भर्खरै :

डेङ्गु ज्वरो र होमियोप्याथिक उपचार

डेङ्गु ज्वरो र होमियोप्याथिक उपचार

डेङ्गु ज्वरोको इतिहास र महामारी (Epidemic History) :
विश्वमा १८ औँ शताब्दीदेखि डेङ्गु ज्वरोको सङ्क्रमण भएको तथ्याङ्क भए तापनि दोस्रो विश्वयुद्धपछि विश्वव्यापी स्वास्थ्य समस्याको रूपमा भएको देखिन्छ । विश्वमा डेङ्गु ज्वरोको बिरामी सर्वप्रथम इन्डोनेसियाको जकार्टामा सन् १७७९ मा पत्ता लागेको थियो । यो रोग विश्वको १ सय २८ भन्दा बढी देशहरूमा देखापरेको छ भने समय समयमा महामारीको रूपमा देखापर्ने गरेको छ । एक अध्ययनअनुसार १२८ देशमा करिब ३ अर्ब ९० करोड व्यक्तिहरू यस डेङ्गु ज्वरोको जोखिममा छन् । त्यसमध्ये करिब ७० प्रतिशत एसिया महादेशमा बसोबास गर्ने व्यक्तिहरू रहेका छन् । बढ्दो विश्वको तापमान वृद्धि, वर्षा, बढ्दो सहरीकरण, जनसङ्ख्या वृद्धि र सहज विश्वव्यापी यात्राले डेङ्गु भाइरसलाई संसारका नयाँ नयाँ ठाउँमा सङ्क्रमण फैलाउने गरेको छ ।
गत वर्ष हाम्रो देशमा पनि डेङ्गु ज्वरो महामारीको रूपमा देखापरेको थियो । गत वर्ष देशभरि ५१,१४३ जनालाई डेङ्गु रोगबाट सङ्क्रमित भएको थियो भने यो लेख तयार गर्दाको समयसम्म यस वर्ष ७१ वटा जिल्लामा १,१३० जना व्यक्तिहरूमा डेङ्गु रोगबाट सङ्क्रमित भएको पाइएको छ । यस वर्ष पनि गर्मी र वर्षात्को समयमा देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ । नेपालमा डेङ्गु ज्वरोको बिरामी सर्वप्रथम सन् २००४ मा भारतबाट फर्किएका व्यक्तिहरूमा पुष्टि भए यता प्रत्येक वर्ष यस रोगबाट सङ्क्रमित हुने व्यक्तिहरू बढ्दै आएको छ ।

डेङ्गु ज्वरोको परिभाषा (Definition) :
एडिस जातको पोथी लामखुट्टे (एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस) को टोकाइबाट सर्ने भाइरस रोगलाई डेङ्गु ज्वरो भनिन्छ । डेङ्गु ज्वरोलाई ‘ब्रेकबोन फिभर (Break Bone Fever)’ पनि भनिन्छ । यो रोग निश्चित समयमा आफै निको (Self Limited) हुने रोग हो । डेङ्गु (Dengue) शब्द अफ्रिकन शब्द डेङ्गा (Denga) बाट लिएको हो, जसको अर्थ हो ज्वरोसँग रक्तस्राव (Fever with Haemorrhage) हुनु हो । डेङ्गु ज्वरो एउटा लामखुट्टेको टोकाइबाट सर्ने अत्यधिक सङ्क्रामक एवम् सरुवा रोग हो । यो सरुवा रोग विश्वको उष्णप्रदेशीय र उपउष्णप्रदेशीय क्षेत्रहरूमा (Tropical and Subtropical areas) पाइने रोगमध्ये गम्भीर मानवीय स्वास्थ्य समस्याको रूपमा देखा परिरहेको छ ।

डेङ्गु ज्वरोको कारण (Aetiology) :


डेङ्गु ज्वरो फ्लाभिभाइरस वर्गको भाइरसको कारणबाट सङ्क्रमण हुने गर्छ । फ्लाभिभाइरस वर्गको डेङ्गु भाइरस चार प्रकारका वा सेरोटाइपका हुन्छन् । चार प्रकारका डेङ्गु भाइरस यस प्रकार छन् :
१. Dengue Virus type 1 (DEN-V 1) वा Serotype 1
२. Dengue Virus type 2 (DEN-V 2) वा Serotype 2
३. Dengue Virus type 3 (DEN-V 3) वा Serotype 3
४. Dengue Virus type 4 (DEN-V 4) वा Serotype 4
कुनै एक प्रकारको डेङ्गु भाइरसले एकपटक व्यक्तिमा सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिमा जीवनभर प्रतिरक्षात्मक क्षमता विकास हुन्छ । तर, अन्य प्रकारको डेङ्गु भाइरस वा सेरोटाइपद्वारा पछि हुने सङ्क्रमणले अझ गम्भीर प्रकारको डेङ्गु ज्वरोको जोखिम बढाउँछ । यसकारण, जीवनभरमा एक व्यक्तिलाई चारपटकसम्म डेङ्गु ज्वरोबाट सङ्क्रमित हुनसक्छ । कुनै कुनै व्यक्तिमा एकै समयमा एकभन्दा बढी डेङ्गु भाइरसले सङ्क्रमण भएको हुन पनि सक्छ ।

डेङ्गु ज्वरो सर्ने प्रक्रिया (Transmission) :
डेङ्गु ज्वरो एडिस वर्गको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु भाइरस सर्छ । डेङ्गु ज्वरो सार्न एडिस वर्गको लामखुट्टेको विभिन्न प्रजातिहरूमध्ये एडिस एजिप्टी (Aedes Aegypti) र एडिस एल्बोपिक्टस (Aedes Albopictus) नामक लामखुट्टेको मुख्य भूमिका रहेको हुन्छ । एडिस वर्गको लामखुट्टेका प्रजातिहरू यसप्रकार छन् :


१. एडिस एजिप्टी (Aedes Aegypti)
२.एडिस एल्बोपिक्टस (Aedes Albopictus)
३. एडिस स्कुटेलारिस (Aedes Scutellaris)
४. एडिस पोलिनेसिन्सि (Aedes Polynesiensis)
५. एडिस भित्ताटस (Aedes Vittatus)
६. एडिस हाकान्सोनी (Aedes Hakanssoni)
एडिस जातिका लामखुट्टेहरू सामान्यतया घरभित्रै रहने हुन्छ । प्रायः अँध्यारो ठाउँहरू, ओछ्यानमुनि, झ्यालको पर्दा पछाडि, पानी राख्ने भाँडो भएको ठाउँ, पानी जम्ने ठाउँ, बाथरुमहरूमा बस्ने गर्दछ । यो लामखुट्टे सुनौलो घाम (बिहान सूर्य उदाएको करिब २ घण्टापछि र बेलुका घाम अस्ताउनुभन्दा करिब २ घण्टा अगाडि) सक्रिय हुने हुनाले यो अवधिमा बढी सतर्कता अपनाउनुपर्छ । तर पनि दिन र रातको समयमा पनि सक्रिय भइरहन्छ । यी लामखुट्टे करिब १०० मिटरजति उड्न सक्छ ।


डेङ्गु ज्वरो सङ्क्रमित एडिस जातको पोथी लामखुट्टे (एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस) को टोकाइबाट सर्छ । डेङ्गु भाइरसबाट सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा सार्छ । तर, यो रोग मानिसबाट मानिसमा सर्दैन । यदि गर्भवती महिलामा डेङ्गु ज्वरो भएमा शिशु जन्मेक्रममा आमाबाट शिशुमा पनि सर्न सक्छ । डेङ्गु भाइरस पानी जम्ने सफा ठाउँमा एडिस (एजिप्टाई र अल्बोपिक्टस) प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भाको रूपमा विकसित हुन्छ र पछि त्यहीँ लार्भा वयस्क लामखुट्टे भएर टोकेपछि डेङ्गु भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्दछ ।

डेङ्गु ज्वरोका लक्षणहरू देखापर्ने समयावधि (Incubation period) :
शरीरमा भाइरसको प्रवेशपछि लक्षणहरू देखापर्न लाग्ने समयावधिलाई ओथारो अवधि (Incubation period) भनिन्छ । डेङ्गु ज्वरो भएको बिरामीलाई लामखुट्टेले टोकेपछि लामखुट्टे सङ्क्रमित हुन्छ । सङ्क्रमित लामखुट्टले स्वस्थ व्यक्तिलाई टोक्दा भाइरस शरिरभित्र पसेपछि करिब ३ देखि १४ दिन (प्रायः ४ देखि ७ दिन) मा डेङ्गु ज्वरोका लक्षण तथा चिह्नहरू देखापर्ने हुन्छन् ।

डेङ्गु ज्वरोको लक्षण तथा चिह्नहरू (Clinical Features) :
डेङ्गु ज्वरोका लक्षण तथा चिह्नहरू सङ्क्रमण भएको ३ देखि १४ दिनभित्रमा देखापर्ने हुन्छ । लक्षणहरू देखापरेको २ देखि ७ मा हराएर जाने गर्दछ । डेङ्गु ज्वरोमा देखापर्ने लक्षण तथा चिह्नहरू यसप्रकार छन् :
– उच्च ज्वरो आउनु (High fever – 40°C/104°F)
– कडा प्रकारको टाउको दुखाइ (Severe headache)
– आँखाको पछाडिको भागमा पीडा हुनु (Pain behind the eyes)
– शरिरका मांशपेसीहरू दुख्नु (Muscle pains)
– शरीरका जोर्नीहरू र हाडमा अत्यधिक दुख्नु (Bones and joint pains)
– वाक्वाकी लाग्नु (Nausea)
– बान्ता हुनु (Vomiting)
– शरीरमा ग्रन्थीहरू सुनिनु (Swollen glands)
– शरीरमा बिमिरा वा दावरहरू आउनु (Rashes in body)


यदि पहिले सङ्क्रमित भएको व्यक्तिलाई पुनः दोस्रोपटक सङ्क्रमण भएमा गम्भीर प्रकारको डेङ्गु ज्वरो (Sever Dengue Fever) हुनसक्छ । गम्भीर प्रकारको डेङ्गु ज्वरोलाई Dengue Haemorrhagic Fever (DHF) वा Dengue Shock Syndrome (DSS) भनिन्छ । गम्भीर प्रकारको डेङ्गु ज्वरोमा डेङ्गुको लक्षण तथा चिह्नहरूका साथै निम्न लक्षण तथा चिह्नहरू पनि हुने हुन्छ, जुन यस प्रकारका छन् :
– पेटमा कडा प्रकारको दुखाइ हुनु (Severe abdominal pain)
– तारन्तार बान्ता भइरहनु (Persistent vomiting)
– छिट्टो छिट्टो सास फेर्नु (Rapid breathing)
– शरीरको विभिन्न ठाउँहरूमा रक्तस्राव हुनु (Bleeding in different parts of the body) : आँखा, नाक, छाला र गिजाबाट रक्तस्राव भएको हुनुका साथै आन्तरिक रक्तस्राव पनि भएको हुनु ।
– रगत बान्ता हुनु (Blood in vomit)
– दिसामा रगत आउनु (Blood in stool)
– अत्यधिक थकाइ लाग्नु (Fatigue)
– छटपटाहट हुनु (Restlessness)
– ज्यादै तिर्खा लाग्नु (Being very thirsty)
– कमजोरी महसुस हुनु (Feeling extreme weak)
– कलेजो सुनिएर ठुलो भएको हुनु (Enlargement of liver)
– शरीरको छाला चिसो हुनु र सेतोपन देखिनु (Pale and cold skin)
– यदि रक्तस्राव बढी मात्रामा भएमा बिरामीमा सङ्घात (Shock) र मृत्यु पनि भएको हुन्छ ।

डेङ्गु ज्वरोका खतराका सङ्केतहरू (Warning Signs) :
– पेटमा कडा प्रकारको पीडा (Severe abdominal pain)
– लगातार बान्ता भइरहनु (Persistent vomiting)
– रक्तस्राव हुनु (Bleeding diorders) : नाकबाट रक्तस्राव हुनु (Severe Epistaxis), गिजाबाट रगत आउनु (Bleeding gums), दिसा कालो हुनु (Black stools), पिसाबमा रगत आउनु (Hematuria), रगत बान्ता हुनु (Hematemesis), महिनावारी हुँदा बढी रगत आउनु (Extensive menstrual bleeding), आँखामा रक्तस्राव हुनु (Bleeding in eyes) । यस अवस्थालाई Dengue Haemorrhagic Fever भनिन्छ ।
– छिटोछिटो सास फेर्नु (Rapid breathing)
– कलेजो ठुलो हुनु (Liver enlargement)
– अवस्था जटिल हुँदै जानु (Worsening clinical parameters)
– कडा चक्कर आउनु (Giddiness)
– चिसो हातखुट्टाहरू (Pale cold clammy extremities)
– ४– ६ घण्टासम्म पिसाब नहुनु (Less / no urine output for 4-6 hours)
यी लक्षण तथा चिह्नहरू भएमा बिरामीलाई तत्काल विशेष उपचारको आवश्यकता पर्ने भएकोले सकेसम्म नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा छिट्टो पु¥याउनुपर्दछ अन्यथा परिणाम गम्भीर हुनसक्छ ।

डेङ्गु ज्वरोको वर्गीकरण (Grading of Dengue Fever Infection) :
डेङ्गु ज्वरोको वर्गीकरण र गम्भीरता तलको तालिमा देखाइएको छ :

डेङ्गु ज्वरोको निदान (Diagnosis of Dengue Fever) :
डेङ्गु ज्वरोको निदान लक्षण तथा चिह्नहरूको आधारमा गर्न सकिने भए तापनि डेङ्गु ज्वरोको प्रकार र गम्भीरता पहिचान गर्न निम्न जाँचहरू (Laboratory Investigations) गर्ने गर्नुपर्छ ।
– Blood tests :
Platelets count : 100,000 or less
Haemoglobin : Low
Hemoconcentration : Hct increased by 20% or more
WBC low count : 1700 or less
Liver function test : SGPT, SGOT : High
Rt PCR test : Positive
IgG, IgM:
– Tourniquet test
– Urine test: Blood in stool, Protein leak
– Stool test: Occult blood positive
– Ultrasonography

डेङ्गु ज्वरोको उपचार (Management of Dengue Fever) :
डेङ्गु ज्वरो भाइरल ज्वरो भएको हुनाले यसको खास उपचार छैन । डेङ्गु ज्वरो निको पार्ने कुनै खास औषधि वा प्रतिजैविक औषधि (Antibiotics) हरू छैन । यो रोगको हालसम्म कुनै प्रभावकारी खोप पनि छैन । डेङ्गु ज्वरो आएका बिरामीहरूलाई गरिने व्यवस्थापन वा हेरविचार यसप्रकार छन् :
– प्रशस्त मात्रामा झोल पदार्थहरू सेवन गर्न दिने । जस्तै : दाल, सुप, फलफूलका जुसहरू, दूध, मनतातो पानी आदि तर बट्टामा प्याक गरिएका जुस वा रसहरू सेवन गर्न नदिने ।
– आराम गर्ने ।
– प्रशस्त सुत्ने ।
– पोषिलो एवं सन्तुलित खानेकुराहरू खाने ।
– बिरामीलाई झूलभित्र सुताउने ।
– लक्षणअनुसार लक्षणको उपचार गर्ने । जस्तै : ज्वरो धेरै आएमा पारासिटामोल सेवन गर्न दिने । स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाहअनुसार मात्र पारासिटामोलको सेवन गर्न दिने ।
यदि बिरामीको अवस्था जटिल हुँदै गएमा वा गम्भीर प्रकारको बिरामी (Dengue Haemorrhagic Fever वा Dengue Shock Syndrome) भएमा अस्पतालमा नै भर्ना गरी विशिष्ट किसिमको उपचार आवश्यक पर्ने भएको हुनाले :
– तुरुन्त नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा पु¥याउने ।
– आवश्यकताअनुसार सलाइन पानी (Intravenous fluid) दिने ।
– धेरैमात्रामा रगत खेर गएको बिरामीलाई रगत पनि दिनुपर्ने हुन्छ (चिकित्सकको सल्लाह अनुसारमात्र) ।

डेङ्गु ज्वरोमा होमियोप्याथिक उपचार (Homoeopathic Treatment for Dengue Fever) :
डेङ्गु ज्वरो भाइरसको सङ्क्रमणबाट हुने रोग भएकोले यसको खास उपचार छैन । हालको समयसम्म यो डेङ्गु ज्वरो कुनै प्रभावकारी खोप पनि उपलब्ध छैन । यस्तो अवस्थामा होमियोप्याथिक उपचारबाट डेङ्गु ज्वरो बिरामीहरूलाई राहत दिन सकिन्छ । होमियोप्याथीमा रोगीको स्वभाव (Nature of Patient) र रोगको स्वभाव वा प्रकृति (Nature of Disease) अनुसार उस्तै गुण भएको औषधिको ज्यादै कम मात्रा प्रयोग गरी उपचार गर्ने गरिन्छ । समानता (Similia similibus curenutr), एकल औषधि (Single Remedy), कम मात्रा औषधि (Minimal Dose) र रोगलाई होइन रोगीलाई नै उपचार गर्ने (Treats the patient not the Disease) आदि होमियोप्याथिक उपचार पद्धतिको आधारभूत सिद्धान्तहरू (Basic Principles) हुन् । यी सिद्धान्तहरूको आधारमा होमियोप्याथीमा डेङ्गुबाट सङ्क्रमण भएको बिरामीलाई उपचार गर्ने गरिन्छ । डेङ्गुबाट सङ्क्रमित भएको व्यक्तिलाई निम्न तल उल्लेखित गरेको होमियोप्याथिक औषधिहरू सेवन गर्न दिइन्छन् । Aconite, Arsenicum album, Belladonna, Bryonia alba, Camphora, Cantharis, Carbo vegetabilis, China officinalis, Crotalus horridus, Eupatorium perfoliatum, Gelsemium, Ipecacaunha, Lachesis, Millefolium, Nux vomica, Phosphorus, Rhus toxicodendron, Ruta graveolens, Veratrum album, …. आदि डेङ्गु ज्वरोको उपचारमा प्रयोग गरिने होमियोपयाथिक औषधिहरू हुन् । यी होमियोप्याथिक औषधिहरू सम्बन्धित होमियोप्याथिक चिकित्सकको परामर्शअनुसार सेवन गर्नुपर्दछ ।

लामखुट्टेको टोकाइबाट कसरी बच्ने ?


लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु ज्वरोबाट बच्ने प्रमुख उपाय हो । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न निम्न उपायहरू अपनाउनुपर्दछ :
– झ्याल र ढोकामा जालीको ढोका राख्ने ।
– शरीरमा पूरा छोप्ने लुगा लगाउने ।
– झुलको प्रयोग गर्ने ।
– बिहान र साँझपख घरबाहिर नबस्ने ।
– झाडी भएको ठाउँमा नबस्ने ।
– लामखुट्टे मार्ने धुप वा झोलको प्रयोग गर्ने ।
– बिरामीलाई झुलभित्र राख्ने ।
– घर बाहिर जाँदा तोरीको तेल र नरिवलको तेल मिलाएर लगाउने वा अन्य लामखुट्टेले टोक्नबाट बचाउने मलहम वा झोलको प्रयोग गर्ने ।
– वातावरणीय सरसफाइ गर्ने ।

डेङ्गु ज्वरोपछि हुने समस्याहरू (Complications of Dengue Fever) :
– ज्यादै कमजोरी भइरहनु,
– शरीरका जोर्नीहरू दुखिरहनु,
– हाड र मांशपेशीहरू दुख्नु,
– कपाल झर्नु,
– रक्तअल्पता,
– छाला सुख्खा,
– शरीर चिलाउने,
– यी समस्याहरू ६ महिनाभन्दा बढी समयसम्म रहिरहन सक्छ ।

रोकथामका उपायहरू (Preventive Measures) :


– वातावरणीय सरसफाइ गर्ने ।
– पानी जम्ने ठाउँहरू पुरिदिने ।
– घरको वरपर झारपाट र झाडी भए हटाउने ।
– गमला र अरु भाँडाकुँडाहरू भएको ठाउँमा सफा राख्ने ।
– समय समयमा लामखुट्टे मार्ने कीटनाशक औषधिहरू छर्कने ।
– जनचेतना जगाउने खालका विभिन्न कार्यक्रमहरू गर्ने । जस्तै : ¥याली गर्ने, पर्चा बाँड्ने, पोस्टर टाँस्ने, माइकिङ गर्ने, सचेतना तालिम ।
– लामखुट्टे रहने बासस्थानलाई नष्ट गरौँ, डेङ्गु ज्वरोबाट आफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।
– डेङ्गु ज्वरो नियन्त्रणमा समुदायको सक्रिय सहभागिताले नै प्रमुख भूमिका रहन्छ ।

सन्दर्भ सामग्रीहरू :
1. CECIL TEXTBOOK OF MEDICINE, 16TH EDITION, W.B. SAUNDERS COMPANY, PHILADELPHIA
2. DAVIDSON’S PRINCIPLES AND PRATICE OF MEDICINE, 18TH EDITION, CHURCHILL LIVINGSTONE, LONDON
3. Dengue : Guidelines for Diagnosis, Treatment, Prevention and Control. 2009, Geneva: World Health Organization. 1-147.
4. HARRISON’S PRINCIPLES OF INTERNAL MEDICINE, 17TH EDITION, Mc Graw Hill, USA
5. Homeopathic Principles and Practice of Medicine, Dr. V.K. Chauhan, and Dr. Meeta Gupta, 1st Edition, 2007, B. Jain Publishers, India
6. Homoeopathic Aid For Acute Diseases, Bishnu Bhkata Kawan, 1st EDITION, 2001
7. HOMOEOPATHIC THERAPEUTICS, Samuel Lilienthel, 18TH IMPRESSION, B. Jain Publishers, India
8. KUMAR & CLARK’S CLINICAL MEDICINE, 7TH EDITION, ELSEVIER, LONDON
9. PARK’S TEXTBOOK OF PREVENTIVE AND SOCIAL MEDICINE, K. Park, 21ST EDITION, M/s BANARSIDAS BHANOT PUBLISHERS, INDIA
10. POCKET MANUAL OF HOMOEOPATHIC MATEIA MEDICA AND REPERTORY, William Boericke, 8TH IMPRESSION, B. Jain Publishers, India
11. PRACTICAL HOMOEOPATHIC THERAPEUTICS, W.A. Dewey, 3RD EDITION, B. Jain Publishers, India
12. SYNTHESIS REPERTORIUM HOMOEOPATHICUM SYNTHETICUM, Dr. Frederik Schroyens, EDITION 8.1, B. Jain Publishers, India
13. Various Internet sources

Leave a Reply

Your email address will not be published. Required fields are marked *