भर्खरै :

सहरको युवक गाउँमा, कति राम्रो !

सहरको युवक गाउँमा, कति राम्रो !

शिक्षकहरू पिछडिएको ठाउँहरूलाई उज्यालो पार्न अग्रसर हुनुपर्छ । नेपालजस्तो सबै दृष्टिबाट पछि परेको मुलुकमा अँध्यारो ठाउँलाई उज्यालो पार्ने काम शिक्षकहरूको हो । शिक्षकहरू समाजमा अँध्यारो हटाई उज्यालो छर्ने सूर्य वा चन्द्रमा हुन् । त्यो उज्यालो रोक्ने अनेक कुनाबाट धेरै थरी प्रयास भएका छन् । यो कुरा शिक्षकहरूले सहजतासाथ आत्मसात गर्नुपर्छ । शिक्षक भनेका निश्चित समय पढाइ तलब पकाउने अरू जागिरेजस्तो होइन । शिक्षकको दायित्व समाज विकासमा उल्लेख्य हुनुपर्छ । शिक्षक हुनु भनेको अरू क्षेत्रमा जागिरे जस्तो महिनाको अन्तमा मासिक तलबले बगलि भरेर प्रशन्न हुनुहुँदैन । शिक्षक भनेको विद्यार्थीको गुरू हो । अभिभावकहरूको पनि गुरू भन्ने मनोविज्ञान समाजमा व्यापकरूपमा फैलाउन आजका शिक्षाप्रेमीहरूको कर्तव्य हो । पिछडिएको वा पछि परेको गाउँठाउँ वा टोलमा विद्यालय स्थापना गरी शिक्षाको ज्योति फैलाउने काम गर्नुपर्छ । अन्यथा दस–चार बजाएर तलब पाक्यो भन्ने मानसिकताबाट शिक्षकहरू मुक्त हुनुपर्छ । एउटा चन्द्रमाले सम्पूर्ण आकाश उज्यालो पार्छ भने एउटा शिक्षकले आफ्नो विद्यालयमात्र होइन, आफ्नो घर र टोललाई नै उज्यालो पार्नुपर्छ  आज टोल छिमेक तथा शिक्षकको घर पनि अँध्यारो छ । यो अँध्यारो यथाशक्य चाँडो हटाई शिक्षाको उज्यालो फैलाउने पहिलो कर्तव्य शिक्षकहरूको हो । यो कुरा शिक्षक हुने सम्पूर्ण महिला–पुरूषले गम्भीररूपमा आत्मसात गर्नु जरूरी छ । नत्र शिक्षक हुनु भनेको केटाकेटीले गुच्चा खेल्नुजस्तो मात्र हुन्छ । गुच्चा खेलेर घर, परिवार र समाजको कदापि उत्थान हुनसक्दैन । घर, परिवार एवम् समाजको उत्थानको लागि शिक्षाको उज्यालो फैलाउनुपर्छ । मूलतः यो काम शिक्षकहरूको हो ।
देशभक्त नयाँ पुस्ताको आवश्यकता !
देशभक्ति मानिसको सबभन्दा ठुलो गुण हो । मानिस देशभक्त भएन भने त्यो देशको समुन्नति र अग्रगमन दिवा सपना हुन्छ । यो कुरा मुलुकका सबैले बुझ्नुपर्छ । वास्तवमा भन्ने हो भने देशभक्त विद्यार्थी तयार गर्ने कर्तव्य अरूको भन्दा शिक्षकको बढी हुन्छ । तसर्थ, शिक्षक भनेको संसारमा सबैको लागि आदरणीय पद हो । हामीकहाँ कति जना शिक्षकहरू खै म त प्राथमिक स्कूलको शिक्षक हुँ अरू केही जान्दिनँ भनेर एक प्रकारले आत्सममर्पण गर्छन् । यो सा¥है सा¥है नहुने कुरा हो । प्राथमिक विद्यालयको भए पनि शिक्षक भनेको शिक्षक नै हो, गुरू हो । यदि, गुरूमा नै आफ्नो पेसाप्रति गर्व हुँदैन भने अरूको पेसाप्रति कसरी सकारात्मक होला ? पेसा भनेको पेसा नै हो । हरेक नागरिकले आफ्नो योग्यता एवं अभिरूचिअनुसार पेसा गर्न पाउनुपर्छ । त्यसो भएमा पेसाप्रति आस्था, निष्ठा र सम्मान अनुभव हुन्छ । मुलुकमा सबैले केही न केही पेसा अपनाउनैपर्छ । शिक्षक भनेको गुरू हो । गुरू भनेको सम्मानित पद हो । गुरू हुन सबै चाहन्छन् तर सबै गुरू हुन सक्दैनन् । किनभने गुरु हुने काम देख्दा सजिलो, अभ्यास गर्दा असजिलो विषय हो । यो रहस्य हाम्रा कति गुरूले बुझेका छन्, कतिले छैनन् । यो छलफलको विषय हो । गुरू भनेपछि प्राथमिकताको शिक्षकलाई पनि विद्यावारिधी गरिसकेको विद्वानले पनि सम्मान गर्छ । जहाँ भेटे पनि शिर निहुराउँछ । योभन्दा ठुलो प्राप्ति जीवनमा अरू के हुनसक्छ ?
गुरू हुन देख्दा सजिलो तर कठिन !
यसर्थ, गुरू हुन धेरैले खोज्छन् तर सबै गुरू हुन सक्दैनन् । चेला भनेको गुरूको आफ्नै सन्तानजस्तो हुन्छ । गुरूहरू चेलाचेलीहरूप्रति भावुक भएनन्, जिम्मेवार भएनन् भने ती विद्यार्थी पनि गैरजिम्मेवारी हुन्छन् । गैरजिम्मेवारी भनेको अब गुणमा पनि नराम्रो हो । त्यसैले, शिक्षक भनेको शिक्षक नै हो । गुरू हो । शिक्षकले उन्नत ठाउँ मात्र होइन, पिछडिएको ठाउँलाई पनि उज्यालो बनाउन आकाश–पाताल जोड्नुपर्छ । नेपालको राजनीति हेर्ने हो भने आमरूपमा आशा र भरोसा लाग्दो छैन । यो भन्न र लेख्न सजिलो छ तर गर्न कठिन छ । नेपालको राजनीति स्थिर हुनुपर्ने । यसको मतलब प्रगतिशील हुनुपर्ने । उज्यालो फैलाउने, अँध्यारो हटाउने हुनुपर्ने तर, सबैतिर त्यसो भएको देखिँदैन । यो विषय निकै गहिरो सोचनीय छ । भक्तपुरमा मात्रै हेर्ने हो भने यहाँको नयाँ पुस्ता शिक्षक सेवा गर्न गाउँ–गाउँमा पनि दुर्गम गाउँ, दुर्गममा पनि सा¥है पछि परेको गाउँमा गएर त्यहाँका गरिब, निमुखा, काम गरी खाने जनताका छोराछोरीलाई साक्षरमात्र होइन, समझदार पनि बनाउने कठिन काममा लागेका छन् । उनीहरू वास्तवमै धन्यवादका पात्र छन् । दुनियाँको चलन अनौठो छ । युवायुवती भेट भएपछि, अझ सँगै काम गरेपछि उनीहरूमा एक–अर्काप्रति विकर्षण होइन, आकर्षण हुन्छ । त्यो आकर्षण दाम्पत्य हुन्छ । त्यो आकर्षण दाम्पत्य जीवन बिताउने तहसम्म पुग्छ । यो कुरा भक्तपुरले आत्मसात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *