्षको तयारी गर्न थाल्नुभयो । आफ्नो बाबुको मृत्युपछि पाएको अपुतालीको केही रकमलाई माक्र्सले हतियार किन्नमा लगाउनुभयो । २८ फेब्रुअरीको दिन ब्रसेल्सका प्रजातान्त्रिक मजदुर सङ्गठनहरूको समितिको तर्फबाट फ्रान्सेली क्रान्ति र बेलायतको मागपत्रको आन्दोलनलाई बधाई पत्र लेखे । १ मार्च १८४८ मा फ्रान्सेली सरकारले कार्ल माक्र्सलाई फ्रान्सको ढोका खुला छ भनेर बोलायो । ३ मार्चको दिन बेल्जियम सरकारले माक्र्सलाई २४ घण्टाभित्र देश छोड्न आदेश दियो । कम्युनिस्ट लीगको केन्द्रीय समितिको बैठक बस्यो । बैठकले ब्रसेल्सको समितिलाई भङ्ग गरिदियो र केन्द्रीय समितिलाई पेरिसमा सार्न माक्र्सलाई जिम्मा दिइयो । तुरुन्तै माक्र्सलाई बेल्जियम सरकारले गिरफ्तार गर्यो । तर, जनताको दबाब र निन्दाले बेल्जियम सरकार माक्र्सलाई छोड्न बाध्य हुनुपर्यो । माक्र्स फ्रान्स पुग्नासाथै कम्युनिस्ट लीगको केन्द्रीय समिति बनाउन लाग्नुभयो ।
तर, त्यसबेला जर्मनियाली, पोली, बेल्जिमेली, आयरी, स्पेनियाली आदि विभिन्न देशका प्रवासीहरू फ्रान्समै थिए । तिनीहरू सशस्त्र दलहरू पठाएर आ–आफ्नो देशमा गणतन्त्र स्थापना गर्ने विचार राख्थे । माक्र्स र एङ्गेल्सले त्यस क्रान्ति निर्यातको विरोध गर्नुभयो । उहाँहरूले जर्मनीको क्रान्तिको उद्देश्य र क्रान्तिको तरिकाबारे विचार गर्नुभयो† जर्मनी कम्युनिस्ट पार्टीका मागहरू तयार गर्नुभयो र जर्मनीमा सिङ्गो गणतान्त्रिक सरकारको माग गर्नुभयो । त्यसले जर्मनीमा देशव्यापी मजदुर आन्दोलनको विकास हुन्थ्यो ।
२१ वर्ष पुगेका मानिसले मत दिन पाउनुपर्छ† संसद् सदस्यलाई भत्ता दिइनुपर्छ† सारा जनतालाई सशस्त्र पारिनुपर्छ† विनापैसाले कानुनी सल्लाह दिनुपर्छ† चर्च र राज्यलाई अलग गरिनुपर्छ र जनतालाई निःशुल्क शिक्षाको बन्दोबस्त गर्नुपर्छ भन्ने माग अगाडि बढाइए । माक्र्स र एङ्गेल्सले यी मागबाट सर्वहारावर्गको सङ्घर्षलाई समाजवादसम्म लैजान सकिन्छ भन्ने सम्झनुभयो ।
जर्मनीमा कम्युनिस्टहरूको कृषि कार्यक्रमका माग अगाडि बढाइयो । सबै सामन्ती बेठ–बेगारी र तिरो–तिरानलाई समाप्त गर्ने, सामन्ती जग्गा–जमिन, खानी र सम्पत्तिलाई बिना मुआब्जा (क्षतिपूर्ति) राष्ट्रियकरण गर्ने, वैज्ञानिक औजारहरू उपयोग गरेर सारा जनताको निम्ति ठुलो आकारको राष्ट्रिय खेती गराउने, सामन्तीमात्रै होइन पुँजीवादी शोषणबाट पनि किसानलाई मुक्त गराउने, किसानहरूको बन्धकी जम्मा ब्याज र तिरो सामन्तलाई नदिई प्रजातान्त्रिक सरकारले लिनुपर्छ, सबै व्यक्तिगत बैङ्कहरूलाई राष्ट्रियकरण गरिनुपर्छ, आम्दानीअनुसार बढ्दै जाने प्रगतिशील कर नीति लागु गर्नुपर्छ आदि कार्यक्रमका मागहरू थिए ।
