भर्खरै :

अध्ययन तथा पठन संस्कृति आवश्यक

अध्ययन तथा पठन संस्कृति आवश्यक

अध्ययन तथा पढाइमा सम्बन्धित विषयवस्तुबाट पाठक तथा विद्यार्थीवर्गले आफूलाई आवश्यक ज्ञान, सीप तथा अवधारणा निर्माण गर्दछ । यसका लागि पाठक तथा विद्यार्थीले सम्बन्धित विषयको ज्ञान, सीपका चरणहरूको व्यावहारिकरूपमा अवधारणा बनाउन खोज अनुसन्धान र प्रयोगलाई प्राथमिक दिइन्छ । यसबाट पाठकवर्गले समाज अनुकूल विचार र व्यवहार प्रदर्शन गर्न जरुरी छ ।
अध्ययनले पुस्तक तथा किताबको ज्ञान मात्र नभई सिंगो समाजका वस्तुस्थितिलाई व्यवहारिकरूपमा रूपान्तरण गर्न सहयोग गर्दछ । अध्ययनले आफूमा रहेको अज्ञानतालाई समाज अनुकूल बनाउन प्रभावकारी भूमिका निभाउँछ ।
हुन त अध्ययन भनेको पुस्तक पढ्नुमात्रै होइन । पुस्तकमा अग्रज पुर्खाका तत्कालीन कृषि, उद्योग व्यवसाय, संस्कार संस्कृतिजस्ता व्यवहारिक ज्ञान, सीपयुक्त अनुभव तथा अवधारणालाई समेटिएको हुन्छ । त्यसलाई अहिलेको परिवेशमा के कसरी रूपान्तरण गर्न सकिन्छ सोको बारेमा आफ्नो अवधारणा र ज्ञानलाई सीपको रूपमा प्रयोग गर्नु पनि एक अध्ययन हो ।
पूर्वीय सभ्यतामा पूर्वज पुर्खाहरूले आफ्नो दैनिक सामाजिक व्यवहार, घटना, संस्कार संस्कृतिलाई पछिल्लो पुस्ताको लागि हस्तान्तरण गर्ने उद्देश्यअनुरूप वेद उपनिषद्जस्ता पौराणिक एवम् धार्मिक पुस्तक बनेको इतिहासमा पढ्न सकिन्छ । जसको पश्चिमेली सभ्यता मानिसहरूले खोज अध्ययन अनुसन्धान गरी प्रयोगको माध्यमबाट कृषि, उद्योगलगायत दैनिक जनजीवनमा प्रयोग हुने नयाँ प्रविधिको विकास गरेका छन् । त्यसैको प्रभाव आज अरबौँ मानिसले विज्ञान प्रविधिलाई आत्मसात गरी प्रयोग गरिरहेका छन् ।
तर, हामी मानवीय सभ्यताको जननी मानिएका पूर्वीय सभ्यतामा बस्ने मानिसहरू खोज अनुसन्धान र प्रयोगमा नगई धर्म संस्कृतिमा सीमित रहँदा केही पनि नयाँ प्रविधि विश्व समुदायको लागि दिन सकिरहेका छैनौँ ।
पूर्वीय सभ्यतामा भएका फरकफरक संस्कार संस्कृतिलाई जीवन्त राख्न खोज अध्ययन अनुसन्धान र प्रयोगमा आधारित विश्वविद्यालय आवश्यक छ ।
नेपालमा ६ दशकभन्दा अघिदेखि नै विश्वविद्यालय स्थापना भई हाल दर्जनौँ विश्वविद्यालय सञ्चालनमा रहेको छ । तापनि, हजारौँ प्राध्यापक तथा शिक्षकहरू संविधानले दिएको स्थानीय स्रोत साधन खनिज, जडिबुटी तथा प्राकृतिक सम्पदाको प्रयोगको अधिकार प्रयोग किन सङ्कुचित बनिरहेको छ ? ती प्राध्यापक शिक्षकले विश्व समुदायको लागि नेपालको भिन्नाभिन्नै संस्कार संस्कृतिको खनिज, जडिबुटी तथा प्राकृतिक सम्पदाको प्रयोग देशको लागि प्रयोग हुने पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गर्न दबाब दिन आवश्यक छ ।
साथै, नेपालकै खनिज, जडिबुटी प्राकृतिक सम्पदालगायत अन्य स्रोत साधन नेपालले अधिकतम प्रयोग गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्नतर्फ सरकार तथा सम्बन्धित निकायलाई प्राध्यापक तथा शिक्षकहरूले योजना निर्माण गर्न ध्यानाकर्षण गर्नैपर्छ । यसबाट युवा विद्यार्थीको विदेश पलायनलाई रोक्न सकिन्छ ।
यसर्थ, राष्ट्रको समृद्धिको लागि खोज अध्ययन अनुसन्धान र प्रयोगमा आधारित पठन संस्कृति तथा अध्ययन आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *