नेपालका नयाँ नेताहरूलाई अमेरिकाले तयार गरेको खुलासा–१
- भाद्र २८, २०८३
भक्तपुर, २८ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले सङ्कटको बेला विदेशी सरकार र संस्थाहरूसँग सहयोग लिनुभन्दा नेपाली जनतासँग सहयोग लिनु राजनीतिक दृष्टिले सही हुने बताउनुभएको छ ।
कानुन अध्ययन समाज नेपालद्वारा आइतबार आयोजित ‘भदौ ९, २०४५, भक्तपुर काण्ड पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध कानुन व्यवसायीको भूमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बिजुक्छँेले भक्तपुर काण्डको राजनीतिक सङ्कटको अवस्थामा देशका धेरै वकिल, पत्रकार र बुद्धिजीवीहरूले नेमकिपालाई कानुनी प्रतिवाद गर्न र अन्य कार्यमा ठुलो सहयोग मिलेको स्मरण गर्नुभयो ।
उहाँले आफ्नो दस वर्ष लामो अवधिसम्म भारतमा निर्वासनमा बस्दा कहिल्यै भारत सरकारसित एक गेडा अन्न र एक रुपैयाँ सहयोग नलिएको प्रस्ट पार्नुभयो ।
पञ्चायती व्यवस्थाभित्र पसेर पञ्चहरूको अक्षमता उदाङ्गो हुने गरी काम गरेको र राष्ट्रिय पञ्चायतमा आवाज उठाएको हुनाले नेमकिपाविरुद्ध राज्यस्तरको षडयन्त्र भएको र हिरासतमा अमानवीय यातना दिएको बताउँदै उहाँले २०४६ सालको जनआन्दोलनबाट पञ्चायतको अन्त्य नभएको भए भक्तपुर काण्डको अभियोग झूटो साबित भए पनि अरु अभियोग लगाएर जेलमै राखिने थियो भन्नुभयो ।
पञ्चायत कालमा र बहुदलीय व्यवस्था स्थापनापछि पनि पुँजीवादी सरकारमा जाने वा सुविधा लिने नीति नलिएको प्रस्ट पार्दै अध्यक्ष रोहितले भन्नुभयो, “जनताको हितको निम्ति काम गर्नेबाहेक अरु उद्देश्य राखेर हामीले कहिल्यै राजनीति गरेनौँ, जेलनेल भोगेको भनेर हामीले कुनै सरकारी सहयोग वा सुविधा लिएनौँ ।”
सम्मानित व्यक्तित्व एवं वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे योगदानबारे छर्लङ्ग पार्दै उहाँले भन्नुभयो, अधिवक्ताको रूपमा भण्डारीले अन्यायमा परेकाहरूको निम्ति बहस पैरवी गर्नुका साथै राजनीतिक नेता–कार्यकर्ताहरूका निम्ति भरपर्दो कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता भण्डारी बृहत् प्रजातान्त्रिक दृष्टिकोण भएको व्यक्ति भएको बताउँदै उहाँले भण्डारीले बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि रामराजा प्रसाद सिंहलाई आममाफी दिलाई देशमा भित्र्याउन पहल गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्ड पञ्चहरूले चलाएको राज्यआतङ्क भएको बताउँदै त्यतिबेला पक्राउमा परेका जनताका नेता–कार्यकर्ताहरूको मौलिक हक कल्पना बाहिरको स्थिति बनेको बताउनुभयो ।
त्यतिबेला राज्य षड्यन्त्र उदाङ्गो पार्न र नेमकिपाका नेता कार्यकर्ताहरूलाई निर्दोष पुष्टि गर्न कानुन व्यवसायीहरूले निःस्वार्थ रूपमा गरेको सहयोग अविस्मरणीय रहेको बताउनुभयो ।
पञ्चहरूले व्यक्तिहत्याको मुद्दाको रूपमा स्थापित गर्न खोजेको मुद्दालाई कानुन व्यवसायी र पत्रकारहरूको प्रतिवादले राज्यस्तरको ष्डयन्त्रको रूपमा उदाङ्गिएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले मानिसले सकेमा जीवनको अन्तिम समयसम्म काम गर्नुपर्ने, त्यसको निम्ति स्वस्थ रहनुपर्ने र स्वस्थ रहनको निम्ति स्वस्थप्रद खानपिन गर्ने, चिन्तामुक्त जीवन जिउने प्रयास गर्नुपर्ने र धेरै ठुलो महत्वाकाङ्क्षा राख्न नहुने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता भण्डारीलाई अध्यक्ष बिजुक्छेँले ढाकाटोपी लगाई दिएर, दोसल्ला ओढाएर र कदरपत्रसहित सम्मान गर्नुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अधिवक्ता अनिता जधारी र सचिव अधिवक्ता गम्भीरमान ज्याख्वलगायतले बोल्नुभएको थियो ।
Leave a Reply