माक्र्स र एङ्गेल्सले यस्ता तुरन्ता–तरुन्तै काममा आउने मागहरू राखेर सर्वहारावर्गलाई स–साना पुँजीपति र किसानवर्गसँग एकता गर्ने विचार गर्नुभयो । ती मागलाई क्रान्तिकारी सङ्घर्षले पूरा गराउने उहाँहरूको विचार थियो । पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको निम्ति सर्वहारावर्गको त्यो पहिलो खँदिलो कार्यक्रम थियो ।
यता माक्र्स र एङ्गेल्स फ्रान्समा क्रान्तिकारी मागहरू तयार गर्दै हुनुहुन्थ्यो । उता १८ मार्च १८४८ को दिन बर्लिनमा जनताको ठुलो प्रदर्शन भयो । अधिराजकुमार विलियमले सभा, सङ्गठन र प्रदर्शनमाथि गोली हान्ने आदेश दियो । प्रदर्शन एक विद्रोहमा बदलियो । मजदुर जनताले सडकमा मोर्चाहरू बनाउन थाले । मजदुर जनताको त्यस विद्रोहलाई दबाउन सरकारले ३६ वटा तोपसहित १४ हजार सेना पठायो । मजदुरहरूले सेनाको आक्रमणलाई असफल पार्न बन्दुकको जवाफ बन्दुकले दिए । मजदुरहरूलाई जनताको समर्थन थियो । सेना र मजदुरहरूको सशस्त्र भिडन्त १३–१४ घण्टासम्म भइरह्यो ।
मजदुरहरूको हातमा बन्दुक थियो । सरकारले स्थिति आफ्नो पक्षमा देखेन । त्यसकारण, राजा फ्रेडरिक विलियम चौथोले जनतालाई छल गर्ने जुक्ति निकाले† जनतालाई ‘प्यारा बर्लिनवासीहरू’ भनेर चिप्लो घस्दै लडाइँ बन्द गर्ने अपिल गर्यो† हिंसा र रगत बगेकोमा बन्दुकधारी केही सिपाहीहरूको व्यक्तिगत बदमासी भनेर टार्न खोजे । त्यो जनतालाई ठग्ने राजाको फटाहा कुरा थियो । बर्लिनका मजदुरहरू राजाको जाली कुरामा फसेनन् । मजदुरहरूले पहिले बर्लिन सहरबाट सेना बाहिर पठाउने माग गरे । राजालाई जनताको कुरा सुन्न कर लाग्यो । सेनालाई बर्लिनबाट बाहिर पठाइयो ।
मजदुरहरूको जुलुस राजदरबारतिर लाग्यो । जनताले भिडन्तमा मरेकाहरूको लास र घाइतेहरू पनि लगेका थिए । जनतामा ठुलो विरोध र लड्ने भावना थियो । हत्याकाण्डमा जिम्मेवार व्यक्ति बार्दलीमा देखापर्न जनताले माग गरे । राजा कालो–निलो भएर बार्दलीमा हाजिर भयो । जनताका सहिदहरूप्रति आदरले टाउको झुकाउन राजालाई कर लाग्यो । १८४८ को मार्च महिनाको बर्लिनको लडाइँमा मजदुरवर्ग सा¥है सक्रिय थिए । जीत जनताको भयो ।
तर, जर्मनीमा पुँजीपतिवर्ग राजासँग मिल्यो । राजाले एक ठुलो कारखानाको मालिकको नेतृत्वमा एक मन्त्रिमण्डल गठन गर्ने घोषणा गरे । तर, मजदुर र गरिब जनताले चुनावमा मत दिने अधिकार पाएका थिएनन् । तर, त्यो पुँजीपतिवर्गको मन्त्रिमण्डलले कुनै पनि पुरानो अफिसरको जागिर खोस्न सकेन । पुरानो सेना र पुलिसको एउटा अफिसर सिपाहीलाई निकाल्न सकिएन । यसरी पुँजीपतिवर्गले राजालाई समर्थन गर्यो† जनतालाई विश्वासघात गर्यो ।
माक्र्स र एङ्गेल्सले मागपत्रहरूलाई मार्चको अन्ततिर छापेर पर्चाको रूपमा पेरिस र जर्मनीमा वितरण गर्नुभयो । त्यो मागपत्र जर्मनीको पत्रपत्रिकामा अप्रिलको सुरुमा देखापर्यो । कम्युनिस्ट लिगका सदस्यहरूमा कम्युनिस्ट घोषणापत्र र मागहरू वितरण गरियो । जर्मनीमा मजदुर आन्दोलन अगाडि बढाउन कम्युनिस्ट लिगको केन्द्रीय समितिले ३–४ सय मजदुरहरू जर्मनी पठायो । माक्र्स र एङ्गेल्स पनि आफ्नो जन्मभूमिको क्रान्तिमा भाग लिन हिँड्नुभयो । ११ अप्रिल १८४८ मा माक्र्स जर्मनी जानुभयो र नागरिकताको निम्ति दर्खास्त दिनुभयो । दर्खास्त स्वीकार गरियो । कोलोन एक औद्योगिक क्षेत्र भएकोले त्यहाँ मजदुरवर्गको सङ्गठन थियो । फेरि फ्रान्सेली क्रान्तिको बढी प्रभाव भएको ठाउँ भएकोले त्यहाँ काम गर्न अलि स्वतन्त्रता थियो । माक्र्सले कोलोनमै बसेर ‘नयाँ राइन समाचार’ भन्ने पत्रिकामा काम गर्न थाल्नुभयो । माक्र्सका अरू साथीहरू विभिन्न सहरमा प्रजातान्त्रिक सङ्गठनभित्र बसेर काम गर्न थाले ।

पुँजीपतिवर्गको बेइमानीबारे मजदुरहरूले बर्लिनमा एक सभा गरे । सभाले २१ वर्ष पुगेका सबैले चुनावमा भाग लिन पाउनुपर्छ र मन्त्रिमण्डलमा मजदुरहरूको पनि एक प्रतिनिधि हुनुपर्छ भनी माग गर्यो । तर, पुँजीपतिवर्गले मजदुरहरूको मागलाई ध्यानै दिएन । त्यसकारण, मजदुरहरू फेरि सङ्गठित हुन थाले । मजदुरहरूको सङ्गठन देखेर पुँजीपति सरकार डरायो र राजासँग मिलेर बर्लिनमा फेरि सेना बोलायो । क्रान्तिको धारलाई रोक्न मई महिनामा राष्ट्रिय सभा बोलाइयो । मजदुरहरूको विद्रोही भावनालाई कमजोर पार्न राष्ट्रिय सभामा २ जना मजदुर प्रतिनिधि लियो । त्यो एउटा छल र जाल मात्रै थियो । २ जना मजदुर प्रतिनिधिहरूले मजदुरवर्गको माग पूरा गराउन सक्ने कुनै थिएन । न त त्यस सभाले मजदुरहरूको स्थितिलाई नै फेर्न सक्थ्यो ।
राष्ट्रिय सभामा सामन्तहरूको दबदबा बाँकी नै थियो । तिनीहरू पुँजीपतिवर्गलाई आफ्नो ज्यावल बनाउन चाहन्थे । देशमा सामन्ती शोषण बाँकी नै थियो । त्यसकारण, सामन्ती शोषणको विरोधमा अप्रिल–मईमा देशभर किसान आन्दोलन सुरु भयो । राष्ट्रियसभाले किसानहरू माथिको सामन्ती शोषणलाई खारेज गर्ने प्रस्ताव ल्यायो । तर, सामन्तवर्गले त्यस प्रस्तावलाई स्वीकार गरेन । बरु तिनीहरू राष्ट्रिय सभा नै भङ्ग गर्ने पक्षमा थिए ।
१ जून १८४८ देखि कार्ल माक्र्स ‘नयाँ राइन समाचार’ को प्रधानसम्पादक बन्नुभयो । त्यसमा ‘प्रजातन्त्रको मुखपत्र’ भनेर नयाँ अङ्क सुरु गर्नुभयो ।
त्यसबेला जर्मनीका क्रान्तिकारीहरू विभिन्न गुटहरूमा विभाजित थिए । कुनै गुट मजदुर आन्दोलनलाई क्रान्तिकारी सङ्घर्षमा फेर्न चाहँदैनथे । कुनै गुट किसान र क्रान्तिकारी पुँजीवादी तत्वहरूसँग पनि नमिली मजदुरवर्ग एक्लैले सत्ताको निम्ति लडाइँ सुरु गर्न चाहन्थे । माक्र्स र एङ्गेल्सले यी दुवै काँचा र कोरा विचारको खोट देखाउनुभयो र सङ्घर्ष गर्नुभयो । उहाँहरूले कोलोनका मजदुर सङ्गठनका बहुमत मजदुरहरूलाई क्रान्तिकारी सङ्घर्ष गर्न चित्त बुझाउनुभयो† किसान र क्रान्तिकारी पुँजीवादी तत्वहरूसँग मिलेर लड्न राजी गराउनुभयो । अनि मात्रै कार्ल माक्र्सले त्यहाँको मजदुर आन्दोलनको नेतृत्व स्वीकारी सङ्घर्ष गर्न अगाडि बढ्नुभयो ।
