भर्खरै :

माक्र्सको ‘मेटाबोलिक फाटो’ के हो ?

  • बैशाख ११, २०८३
  • डेनिस टालोन
  • विचार
माक्र्सको ‘मेटाबोलिक फाटो’ के हो ?

पुँजीवादले पृथ्वीसँग दिगो सम्बन्ध कायम राख्न सक्दैन । यसको संरचनाले त्यो काम गर्न रोक्छ । आज हामी यही विचारमा केन्द्रित भएर ‘मेटाबोलिक फाटो’ को विषयमा चर्चा गर्छौँ ।
“पुँजीवादी उत्पादनले उत्पादनको सामाजिक प्रक्रियाको विधि र स्तरको मात्र विकास गर्छ । सँगै, यसले माटो र कामदारजस्ता धनका मूल स्रोतहरूलाई कमजोर बनाउँछ ।”
तपाईँका हजुरबुबाले खाने गोभी आजको भन्दा सानो आकारको हुन्थ्यो । तर, त्यसले आजको गोभीले भन्दा बढी पोषण दिन्थ्यो । ठुलठुला गोभीबाट बढी नाफा आउने देखेपछि किसानहरूले भारिला गोभीहरू उत्पादन गर्न थाले । यसले गर्दा गोभीको वजन र आकारमा जोड दिन थालियो । त्यसले दिने भिटामिन र मिनरल ओझेलमा प¥यो । किसानहरूले सिन्थेटिक मल पेलेरै उत्पादन बढाए । यसले गर्दा बजारमा गोभीको विनिमय मूल्य बढ्यो । तर, त्यसको उपभोग मूल्य (पोषण) घट्यो ।
कार्ल माक्र्सले धन र मूल्यबिच एउटा रेखा कोर्नुभयो । त्यो रेखा वा भिन्नताको मर्ममा यही अन्तर्विरोध लुकेको छ । यो व्यवस्थामा पुँजीका मागहरू परिपूर्ति गर्नका लागि प्रकृतिका भौतिक वस्तुलाई कसरी तन्काइन्छ र कसरी मेटाबोलिक फाटो पैदा गरिन्छ भनी यसबाट छर्लङ्ग हुन्छ ।
माक्र्स र मेटाबोलिक आदानप्रदान
माक्र्सले मेटाबोलिज्म (पाचन) को अवधारणा अघि सार्नुभयो ।
(जर्मन भाषामा यसलाई माक्र्सले Stoffwechsel भन्नुभयो ।) यसको अर्थ थियो – मानव समाज र पृथ्वीबिच हुने एउटा भौतिक चक्र । पुँजीवादको संरचना नै कस्तो छ भने यसले त्यो चक्रमा फाटो ल्याउँछ ।
सहरीकरणमार्फत पोषक तत्वहरूलाई पुँजीवादले भौतिक रूपमा अन्तै सार्छ । खाना वा रेसादार फलफूल तरकारीलाई गाउँबाट सहर लग्छ । यसरी पुँजीवादले एउटा भौगोलिक फाटो ल्याउँछ । यो फाटोका कारण नाइट्रोजन र फोस्फोरस आफू पैदा भएको जमिनमा फर्किने प्राकृतिक प्रक्रिया अवरुद्ध हुन्छ । प्रकृतिलाई पुँजीले पाउने ‘सित्तैको उपहार’ ठानिने हुनाले त्यसको कुनै हिसाब राखिन्न । यसले गर्दा पुँजीवादी व्यवस्थाले आफूले उजाडेको स्थानमा भर्पाइ गर्ने लेठो गर्दैन । माक्र्सको रचना ‘पुँजी’ को पहिलो खण्डमा यसलाई ‘दोहोरो विनाश’ भनिएको छ । यो विनाशमा ठुला उद्योग र कृषिको ढाँचाले कामदार र माटोलाई कमजोर बनाउँछ । यही शोषण वा दोहनका कारण माक्र्सले ‘पुँजी’ को तेस्रो खण्डमा पृथ्वीमाथि निजी स्वामित्व अर्थहीन भएको तर्क गर्नुभयो । उहाँले जोड दिएर भन्नुभयो – हामी मालिक होइनौँ बरु सामान्य माली हौँ । भावी पुस्ताका लागि पृथ्वीको मेटाबोलिज्मलाई कायम राख्नु हाम्रो जिम्मेवारी हो । यो नै ‘सामाजिक उत्पादनको सञ्चालक नियम’ हो ।
पौल बर्केट र मूल्यको विरोधाभाष
पौल बर्केटको पुस्तक छ – ‘माक्र्स र प्रकृति’ । पुस्तकमा उहाँले यो पर्यावरणीय ¥हासको मूल कारण आर्थिक ‘अन्धोपन’ हो भनी व्याख्या गर्नुभएको छ । यो सङ्कट धन र मूल्यबिच हुने संरचनात्मक बेमेलबाट उत्पन्न हुन्छ । पुँजीवादी व्यवस्थामा धनमा मानव आवश्यकता परिपूर्ति गर्ने सबै भौतिक तागत हुन्छ । प्रकृति यो धनको एक प्राथमिक सहजन्मदाता हुन्छ । तर, पुँजीवादी व्यवस्थाको हिसाबमा मूल्य मात्र चढ्छ । यो मूल्य उत्पादनका लागि चाहिने मानिसको श्रमकालले निर्धारित गरेको हुन्छ ।
प्रकृतिका प्रक्रियाहरूमा ज्यालादारी श्रम भन्ने हुँदैन । त्यसैले पुँजीवादले यी प्रक्रियालाई ‘सित्तैको उपहार’ भन्छ । यसले गर्दा खातामा एकदम डरलाग्दो रिक्तता आउँछ – पुँजीवादी व्यवस्थाले जङ्गल फाँड्नमा प्रयोग हुने श्रमको लगत त राख्छ तर जङ्गलले चुकाउनुपर्ने जैविक मूल्य देख्न सक्दैन । जब ‘मूल्य’ नै समाजलाई सङ्गठित गर्ने सिद्धान्त बन्छ, तब उत्पादनका हरेक निर्णयमा नाफाघाटा हेर्न थालिन्छ । प्राकृतिक सुव्यवस्थालाई कसरी कायम गर्ने भन्ने कुरा छायामा पर्छ । यसकारण, आजभोलि फेसनमा आएको ‘हरित पुँजीवाद’ पनि यो दोषबाट बच्न सक्दैन । यसले जुन अन्तर्विरोध हल गर्ने वाचा गर्छ, आफै त्यो अन्तर्विरोधमा फस्छ । कार्बन बजार यसको उपयुक्त उदाहरण हो । प्रकृतिको ‘मूल्य’ तोक्ने जुनसुकै नीतिसँग पुँजीवादी ढाँचा लागु गर्नेबाहेक अर्को उपाय हुँदैन ।
जोन बेलामी फोस्टर र मेटाबोलिक फाटो
मेटाबोलिक फाटो पहिल्याउने काम जोन बेलामी फोस्टरले गर्नुभयो । यो अवधारणा कहाँबाट आयो र यसले किन अर्थ राख्छ भनी बताउनुभयो । माक्र्सले जस्टस भोन लिबिगको प्रभावमा परेर मेटाबोलिक फाटोको विचार विकास गर्नुभएको थियो । लिबिग कृषि रसायनविद् हुनुहुन्थ्यो । उहाँले माटोको उर्वराशक्ति क्षीण हुँदै गएको विषयमा अनुसन्धान गर्नुभएको थियो । माक्र्सको नजरमा यो अनुसन्धान त्यो बेलाका अर्थविदहरूले लेखेका कुनै पनि रचनाभन्दा कम महत्वको थिएन, बरु माथि नै थियो । फोस्टरको विचारमा माक्र्सले Stoffwechsel शब्द प्रयोग गर्नुभएको थियो । यो शब्द प्रकृति विज्ञानबाट सापट लिइएको थियो । किनभने, उहाँले जीवनको भौतिक आधार÷अवस्थामा आइलागेको भौतिक फाटोको चर्चा गर्दै हुनुहुन्थ्यो । व्यवस्थापन गरेर यो फाटोबाट पार पाउन सकिन्न । मूल्य तोकेर बजारीकरण गर्दैमा यो फाटो हट्दैन । किनभने, यो व्यवस्था तत्काल आउने आर्थिक नाफाबाट प्रेरित छ । पुस्तौँसम्म जीवनलाई जोगाइराख्ने प्राकृतिक अवस्थालाई कसरी दिगो बनाउने भन्ने कुरासँग पुँजीवादको सरोकार छैन । फोस्टरले माक्र्सको यो तर्कलाई पुनर्जीवन दिनुभयो । यो तर्कले हामीलाई गोभीको समस्याको गाँठी कुरा पहिल्याउन मद्दत गर्छ† पुँजीवाद कसरी प्राकृतिक संसारसँग जोडिएको छ भनी यसको संरचनात्मक विशेषता बताउँछ ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *