किम जोङ उनलाई चीनको लियाओनिङ प्रान्तको डान्डोङ सहरमा भव्य स्वागत
- कार्तिक ९, २०८३
आन्दोलनले शोषकवर्ग तर्सिन थाल्यो । उदार जमिनदारहरू भन्थे, “टाउको दिनुभन्दा केही जग्गा दिनु असल छ ।” उदार पुँजीपतिवर्ग स–साना सुधार गरेर जनतालाई चुप लगाउने र आफू सत्तामा जान खोज्थ्यो । सर्वहारावर्ग लड्दै थियो, पुँजीपतिवर्ग सत्ता हातमा लिन सम्झौता गर्न खोजिरहेको थियो । १९०५ शरद् ऋतुसम्म क्रान्ति देशको कुनाकाप्चामा पुग्यो । १९ सेप्टेम्बरको दिन मस्कोमा प्रेस कर्मचारीहरूले हडताल गरे । त्यो पिटसवर्ग र अरू सहरमा पनि फैलियो । मस्कोमा अरू उद्योगका मजदुरहरूले त्यसको समर्थनमा राजनैतिक हडताल सुरु गरिदिए । अक्टोबरमा मस्को कजान रेलवेमा हडताल भयो । दुई दिनभित्रै अरू सबै रेलवेहरूमा पनि हडताल भयो । हुलाक र तार–टेलिफोनमा पनि हडताल भयो । सभा र हडतालहरू सबै सहरहरूमा हुन थाल्यो । स–साना कर्मचारी, विद्यार्थी, वकिल, इन्जिनियर, डाक्टर र बुद्धिजीवी मजदुरहरू पनि हडतालमा सामेल भए । अक्टोबरको राजनीतिक हडताल पूरा रुसको हडतालमा बदलियो । १० लाख औद्योगिक मजदुरहरूले हडतालमा भाग लिँदै थिए । तार–टेलिफोन, हुलाक र रेलको हडताल त अलगै छ । सारा देशको जीवन रोकियो । विश्वविद्यालयका कक्षाहरू मजदुर र जनसभाको मञ्चमा बदलियो । त्यसमा सबै जनता र कर्मचारी भाग लिन्थे† खुला र स्वतन्त्रतापूर्वक राजनैतिक विषयमा छलफल गर्थे । प्रेस स्वतन्त्रता हासिल गरियो । सेन्ट पिटसवर्गमै पहिलोचोटि तीनवटा समाजवादी प्रजातन्त्रवादी अखबार प्रकाशित भयो । त्यसको बिक्री–वितरण ५० हजार देखि १ लाखसम्म पुग्यो । पत्रिकाको जाँचबुझ (सेन्सर) गर्न सरकारी अधिकारीहरू आउन डराउँथे । सेन्ट पिटसवर्गका मजदुरहरूको नारा थियो, ‘८ घण्टाको काम र हतियार ।’
गाउँ, सहर, जिल्ला र कारखानाहरूमा स–साना जनप्रतिनिधिहरूको आ–आफ्नो सङ्गठन बन्न थाल्यो । ती प्रतिनिधि सङ्गठन र सभाहरू एक अस्थायी सरकारको रूप लिइरहेको थियो । रुसका सबै सहरहरू एक किसिमको स–साना स्थानीय गणतन्त्र बने । सरकारी कर्मचारी खोसिए र मजदुर प्रतिनिधिहरूले सरकार चलाउन थाले ।
जार सरकारले शासन गरेका अरू जाति र जनताका राज्यहरूमा पनि राष्ट्रिय आन्दोलनहरू चर्कियो । पोल्यान्डमा त्यो सङ्घर्ष व्यापक थियो । पोल्यान्डका स्कूलमा जारको तस्बिर फुटाइयो । रुसी किताबहरू च्यातिए । रुसी शिक्षक र केटाहरूलाई रुस फर्क भनेर धपाए । छात्रहरू माग गर्दै थिए –
१) सबै हाइस्कूल मजदुर–प्रतिनिधिहरूको हातमा हुनुपर्छ,
२) स्कूलको चौरमा छात्र र मजदुरहरूको संयुक्त सभा बोलाउनुपर्छ,
३) हाइस्कूलमा आउँदा छात्रहरूले सर्वहारा गणतन्त्रको चिह्नको रूपमा रातो लुगा लगाउनुपर्छ ।
जार सरकारको रिस सबै यहुदी जनतामाथि पोखियो । यहुदी जनता चेतित र क्रान्तिकारी आन्दोलनमा अगाडि थिए । यसकारण, १४० वटा नगरमा ४ हजार जवानभन्दा बढी यहुदीहरूको हत्या गरियो र १० हजारभन्दा बढीलाई अङ्गभङ्ग गरियो ।
सन् १९०५ को डिसेम्बर महिनामा क्रान्ति सबभन्दा उचाइमा पुग्यो । मस्कोका ८ हजार सङ्गठित र सशस्त्र मजदुरहरूको एक सानो दल ९ दिनसम्म जार सरकारको विरोधमा लडिरह्यो । सेन्ट पिटसवर्गको सेना आएपछि मात्रै त्यस विद्रोहलाई दबाउन सफल भयो । तर, मजदुरवर्ग फेरि क्रान्तिलाई अगाडि लैजान अनेक कोसिसहरू गर्दै गए ।
मजदुरहरूले सबै कलकारखानाहरूमा सङ्गठनहरू बनाएका थिए । सबै सङ्गठनहरूबाट प्रतिनिधिहरू भएको मजदुरहरूको एक प्रतिनिधिसभा (सोभियत) बनाइयो । क्रान्तिले दिएको त्यो एक राजनैतिक हुकुम थियो । त्यस सोभियतले जारका सबै ऐन–कानुनलाई खारेज गरिदियो । मजदुरहरू ती प्रतिनिधिसभालाई क्रान्तिकारी हुकुमको एक बीउ सम्झन्थे । पिटसवर्गका मजदुरहरूले १३ अक्टोबरको दिन सोभियत (प्रतिनिधिसभा) को निम्ति चुनाव गराए । मस्कोले पनि त्यस्तै गर्यो । त्यसबेला पिटसवर्गका मजदुरहरूका नेता लेनिन विदेशमा थिए । त्यसैले मेन्सेविकहरू त्यसबाट फाइदा उठाउँदै थिए । तिनीहरू पिटसवर्गका मजदुरहरूको सोभियत विद्रोहको विरोधमा थिए । तर, मस्को (सोभियत) ले पूरा क्रान्तिकारी नीति लियो । मजदुर प्रतिनिधिहरूको सोभियत जस्तै सिपाहीहरूको प्रतिनिधिसभा (सोभियत) पनि बनाइदियो । त्यो एक विद्रोह थियो ।
आन्दोलनलाई दबाउन (शान्त पार्न) १७ अक्टोबरको दिन व्यक्तिगत स्वतन्त्रता, विचार, भाषण, सभा, सङ्गठनको अधिकार दिने घोषणा गरियो । सबै वर्गलाई मत दिन पाउने अधिकार दिने घोषणा गरियो । २१ अक्टोबरमा केही राजनैतिक बन्दीहरूलाई छोडिदियो । त्यो एक छल थियो । तर, मजदुरवर्ग त्यस जालमा फसेन । बोल्शेविकहरूले मजदुरहरूलाई भने, “हतियार उठाऊ, सशस्त्र विद्रोहको तयारी गर ।”
त्यो सोभियत आन्दोलन देशभरि फैलियो । ठाउँ–ठाउँमा मजदुर र किसानहरूको प्रतिनिधिहरूको सोभियत बन्न थाल्यो । सङ्घर्षको बेलामा बनेको हुनाले त्यसको कुनै निश्चित रूप थिएन । एकरूपता थिएन । अलि खुकुलो थियो । तर, त्यसैले हुकुम चलाउँथ्यो र प्रशासनले सबै काम गथ्र्याे । सरकारको कानुनले पास नगरे पनि त्यस सोभियतले प्रेस स्वतन्त्रता लागु गर्यो । ८ घण्टाको कामको दिन लागु गरियो । जारको सरकारलाई कर नतिर्न जनतालाई भनियो । सरकारी सम्पत्ति जफत गरेर क्रान्ति र जनताको काममा लगाइदियो ।
अक्टोबर र नोभेम्बरमा देशभर हडताल हुँदै गयो । सारातोब, ताम्बोब, चार्निगोव, तिफलिस, कुटाइस आदि जिल्ला र इलाका किसान आन्दोलनको इलाका बन्यो । तिफलिस, भ्लादिभोस्टक, तासकन्द, समरकन्द, कुर्क, सुखुन, वार्सा, कियेभ र रीगाजस्ता सहरहरूमा सैनिकहरूले विद्रोह गर्न थाले । अफिसरहरूको खस्रो व्यवहारको विरोधमा तिनीहरूले विद्रोह गरे । अफिसरहरूलाई समाते । पछि अफिसरहरूको चाप्लुसी र मिठो बोलीले तिनीहरूको मन पगालिहाल्यो । त्यसैबेला लेनिन रुस फर्कनुभयो । उहाँ सशस्त्र विद्रोहको तयारीमा लाग्नुभयो । नोवाया जिस्न ( नवजीवन) भन्ने पार्टी अखबारको दैनिक काममा निर्देशन दिनुभयो । त्यसैबेला स्तालिन ट्रान्सकाकेसियामा ठुलो क्रान्तिकारी गतिविधि गर्दै हुनुहुन्थ्यो । उहाँले मेन्शेविकहरूलाई सशस्त्र विद्रोहको शत्रु भनेर नङ्ग्याइ दिनुभयो† क्रान्ति जित्नको निम्ति तीन चिज हामीलाई चाहिन्छ भन्नुभयो । त्यो हो, ‘पहिलो हतियार, दोस्रो हतियार, तेस्रो हतियार र फेरि हतियार ।’
सन् १९०५ को डिसेम्बरमा फिनल्यान्डको ताम र फोर्स सहरमा बोल्शेविक पार्टीको सम्मेलन भयो । लेनिन र स्तालिनबिच त्यही बैठकमा पहिलो चोटि भेटघाट भयो । त्यसैबेला मस्कोमा विद्रोह भयो । सबै त्यस विद्रोहमा भाग लिन हिँडे । मस्को बोल्शेविक समितिले ५ डिसेम्बरको दिन राजनैतिक हडताल गर्न सोभियतलाई आह्वान गर्यो । त्यसको सँगै विद्रोह गरिदियो । विद्रोह सुरु हुँदा लगभग एक हजार जवानको मात्रै लडाकु सङ्गठन थियो । त्यसको आधार बोल्शेविक थियो । मस्कोको सरकारी छाउनी अलि ढलमलियो । क्रान्तिकारीहरूले अलि ढिलो गरेको हुनाले असन्तोषलाई थामथुम गरिदिए ।
९ डिसेम्बरको दिन मस्कोको सडकहरूमा लड्नको निम्ति छेकबार र पर्खालहरू बनाइन थालियो । हेर्दा हेर्दै सारा सहरका मुख्य मुख्य सडकहरू पर्खालले भरियो । जार सरकारले विद्रोहीहरूको भन्दा धेरै गुणा शक्ति लगायो । विद्रोह दबाउन तोपहरू तेस्र्याइयो । लडाइँ सुरु भयो । नेताहरू भकाभक पक्रिए । मस्को बोल्शेविक समितिका सदस्य पनि पक्रिए । मजदुरहरूले ९ दिनसम्म बहादुरीपूर्वक सरकारी सेनासँग भिडन्त गरे । सशस्त्र विद्रोह अरू जिल्लाहरूमा पनि फैलियो । तर सञ्चालनको केन्द्र नभएकोले विद्रोहमा एकरूपता थिएन । त्यसकारण, तिनीहरूको विद्रोह रक्षात्मकमात्रै हुन गयो । पिटसवर्ग, त्वेन र पश्चिमी प्रदेशबाट सेना आएपछि मात्रै मस्को विद्रोह दबाउन जार सरकार सफल भयो । मस्कोको क्रासनाया प्रेस्थ्यामा सङ्घर्ष सबभन्दा चर्को भयो । त्यो ठाउँ विद्रोहको केन्द्र र लडाकुहरूमा बोल्शेविकहरू नै आधा थिए ।
विद्रोह क्रासनोयार्क, मोतीविलिखा (पर्म), नोवोरोसिस्क, सोर्मोबो, सेबास्तोपोल र क्रोन्त्स्तातमा पनि फैलियो । जारशाहीले दबाइराखेका अरू जातिका जनताले पनि विद्रोह गर्न लागे । सारा जर्जियाली जनताले हतियार उठाए । उक्रेनको दोन्येत्स प्रदेशको गोलोव्का, अलेक्सान्द्रव्यक र लुगान्स्क (वारोशिलोबग्राड) भन्ने सहरहरूमा ठुलठुला विद्रोह भए । लाट्भियामा ठुलो भिडन्त भयो । फिनल्यान्डमा मजदुरहरूले आफ्नो लालरक्षक दल बनाए र विद्रोह गरे । ती सबै विद्रोहलाई जारको सरकारले जबरजस्ती कुल्चिदियो ।
मेन्शेविकहरूका नेताले पार्टीलाई गाली गरे, “तिमीले हतियार उठाउनु हुने थिएन ।” मेन्शेविकहरूको विचारमा हातहतियार नभए पनि क्रान्ति हुन्छ । सफलताको निम्ति सशस्त्र विद्रोह होइन शान्तिपूर्ण सङ्घर्ष गर्नुपर्छ । विद्रोह नचाहिने कुरो हो र खराब कुरा हो । कातर र खोटो सिद्धान्त बोकेको मेन्शेविकहरूलाई बोल्शेविकको तर्फबाट लेनिनले भन्नुभयो, “हामीले अझ दरो भएर, बलियोसित र आक्रमक ढङ्गले हतियार उठाउनुपर्दथ्यो । शान्तिपूर्ण हडतालसम्म सीमित राख्नु असम्भव छ भनेर हामीले जनतालाई सम्झाउनुपर्छ र निडर भएर जग लिएर सशस्त्र लडाइँ गर्नुपर्छ ।”
डिसेम्बर महिनामा क्रान्ति सबभन्दा माथि पुग्यो । पोल्यान्ड, लाट्भिया, एस्टोनिया, ट्रान्सकाकेसिया र साइबेरियामा जारको अत्याचारी सेनाले जनतालाई नराम्रोसँग दबाउन लाग्यो । क्रान्तिको लहर तल झर्न थाल्यो ।
१९०५ को मे क्रान्ति असफल हुनुका कारणहरू
१) क्रान्तिमा मजदुर र किसानहरूले ठुलो उत्साह लिएर भाग लिए । तर, किसान र मजदुरहरूको सम्बन्ध त्यति बलियो भइसकेको थिएन । किसानहरू जमिनदार र सामन्तहरूको विरोधमा लड्थे । तर, राजा जारमाथि विश्वास गर्थे । राजा जार नसिद्धिएसम्म जारको आधारमा बाँचेका जमिनदार र सामन्तहरू सिद्धिन्न भन्ने थाहा थिएन । किसानहरू जारसँग सम्झौता गर्न चाहने समाजवादी क्रान्तिकारीहरूलाई बढी विश्वास गर्थे । बोल्शेविकहरूमाथि कम विश्वास राख्थे । त्यसकारण, किसानहरूको सङ्घर्ष फाटफुट र असङ्गठित हुन्थ्यो । आक्रमक ढङ्गको थिएन र त्यसको लायक पनि थिएन । यिनै क्रान्ति हार्नुको मुख्य कारणमध्ये थियो ।
२) सिपाहीहरू पोसाक लगाएका किसानहरू नै थिए । अर्थात्, तिनीहरू किसानहरूकै भाइ, छोरा र नातिहरू थिए । किसानहरूले मजदुरहरूलाई राम्रोसँग सहयोग नदिनाले सेनामा पनि त्यसको असर पर्यो । जारका सिपाहीहरूको बिचमा असन्तोष र विद्रोहहरू त भयो, तर तिनीहरूले मजदुरहरूको हडताल दबाउन पनि भाग लिए ।
३) मजदुरहरूले वीरतापूर्वक सङ्घर्ष गरेका थिए । तर, तिनीहरू राम्रो सङ्गठित थिएनन् । गाउँ र स–साना सहरहरूमा या कम औद्योगिक विकास भएको ठाउँमा मजदुरहरू राम्रो सङ्गठित थिएनन् र क्रान्तिमा पनि भाग लिए । तिनीहरू उठ्दा मजदुरवर्गको मुख्य शक्ति निर्बलियो भइसकेको थियो ।
४) ‘रुसी समाजवादी–प्रजातान्त्रिक मजदुर पार्टी’ मजदुरवर्गको आफ्नो पार्टी थियो । तर, त्यसमा बोल्शेविक र मेन्शेविक भनेर दुई गुट थियो । मेन्शेविक गुटले सम्झौता गर्ने बाटो लिएकोले मजदुरवर्गमा फुट भयो । त्यसले गर्दा मजदुरवर्ग निर्बलियो भयो र क्रान्तिलाई ठाउँसम्म लैजान सकेन ।
५) रुसमा थुप्रै विदेशी पुँजी लगानी गरिएको थियो । विदेशी पुँजीपतिवर्ग आफ्नो पुँजी र नाफा बचाउन चाहन्थ्यो । यसकारण, तिनीहरू रुसको क्रान्तिले आफ्नो देशमा पनि मजदुर क्रान्ति होला भनेर डराउँथे । पश्चिमी पुँजीपतिवर्गले क्रान्ति दबाउन पैसा र सेनाले मद्दत गर्यो ।
६) जापानसँग लडाइँमा जार हारेर निर्बलियो भएको थियो । तर, सेप्टेम्बर १९०५ सम्म जापानसँग सम्झौता गर्यो र क्रान्ति दबाउन सफल भयो ।
१९०५ को क्रान्तिको महत्व
सन् १९०५ को रुसी क्रान्तिको जित अस्थायी थियो । तर, त्यस जित र हारबाट सर्वहारावर्गले आफ्नो उज्यालो र अँध्यारो पक्षलाई राम्ररी केलाउन पायो । त्यो पछि हुने क्रान्तिको निम्ति ठुलो शिक्षा भयो । आफ्नो कमजोर पक्षलाई बलियो बनाउने मौका पायो र आफ्नो राम्रो पक्षलाई अझ बलियो बनाउने अनुभव पायो ।
रुस एसियामा पनि परेको हुनाले त्यस क्रान्तिको नेतृत्व र रूप सर्वहारावर्गको भएको हुँदा त्यसको प्रभाव पश्चिमी युरोपमा पनि पर्यो । त्यस क्रान्तिले युरोपमा नयाँ क्रान्तिको भेललाई उठाइदियो । १९०५ को क्रान्तिको हार भयो तर मजदुरवर्ग लड्दै पछि हटेका थिए । किनभने १९०६ मा १० लाखभन्दा बढी मजदुरहरू र १९०७ मा ७ लाख मजदुरहरूले हडतालमा भाग लिएका थिए । त्यस्तै, किसान आन्दोलन र सेनामा असन्तोष पनि भइरहेको थियो । १९०५ को क्रान्तिले रुसी मजदुरवर्गलाई झन् राजनैतिक परिपक्वता ल्याइदियो ।
स्रोत : विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू
Leave a Reply