भर्खरै :

दुई नगरका जनताबिच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप विस्तार गर्ने सहमति

दुई नगरका जनताबिच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप विस्तार गर्ने सहमति

भक्तपुर र चीनको शाननान नगरबिच २०७३ साउन ३० गते भगिनी सम्बन्ध स्थापना भएको हो । दुई नगरका जनताबिच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप विस्तार गर्ने र सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन, सहरी विकास र जनताबिच आपसी सहयोग आदानप्रदान गर्ने सहमतिको उद्देश्य थियो ।
नेपाल र चीन दुई छिमेकी देशहरू हुन् । दुई देशबिच युगौँदेखिको पुरानो सम्बन्ध छ । लिच्छविकालीन राजा अंशुबर्मा (वि.सं. ६६२—६७९) की छोरी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङगम्पोसँग भएको र नेपाली वास्तुकलाविद् अरनिकोले आजभन्दा साढे सात सय वर्षअघि (सन् १२७१—१२७९) चीनको राजधानी पेइचिङमा बनाएको श्वेत चैत्य दुई देशबिच सम्बन्धका बलिया आधारहरू हुन् । प्राचीन कालदेखिको त्यो सम्बन्धलाई हामी थप विस्तार गर्न चाहन्छौँ । शाननान नगरका उपप्रमुखको नेतृत्वमा आएको यो प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिका र शाननान नगरबिचको सम्बन्ध थप विस्तार हुने हामीले विश्वास लिएका छौँ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्कटको बेला भक्तपुरका जनताको जीवन रक्षाको निम्ति शाननान नगरपालिकाले गरेको सहयोग भक्तपुरवासीहरूले कहिल्यै बिर्सने छैनन् । उहाँहरूले २०७८ जेठ २८ गते भेन्टिलेटर १ वटा, अक्सिजन कन्सनट्रेटर ३२ वटा, आइसीयु बेड ५० वटा, अक्सिजन सिलिन्डर (४० लिटर) को १०० वटा र २०७९ सालमा भेन्टिलेटर १ वटा, अप्रेसन टेबल १ वटा र अप्रेसनको लिड ओ.टी. लाइट दिएर सहयोग गर्नुभयो । त्यस सहयोगको निम्ति भक्तपुर नगरपालिकाको तर्फबाट शाननान नपाका उपप्रमुखमार्फत प्रमुखलगायत सम्पूर्ण शाननानवासी जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । सङ्कटको बेला भक्तपुरवासी जनतालाई सहयोग गरेर उहाँहरूले एक असल मित्रको परिचय दिनुभयो ।
भक्तपुर नगरपालिकाले यहाँको जनताको स्वास्थ्य उपचारको लागि पहिलेदेखि जन स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको थियो । कोरोना महामारीबिच जनस्वास्थ्य केन्द्रलाई २०७८ सालमा ख्वप अस्पताल घोषणा गरी सेवा प्रदान गर्दै आएका छौँ । शाननान नगरबाट प्राप्त स्वास्थ्य उपकरणहरू पनि ख्वप अस्पतालमा राखेर सेवा प्रदान गर्दै छौँ । सीटी स्क्यान र एमआरआईजस्ता आधुनिक स्वास्थ्य उपकरणहरूको अभावमा अझै हामीले सोचेअनुसार जनताको सेवा गर्न सकेका छैनौँ । आ.व. २०७९/८० को १ वर्षमा देशका ७० भन्दा बढी जिल्लाका २ लाख ५३ हजारभन्दा बढी जनताले ख्वप अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गरेको रेकर्ड छ ।
भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीका सत प्रतिशत जनप्रतिनिधिहरू निर्वाचित भएको नगर हो । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादलाई विश्वास गर्ने कम्युनिस्ट पार्टी हो । नेपाल मजदुर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले गर्दै आउनुभएको छ । जनताको इमानदारीपूर्वक सेवा एकमात्र हाम्रो उद्देश्य हो । नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबिच राम्रो सम्बन्ध छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्चपदस्थ पदाधिकारीहरूले पटकपटक भक्तपुरको भ्रमण गर्नुभएको छ । यसले नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध विस्तारमा सहयोग पु¥याएको छ ।
२०८० जेठ १७ गते जनवादी गणतन्त्र चीनको स्–छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुईले, २०८० साउन ८ गते चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाका पार्टी सचिव युआन चियाच्युनले र २०८० कार्तिक २६ गते चीनको सिन्चाङ (तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युङचङले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट गरी दुई देश र दुई पार्टीबिचको सम्बन्ध विस्तारबारे छलफल गर्नुभयो । त्यस क्रममा उहाँहरूले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रहरू दरबार क्षेत्र, टौमढी क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
त्यसैगरी, २०८० असार १४ गते जनवादी गणतन्त्र चीनको सान्तोङ प्रान्तको हुआन थाइ नगरपालिकाका प्रतिनिधिमण्डल, २०८० मङ्सिर ३ गते चिङकाङसाङ नगरपालिकाका ह्वामिङको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई पनि भक्तपुर नगरपालिकामा स्वागत गर्ने अवसर प्राप्त भयो । त्यस क्रममा आपसी सहयोगबारे दुईपक्षीय छलफलहरू भए । २०८० मङ्सिर २६ गते भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको सहमति पत्रमा हस्ताक्षर भयो । दुई नगरबिच आर्थिक, पर्यटन, सांस्कृतिक आदानप्रदान गर्ने सहमतिको उद्देश्य रहेको छ ।
भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सानो नगरमध्ये एक हो । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले भक्तपुर देशकै महत्वपूर्ण नगर हो । १२ औँदेखि १५ औँ शताब्दीसम्म नेपालमण्डलको राजधानी रहेको यो नगर १८ औँ शताब्दीसम्म एक स्वतन्त्र राज्य थियो ।
सांस्कृतिक नगर, नाचगानको राजधानी, जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुर नगरको दरबार क्षेत्रलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो । भक्तपुरका दरबार क्षेत्रमा अवस्थित ५५ झ्याल दरबार रहेको र सुनको ढोका, टौमढी क्षेत्रमा अवस्थित ङातापोल्हँ (पाँचतले मन्दिर) र दत्तात्रय क्षेत्रमा रहेको दत्तात्रय मन्दिर काष्ठकला, धातुकला र प्रस्तरकलाका अनुपम नमुनाहरू हुन् । त्यसका अलावा प्राचीन भक्तपुर स्वयम् एक सम्पदा सहर हो । भक्तपुर नगरपालिकाले यसको संरक्षण र संवद्र्धन गर्दै आएको छ ।
राजनैतिक हिसाबले १० वटा वडामा विभाजित यो नगरपालिकामा ८० हजार स्थायी बासिन्दाहरू छन् भने त्यतिकै सङ्ख्यामा बाहिरबाट आएर बसेका अस्थायी नागरिकहरू पनि छन् । यहाँका अधिकांश जनताको पेसा कृषि हो । भादगाउँले टोपी, जुजु धौ, माटोको भाँडा, हस्तकला, काष्ठकला, धातुकला, प्रस्तरकला, हाकु पतासी, ताइचीन च्युरा यहाँका प्रमुख उत्पादनहरू हुन् ।
भक्तपुर नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि कलेजहरूसमेत सञ्चालन गरी जनताका छोराछोरीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस नगरपालिकामा ९२ वटा विद्यालयहरू छन् । ती विद्यालयहरूमा कुल ३५ हजार विद्यार्थीहरू अध्ययनरत छन् । नगरपालिकाले उच्च शिक्षा प्रदान गर्ने २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ । ती कलेजहरूमा कुल ७ हजार विद्यार्थीहरू उच्च शिक्षामा अध्ययनरत छन् ।
भक्तपुर आत्मनिर्भरताको बाटोमा अगाडि बढिरहेको नगरपालिका हो । नेपाल मजदुर किसान पार्टीको नीति र निर्देशनमा रहेर वडा वडामा स्वास्थ्य केन्द्र सञ्चालनदेखि १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरेर जनतालाई छिटो छरिटो स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । यस नगरपालिकाभित्र क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपन केन्द्र र भक्तपुर अस्पताल गरी चारवटा सरकारी अस्पतालहरूले जनतालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएका छन् ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न हामी प्रयासरत छौँ । नेपाल भ्रमणमा आउने पर्यटकहरूमध्ये करिब २५ प्रतिशत विदेशी पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क छ । एक वर्षमा भक्तपुरमा साढे दुई लाख विदेशी पर्यटकहरूले भ्रमण गरेका थिए । पर्यटकहरूसित केही पर्यटन शुल्क उठाउने गरेका छौँ । पर्यटन शुल्कबाट उठेको रकम भक्तपुरका कला संस्कृति संरक्षण, सम्पदा पुनःनिर्माण र जीर्णोद्धार, शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ र अन्य विकास निर्माणमा खर्च गर्दै आएका छौँ । पछिल्लो वर्ष चिनियाँ पर्यटकहरूको नेपाल भ्रमण पनि बढ्दो क्रममा छ । भक्तपुरको रेकर्डले भक्तपुर भ्रमण गर्ने पर्यटकहरूमध्ये चिनियाँहरू तेस्रो स्थानमा पर्छ । गत आ.व. २०८०÷८१ मा भक्तपुरमा ४० हजार ४०१ जना चिनियाँहरूले भ्रमण गरेका थिए ।
आजको यस अवसरमा भक्तपुरका जनताको तर्फबाट शाननान नगरपालिकाका प्रमुखलगायत तमाम शाननानवासी जनतालाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छौँ । यस अवसरमा भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच भगिनी सम्बन्धले निरन्तरता पाउनेछ । आगामी दिनमा २०७३ साउन ३० गते हस्ताक्षर भएको भगिनी सम्बन्धको सहमति पत्रअनुसार भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदानको आशा गर्दछौँ ।
नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध विस्तारका साथै भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिचको सम्बन्ध थप सुदृढ हुने विश्वास गर्द छौँ ।
(भक्तपुर नगरपालिकाको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएको चीनको सिचाङ (तिब्बत) स्वशासित क्षेत्र, शाननान नगरपालिकाका कार्यकारी उपप्रमुख मु योङवनको प्रतिनिधिमण्डललाई मङ्गलबार भक्तपुर नपाले ख्वप इन्जिनिरिङ कलेजमा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *