वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
अज्ञानताबाट ज्ञानको उज्यालोतर्फ समाजलाई डोहो¥याउने कर्तव्य र दायित्व बोकेका गुरुहरूलाई हाम्रो समाजले खासै महत्व दिएको देखिँदैन । हाम्रा प्राचीन ऋषि महर्षिहरूले हाम्रा शास्त्रहरूमा गुरुलाई ठुलो स्थान दिएका थिए । आदिमकालमा भगवान् श्री कृष्णलाई जगतगुरुको रूपमा मानिएको थियो । आदिमकालमा भगवान शिव (महादेव) लाई तन्त्रशास्त्रका आदि गुरु मानिन्छ । विद्याद्वारा शिष्यको अज्ञानतालाई निवारण गर्ने भएकोले प्राचीनकालदेखि नै हिन्दू संस्कृतिमा गुरुलाई विशेष स्थान र मान दिइएको पाइन्छ । ‘गुरु’ बिना शिष्य एक्लैले लिएको ज्ञान (विद्या) अधुरो एवं अपुरो हुने भएकोले एकलब्यले पनि द्रोणाचार्य (गुरु) को मूर्ति आफैँले स्थापना गरेर सोही मूर्तिलाई गुरु मानेर अस्त्र विद्याको अध्ययन गरेका थिए । वास्तवमा गुरु भनेको समाज एवं शिष्यलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने पथ प्रदर्शक, मार्ग निर्देशक व्यक्ति पनि हो । प्राचीन कालदेखि नै आमाबुबा र गुरुलाई विशेष आदर सम्मानको रूपमा सम्मान गरिने गरिएको छ । तर, हिजोआज कैयौँ जन्मदाता बुबाआमा र गुरुहरू आफ्नै छोराछोरी र शिष्यबाट अपमानित भइरहेका छन् । शिष्यको नाताबाट गुरुको पहिचान हुने भएकोले गुरु र शिष्यको सम्बन्ध सधैँ नङ र मासुको झैँ हुनुपर्छ । हिजोआज परिवर्तनको नाममा यदाकदा गुरुहरू पनि आफ्नो स्थान मर्यादा र इज्जतभित्र नरहने गरेको र शिष्यहरूमा पनि आदरभाव एवं शिष्टताको अभाव महसुस गर्न थालिएको छ । आफूलाई शिक्षा, ज्ञान, सीप सिकाएर सत्मार्गमा डोहो¥याउने, अहोरात्र मेहनत गर्ने गुरुहरूलाई वर्षमा एकदिन सम्मान गर्ने र बाँकी ३ सय ६४ दिन बेवास्ता गर्ने प्रचलन पनि विद्यमान छ । हिजोआज अनुशासनमा नरहने केही शिष्यहरूले गुरुलाई उसको भेषभूषा, हिँडाइ, शारीरिक बनावट एवं आर्थिक अवस्था र सवारी साधनसँग तुलना गरेर उसको उपहास गर्ने गरेको पाइएको छ । हुन त सबै गुरुहरू मिलनसार, अनुशासित, शिष्ट, दयालु र सहयोगी नहुन सक्छन् । त्यसैले सत्गुरु हुनको लागि केही विशेषताहरू हुनुपर्छ । केबल योग्यता हासिल गर्दैमा, चिटिक्क परेको पोशाक लगाउँदैमा, महँगो सवारी साधन चलाउँदैमा वास्तविक गुरु बन्न सकिन्न । गुरुमा हुनुपर्ने सामान्य गुणहरू विषयवस्तुको ज्ञान, मिठो भाषा शैली, अनुशासन, लगनशीलता, नैतिकता, समानताजस्ता व्यवहारिक ज्ञानहरू हुनु आवश्यक छ । गुरुले पनि शिष्य र समाजको सामु आफ्नो इज्जत मान मर्यादा र प्रतिष्ठाको ख्याल गरेर संयमित भएर व्यवहार गर्नुपर्दछ । बोली, व्यवहार र दैनिक क्रियाकलापमा शिष्टता एवं समानता प्रदर्शन गर्न नजान्ने एकाध गुरुहरूको क्रियाकलापले गर्दा गुरुहरूप्रतिको समाजको दृष्टिकोण सम्मानयोग्य हुन सकिरहेको छैन । लाखौँ इमानदार व्यक्तिहरूको पेसा र व्यवसायलाई एक दुईजनाको अनैतिक र असभ्य व्यवहारले बदनाम गराउने भएकोले गुरुहरूले संयमित भएर सबैसँग समान व्यवहार गर्नुपर्दछ । एकजना गुरुले हजारौँ डाक्टर, पाइलट, इन्जिनियर, कुशल प्रशासक, समाजसेवी, व्यवसायी, कलाकार उत्पादन गर्छ । तर, हजारौँ डाक्टर, पाइलट, इन्जिनियरहरूले एकजना पनि गुरु (शिक्षक) उत्पादन गर्न सक्दैनन् । त्यसैले भनिन्छ, शिष्य भनेको भोको व्यक्ति हो र गुरु भनेको चौरासी व्यञ्जन । चौरासी व्यञ्जनबाट कति लिने वा खाने भन्ने कुरा शिष्यमा नै निर्भर गर्छ । तसर्थ, गुरुबिनाको ज्ञान अपूर्ण हुने भएकोले औपचारिक र अनौपचारिक जेजस्तो अवस्थामा पनि गुरु ज्ञान अपरिहार्य छ । गुरु पूर्णिमाको औचित्य उद्देश्य र महत्वलाई आत्मसात गर्दै गुरु र शिष्यको सम्बन्धलाई सधैँ विकसित गर्न गुरु पूर्णिमाले हामी सबैलाई प्रेरणा मिलिरहोस् ।
Leave a Reply