माक्र्सले भोका किसानहरूलाई सामन्तहरूको जग्गा जमिन दिन माग गर्नुभयो । उहाँले जनतालाई हातहतियारको भण्डार–बारुदखाना कब्जा गर्नुपर्छ भनेर प्रस्ट लेख्नुभयो । १४ जून १८४८ को दिन बर्लिनमा कामदार जनताले बारुदखाना कब्जा गरे । माक्र्सले क्रान्तिलाई निरन्तर अगाडि बढाउन आह्वान गर्नुभयो । पुँजीपतिवर्गको सरकारले क्रान्तिको उद्देश्यमाथि धोखा दिँदै थियो ।
‘नयाँ राइन समाचार’ मा माक्र्सले सामन्ती प्रतिक्रियावादीहरूलाई मात्रै विरोध गर्नुभएन बरु जर्मनीमा ठुलठुला पुँजीपतिवर्ग पनि मजदुरवर्गका झन् ठुलो खतरनाक शत्रु भनेर निन्दा गर्नुभयो ।
जर्मनीका पुँजीपतिवर्ग १८ औँ शताब्दीको फ्रान्सको पुँजीपतिवर्गजस्तो क्रान्तिकारी थिएन । तिनीहरू राजासँग सम्झौता गर्ने दाउ खोजिरहेका थिए । यसकारण, माक्र्सले क्रान्तिकारी भनाउँदा प्रतिनिधिहरूलाई समेत लड्न नसक्ने हुतिहाराहरू भनेर भन्नुभयो† सुस्केरा हाल्नुभन्दा केही गर्ने साहस गर भनेर लेख्नुभयो । त्यसबेला जर्मनीलाई एक बलियो राज्यमा एकीकरण गर्नु आवश्यक थियो । तर सामन्तवर्ग तयार थिएन, पुँजीपतिवर्ग तिनीहरूको विरोधमा सङ्घर्ष गर्न तयार थिएन । १७८९ को फ्रान्सेली पुँजीवादी क्रान्तिको एक मुख्य शक्ति किसान थियो । तर, जर्मनीको क्रान्तिले किसानहरूलाई सामन्तहरूको जग्गा दिन सकेन । यसकारण, माक्र्सले जर्मनीको क्रान्तिलाई फ्रान्सेली पुँजीवादी क्रान्तिको एक ख्यालः (नक्कल) मात्रै भनेर निन्दा गर्नुभयो ।
पेरिसको जूनको मजदुर विद्रोह असफल भयो । त्यो पुँजीपतिवर्ग र मजदुरवर्गबिचको वर्गीय स्वार्थको भिडन्त थियो । त्यस असफलताको प्रभाव जर्मन र युरोपका अरू देशहरूमा पनि पर्यो । त्यसले प्रतिक्रियावादी शक्तिलाई हौसला दिन्थ्यो । माक्र्स र एङ्गेल्सले क्रान्तिको तत्कालीन उद्देश्यमा ध्यान दिनुभयो । त्यसको निम्ति भौतिक परिस्थिति तयार थिएन । यसकारण, उहाँहरूले मागहरूको निम्ति प्रचारप्रसार गर्न थाल्नुभयो । पछि हुने सङ्घर्षलाई एक समाजवादी क्रान्तिमा फेर्न सर्वहारावर्गको राजनैतिक शक्ति तयार गर्न आवश्यक थियो । ‘नयाँ राइन समाचार’ ले त्यसको निम्ति काम गर्न थाल्यो ।
पेरिसको जून विद्रोहको असफलताको कारणबाट जर्मनीका सामन्त र प्रतिक्रियावादी तत्वले टाउको उठाउन थाले । राइन प्रदेशको एक पुँजीपतिको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन भयो । त्यसलाई ‘कामको मन्त्रिमण्डल’ भन्ने नाउँ दिइयो । तर, त्यसले तुरुन्तै शान्ति–सुरक्षा गर्ने नाउँमा प्रजातान्त्रिक र मजदुर आन्दोलनलाई दबाउन पुलिस राज कायम गर्यो । जर्मनीको दक्षिण–पश्चिम भागको बाडेन, उर्टमवर्ग, बाभेरिया र जर्मनीको जहाँतहीँ प्रजातान्त्रिक सङ्गठनहरूलाई बन्द गरिदियो । ३ जुलाईको दिन कोलोन मजदुर सङ्घका नेताहरू गोटसाल्क र आनेकलाई पक्राउ गर्यो । यसले मजदुरवर्गमा ठुलो आक्रोशको लहर उठायो । माक्र्सले यसलाई उत्तेजना ल्याई कोलोनको मजदुर आन्दोलनलाई प्रसियाली सेनाबाट दबाउन दिने जालझेल भनेर सरकारको पोल खोलिदिनुभयो । ५ जूनको समाचारमा माक्र्सले ‘पक्राउ’ भन्ने शीर्षकमा एक लेख लेख्नुभयो । त्यसमा उहाँले प्रजातन्त्रको हार हुने कुरोलाई औँल्याउनुभयो । सरकार वास्तवमा ‘नयाँ राइन समाचार’ लाई दबाउन चाहन्थ्यो । मौका पाइहाल्यो । ६ जुलाईको दिन प्रधानसम्पादक माक्र्स, प्रकाशक कोर्फलाई सोधपुछको निम्ति पुर्जी काट्यो । माक्र्सको नागरिकतालाई अस्वीकार गरिदियो । त्यसले कोलोनका मजदुर सा¥है रिसाए र विरोध गरे । एक प्रतिनिधिमण्डलले स्थानीय अधिकारीहरूलाई भेट्यो । मेन्ज, ट्रिर, आचेन, मानेहम, उल्म, बर्लिन, कोलोन, डसेलफोर्स, ब्रेस्लै र अरू सहरमा पुलिस आतङ्क फैलाउँदै थियो । माक्र्स र एङ्गेल्सले त्यसलाई ‘खुकुरीको आतङ्क’ भनेर विरोध गर्नुभयो । १४ जून १८४८ को दिन १,६७७ आह्वान र अपिलबाट बर्लिनको राष्ट्रिय सभालाई जनताको मागमाथि बेवास्ता गरेकोमा आलोचना गर्नुभयो ।
११ अगस्ट १८४८ मा प्रजातान्त्रिक सङ्गठनहरूको सभा बस्यो । एङ्गेल्सले कोलोन नेताहरूलाई पक्राउ गर्ने, नगरबाट निकाल्ने र माक्र्सको नागरिकतालाई अस्वीकार गरेकोमा प्रसियाली पुलिसको निन्दा गर्नुभयो । १३–१४ अगस्टको दिन राइन र वेस्टफेलियाको प्रजातान्त्रिक महासभा कोलोनमा बस्यो । माक्र्स समितिमा सदस्य चुनिनुभयो । माक्र्स र एङ्गेल्सको विचारअनुसार सभाले किसानहरूमा प्रचार कार्य चर्काउने निर्णय लियो ।
डेनमार्कमा जनताको आन्दोलन बढ्दै थियो । त्यसैबेला जर्मनी र डेनमार्कको बिचमा युद्ध भयो । त्यस युद्धले डेनमार्कको क्रान्तिकारी सरकार र संविधानसभालाई फाइदा थियो । त्यहाँको राज्यले सेनालाई जनता दबाउने काममा लगाउन थाल्यो । जर्मनहरू आफ्नो क्रान्तिकारी इज्जतको निम्ति फ्रैङ्कफर्ट, बफेनबेच र हानाउका मजदुरहरू र नजिक गाउँका किसानहरू उठे । तर, बेलायत र रुसको दबाबमा प्रसियाले २६ अगस्ट १८४८ मा डेनमार्कसँग युद्ध विराममा सम्झौता गर्यो ।
सेप्टेम्बर महिनामा प्रसियाली सामन्तहरूले जनतामाथि झन्झन् थिचोमिचो गर्न थाले । कोलोनमा १७ औँ रेजिमेन्ट सेना राखिएको थियो । त्यस पल्टनका अफिसरहरू र सिपाहीहरूले जनतालाई हातपात गर्थे । पसलहरूमा लुटेर खान्थे र अनेक बाधा दिन्थे । पसले जनतामा उत्तेजना बढ्दै गइरहेको थियो । बर्लिनमा राष्ट्रियसभा र प्रसियाली राजाको माझमा विरोध चर्किँदै गइरहेको थियो । राजा र सामन्तहरू सबै प्रजातान्त्रिक अधिकार खोस्न चाहन्थे, जर्मनीको गणतान्त्रिक एकीकरण र कुनै किसिमको सुधार चाहँदैनथे । तिनीहरू राष्ट्रिय सभालाई नै भङ्ग गर्न खोज्दै थिए ।
– ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *