भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९

प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द
भदौ २३ गते बिहान ८ः३० देखि सिंहदरबारको पेरीमिटर सुरक्षामा खटिएको थिएँ । माइतीघर मण्डलामा प्रदर्शन सुरुमा सामान्य नै थियो । केही समयमै बुलेट मोटरसाइकलमा टाउकोमा रुमाल बाँधी आएकाहरूले भीडलाई उक्साउने, भीडलाई सिंहदरबारको पश्चिम र दक्षिण गेटतर्फ धकेल्ने प्रयास गरेपछि सुरक्षाको संवेदनशीलता बढेको थियो ।
माइतीघर मण्डलामा रहेका प्रदर्शनकारीहरू राष्ट्रिय ट्रमा सेन्टरतर्फ हिँडेको जानकारी प्राप्त भएपछि मैले नयाँ सडकस्थित सुनचाँदी व्यवसायीहरूलाई आ—आफ्नो पसल बन्द गर्न जानकारी गराएको थिएँ ।
घटनामा विभिन्न स्वार्थसम्बद्ध समूहले सम्भावित घुसपैठको आशङ्का रहेकोले निष्पक्ष छानबिन आवश्यक रहेको छ । कफ्र्युको कारण स्थानीय सहयोगी मानिसहरू बाहिर निस्कन सकेनन्, सेना उपस्थित हुँदा पनि तोडफोड रोक्न नसकिएकोले प्रहरी मनोबलमा असर प¥यो । सशस्त्र प्रहरीको परिचालन के कुन अवस्थामा हुनुपर्ने हो सो कुरा यकिन गर्नुपर्ने देखिन्छ ।
प्रहरी वृत्त बालाजुका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्ट
भदौ २३ गते प्रहरी वृत्त बालाजुमा भीडले चारैतिबाट घेराबन्दी गरी ढुङ्गा, पेट्रोल बम प्रहार, आगजनी र तोडफोड ग¥यो । सो दिन हर्नेट १ नाल, सर्टगन २ नाल र चाइनिज पेस्तोल १ नाल गरी कुल ७ नाल लुटिएका थिए, जसमा हालसम्म २ थान रिकभर भएको छ । करिब १७३१ राउन्ड गोली बेपत्ता छन् । करिब ७४ जना थुनुवा अभिलेख राखी छाडियो । हातिहतियार सुरक्षित गरी करिब १५ः३० बजे नेपाली सेनाको १ नं. बाहिनी नेपालटारमा सरेको हुँ ।
आन्दोलनमा विभिन्न स्वार्थ समूहहरूको घुसपैठ भएको देखिन्छ । मोटरसाइकल समूह, अराजक तत्व र बाह्य परिचालनले आन्दोलनलाई हिंसात्मक बनाएको थियो । सशस्त्र प्रहरीबाट अपेक्षित सहयोग आएन ।
प्रहरी वृत्त सिंहदरबारका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनार्दन घिमिरे
भदौ २३ गते करिब १०ः३० मा सरकारविरोधी नारा लगाउँदै प्रदर्शन नयाँ बानेश्वरतर्फ अघि बढ्यो । कफ्र्यु आदेश १२ः३० बजे जारी भयो तर ठुलो सङ्ख्याको प्रदर्शनकारीले आदेशको बेवास्ता गरेका थिए ।
भदौ २४ गते करिब ३ बजेतिर सिंहदरबारको दक्षिण गेटतर्फ जाँदा प्रदर्शनले मेरो सञ्चार सेटसमेत लुटेर लगे ।
कार्यालयमा रहेका सीमित जनशक्तिले हतियार र गोलीगट्ठा वनटन ट्रकमा लोड गरी सुरक्षित स्थानको लागि नेपाली सेनाको बन्दोबस्ती गणमा लैजाँदा गेट नखुलेपछि प्रधानकार्यालय नक्सालसम्म पु¥याएका थियौँ ।
भदौ २४ गते सिंहदरबार परिसरभित्र धेरै ठाउँमा एकैपटकको आक्रमण, भीडको अत्यधिक सङ्ख्या, न्यून जनशक्ति र तालुक कार्यालयबाट थप फोर्स पठाउन नसकिएको अवस्थाका कारण उक्त क्षति रोक्न असमर्थ भएको हो ।
भदौ २३ गते सशस्त्र प्रहरीबाट सहयोग भए पनि २४ गते क्षति रोक्न अपेक्षाकृत पर्याप्त सहकार्य भएन ।
प्रहरी वृत्त दरबारमार्गका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ
भदौ २४ गते घातक हतियार प्रयोग नगर्ने स्पष्ट निर्देशन आएको थियो । ठुलो समूह खानी विभागतर्फबाट आएको र नेपाली सेनाले समेत अचानक कर्डन छाडेपछि प्रहरी टोलीबिचमै फसेकोले अत्यन्तै जोखिमपूर्ण अवस्था बन्यो । प्रदर्शनकारीहरूले उपराष्ट्रपति निवास आगजनी गरिदिए । ३ जना थुनुवालाई अभिलेखीकरण पछि छोडिएको थियो ।
भदौ २४ गतेको असामान्य अवस्था रोक्न नसक्नुका कारण थप प्रहरी वा बारुणयन्त्र तुरुन्त नपुग्नु, भीडले देख्ने बित्तिकै आक्रमण गर्न सुरु गर्नु, माइकिङ गर्दा उल्टै प्रहरीमाथि पेट्रोल बम, रड, इँटा प्रहार हुनु आदि रह्यो । हजारौँको सङ्ख्यामा निर्देशनविहीन तर आक्रामक गतिविधिले स्वार्थ समूहबाट घुसपैठ भएको अनुमान नकार्न सकिँदैन । सामाजिक सञ्जालका विभिन्न सामग्रीहरू प्रमाणका रूपमा उपयोग गर्न सकिने छ ।
उपराष्ट्रपति निवासको दक्षिणतर्फ नेपाली सेना तैनाथ रहेको, तर निर्णायक क्षणमा सेना कर्डन छाडेपछि प्रहरी टोलीबिचमै परेर दुवै तर्फबाट आक्रमणमा फसेको हो ।
एकै साथ राजधानीका अधिकांश प्रहरी कार्यालय आक्रमणमा परेका कारण सहयोग पुग्न नसकेको, बारुणयन्त्र समयमै नआएको र निरन्तर जोखिमले मनोबल गिराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *