भर्खरै :

विभिन्न देशका युवाहरूको प्रतिनिधिमण्डलद्वारा भक्तपुरको भ्रमण

विभिन्न देशका युवाहरूको प्रतिनिधिमण्डलद्वारा भक्तपुरको भ्रमण

भक्तपुर, १५ जेठ । विभिन्न देशका युवाहरूको प्रतिनिधिमण्डलले मङ्गलबार सांस्कृतिक नगरी भक्तपुरको अवलोकन भ्रमण गरेको छ ।
भ्रमण टोलीलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको भविष्य युवाहरूको हातमा हुने बताउँदै युवाहरू अध्ययनशील, ऊर्जाशील भएमा देशको भविष्य उज्ज्वल हुने बताउनुभयो ।
युवा भनेको उमेरले होइन उसको विचारले हुन्छ र नयाँ नयाँ परिवर्तनको लागि चिन्तन गर्ने र सङ्घर्षले उसलाई युवा बनाउने बताउँदै उहाँले पतनशील वा परिवर्तनविरोधी विचारको वकालत गर्नेहरू युवा हुन नसक्ने बताउनुभयो ।
नेपाल अहिले गणतन्त्रात्मक राज्य व्यवस्था भएको उल्लेख गर्दै राजतन्त्र पुनःस्थापनाका लागि आवाज उठाउनु प्रतिगामी कदम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा गरिरहेको जनमुखी कामहरूबारे प्रस्ट पार्दै प्रमुख प्रजापतिले भक्तपुर देशको सानो नगरपालिका भए पनि ऐतिहासिक र सांस्कृतिक तथा पुरातात्विक महत्वको दृष्टिले अत्यन्त महत्वपूर्ण नगर भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुरको सङ्क्षिप्त परिचय र नगरपालिकाले सम्पदा संरक्षणमा खेलिरहेको भूमिकाबारे चर्चा गर्नुभयो ।
प्रतिनिधिमण्डलको तर्फबाट डा. छिरिङ लामाले भक्तपुरको न्यानो र सौहार्दपूर्ण स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले गरेको कला, संस्कृति र सम्पदा पुनःनिर्माण कार्यले उल्लेखनीय भएको बताउनुभयो ।
प्रतिनिधिमण्डलको नेतृत्व जेम्स रोजरले गर्नुभएको थियो । भ्रमणमा अमेरिका, अस्ट्रिया, सिङ्गापुर, इरान, स्पेन, टर्की, जर्जिया, जर्मनी, कोलम्बिया, चीन, इजिप्ट, भियतनाम, पेरु, बेलायत, स्वीटजरल्यान्ड, स्लोभाकिया र नेपालका युवाहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *