राजनीतिक रूपमा सचेत हुन पार्टी प्रकाशनहरू अध्ययन गर्न आवश्यक
- जेष्ठ २०, २०८३
काठमाडौँ, १० साउन । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद भएको आधारमा एमाले र माओवादी केन्द्रलाई कम्युनिस्ट मान्न सकिन्छ । तर, व्यवहारतः ती पार्टी कम्युनिस्ट पार्टीको रूपमा देखिएको छैन । दलको नाउँ कम्युनिस्ट पार्टी भए पनि एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार राजनीति गरेको देखिँदैन । ती दलका नेताहरू एकले अर्काेलाई कम्युनिस्ट नभएको दाबी गर्छन्; अझ हिलो छ्याप्छन् । ती दुई पार्टी एक पनि भए तर एकताको स्वाद लिन नपाउँदै टुक्रियो । माओवादी केन्द्रले एमालेसँग मिलेर सरकारको नेतृत्व ग¥यो । एमालेले माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारको समर्थनको फिर्ता लिएर नेकासँग मिली सरकार गठन ग¥यो । पहिले एमाले छोडेर माओवादी केन्द्रले नेकासँग मिलेर सरकार गठन ग¥यो भने पछि नेका छोडेर एमालेसँग सरकार गठन ग¥यो । कहिले कम्युनिस्ट कम्युनिस्ट एक हुनुपर्छ भनेर कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र कहिले एकले अर्काेलाई धोका दियो भनेर अर्कै दलसँग मिलेर सरकार बनाउने ती कम्युनिस्ट भनिएका दल र दलका नेताहरूलाई जनताले कसरी बुझ्ने ? सिद्धान्त र विचार तोडमरोड गरेर सत्तामुखी राजनीति गर्ने दललाई जनताले कसरी कम्युनिस्ट पार्टी भन्ने !
गणतन्त्रका १५ वर्षमध्ये कम्युनिस्ट नेताहरूले १० वर्ष शासन गरे पनि जनतामा कम्युनिस्टहरूले शासन गरेको अनुभूति नहुनुमा के आश्चर्य ! ती दलका नेताहरू कम्युनिस्ट होइनन् । उनीहरूमा कम्युनिस्टको चरित्र छैन । यस अर्थमा उनीहरूले पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलसँग मिलेर शासन गर्नु र विदेशी शक्ति राष्ट्रहरूको स्वार्थ पूरा गर्नमा उनीहरू मिल्नु स्वाभाविक हो । त्यसकारण, कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टीबाटै आजित छन्, निरास छन् । उनीहरू समाजवादको बाटोमा लागेर मजदुर, किसान, शोषितपीडित जनताको पक्षमा लाग्दैनन्; उनीहरूको हितमा ऐन कानुन बनाउँदैनन् । बनाउन चाहे पनि पुँजीवादी शासकहरूले बन्न दिँदैनन् । यसको विकल्प भनेको वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षबिना आमूल परिवर्तन सम्भव छैन । यो इतिहासले देखाएको यथार्थ हो । शासकहरूको निश्चित धारणा र अडान नहुँदा गन्तव्यमा पुग्न नसकेको हो; लक्ष्य हासिल गर्न नसकेको हो । लक्ष्य हासिल गर्न नलाग्ने, गन्तव्यमा नलाग्ने दलहरू ठुला भएर के गर्ने ? आफूलाई कम्युनिस्ट भनिने ती दलका नेताहरू सच्चा कम्युनिस्ट भएका भए पुँजीवादी सरकारमा सामेल नभई देशमा परिवर्तनको निम्ति जुट्नुपर्छ; जनतालाई सचेत र सङ्गठित गर्न अघि बढ्नुपर्छ । वर्गसङ्घर्ष गरेर परिवर्तन गरी सरकारको नेतृत्व गरिएको भए बहुमत जनताको हित हुन्थ्यो र कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकारको नेतृत्व गरिरहन पाउँथ्यो । जनमतको हिसाबले पनि नेपालमा कम्युनिस्टको प्रभाव बढ्दो छ । व्यापक जनता परिवर्तन गर्न चाहन्छन् । समयले सबै कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा उभ्याउनेछ र सबै कम्युनिस्ट पार्टी मिलेर वर्गसङ्घर्ष गर्ने दिन पनि आउनेछ ।
कम्युनिस्ट नेतृत्वको सरकारले बहुमत किसान, मजदुर र शोषितपीडित जनताको प्रतिनिधित्व गर्नुपर्ने हो; तिनीहरूकै हित र पक्षमा शासन गर्नुपर्ने हो । तर, कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन भए पनि बहुमत जनताको हित या पक्षमा काम भएको देखिँदैन । एक समय आमूल परिवर्तनको निम्ति ‘जनयुद्ध’ गर्ने माओवादी केन्द्रको नेतृत्वले पटकपटक सरकार बनाए पनि कम्युनिस्ट चरित्रअनुसार कुनै ऐन कानुन बनाएन; बनाउने प्रयास गरेन । उनीहरूले जे गरे त्यो पुँजीपतिवर्गको पक्षमा काम गरे । ती दलका नेताहरू अनियमितता र भ्रष्टाचारमा फसे । यसले थाहा हुन्छ, ती दलका नेताहरू देश र जनताको सेवा गर्ने पक्षमा छैनन्; देश र जनताको सेवा गर्न चाहँदैनन् । अनि गणतन्त्रमा कम्युनिस्ट घटकहरूको सत्तारोहण भएरै के गर्ने ? दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने दल कम्युनिस्ट हुन सक्दैन ।
देशमा आमूल परिवर्तन गर्न चाहने कम्युनिस्टहरू विस्तारवादी र साम्राज्यवादी देशसामु झुक्दैनन्; उनीहरूको स्वार्थ पूरा गर्ने काम गर्दैनन् । तर, माओवादी केन्द्र र एमाले विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकाको स्वार्थ पूरा गर्न लागे । देशमा सामन्त र पुँजीवाद अन्त्य गर्न समाजवादी क्रान्ति गर्नु आवश्यक छ । विस्तारवाद र साम्राज्यवाद रहेसम्म संसारका स्वाभिमानी जनताले शान्ति पाउने छैनन्; सुरक्षित हुने छैनन् र समाजवादी क्रान्तिमा पनि बाधा हुनेछ । कम्युनिस्ट भनिने ती दलका नेताहरू अवसरवादी भए; उनीहरूले अहिलेको स्वार्थ हेरे । उनीहरू सरकारमा जान हतार भए; आफ्नो लक्ष्य भुले र कम्युनिस्टको बाटो छोडे । यसकारण, ती दलका नेताहरू सच्चा कम्युनिस्ट पार्टीको विरोध गर्छन्; सच्चा कम्युनिस्ट पार्टीलाई विरोधी सम्झेर एकजुट हुन्छन् । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने, कम्युनिस्ट पार्टीको आन्दोलन शिथिल बनाउने काम गर्छ; काम गर्दै छ । यो कम्युनिस्टविरोधी चिन्तन हो; कम्युनिस्टविरोधी गतिविधि हो । कुनै कम्युनिस्ट पार्टीले बाटो बिराएको हुनसक्छ । बाटो बिराएको भए फेरि फर्केर हेर्नुपर्छ र सच्चिनुपर्छ । समाजवादी क्रान्ति गरेर आमूल परिवर्तन गर्नुपर्छ ।
Leave a Reply