भर्खरै :

विचार

विचार

लघु कथा

सुमन सर, वैशाख १८ गते मे १ को दिन मनाइने अन्तर्राष्ट्रिय मजदुर दिवसमा जाने होइन ! ? जनकपुरको एक विद्यालयमा कार्यरत शिक्षकद्वय सुमन ठाकुरसँग चिया खाने क्रममा उक्त जिज्ञासा राखे । सुमन सर देश अनि विश्वको राजनीति, परिवर्तनबारे त्यति चासो र अध्ययन गर्दैनथे । त्यसैले चियाको एक चुस्की लिएपछि सुमन सरले समिर सरलाई आफूले बुझेको कुरा भने, “म त मजदुर होइन, सामान्य शिक्षक मात्र हुँ । यो मजदुर दिवसले मलाई के दिन्छ ? यसले मेरो तलब सुविधा बढाई दिँदैन क्यारे !
समिर सरले पनि चियाको चुस्की लिएपछि भने, “सुमन सर यो मजदुर दिवसले विचार दिन्छ । हरेक वस्तु, घटनालाई वस्तुसङ्गत ढङ्गले हेर्ने आँखा दिन्छ । विचार नै मानिसको सबैभन्दा ठुलो र सशक्त हतियार हो । यसलाई कसैले झुकाउन सक्दैन । यही विचारले हिजो आज अमेरिकालगायत विश्वमा मजदुर आन्दोलन हुँदै छ । यही आन्दोलनले मजदुरको काम गर्ने समय र घण्टा, तलबलगायत अन्य सुविधा पायो । यही विचारले भीमसेन थापालाई देशभक्त र वीर योद्धा बनायो । उनी विश्वलाई आफ्नो मुठीमा राख्छु भनेर निस्केको बेलायती साम्राज्यवादसँग लडे । उनले देशलाई जोगाए । बेलायती साम्राज्यवादलाई एसियाबाटै भगाउन खोजियो तर नेपाली विभीषण, देशद्रोहीहरूले गर्दा त्यो पूरा भएन । त्यही विचारले गंगालाललाई गंगालाल बनाए । संहिद गंगालाल श्रेष्ठ राणा शासनसँग पटक्कै झुकेनन् । हामीले प्रजातन्त्र पायौँ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले संसारलाई माक्र्सवादी विचार दिनुभयो । यही विचारको हतियार प्रयोग गरेर लेनिनले १९१७ को अक्टोबर समाजवादी क्रान्ति सफल पार्नुभयो । यही विचारले रुस, चीन, क्युवा र प्रजग कोरिया अमेरिकी साम्राज्यवादलाई हाँक दिँदै छन् । शान्ति भए शान्ति, युद्ध भए युद्ध ।”
फेरि समिर सरले थपे, “तपाईँ आफूलाई भारी बोक्ने भरियाजस्तो मजदुर होइन म सामान्य शिक्षक मात्र हुँ भन्नुहुन्छ । तपाइँ पक्कै पनि दिनभरि भारी बोकेर गुजारा गर्ने भरियाजस्तो बलको काम गर्ने शारीरिक मजदुर होइन । तपाईँ हामी विद्यार्थीलाई शिक्षा, ज्ञान, विद्या, सीप बाँड्ने, सिकाउने बुद्धिको काम गर्ने बौद्धिक मजदुर हौँ । त्यो सेवा दिएबापत हामीलाई विद्यालयले तलब सुविधा दिएको हो । त्यही सुविधा प्रयोग गरेर हामी बाँच्दै छौँ ।
ए त्यसो पो । विचार भन्ने कुरा ठुलो रहेछ । पहिलाका मजदुरहरूले दिन रात चौबिसै घण्टा जोखिम मोलेर पशुले जस्तो काम गर्नु परेको रहेछ । ओहो ¤ मलाई त त्यस्तो कुरा केही थाहा छैन । खालि आफ्नो लागि पढियो । परिवारको लागि मात्र काम गरियो, हिँडियो । बस त्यतिमै सीमित भएर म त दिउँसोको लाटोकोसेरोजस्तो भएँ । ल म मेरा साथीहरूलाई पनि सँगै लिएर मजदुर दिवसमा सहभागी हुन्छु । मेरो विचारको आँखा खोलिदियौ । चियाको पैसा मै दिन्छु भन्दै चियाको पैसा दिएर त्यहाँबाट दुवै गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *