जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
क्लारा जेटकिन माक्र्सवादी चिन्तक, सिद्धान्तकार र समाजवादी अग्रणी महिला नेतृ थिइन् । उनले सदैव महिला अधिकारको वकालत गरिन् । क्लारा जर्मन र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनकी र महिला श्रमिक आन्दोलनकी एक प्रमुख सङ्घर्षशील नेतृ थिइन् । उनी अन्तर्राष्ट्रिय महिला दिवसको सुरुवात गराउने विश्व प्रसिद्ध महिला नेतृ थिइन् ।
क्लाराको जन्म ५ जुलाई १८५७ मा जर्मनीको सेक्सोनी प्रान्तमा भएको थियो । उनका पिता गोटफ्राइड आइजनर एक शिक्षक थिए । उनकी आमा जोसफिन विटाले शिक्षित महिला थिइन् ।
क्लाराले आफ्नो पढाइ सन् १८७२ बाट ‘लीपजिङ टीचर्स कलेज फर उमन्स’ बाट सुरु गरेकी थिइन् । स्कूलकै समयमा उनी सन् १८७४ मा जर्मनीको मजदुर आन्दोलन र महिला आन्दोलनसँग जोडिन् । सन् १८७८ बाट क्लारा समाजवादी श्रमिक पार्टीमा जोडिन् र यो पार्टीको नाम पछि सामाजिक–जनवादी राखियो ।
त्यतिखेरको प्रसिया (जर्मनी) का शासक बिस्मार्कले समाजवादी पार्टीको गतिविधिमा नियन्त्रण गरेकोले सन् १८८२ मा क्लारा ज्यूरिच गइन् र पछि फेरि पेरिस गइन् । त्यहाँ उनले पत्रकारिता र अनुवादको अध्ययन गरिन् । पेरिस प्रवासको क्रममा उनले समाजवादी अन्तर्राष्ट्रिय समूहको स्थापना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् । सन् १८८९ को जूनमा उनका पति ओसिप जेटकिनको बिरामी भएर निधन भएपछि उनी स्टुटगार्ट गइन् । त्यहाँ उनले पछि कलाकार जर्ज फ्रेडरिक जुडेलसँग दोस्रो विवाह गरेकी थिइन् ।
क्लारा जेटकिनको सक्रिय राजनीतिक यात्रा ओसिप जेटकिनसँग भेटेपछि भएको थियो । दुवैको विवाहपछि क्लाराले सुरुमा समाजवादी पार्टीका केही बैठकमा भाग लिइन् । उनले माक्र्सवादी विचारअन्तर्गत महिला मुक्ति र समाजमा परिवर्तनको लागि आफ्नो जीवन समर्पित गर्ने निर्णय गरिन् ।
सामाजिक जनवादी पार्टीमा जेटकिनकी नजिककी साथी र विश्वासपात्रहरूमध्ये रोजा लक्जेम्बर्ग थिइन् । सन् १८८० मा जर्मनीमा क्रान्तिकारीहरूलाई तत्कालीन शासकले दमन गर्न थालेपछि जेटिकनले जर्मनी छोड्ने स्थिति बन्यो । यस क्रममा उनी स्वीट्जरल्यान्ड र फ्रान्समा बसिन् ।
लगभग एक दशकपछि उनी पुनः जर्मनी फर्किन् र जर्मनीको सामाजिक–जनवादी पार्टीको महिलाको अखवार डाई ग्लीचीट (समानता) को सम्पादक बनिन् । त्यसपछि उनले सन् १८७४ बाट जर्मनीमा महिला आन्दोलन र श्रमिक आन्दोलनसँग सम्बन्ध स्थापना गरिन् । सन् १८७८ मा उनी सोसलिस्ट वर्कर्स पार्टीमा सामेल भइन् ।
यो पार्टीको स्थापना सन् १८७५ मा लासालको पार्टी एडीएभी र लिब्नेख्तको एसडीएपी पार्टीहरूलाई मिलाएर भएको थियो । सन् १८९० मा यसको नाम बदलेर जर्मनीको सामाजिक–जनवादी पार्टी (एसडीपी) राखियो ।
सन् १८९८ मा क्लाराको एक क्रान्तिकारी महिला नेतृ रोजा लक्जेम्बर्गसँग असल सम्बन्ध स्थापित भएको थियो, जुन रोजाको मृत्यु नहुञ्जेलसम्म कायम रह्यो । रोजाले क्लारालाई धेरै ऊर्जापूर्ण ढङ्गले सहयोग गरिन् । संशोधनवादविरूद्धको बहसमा दुवै महिला नेतृले संयुक्तरूपमा बर्नस्टीनका सुधारवादी सिद्धान्तहरूमाथि आक्रमण गरेकी थिइन् । उनीहरूले क्रान्तिकारी विचारलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेले ।
समाजवादको माध्यमबाट महिलाहरूलाई समान अधिकार र मताधिकार दिने पक्षमा उनी दृढतापूर्वक लडिन् । उनले जर्मनीमा सामाजिक–जनवादी महिला आन्दोलनलाई विकास गर्न सहयोग गरिन् ।
सन् १९०७ मा क्लारा सामाजिक–जनवादी पार्टीको नवस्थापित कार्यालयमा महिला कार्यालयको प्रमुख नेता बनिन् ।
क्लाराले सुरुदेखि नै महिला आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएकी थिइन् । उनी महिलाहरूको लागि समान हक–अधिकार दिलाउनमा धेरै सक्रिय थिइन् । उनले सन् १९०७ मा नै भएको पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा पनि भाग लिएकी थिइन् ।
सन् १९१० को अगस्टमा डेनमार्कको कोपनहेगनमा भएको समाजवादीको दोस्रो अन्तर्राष्ट्रियको आम बैठकभन्दा पहिले एक अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गरिएको थियो । यो बैठकमा नै अन्तर्राष्ट्रिय महिला दिवसको स्थापनाको प्रस्ताव राखियो । केही हदसम्म अमेरिकी समाजवादीहरूको कामबाट प्रेरित भएर जेटकिन, केट डङ्कर र अन्यले हरेक वर्ष एक विशेष महिला दिवस मनाउने कुराको प्रस्ताव राखेका थिए । तर, त्यो सम्मेलनमा निश्चित दिन भने तोकिएको थिएन । यो सम्मेलनमा १७ देशका १०० महिला सङ्गठनले समान अधिकार र भोटको अधिकारको लागि निर्मित विचारसँग सहमति गरे । त्यसपछि सन् १९११ मार्च १९ मा अन्तर्राष्ट्रिय महिला दिवसलाई पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा दसौँ लाखको उपस्थितिमा मनाइएको थियो ।
क्लारा पुँजीवादी नारीवादको विरूद्धमा थिइन् र यसलाई उनी मजदुरवर्गको एकतालाई ध्वस्त पार्ने हतियार ठान्थिन् । उनका अनुसार बुर्जुवा नारीवाद र सर्वहारा महिला आन्दोलन दुई मौलिकरूपले भिन्न आन्दोलन हुन् । क्लाराको मतमा बुर्जुवा नारीवादीहरूले पुँजीवादको अस्तित्वमाथि प्रश्न नउठाइकन लिङ्गको बिचमा द्वन्द्वलाई बढाए र आफ्नो वर्गका पुरूषहरूको विरूद्धमा सङ्घर्षको माध्यमबाट सुधारलाई दबाए । यसको विपरीत श्रमिक महिलाहरूले वर्गको विरूद्ध वर्गसङ्घर्षको माध्यमबाट र आफ्नो वर्गका पुरूषसँग संयुक्त लडाइँमा पुँजीवादीहरूभन्दा अगाडि निक्लने कोसिस गरेका छन् ।
क्लाराका अनुसार महिलाहरूको उत्पीडनलाई सही अर्थमा समाप्त गर्ने एकमात्र मार्ग भनेको समाजवाद हो । उनको प्राथमिक उद्देश्य महिलाहरूलाई घरबाट बाहिर निकालेर सक्रिय बनाउनु थियो, जसबाट महिलाहरूले आफ्नो स्थितिमा सुधार गर्नको लागि ट्रेड युनियन र अन्य श्रमिक अधिकार सङ्गठनमा भाग लिन सकून् । क्लाराको विचारमा समाजवादी आन्दोलन महिला उत्पीडनलाई कम गर्नको लागि हुनुपर्दछ; समाजवादी आन्दोलन महिलाहरूलाई समाजवादतिर एक सामान्य कदममा सामेल गरेपछि मात्र प्रबल हुन्छ, नभए पछिको कानुनले उनीहरूलाई सजिलैसँग खत्तम गरिदिन्छ ।
क्लारा पहिलो विश्वयुद्धको विरूद्धमा थिइन् । सन् १९१५ मा उनले बर्लिनमा प्रथम विश्वयुद्धको युद्धविरोधी गतिविधिमा अन्तर्राष्ट्रिय समाजवादी युद्धविरोधी महिला सम्मेलनको आयोजना गरिन् । पुँजीवादीहरूले आफ्नो मुनाफा बढाउन युद्ध भड्काएका हुन् भनेर उनले यसको घोर विरोध गरिन् । उनले भनिन्, यो युद्धमा श्रमिकहरूले केही पनि हासिल गर्दैनन् तर उनीहरूले आफ्ना प्रिय सबै कुरा गुमाउनुपर्दछ । युद्धविरोधी विचार व्यक्त गरेकोले उनलाई धेरैपटक गिरफ्तार पनि गरिएको थियो ।
उनले समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय ब्युरोको सचिवको रूपमा समाजवादी महिला सम्मेलनको आयोजना गरिन् र बुर्जुवा नारीवादी स्थितिको विरूद्धमा लडिन् । सन् १९१६ मा उनलाई हिरासतमा लिइएको थियो तर बिरामी भएको कारण छोडियो ।
सन् १९१६ मा क्लारा स्पार्टावादी लीग र स्वतन्त्र सामाजिक जनवादी पार्टीको सहसंस्थापक बनिन् । सन् १९१८ को जर्मनीको क्रान्तिपछि सन् १९१९ मा जर्मनी कम्युनिस्ट पार्टीको स्थापना भयो र उनी त्यसमा जोडिइन् । सन् १९२० मा उनले महिलाको सवालमा लेनिनसँग अन्तर्वार्ता लिएकी थिइन् । सन् १९२१ देखि १९३३ सम्म उनी कम्युनिस्ट अन्तर्राष्ट्रियको कार्यकारी समितिको सदस्य पनि रहिन् ।
उनले महिलाहरूको लागि एक अन्तर्राष्ट्रिय सचिवालयको अध्यक्षता पनि गरिन्, जसलाई अक्टोबर १९२० मा कम्युनिस्ट अन्तर्राष्ट्रियद्वारा बनाइएको थियो । जून १९२१ मा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । मस्कोमा भएको कम्युनिस्ट महिलाहरूको बैठकको अध्यक्षता उनैले गरेकी थिइन् । त्यस बैठकले अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने निर्णय गरेको थियो । त्यहीबाट ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस बन्न गयो ।
सन् १९२५ मा उनी जर्मन वामपन्थी सङ्गठनको अध्यक्ष चुनिएकी थिइन् । क्लाराले फासीवादको विरूद्धमा पनि दृढतापूर्वक सङ्घर्ष गरिन् । उनलाई सन् १९२७ मा अर्डर अफ लेनिन र सन् १९३२ मा अर्डर अफ रेड ब्यानरले सम्मान गरिएको थियो ।
सन् १९३३ मा जर्मनीमा हिटलरको आगमनपछि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । त्यसपछि क्लारा निर्वासनमा सोभियत सङ्घ गइन्, त्यही वर्ष जून २० मा ७६ वर्षको उमेरमा मस्को नजिकै अर्खान्जेल्सकोयमा उनको निधन भयो । उनी धेरै चर्चित कम्युनिस्ट महिला नेतृ थिइन् । उनको अन्तिम श्रद्धाञ्जलीको लागि युरोपबाट धेरै कम्युनिस्ट नेता आएका थिए ।

अन्तर्राष्ट्रिय महिला दिवस – ८ मार्च
अन्तर्राष्ट्रिय महिला दिवसको मुख्य उद्देश्य महिलाहरूमा हुने भेदभावलाई हटाएर समाजमा बराबर हक दिलाउनु हो । समाज विकास, नीति–निर्माण र नेतृत्व तहमा महिलाहरूको पनि उत्तिकै अधिकार हुन्छ भन्ने कुरा स्पष्ट पार्नु पनि महिला दिवसको औचित्य हो । आफ्नो हकअधिकार खोसिएकोले यसको विरूद्ध सबै एकताबद्ध भएर सङ्घर्ष गर्नु पनि यसको उद्देश्य हो ।
आजको संसारमा महिलाहरू पनि समाजसँगै देश निर्माणमा पनि आफ्नो अमूल्य योगदान दिइरहेका छन् । महिलाहरू घरमा मात्र सीमित छैनन् । राजनीति, विकास निर्माण, कर्मचारी, खेलकुद, शिक्षा, स्वास्थ्य, विज्ञान, सामाजिक कार्यजस्ता हरेक क्षेत्रमा महिलाहरूले पनि धेरै सफलता हासिल गरेका छन् । यसको अतिरिक्त उनीहरूले देशविदेशमा धेरै ठुलो भूमिका निर्वाह गरिरहेका छन् ।
धेरै देशमा अझै महिलाहरूको अधिकार सङ्कुचित छ । कतिपय ठाउँमा महिलाहरू घरेलु हिंसाको शिकार भएका छन् । विभिन्न प्रकारका कुरीति र कुसंस्कारले उनीहरूलाई धेरै प्रताडित बनाएको छ । शिक्षा हासिल गर्ने कुराबाट महिलाहरूलाई वञ्चित गराइएको छ । महिलाहरूलाई पुरूषको संरक्षणमा मात्र कुनै पनि काम गर्न दिइन्छ । उनीहरूलाई धेरजसो घरमा सीमित राखिन्छ । अझ कतिपय महिलालाई पूरै अनुहार ढाकेर हिँड्न विवश बनाइन्छ ।
त्यसकारण, हरेक क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनको लागि, महिलाहरूप्रति समाज र देशलाई जागरूक गराउनको लागि र उनीहरूलाई आवश्यक हक अधिकार र सम्मान उपलब्ध गराउनको लागि नै हरेक वर्ष ८ मार्च मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यो दिन देश र समाजको विकासमा महिलाहरूको योगदानलाई स्मरण गरिन्छ र उनीहरूलाई आफ्ना अधिकार र सम्मानप्रति जागरूक गराइन्छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको जग क्लारा जेटकिनले राखेकी हुन् । तर, यसको सुरुवात भने मजदुर आन्दोलनको रूपमा भएको थियो । महिलाहरू इतिहासको धेरै समय आफ्ना सम्पूर्ण अधिकारबाट वञ्चित रहेका थिए । उनीहरूलाई पुरूष समान अधिकार दिइएको थिएन । उनीहरूलाई दोस्रो दर्जाको व्यवहार गरिन्थो । उनीहरूलाई काम बढी समय गर्न लगाइन्थ्यो र ज्याला पनि कम दिइन्थ्यो । उनीहरूलाई भोट दिने अधिकार पनि थिएन ।
यस्तो बेलामा महिलाहरूको बिचमा भारी अशान्ति र आलोचनात्मक बहसहरू भइरहेका थिए । महिला उत्पीडन र असामानताले उनीहरूलाई परिवर्तन अभियानमा सक्रिय हुन प्रेरित गरिरहेको थियो ।
यही बेला सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा लगभग १५ हजार महिलाहरूले कामको घण्टा कम गरियोस्, उनीहरूलाई उचित तलब प्राप्त होस् र उनीहरूलाई भोट दिने अधिकार पनि दिइयोस्, आदि माग राखेर आन्दोलन गरे । यसको एक वर्षपछि सन् १९११ मा अमेरिकाको समाजवादी पार्टीले २८ फेब्रुअरी मा पहिलो राष्ट्रिय महिला दिवस बनाउने घोषणा ग¥यो ।
अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव सबभन्दा पहिले समाजवादी क्रान्तिकारी महिला नेतृ क्लारा जेटकिनले दिएकी थिइन् । उनले महिला दिवसको प्रस्ताव एक श्रमिक महिलाहरूको लागि डेनमार्कको राजधानी कोपनहेगनमा सन् १९१० मा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा गरेकी थिइन् । सुरुमा क्लारा जेटकिनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिँदा यसको लागि कुनै मिति तोकिएको थिएन । उनले भनेकी थिइन्, आफ्ना मागहरूलाई जोड दिनको लागि हरेक वर्ष हरेक देशमा एकै दिन महिला दिवस मनाइनुपर्दछ ।
त्यस सम्मेलनमा करिब १७ देशका १०० भन्दा बढी महिला प्रतिनिधिहरू उपस्थित थिए, जसले ट्रेड युनियन, समाजवादी पार्टी, श्रमिक महिला आदि सङ्गठनको प्रतिनिधित्व गर्थे ।
जेटकिनको सुझावलाई सर्वसम्मतिले अनुमोदन गरियो । क्लाराकै प्रस्तावअनुसार सन् १९११ को मार्च १९ मा सबभन्दा पहिले जर्मनी, अस्ट्रिया, डेनमार्क, स्वीट्जरल्यान्ड आदि देशहरूले अन्तर्राष्ट्रिय महिला दिवस मनाएका थिए । यसमा दस लाखभन्दा महिला र पुरूषहरूसमेतले भाग लिएका थिए । उनीहरूले यहाँ महिलाहरूलाई काम गर्ने, भोट दिने, प्रशिक्षित हुने, सार्वजनिक कार्यालय सम्हाल्ने र भेदभावलाई समाप्त गर्ने अधिकारको सुनिश्चित गर्ने कुराको प्रचार गर्दै ¥याली गरेका थिए ।
पहिलो विश्वयुद्धको पूर्वसन्ध्यामा शान्तिको लागि अभियान चलाउँदै रूसी महिलाहरूले २३ फेब्रुअरीमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएका थिए । सन् १९१४ मा सम्पूर्ण युरोपमा युद्धको विरूद्धमा महिलाहरूले अभियान चलाउने र एकताबद्धता व्यक्त गर्नको लागि ¥यालीहरू आयोजना गरेका थिए ।
सन् १९१७ मा रूसमा बोल्शेभिक क्रान्तिको बेलामा रूसी श्रमिक महिलाहरूले रोटी र शान्तिको माग गर्दै जार निकोलस द्वितीयको विरूद्धमा अन्य मजदुरहरूसँगै आन्दोलनमा अग्रणी भूमिका निभाए । बोल्सेभिक पार्टीको विरोधको बाबजुद उनीहरूले अन्तर्राष्ट्रिय महिला दिवसको प्रदर्शनलाई एक सामूहिक हडतालमा बदलिदिए, जसले पेट्रोग्रादका सम्पूर्ण श्रमिक वर्गलाई प्रभावित बनायो । यो आन्दोलनमा महिलाहरूको अत्यन्तै महत्वपूर्ण भूमिका रह्यो र रूसी क्रान्तिको जन्मसँगै निकोलसले आफ्नो राज्य छोड्नुपर्यो । त्यसपछि बनेको अस्थायी सरकारले महिलाहरूलाई पनि भोट दिने अधिकार प्रदान गरेको थियो ।
रूसमा यो आन्दोलन हुँदा जुलियन क्यालेन्डरअनुसार २३ फेब्रुअरी थियो, तर धेरै देशमा प्रयोग हुने ग्रेगोरियन क्यालेन्डरअनुसार त्यो दिन ८ मार्च थियो । त्यसकारण, ८ मार्चलाई नै अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन लागियो ।
जून १९२१ मा क्लारा जेटकिनले मार्च ८ लाई आधिकारिक बनाउनको लागि काम गरिन् । जेटकिनको अध्यक्षतामा मस्कोमा आयोजित कम्युनिस्ट महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा के घोषणा गरियो भने भविष्यमा ८ मार्चलाई संसारभरि अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइनेछ । त्यसबेलादेखि संसारका देशहरूमा ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस समारोह आयोजना गरिन्छ, जसले श्रमिक महिलाहरूको क्रान्तिकारी क्षमताको वार्षिक स्मरणको रूपमा कार्य गर्दछ ।
अन्तर्राष्ट्रिय महिला दिवस सुरुदेखि नै श्रमिक महिला दिवस थियो । यसको तात्कालिक उद्देश्य सार्वभौमिक महिला मताधिकार प्राप्त गर्नु थियो । तर, यसका आकाङ्क्षाहरू धेरै थिए, जसानुसार पुँजीवादलाई उखेलेर फ्याँक्नु र समाजवादको विजय गर्नु, शिक्षा र हेरविचारको कार्यको सामाजिकीकरणको माध्यमबाट श्रमिकहरूको ज्याला दासता र महिलाहरूको घरेलु दासता दुवैलाई समाप्त गर्नु थियो ।
सन् १९७५ बाट संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउने घोषणा ग¥यो र त्यसबेलादेखि यो दिवस हरेक वर्ष ८ मार्चमा संसारका प्रायः सबै देशले आ–आफ्नो तरिकाबाट मनाउँदै आइरहेका छन् । सन् १९९६ मा पहिलोपटक यो दिवसको उद्देश्यलाई पूरा गर्नको लागि एक थीम राखियो, जुन अतीतको पर्व, भविष्यको लागि योजना थियो । यसपछि हरेक वर्ष यो दिवसको लागि एक मूल विषयवस्तु घोषणा गरिँदै आएको देखिन्छ ।
यसरी अहिले हरेक वर्षको ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस प्रायः सबै देशमा मनाइन्छ । यो दिन महिलाका महत्वपूर्ण उपलब्धिहरूको सम्मान गर्न र लैङ्गिक समानताको लागि समर्पण गरिन्छ । यस दिनमा महिला भेदभाव र लैङ्गिक असमानताको विरूद्धमा दृढतापूर्वक सङ्घर्ष गरेका एवं भूमिका निर्वाह गरेका तमाम महिलाहरूको शक्ति र क्षमताको उच्च मूल्याङ्कन तथा सम्मान गरिन्छ ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को विषयवस्तु ‘इन्स्पायर इन्क्लुजन’ रहेको छ । यसको अर्थ महिलाहरूको मूल्य बुझ्नु र अरूलाई पनि यसको लागि प्रेरित गर्नु हो । यो थीममा विकासका हरेक पक्षमा महिलाहरूलाई सामेल गर्ने क्षमतालाई पहिचान गर्नको लागि संसारको समाजसँग आग्रह गर्ने कुरामा ध्यान दिइएको छ । उत्कृष्ट संसार निर्माण गर्न यो कुरा आवश्यक हुने मानिएको छ ।
Leave a Reply