भर्खरै :

“भक्तपुर काण्ड पञ्चायती राज्य षड्यन्त्र नै थियो”

“भक्तपुर काण्ड पञ्चायती राज्य षड्यन्त्र नै थियो”

भक्तपुर, २४ भदौ । नेपाल नगरपालिका कर्मचारी एसोसियसन, भक्तपुर एकाइ समितिको आयोजनामा ‘भक्तपुर काण्ड’को विरोध एवम् भत्सर्ना कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुरमा घटेका सबै घटनाको आरोप नेमकिपाका नेता–कार्यकर्तालाई लगाउने तत्कालीन पञ्चायती सरकारका प्रधानमन्त्रीले अदालतबाट कुनै टुङ्गो नलाग्दै ‘रोहितलाई फाँसी दे’ भनी सडकमा नारा लगाएको षड्यन्त्र नै थियो भन्नुभयो ।
उहाँले बताउनुभयो, “तत्कालीन पञ्चायती सरकारले नेमकिपाको सथर्मन गर्ने शिक्षक–कर्मचारीहरूलाई बर्खास्त गर्ने र पक्राउ गर्ने गरेको थियो । सत्य र न्यायको पक्ष लिएका शिक्षक र कर्मचारीहरू पञ्चायती सरकारको दबाबमा नपरी जेल जीवन बिताउन तयार भएका थिए ।”
“वरिष्ठ मानव अधिकारवादी तथा कानुनका ज्ञाता हृषिकेश शाहले नेमकिपाका नेता र कार्यकर्ताको पक्षमा विशेष अदालतमा बहस गर्दै न्यायाधीशहरू सिंहासनको सिंह हुन नहुने, राजा र प्रजाबिचको खेलको निर्णायक हुनुपर्ने विचार राख्नुभएको थियो”, सचिव सुवालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर काण्डमा भक्तपुरका जनतामाथि रचिएको षड्यन्त्रले डर–त्रासको वातावरण सिर्जना गरी दुःख र मानवीय सङ्कट निम्त्याएको बताउनुभयो ।
भक्तपुर काण्डजस्तो षड्यन्त्र फेरि फेरि भइरहनेप्रति सचेत हुनु जरूरी भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति आस्थावान र पार्टीको सिद्धान्त तथा उद्देश्यप्रति इमानदार हुन सके जस्तोसुकै विपत्ति आइपरे पनि विचलित हुन नपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कमलमैया सुवालले भक्तपुर काण्ड पञ्चायती राज्य स्तरबाट रचिएको षड्यन्त्र भएको स्पष्ट पार्दै उक्त काण्डमा पार्टीका निर्दोष नेता–कार्यकर्ताविरूद्ध झूटो ज्यान मुद्दा दर्ता गरेको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाइ समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डमा तत्कालीन नगर पञ्चालयतमा कार्यरत निर्दाेष कर्मचारीहरू समेत पीडित भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले अन्याय र अत्याचारको विरोधमा स्थापनाकालदेखि सङ्घर्ष गर्दै जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने कार्य गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा समितिका दिलकृष्ण माक, राजेश दिष्टि र विकास प्रजापतिले पनिबोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *