भर्खरै :

भक्तपुर नगरपालिका वडा नं. ८ मा नाक, कान, घाँटी तथा दन्त शिविर

भक्तपुर नगरपालिका वडा नं. ८ मा नाक, कान, घाँटी तथा दन्त शिविर

भक्तपुर, १५ जेठ । भक्तपुर नगरपालिका वडा नं. ८ को आयोजनामा नाक, कान, घाँटी तथा दन्त शिविर मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य निकै संवेदनशील र स्वास्थ्य उपचार खर्चिलो भएको कारण स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले व्यक्तिगत सरसफाइ र समुदाय सरसफाइमा नगरवासीहरूले ध्यान दिनुपर्ने बताउँदै स्वस्थ नागरिकले समाजको पनि विशेष भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर नपाले स्वास्थ्य शिविर सञ्चालनमा जोड दिँदै आइरहेको बताउँदै उहाँले भक्तपुर नपाले नगरवासीहरूको स्वास्थ्य सुविधाको लागि ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुर नपाले निःशुल्क रूपमा सबै वडाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताउँदै नगरवासीहरूलाई वडाको नियमित कार्यक्रमहरूमा सहभागिताको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा डा. धर्मलक्ष्मी बासुकलाले समय समयमा स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्नुपर्ने बताउँदै स्वस्थ र निरोगी रहन स्वस्थ जीवनशैली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिविरमा वडा सदस्य सुमित्रा बोहजू र स्वास्थ्य स्वयम्सेविका पुष्पा लुबन्जारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *