भर्खरै :

लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

लागूऔषधको ‘ट्रान्जिट’ बन्दै झापा
भद्रपुर (झापा), १२ असार । झापाको हल्दीबारी गाउँपालिका–१ का मनिस गुरुङलाई आजभन्दा आठ वर्ष पहिले धूमपानको स्वाद कस्तो हुन्छ भन्नेसम्म थाहा थिएन । उनको घरमा धूमपान सेवन गर्ने कोही नभए पनि घरबाहिर विद्यालय छरछिमेकमा अरूले खाएको देख्थे । आफूभन्दा एक–दुई वर्षमाथिका साथीभाइहरूले चुरोट तानेको देख्दा उनलाई पनि चुरोटको स्वाद लिने मन लग्न थाल्यो । सुरुमा चुरोट खाने हिम्मत आइरहेको थिएन, जसोतसो हिम्मत जुटाएर बाँसको झारीमा गएर चुरोट तानेपछि उनको आत्मविश्वास बढ्यो । त्यसपछि साथीभाइसँग दैनिकरूपमा चुरोट सेवन गर्न थाले ।
कक्षा ८ मा पढ्दै गर्दा धूमपानमा बिस्तारै लत बस्दै गएको थियो । यतिकैमा विद्यालयमा आफूभन्दा माथिल्लो कक्षामा पढ्ने दाइहरूसँग उनको सङ्गत भयो र उनीहरूको कुरा सुन्दा गाँजामा नै संसार छ जस्तो गुरुङलाई लाग्न थाल्यो । सानै उमेरदेखि गीतसङ्गीतमा रुचि भएका गुरुङलाई पश्चिमा गीतसङ्गीतमा गाँजालाई प्रोत्साहन गरेको देखेपछि त्यहीँबाट प्रभावित भएर गाँजा सेवन गर्ने मनसाय बनाए । सुरुमा गाँजा सेवन गर्दा त्यसको नशाले टाउको दुख्ने, बान्ता आउने, डर लाग्ने, मनमा नकारात्मक ख्यालहरू आउने भएको थियो । पहिलोचोटि गाँजा सेवन गरेपछि अबदेखि कहिल्यै खाँदिन भन्ने उनको मनमा लागेको थियो तर उनी एकदमै नराम्रो सङ्गतमा फसिसकेका थिए । साथीभाइहरूले पहिलोचोटि खाँदा यस्तै हुन्छ बिस्तारै ठीक हुँदै जान्छ भनेर फकाएपछि यसको पेसेवर सेवनकर्ता हुनुपुगे ।
गाँजाको निरन्तर प्रयोग गर्न थालेको केही समयपछि यसको बिस्तारै कम असर पर्न थाल्यो । त्यसपछि गुरुङ बिस्तारै डाक्टरको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने नार्कोटिक ट्याबलेटहरू गाँजामा मिलाएर खान थाले । विभिन्न औषधि पसलहरूमा खुलारूपमा बिक्री हुने भएकाले त्यस्ता औषधिहरूको गलत तरिकाले प्रयोग गर्नपुगे ।
गाँजा र औषधि (ट्याब्लेट) सँगै सेवन गर्न थालेपछि बिस्तारै शरीर दुख्ने, निद्रा नलाग्ने, बोल्न मन नलाग्ने, जतिबेला पनि रिस उठने अवस्था आयो । पढाइमा अब्बल नै थिए, कक्षामा सधैँ पहिलो वा दोस्रो हुने विद्यार्थी उनी कक्षा ९ मा पुगेपछि अनुत्तीर्ण हुने अवस्था आयो । गाँजा र ट्याब्लेट खाने खर्चको जोह गर्न घरपरिवारमा ठग्ने, चोरी गर्ने, गरगहना बेच्ने, कुनै कामका लागि दिएको रकम गाँजामै खर्च गर्न थाले । घरमा पनि आमाबुबाले विश्वास गर्ने गरेकाले उहाँहरूलाई छलेर यस्तो काम गर्न बाध्य थिए गुरुङ ।
गाँजा र ट्याब्लेट निरन्तर प्रयोग गर्न थालेको केही समयपछि एकजना खैरो हिरोइन प्रयोगकर्तासँग उनको सम्बन्ध हुनपुग्यो । उनलाई केही समय लगातार सित्तैमा खुवाएपछि खैरो हिरोइनको पनि लत बस्यो । निम्न मध्यमवर्गको परिवारको भएकाले गुरुङलाई लागूपदार्थ किन्न रकम जोहो गर्न समस्या पर्न थाल्यो । घरमा पनि बिस्तारै उनको कुलतका बारेमा थाहा भयो । त्यसपछि लागूऔषध दुव्यर्सनीको रोकथाममा काम गरिरहेको पुनःजीवन पुनःस्थापना केन्द्रमा आफैँ आए र तीन महिनाको उपचारपछि बिस्तारै अहिले उनी लागूपदार्थ सेवनबाट छुटकारा दिलाउन सफल हुँदै छ । अहिले उनी चुरोट पनि सेवन गर्दैनन् । स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका गुरुङलाई पढाइसकेपछि लागूऔषध नियन्त्रण र रोकथामकै क्षेत्रमा काम गर्ने इच्छा जागेको छ ।
झापा जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने युवाहरू लागूपदार्थको सेवनमा कसरी फसिरहेका छन् र उनीजस्तै विभिन्न पुनःस्थापना केन्द्रमा उपचार गराउन आउने युवाहरूको यस्तै कथाव्यथा छन् । लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरूका अनुसार झापा जिल्ला लागूपदार्थको दुव्र्यसनी तथा कारोबारीहरूको मुख्य गन्तव्य स्थल बन्दै गएको छ ।
झापामा लागूऔषधका दुव्र्यसनीहरूको सङ्ख्या छ हजार पाँच सत्न्दा माथि छ, जुन काठमाडौँपछि दोस्रो बढी भएको लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरी नायब निरीक्षक सोमेस लामिछाने बताउनुहुन्छ । उहाँका अनुसार झापा जिल्ला भारतसँग १४४.२ किलोमिटर खुला सीमाना भएका कारण पनि लागूऔषधको कारोबारको ग्राफ बर्सेनि बढ्दो क्रममा छ ।
पक्राउ पर्नेको सङ्ख्यामा वृद्धि
खुला सीमाको फाइदा उठाउँदै झापाका विभिन्न ठाउँबाट नेपाल भित्याइँदै गरेका लागूपदार्थसहित मान्छे पक्राउ पर्ने क्रम दिनहुँजस्तो छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा लागूपदार्थ सेवनकर्ता तथा कारोबारी प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन् । प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा चार सय नौजना लागूपदार्थको सेवन तथा कारोबार गर्दै गर्दाको अवस्थामा पक्राउ परेका छन् । उनीहरूको साथबाट २.०८५ किलोग्राम खैरो हिरोइन र २८.६ किलोग्राम गाँजा बरामद गरिएको प्रनाउ चन्दले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आवमा तीन सय ३६ जना लागूपदार्थको सेवनकर्ता तथा कारोबारी पक्राउ परेका थिए । जुन सङ्ख्या चालु आवको ११ महिनासम्म पुग्दा २१.७२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, उनीहरूसँग पक्राउ परेको गाँजा तथा खैरो हिरोइनको परिणाम पनि गत आवको भन्दा दोब्बर भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ । लागूऔषध सेवन तथा ओसारपसार गर्ने मानिसहरूबारे नियाल्ने हो भने झापाबाहेकका जिल्लाका व्यक्तिहरूसमेत सक्रिय रहेको प्रनाउ चन्दले बताउनुभयो । झापा जिल्ला लागूऔषध कारोबारका लागि ट्रान्जिट बन्दै गएको अवस्था रहेको उहाँको भनाइ छ ।
लागूऔषधको अधिकांश प्रयोगकर्ता अभिभावक (बाबुआमा) विहीन र अभिभावक छुट्टिएर बसेका बालबालिका रहेको लागूऔषधको क्षेत्रमा अध्ययन–अनुसन्धान गरिरहनुभएका उपप्राध्यापक सावित्रा दाहाल बताउनुहुन्छ । उहाँका अनुसार त्यस्ता बालबालिकाले उचित अभिभावकत्व नपाउँदा गलत सङ्गतमा फस्दै गएका छन् । दाहालका अनुसार विद्यालयमा पढ्ने उमेर समूहका बालबालिका साथीसङ्गतको लहैलहै र विभिन्न प्रलोभनमा परी धूमपानको लतमा फस्ने गरेको र बिस्तारै उक्त लत नै लागूपदार्थ सेवनसम्म पुग्ने गरेको छ ।
सीमा क्षेत्रका विद्यालयहरू लागूऔषधको प्रमुख जोखिममा रहेको लागूऔषध नियन्त्रणको क्षेत्रमा काम गर्दै आउनुभएका राजु गिरी बताउनुहुन्छ । उहाँका अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाउने छैन भनी सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा व्यवस्था गरिएको छ ।
नेपालको सीमासित जोडिएका भारतीय बजारमा लागूपदार्थ सहजै उपलब्ध हुँदा नेपालतिर यसको कारोबार बढेको लागूपदार्थ प्रयोगकर्ता नै बताउने गरेका छन् । पुनर्जन्म पुनःस्थापना केन्द्रमा उपचार गराइरहेका लागूऔषध प्रयोगकर्ता मनिष गुरुङका अनुसार भारतीय सीमावर्ती बजारका पान पसल, चिया पसल जहाँ पनि लागूपदार्थ सहजैरूपमा पाइने गरेको छ ।
गुरुङका अनुसार भारतीय बजारमा एक ग्राम खेरौ हिरोइनको नेपाली मूल्य दुई हजार पाँच सयदेखि तीन हजार पर्दछ । उक्त एक ग्राम खैरो हिरोइन नेपाल भारत सीमा कटाई झापा जिल्लासम्म पु¥याउँदा छ हजारदेखि सात हजार नेपाली रूपैयाँ पर्न जान्छ । यसैगरी, एक ग्राम खैरो हिरोइन काठमाडौँलगायत सहरमा पु¥याउन सके रु. १३ देखि १४ हजार किनबेच हुने गरेको गुरुङ बताउनुहुन्छ । खैरो हिरोइन सम्बन्धमा भारतमा फितलो कानुन रहेकाले सहजरूपमा नै सीमावर्ती भारतीय बजारहरूमा लागूऔषध उपलब्ध हुँदा नेपालतर्फ कारोबार बढेको लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रनानि लामिछाने बताउनुहुन्छ ।
पुनःस्थापना केन्द्र थपिँदै
एक दशकअगाडि न्यून सङ्ख्यामा पुनःस्थापना केन्द्र रहेको झापामा पछिल्लो समय लागूऔषध दुव्र्यसनीहरूको सङ्ख्यामा वृद्धि भएसँगै पुनःस्थापना केन्द्रहरूको सङ्ख्या बढेको पुनर्जन्म समूह नेपालका सञ्चालक राजु गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल झापा जिल्लाभर २६ पुरुष र तीनजना महिला लागूपदार्थका दुव्र्यसनीका लागि खोलिएका पुनःस्थापना केन्द्रहरू रहेका छन् । ती केन्द्रहरूमा लागूऔषध दुव्र्यसनीहरूको तीन महिनाको प्याकेजमा उपचार हुने गरेको छ भने नौ सय ५० देखि एक हजार लागूपदार्थ दुव्र्यसनीले विभिन्न किसिमका परामर्शका साथै थेरापी लिने गरेको उहाँले जानकारी दिनुभयो ।
हाल झापाका १५ वटा स्थानीय तहमा पुनःस्थापना केन्द्रहरू खोलिएका छन् । पुनःस्थापना केन्द्रमा उपचार गराउने दुव्र्यसनीहरूमध्ये १५ देखि २० प्रतिशतमा पूर्णरूपमा सुधार भएको लागूपदार्थ दुव्र्यसनको क्षेत्रमा काम गर्ने संस्थामा काम गर्ने सरोज श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार हाल जिल्लामा लागूऔषधको दुव्र्यसनबाट पुनःस्थापितको सङ्ख्या एक हजार आठ सयदेखि दुई हजारसम्म रहेको छ ।
अबको बाटो
जसरी लागूपदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यसअनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक लामिछानेले बताउनुभयो । “हामीसँग पर्याप्त दक्ष जनशक्ति र लागूऔषधको मुद्दा चलाउने छुट्टै युनिट छैन । सातजनाको समूहले साबिक मेची अञ्चलका चारवटा जिल्ला हेर्नु परेको छ,” उहाँले भन्नुभयो । लागूऔषध नियन्त्रण तथा रोकथाम गर्न दुव्र्यसनीको पहिचान गरी उनीहरूका लागि सचेतनामूलक कार्यक्रम गर्नाका साथै पुनःस्थापना केन्द्रमा राखी उपचार गराउनेजस्ता क्रियाकलाप गर्नुपर्ने स्थानीय समाजसेवी निर्मल पोखरेल बताउनुहुन्छ ।
सीमावर्ती भारतीय बजारमा खुलेआम लागूपदार्थको कारोबार हुने गरेकाले त्यहाँको प्रशासनसँग आवश्यक समन्वय गरेर त्यसको आयातमा नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव छ । झापाका स्थानीय तहहरूले लागूऔषध नियन्त्रणका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्था तथा विज्ञहरूसँग समन्वय गरी योजना बनाई यथाशीघ्र लाग्नुपर्ने सरोकारवालाहरूको धारणा रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *