एसईई परीक्षा नतिजा निकाल्न एक जना विद्यार्थी कति वर्ष पर्खनुपर्ने हो ?
- भाद्र १०, २०८३
‘मजदुर’ दैनिकमा भदौ ११ गते प्रकाशित पाठक पत्रले एक अभिभावकको मनमा केही विषय उठ्यो । १०–१२ वर्ष अध्ययनपश्चात् दिइने एसईई परीक्षाको कापी नै हराई दिएको घटनाले हाम्रो परीक्षा प्रणालीमा गम्भीर त्रुटि रहेको स्पष्ट हुन्छ ।
केही दशक अघिसम्म पैसा दिएर परीक्षामा पास हुनसक्ने हल्ला थियो । एक–दुई जनाले त्यसरी नै पास गरेको सपना सुनाएका थिए । परीक्षा केन्द्रमा नै कापी जाँच परेपछि यस्तो हुनसक्ने सम्भावना बढेको तर्फ सरोकारवालाको ध्यान गएको छ कि छैन ?
पूरक परीक्षाको कापी शिक्षा विकास तथा समन्वय एकाइमा जाँच गर्छ । सीमित (केही) विद्यार्थीको कापी पनि सुरक्षित गर्न नसक्ने अधिकारीले कसरी शिक्षा विकासको लागि जिल्लाभरि समन्वय गर्ला ? भौगोलिक र यातायातले सजिलो भक्तपुर जिल्लामा समेत यस्तो घटना हुन्छ भने दुर्गम र यातायातको पहुँच नभएको जिल्लामा के भयो होला ?
एसईई परीक्षालाई केन्द्रीय स्तरमा सञ्चालन गर्दा त यो हालत भयो भने सात प्रदेशलाई जिम्मेवारी दिए के हविगत होला ? शिक्षामन्त्रीले सबै विद्यार्थी आफ्नै छोरा–छोरी सम्झेर समस्याको समाधानमा लाग्नु पर्छ । शिक्षा मन्त्रालय र मातहतका निकायको सानो लापरबाहीले विद्यार्थीहरूको भविष्य बिग्रने गर्छ । केही विद्यार्थी त आत्महत्याको बाटोसमेत समात्ने गर्छन् । यस्तो संवेदनशील विषयमा शिक्षामन्त्री र मन्त्रालयको ध्यान नजानु भनेको हाम्रो नयाँ पुस्ताको भविष्यमाथिकै खेलबाड किन होइन ?
गल्ती र कमजोरी भए समयमै सुल्झाउनुपर्छ । नियतबस गर्ने गल्ती र कमजोरीले देशको भविष्य नै अन्धकार हुनेतर्फ सचेत हुनु जरुरी छ । एक अभिभावकको नाताले हाम्रा विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने छुट कसैलाई छैन ।
– शुक्र
Leave a Reply