भर्खरै :

धानको बीउ नपाएर किसान हैरान

धानको बीउ नपाएर किसान हैरान

महोत्तरी, २७ जेठ । भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन् । भरपर्दो बीउ नपाउँदा किसानको हैरानी भने बढेको छ । जेठ चौथो साताको प्रारम्भसँगै यहाँका सबै भेगमा परेको पानीले माटोमा चिस्यान बनेको छ । यो चिस्यानमै ब्याड राख्ने तरखरमा रहेका किसान बीउ नपाएपछि हैरान बनेका हुन् ।
भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान शेष जब्बर भन्नुहुन्छ, “धुले बीउ राख्न हुनेगरी पानी त प¥यो, तर भरपर्दो बीउ पाइएको छैन । बजारमा किनिएको बीउ राम्रो उमारेको नहुँदा विगतमा दुःख पाएका छौँ ।”
बजारमा किनिएको बीउ राम्ररी नउम्रने, नगाँजिने र पोटिलो दाना नलाग्ने गरेको विगत अनुभवले जब्बारलाई अब के गर्ने भन्ने चिन्ताले पिरोलेको छ । जब्बारमात्र नभएर यहाँका अधिकांश किसान अहिले आफ्नै स्थानीय तहको कृषि शाखाबाट बीउ पाउने आशमा बसेका छन् ।
धेरैजसो स्थानीय तहका कृषि शाखाले किसानलाई सुपथ मूल्यमा दिइने बीउको व्यवस्था नगर्दा किसान फेरि खुला बजारकै भरपर्नुपर्ने भएको छ । सो बस्तीकै अर्का किसान गङ्गाराम महतो सम्झनुहुन्छ, “पोहोर, परार सस्तो महँगो जे–जस्तो भए पनि वडा कार्यालयबाट बीउ पाइएको थियो । यसपटक बीउ वितरणबारे थाहा पाइएन ।”
जेठ मध्यअघि नै राखिसक्नुपर्ने ब्याड यसपटक वर्षा ढिलो हुँदा किसान पछि परेका हुन् । अब समय निकै घर्किसक्दा धान रोप्नै नपाइने पो हो कि भन्ने चिन्ताले किसानको पिरोलो बढेको हो । राम्रो बीउको अभावले मुख्य बाली मानिएको धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपाली अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका छन् । हिउँदे वर्षा राम्रो नपर्दा चैतेबालीबाट राम्रो उत्पादन लिन नसकिएको र वैशाखे तरकारीबाली खडेरीमा परेर पहेँलिएको हुँदा किसानको आश अब धानमा टिकेको हो । यो जिल्लाकै मुख्यबाली समयमा लगाउन नपाइएपछि गुजाराको सङ्कट बढ्ने किसानको चिन्ता छ ।
बर्दिवास–९ पशुपतिनगरका ६५ वर्षीय किसान रामचन्द्र थापामगर बीउकै खोजीमा भौतारिनुपरेको छ । पहिले नै पानी नपर्दा बर्खे धानको बीउ राख्ने समय नभएको हुँदा अब हिउँदे धानको मात्र किसानको आश छ ।
असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ सुरु गरिनुपर्ने यो खेतीको तालिका छ । जेठ सकिनै लाग्दासम्म बीउ नपाएर ब्याड राख्न नपाएका किसान रनभुल्ल परेका छन् । जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान इब्राहिम राइन भन्नुहुन्छ, “जेठ सकिनै लाग्यो, धानको बीउ पाइएको छैन । यसपाली राम्ररी धान रोप्न पाइने छाँट छैन ।”
जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिएकाले बीउकै लागि बजारको मुख ताक्नु परेको किसान बताउँछन् । भङ्गाहा–८ धर्मपुरका ७५ वर्षीय किसान राजेन्द्र बछार थारु भन्नुहुन्छ, “हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहित दर्जनौँ धानका जात हुन्थे । विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।”
पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा बीउ नपाएर सास्ती पाइने गरेको किसानको भोगाइ छ । “कहिलेकाहीँ त वडा कार्यालयले भाउ मिलाएरै दिन्थ्यो, यसपाली भने बीउ पाइएन,” बछारकै छिमेकी रामसागर राउत भन्नुहुन्छ ।
जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यद्यपि, कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर लाग्ने हुँदा अधिकांश खेती आकाशे पानीकै भरमा छ । स्थायी कुलो, नहर १० प्रतिशतमा मात्र पुगेको हुँदा किसानले कहिल्यै सजिलै समयमा खेती लगाउन पाएका छैनन् ।
यो अवस्थाले बर्सेनिजसो अपेक्षित धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका बालीविज्ञको स्वीकारोक्ति छ । कार्यालयका बालीविकास अधिकृत राजकिशोर यादव भन्नुहुन्छ, “समयमा पानी र बीउ नपाउँदा किसान हैरान भएका छन् । मुख्यरूपमा अहिले किसानलाई बोरिङ, इनार र स्यालो ट्युबबेलजस्ता वैकल्पिक सिँचाइमा प्रोत्साहित गरिँदैछ, यसले आकाश ताक्नुपर्ने अवस्थामा राहत दिनेछ ।”
बीउका लागि स्थानीय तहका कृषि शाखाको पहलकदमी बढ्दा किसानले राहत पाउने यादव बताउनुहुन्छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये धेरैजसो कृषि शाखा सञ्चालनबारे बेखबरझैँ रहेका किसानको गुनासो छ ।
जिल्लाका एकाध स्थानीय तहबाहेक किसानलाई समयसमयमा सल्लाह दिने, बाली हेरिदिने, बीउको प्रबन्ध गरिदिनेजस्ता काम हेर्ने गरी कृषि शाखा सञ्चालन हुन नसकेको अखिल नेपाल किसान महासङ्घका संयोजक पर्शुराम ठाकुर बताउनुहुन्छ ।
ठाकुर भन्नुहुन्छ, “स्थानीय तहको प्राथमिकतामा बीउ, सिँचाइ र समयमा मलखादको प्रबन्ध परेको देखिँदैन । यो अवस्थाले किसान निरास छन् ।” उहाँका अनुसार कृषि सामग्रीको बजार व्यवस्थापन नगरिँदा र गुनासो सुनाउने ठाउँ नपाइँदा किसानको निराशा बढेको हो ।
यसैबिच जिल्लाको मटिहानी नगर कार्यपालिकाको कार्यालयले भने कृषि शाखा सक्रियतापूर्वक काममा रहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा भन्नुहुन्छ, “हामीले खेतीपातीको बेला बीउ, मलखाद र अन्य प्रबन्धमा ध्यान दिँदै आएका छौँ । यसैगरी, फलपूmल रोपन, मखानखेतीको बजार व्यवस्थापन र गाई बाख्रापालनमा सहयोग कार्यक्रम नियमित छन् ।”
स्थानीय तहले कृषि शाखा सञ्चालनमा ल्याउन नसक्दा आवश्यक सेवा र परामर्श किसानले पाउन नसकेका भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त रामबहादुर भुजेल बताउनुहुन्छ । सहसचिवको सेवाबाट निवृत्त हुनुभएका भुजेलले भन्नुभयो, “जिल्लास्थित कृषि ज्ञानकेन्द्र प्रदेश सरकार मातहत छन् । पहिलेका केन्द्र र उपकेन्द्र स्थानीय तह मातहत छन्, जिल्लास्थित कृषि ज्ञानकेन्द्र र स्थानीय तहका निकायबिच समन्वयको राम्रो तारतम्य मिल्न सकेन ।”
सैद्धान्तिकरूपमा भएको व्यवस्थाभित्र स्थानीय तहले कृषि शाखा सञ्चालन गर्न नसक्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले कुनै काममा नदेखिएको आम कुरा नै बनेको छ । यहाँका स्थानीय तह कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गर्छन् ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्नुहुन्छ, “यो विल्कुल विषय दक्षतामा आधारित क्षेत्र रहेछ । किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन ।”
स्थानीय तहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आफूहरू स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आफूहरूसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको गुनासो छ ।
सिङ्गो कृषिक्षेत्र राज्यबाट उपेक्षित भएको यहाँका किसानको गुनासोमा बुद्धिजीवी पनि सहमत देखिएका छन् । विगतमा कृषि क्षेत्रमा लामो सरकारी सेवा दिएर अवकाश लिनुभएका भङ्गाहा–६ सग्रामपुरका जासर यादव भन्नुहुन्छ, “कृषि क्षेत्र पूरै बेवारिस जस्तै देखियो । अहिलेको अवस्थाले कृषि क्षेत्र तहसनहस हुने देखिन्छ ।”
जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये करिब ४५ हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको छ । अहिले धानको भरपर्दो बीउ नपाउँदा किसानले पर्याप्त धान रोपाइँ गर्न नसक्ने देखिएको छ ।
चैतेबाली र वैशाखे तरकारीखेतीबाट अपेक्षित उत्पादन लिन नसक्दा अब गुजाराको एउटै साहारा देखिने धानबाली लगाउनसक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन् । यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश सरकार, स्थानीय तह र कृषि सम्बद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *