साहित्य र यथार्थ – २
- कार्तिक ९, २०८३
सत्यवादी र निष्कपट हुनु इमानदारी हो । इमानदारी भनेको सत्य बोल्नु हो । यसमा झूट नबोल्नु र धोखाधडी नगर्नुजस्ता कार्य पर्दछन् । इमानदारीलाई सामान्यतया सार्वभौमिक मूल्य मानिन्छ तर सामाजिक र परिस्थितिजन्य सन्दर्भहरूमा निर्भर रहने भएर यसको व्याख्या र प्रयोग सापेक्षिक हुने गर्दछ । इमानदारीको उपयुक्तता परिस्थितिअनुसार फरक हुनसक्छ । केही अवस्थामा कसैको भावनालाई चोट पु¥याउनबाट बच्न बोलिने ‘सेतो झूट’ स्वीकार्य हुनसक्छ । इमानदारीको अर्थ के हो भन्नेबारे व्यक्तिहरूका आ–आफ्ना मापदण्ड र विश्वासहरू हुन्छन्, जसले इमानदारीलाई कसरी बुझ्ने र अभ्यास गर्ने भन्नेमा धेरै हदसम्म भर पर्छ ।
फरक मापदण्ड र व्यवहारमा आधारित हुने भएर इमानदारी मापन गर्नु चुनौतीपूर्ण हुन्छ । इमानदारीको मूल्याङ्कन गर्न सकिने एउटा तरिका मौद्रिक मापन हो । इमानदारीको तह पैसाको मूल्यसँग परिवर्तन हुनसक्छ । यदि रकम उल्लेखनीयरूपमा बढेको छ भने प्रलोभन बढ्छ र सानो रकममा इमानदार भएको व्यक्तिले त्यो इमानदारी कायम राख्न ठुलै सङ्घर्ष गर्नुपर्ने हुन्छ ।
ठुलो रकमको कुरा आउँदा उच्च सम्भावित लाभको कारणले बेइमान हुने प्रलोभन बढ्न सक्छ । यसले थप नैतिक दुविधाहरू र सम्भावितरूपमा बेइमान व्यवहार निम्त्याउँछ । आर्थिक तनाव वा दबाबमा परेका मानिसहरूले बेइमान व्यवहार गर्ने सम्भावना उत्तिकै हुन्छ । वित्तीय दायित्वहरू पूरा गर्ने आवश्यकताले व्यक्तिहरूलाई बेइमान कार्यहरूतिर धकेल्न सक्छ ।
मानौँ कसैले कसैको एक हजारको नोट खसेको देख्यो । उनले इमानदारीपूर्वक सम्बन्धित मानिसलाई दिए । तर, १ लाख भेटाएको अवस्थामा उनले इमानदारी देखाएनन् । यहाँ उनी १ हजारमा इमानदार छन् तर १ लाखमा आफ्नो इमानदारी कायम राख्न सकेनन् ।
माथिको उदाहरणले पैसाको मूल्यको आधारमा इमानदारीको तह कसरी परिवर्तन हुनसक्छ भन्ने देखाउँछ । रकम बढेसँगै प्रलोभन बढ्दै जान्छ । एक हजारको नोटमा इमानदार भएको व्यक्ति एक लाखमा बेइमान हुन पुग्यो । दैनिक परिस्थितिहरूमा आफ्नो इमानदारीमा गर्व गर्न सक्नेले जीवन नै परिवर्तन गर्नसक्ने रकमको सामना गर्नु पर्दा बेइमानी हुने सम्भावना हुन्छ । थोरै रकमको सन्दर्भमा आफूलाई इमानदार कायम राख्न सजिलो हुन्छ ।
उदाहरणले कसरी इमानदारी निरपेक्ष नभई सापेक्षिक हुन जान्छ भन्ने देखाउँछ । सामान्यतया आफूलाई इमानदार ठान्ने व्यक्तिहरूले पनि ठुलै प्रलोभनको सामना गनुपर्दा त्यो इमानदारी कायम राख्न गा¥हो हुन्छ । इमानदारीको सापेक्ष प्रकृति विभिन्न तरिकामा हुन्छ । उदाहरणले देखाएजस्तै पैसाको आकारले व्यक्तिले इमानदारीपूर्वक काम गर्छ कि गर्दैन भन्ने कुरालाई महत्वपूर्ण रूपमा प्रभाव पार्छ । यसले इमानदारी विशिष्ट परिस्थितिहरूमा निर्भर हुन्छ भन्ने देखाउँछ ।
इमानदारीलाई अर्को पक्षबाट हेरौँ । मानौँ एक व्यक्ति करोडपति छ । उसले कसैको एक हजारको नोट खसेको देख्यो । उनले इमानदारीपूर्वक सम्बन्धित व्यक्तिलाई दियो । अवस्था उही तर मान्छे करोडपतिको सट्टा भिखारी छ र यदि भिखारीले करोडपतिले जस्तै गर्छ भने यहाँ इमानदारीको मापदण्डमा भिखारी करोडपतिभन्दा धेरै इमानदार मान्नुपर्छ । यस अवस्थामा भिखारीको लागि इमानदारीको तह धेरै भएको रूपमा बुझ्न सकिन्छ किनभने एक हजारको व्यक्तिगत उपयोगिता र प्रलोभन भिखारीको लागि करोडपतिको तुलनामा धेरै बढी हुन्छ ।
भिखारीको लागि हजारको नोटले इमानदारी हुनलाई अझ चुनौतीपूर्ण बनाउँछ किनकि तत्कालको परिस्थितिमा उक्त रकमले केही हदसम्म भिखारीको जीवन सहज बनाउन सक्छ । पैसा राख्ने प्रलोभनको स्तर भिखारीको लागि धेरै उच्च हुनसक्छ । यस प्रलोभनलाई जितेर भिखारीले इमानदारीप्रति बलियो प्रतिबद्धता देखाउँछ । पैसा फिर्ता गर्ने भिखारीको निर्णयले उनको जीवनमा सापेक्षिक प्रभावलाई उच्चस्तरको निष्ठा झल्काउँछ । भिखारीको कठिन परिस्थितिको बाबजुद इमानदारीपूर्वक काम गर्ने नैतिक दृढताको रूपमा देख्न सकिन्छ । जबकि एक हजार रूपैयाँ करोडपतिको लागि अपेक्षाकृत नगण्य छ । करोडपतिको लागि एक हजार मामुली रकम भएकोले यसलाई फिर्ता गर्न थोरै त्याग चाहिन्छ । समाजमा कोही कोही धनाढ्य स–साना दान दिएर ठुलो त्यागी भएको स्वाङ गर्छन् । अनैतिकरूपले ठुलो धनराशी हात पार्ने अवसर पाउँदा दानी धनाढ्य पनि प्रलोभनमा परेका घटनाहरू प्रशस्तै छन् ।
सन्दर्भ र परिस्थितिले इमानदारीको धारणालाई फरक पार्दो रहेछ । एक अर्बपति र भिखारी दुवैले एक हजारको नोट भेट्टाउने र फिर्ता गर्ने परिदृश्यलाई विचार गर्दा दुबै कार्यहरू इमानदार भए पनि भिखारीले देखाएको इमानदारीको तह धेरै भएको बुझ्नुपर्छ ।
इमानदारीबारे फेरि एकपटक अर्कै परिस्थितिको कोणबाट हेरौँ । साँचो इमानदारी तब प्रमाणित हुन्छ जब कसैलाई अनैतिक वा गैरकानुनी माध्यमबाट फाइदा लिने मौका हुँदाहुँदै पनि नैतिकवान भएर काम गर्छन् । प्रलोभनको अवसर नभएको बेला इमानदार देखिन सजिलो हुन्छ । अनैतिक लाभ पाउने मौका पाए पनि नैतिक तवरले काम गरेमा मात्रै साँच्चै इमानदार हुन्छ । कसैसँग अनैतिक वा गैरकानुनी माध्यमबाट लाभ उठाउने अवसर हुँदाहुँदै त्यसको सट्टा नैतिकरूपमा काम गर्ने निर्णय गर्दछ भने त्यो व्यक्तिले साँच्चै इमानदारी देखाएको मानिन्छ । प्रलोभनको सामना गर्नै नपर्ने अवस्थामा इमानदार हुन सरल छ । यस्तो अवस्थालाई ‘बेइमान गर्ने अवसर नपाएर इमानदार भएका’ पनि भनिन्छ । साँचो इमानदारी चुनौतीपूर्ण परिस्थितिहरूमा देखिन्छ । लाभ दाउमा हुँदा व्यक्तिको वास्तविक चरित्र प्रकट हुन्छ । प्रलोभनको सामना गर्दा नैतिक मूल्यहरू कायम राख्नु भनेको साँचो इमानदारीको परिभाषा हो । यसको लागि उपयुक्त उदाहरणको रूपमा नेपाल मजदुर किसान पार्टीका नेताहरूलाई लिन सकिन्छ । आफ्नो राजनीतिक जीवनमा थुप्रै लाभका पद पाउने अवसरहरू पाउँदा पनि ती सबैलाई आज पर्यन्त पनि त्यागी नै रहेका छन् ।
माथि उल्लेखित विभिन्न परिदृश्यले कसरी पैसाको मात्रा र यसको सापेक्षिक परिस्थितिजन्य कारकहरूले इमानदारीलाई प्रभाव पार्न सक्छ भनेर चित्रण गर्दछ । इमानदारी महत्वपूर्ण हुँदाहुँदै पनि सधैँ निरपेक्ष हुँदैन र परिस्थितिको आधारमा भिन्न हुने भएर यो सापेक्ष हुन्छ ।
त्यसोभए के कुनै व्यक्ति निरपेक्ष इमानदार हुनै सक्दैन त ? प्रलोभन, ज्यान जोखिम र उच्च पदको अवसरहरूलाई बेवास्ता गर्दैे आफ्नो पूर्ण निष्ठामा अटुटरूपमा लागिपर्ने व्यक्ति पनि हुन्छन् । व्यक्तिगत लाभ तथा बाह्य दबाबको पर्वाह नगरी नैतिक व्यवहारको लागि अटुट प्रतिबद्धताको उच्चतम स्तर कायम गर्नेलाई निरपेक्ष इमानदारको रूपमा लिइनुपर्छ । यस्ता विशेषता भएका व्यक्ति नगण्य भए पनि समाजमा भेटाउन भने सकिन्छ ।
Leave a Reply