भर्खरै :

चिकित्सकको दरबन्दी नबढाउँदा जनतामा स्वास्थ्य सुविधा असहज

भक्तपुर, १५ जेठ । गणेश मावि छालिङ र छालिङ सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा महिलाहरूमा पाठेघर क्यान्सर जाँच तथा स्तन परीक्षण शिविर सम्पन्न भयो ।
उक्त उद्घाटन कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद सुवालले महिलाहरूले आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ भन्नुभयो । स्वास्थ्यसम्बन्धी हक मौलिक हक भएकोले गर्भावस्थादेखि सुरक्षित जन्म, हुर्काउने पढाउने, रोजगार दिने र उचित स्याहार सम्भार गर्ने दायित्व सरकारको हुने उहाँले बताउनुभयो । उहाँले सरकारले चिकित्सकको दरबन्दी नबढाउँदा जनताले स्वास्थ्य सुविधा सहज पाउन नसकेको र निजी कलेजबाट उत्पादन हुने डाक्टरले रोजगारी नपाउँदा विदेशी जानुपर्ने अवस्था हुनु सरकारले आफ्नो देशको स्रोत र साधनको उपयोग गर्न नसक्नु हो भबन्नुभयो । उहाँले अहिले मुटु, मिर्गाैला, फोक्सो रोगीको सङ्ख्या बढ्दै गएको छ भन्नुभयो । सरकारको उदारीकरण नीतिको कारण शैक्षिक र स्वास्थ्य क्षेत्र निजी क्षेत्रको चङ्गुलमा परेको उल्लेख गर्दै उहाँले चीनका लुसुन, अर्जेन्टिनाका चे ग्वेभारा, क्यानडाका नर्मन बेथुन, भारतका कोटिनसले चिकित्सक भएर पनि समाजको विकास र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डाक्टर उज्ज्वल चालिसेले सुरुवाती लक्षणबाट क्यान्सर छिटो पत्ता लगाउने र पूर्णरूपमा निको हुने भएकोले अस्पतालले चेक जाँच कार्यक्रम राखेको हुँदा लाभ लिन र आफूले जानेको अरुलाई पनि सिकाउन आग्रह गर्नुभयो । अस्पतालका डाक्टर वर्षा प्रसाईले ५ प्रतिशत पुरुषमा स्तन क्यान्सर देखिएको तथ्याङ्क रहेकोले पुरुषले पनि परीक्षण गर्नु आवश्यक छ भन्नुभयो ।
छालिङ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सानुमाया लागेजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुलोचना सुवालले पनि बोल्नुभएको थियो ।
पाठेघर क्यान्सर जाँच तथा स्तन परीक्षण कार्यक्रममा डाक्टर वर्षा प्रसाई, डाक्टर निकेश महर्जनलगायतका चिकित्सक टोलीले परीक्षण र औषधि वितरण गरेको थियो । शिविरमा १८० जना महिलाको परीक्षण गरिएकोमा ३ जनालाई थप परीक्षणको लागि भक्तपुर क्यान्सर अस्पतालमा सम्पर्क राख्न जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *